बुधबार, चैत्र ९, २०७८
३१ वर्षीय नेपाली युवा, जसले बनाए मृत्युपछि परिवार तथा आफन्तलाई गोप्य मेसेज पठाउने एप

३१ वर्षीय नेपाली युवा, जसले बनाए मृत्युपछि परिवार तथा आफन्तलाई गोप्य मेसेज पठाउने एप


  • स्वदेश नेपाल
  • बुधबार, चैत्र ९, २०७८

काठमाडौं । हाल अस्ट्रेलियामा बस्दै आएका एक नेपाली युवाले मृत्युपछि परिवार तथा आफन्तलाई गोप्य सन्देश पठाउन सकिने एप ‘सेफक्रेट’ बनाएका छन् ।मोबाइल एप तथा वेबसाइट दुवै प्लेटफर्ममा प्रयोग गर्न सकिने गरी उक्त एप बनाइएको छ ।

वास्तवमा मानिसको जीवनमा कतिखेर कहाँ के हुन्छ, अनिश्चित छ । यही अनिश्चितताले गर्दा अल्पआयुमा अथवा अचानक मृत्युवरण गर्नेहरूसँगै आफ्ना नजिकका परिवारजन, आफन्त र साथीभाइलाई भन्नैपर्ने कुराहरू बिलाएर गइरहेका हुन्छन् ।

जसमा व्यक्तिगत लेनदेनका कुरा, धनसम्पत्ति, बैंक तथा वित्तीय संस्थामा रहेको वासलात मात्र नभएर व्यक्तिका अन्तिम इच्छा र अन्य प्रकारका सन्देशहरू हुनसक्छन् । यही विषयलाई सम्बोधन गर्न अस्ट्रेलियाको सिड्नीमा बस्दै आएका ३१ वर्षीय युवा अनुप कट्टेलले सेफक्रेट तयार पारेका हुन् ।

सेफक्रेटले कसरी गर्छ काम ?

सेफक्रेट एपमा प्रयोगकर्ताका लागि हाल दुई ओटा प्याकेज राखिएको छ । जसमा एक वर्षे र पाँच वर्षे प्याकेज छन् । सेफक्रेटको वेबसाइट वा मोबाइल एपबाट अकाउन्ट खोलि सकेपछि आफ्नो अनुकूलतामा उपलब्ध मध्ये एउटा प्याकेज छनौट गर्नुपर्ने हुन्छ ।

त्यसपछि आफ्नो मृत्युपछि पठाउन चाहेको गोप्य सन्देश राख्नुपर्ने हुन्छ । हाल यसमा अङ्ग्रेजी चार हजार क्यारेक्टर लामो सन्देश लेख्ने सुविधा छ । अनि सँगसँगै उक्त मेसेज पठाउन चाहेको मोबाइल नम्बर तथा ईमेल आईडी उल्लेख गर्नुपर्ने हुन्छ । प्याकेज लिने र सन्देश लेख्ने त सामान्य कुरा भयो ।

एपले सम्बन्धित प्रयोगकर्ताको मृत्यु भए नभएको कसरी यकिन गर्छ भन्ने कुरा मुख्य चाँसोको विषय हो । प्याकेज लिँदै गर्दा एपमा ‘रेगुलर पिङ्ग्स’ (नियमित घण्टी अर्थात् नोटिफिकेसन) र ‘एस्कलेटेड पिङ्ग्स’ (चेतावनी घण्टी) छनौट गर्न पाइन्छ ।

यसै आधारमा एपले अन्तिम पटक लगइन भएको दिनबाट निश्चित समयावधिमा ईमेल तथा मोबाइल नम्बरमा ‘नियमित घण्टी’को रुपमा नोटिफिकेसन पठाउँछ ।
त्यसअनुसार यदि तपाईँले कुनै प्रतिक्रिया जनाउनु भएन अथवा एपमा लगइन गर्नु भएन भने आफूले मिलाएको सेटिङको आधारमा तीन देखि पाँच पटकसम्म दैनिक, साप्ताहिक वा मासिक गरी तपाईँको मोबाइल नम्बर वा ईमेलमा ‘चेतावनी घण्टी’को रुपमा नोटिफिकेसन आउँछ ।

अन्तिम चेतावनी घण्टी आउँदा समेत लगइन गर्नु भएन भने एपले तपाईँ यो संसारमा नरहेको यकिन गर्छ र निर्धारित मोबाइल तथा ईमेलमा स्वतः तपाईँको गोप्य मेसेज जान्छ ।

‘गम्भिर प्रकृतिको रोग लागेकाले मात्र नभएर सामान्य व्यक्तिले समेत यो एप प्रयोग गरुन् भन्ने अपेक्षा हो,’ अनुप भन्छन्, ‘हुन त आफू मर्छु जस्तो कसैलाई लाग्दैन । आखिर हामी सबै एक न एक दिन मर्ने नै हो । तर कुन दिन आफू मरिन्छ, कसलाई पो थाहा छ र !’

आफू जीवित रहँदा भन्न नसकेको र मृत्युपछि मात्रै जानकारी गराउन खोजेको कुरा निकै संवेदनशील र गोप्य प्रकृतिको हुन्छ । यस्तोमा सेफक्रेट एपमा रहेको मेसेज सुरक्षित हुन्छ कि हुँदैन भन्ने प्रश्न तपाईँको मनमा हुनसक्छ ।

अनुप आफ्नो सम्पूर्ण प्रयास एप तथा मेसेजको सुरक्षा बढाउनेतर्फ केन्द्रित रहेको बताउँछन् । ‘एपमा रहेको डेटा सर्भरमा इन्क्रिप्ट भएर बसेको हुन्छ,’ उनी दाबीका साथ भन्छन्, ‘यसका लागि एईएस-२५६ इन्क्रिप्सन र आरएसए ४०९६ विथ हार्डवेयर सेक्युरिटी मोडेल प्रयोग गरिएको छ । एईएस २५६ क्वान्टम कम्प्युटरले पनि तोड्न नसक्ने दाबी गरिन्छ ।’

उनका अनुसार प्रयोगकर्ताको निधन भएको अन्दाजका आधारमा प्रापकलाई ‘…ले तपाईँको नाममा गोप्य सन्देश छोड्नु भएको छ, हाल उहाँसँग सम्पर्क नभएकोले यो मेसेज पठाइएको हो’ भन्दै मेसेज जान्छ । तर सुरुमै मेसेज खोलेर हेर्न भने नमिल्ने अनुपको भनाई छ ।

‘त्यसमा एउटा कोड हुन्छ । सेफक्रेटको एप वा वेबसाइटमा गएर उक्त कोड राख्नुपर्ने हुन्छ र निर्धारित मोबाइल वा ईमेलमा भेरिफिकेसनका लागि ओटीपी कोड आउँछ,’ उनी भन्छन्, ‘त्यस्तो कोड राखिसकेपछि मात्रै आएको मेसेज हेर्न मिल्छ ।’

प्रयोगकर्ताको डेटा चोरी भएको अवस्थामा पनि मेसेज डिक्रिप्ट गर्न नसकिने गरी एपलाई सुरक्षित बनाइएको उनको दाबी छ । ‘फेसबुक, गुगल जस्ता ठूला कम्पनीको हकमा पनि विश्वासकै कुरा हो ।

फेसबुकले ह्वाट्सएप खरिद गरेपछि केही प्रयोगकर्ताले ह्वाट्सएप नै चलाउन छोडेका थिए,’ अनुपको तर्क छ, ‘त्यसैले ठूलो कम्पनीले ल्याएको सेवा मात्रै विश्वसनीय हुन्छ भन्ने हुँदैन ।’

आफन्त तथा परिवारजनलाई सुनाउन चाहेको आफ्नो गोप्य सूचना तथा सामग्री घर वा कोठाको कुनै निश्चित स्थानमा सुरक्षित राखी त्यसको जानकारी दिने विकल्पको रुपमा समेत एप प्रयोग गर्न सकिने उनको भनाई छ । एपमा सब्सक्रिप्सन शुल्क एकदमै सस्तो राखिएको छ ।

हाल वार्षिक प्याकेजका लागि एक अमेरिकी डलर र पाँच वर्षका लागि करिब पाँच अमेरिकी डलर निर्धारित छ । प्याकेजको म्याद सकिनु अघि नवीकरणका लागि प्रयोगकर्तालाई मोबाइल तथा ईमेलमा नोटिफिकेसन आउँछ । प्रयोगकर्ताले एपमा राखेको मेसेज, प्रापकको ईमेल तथा मोबाइल नम्बर जुनसुकै बेला परिवर्तन गर्न सकिन्छ ।

सेफक्रेट मोबाइल एप डाउनलोड गर्न एन्ड्रोइडका लागि यहाँ क्लिक गर्नुहोस् र आईएसका लागि यहाँ क्लिक गर्नुहोस् ।

-टेकपानामा गोपाल साउदले लेखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार