काठमाडौं । नेपालले आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोटमा आज ओमानविरुद्ध खेल्दैछ ।
नेपाल र घरेलु टोली ओमानबीचको खेल बिहान ११ः४५ देखि अल अमरेत क्रिकेट स्टेडियममा सुरु हुनेछ । सेमिफाइनल पुग्ने सम्भावनालाई बलियो बनाउन नेपालले ओमानविरुद्ध जित निकाल्न आवश्यक छ ।
ओमानलाई हराउन नेपाललाई सजिलो भने पक्कै हुनेछ । यो प्रतियोगिताअघि चार देशीय सिरिजमा नेपालसँग पराजित भए पनि ओमान लयमा फर्किएको छ । उसले सो सिरिजको अन्तिम खेलमा यूएईलाई ७ विकेटले हराएको थियो । नेपालको जितमा ओमानका कश्यप प्रजापति, जतिन्दर सिंह, बिलाल खान, खावर अली, कलिमुल्लाह र जीशान मक्सूद बाधक बन्न सक्छन् ।
हालसम्म टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ओमान र नेपालको भेट दुईपटक भएको छ । सन् २०१९ मा भएको पहिलो खेलमा ओमान ६ विकेटले विजयी भएको थियो । तर, यही ११ फेब्रुअरीमा भएको खेलमा भने ऊ नेपालसँग ६ विकेटले पराजित हुन पुग्यो ।
ओमानविरुद्ध नेपाल लगातार दोस्रो जितको खोजीमा हुनेछ । ओमान भने नेपालविरुद्ध बदला लिँदै विश्वकप छनोटको सेमिफाइनल सम्भावनालाई बलियो बनाउन चाहन्छ । चार देशीय सिरिजमा नेपालले यूएई र ओमानविरुद्ध राम्रो ब्याटिङ गरेको थियो । तर, अन्तिम खेलमा आयरल्याण्डविरुद्ध भने नेपालले लय गुमायो । यद्यपि, सो खेलमा नेपालको बलिङ भने शानदार रह्यो ।
हालसम्म नेपाली टिममा देखिएको मुख्य समस्या– बलिङ उत्कृष्ट हुँदा ब्याटिङ कमजोर, ब्याटिङ राम्रो हुँदा बलिङ खराब गर्नु रहेको छ । सन्तुलित प्रदर्शन गर्न नसक्दा टिमले हार बेहोरिरहेको दृश्य पटकपटक देखिसकिएको छ । विश्वकप छनोटमा भने नेपालको ब्याटिङ र बलिङ पक्ष उत्कृष्ट रहनेमा समर्थक आशावादी छन् ।
साथै, चार देशीय सिरिजमा नेपालको फिल्डिङ साधारण रह्यो । ओमानसँगको खेलमा नेपालले सो गल्ती दोहोर्याउनुहन्न । यसपालि टिमका महत्वपूर्ण सदस्यीय करण केसी र सोमपाल कामी छैनन् । उनीहरूको अनुपस्थितिमा नेपालको प्रदर्शन कस्तो होला? यो विषय हेर्न लायक हुनेछ । पूर्णरूपमा फिट नहुँदा करण र सोमपालले विश्वकप छनोट गुमाएका हुन् ।
कसरी हेर्ने प्रत्यक्ष प्रशारण ?
एडप्याडले टी–२० विश्वकप ग्लोबल छनोट ‘ए’ को प्रसारण अधिकार पनि किनेको छ । एडप्याडले किनेसँगै नेपालमा विश्वकप छनोटको लाइभ हिमालय टेलिभिजनबाट हेर्न पाइनेछ ।
एड प्याडका प्रबन्ध निर्देशक सुरज गिरीका अनुसार युट्युब र अन्य डिजिटल राइट्सबारे भने निर्णय हुन बाँकी छ । चार देश सम्मिलित टी–२० आई सिरिजको प्रसारण अधिकार पनि एडप्याडले किनेको थियो ।
ओमानविरुद्ध नेपालको सम्भावित प्लेइङ–११ : कुशल भुर्तेल, आसिफ शेख (विकेटकीपर), ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, शरद भेषवाकररआरिफ शेख, लोकेश बम, विवेक यादव, कमलसिंह ऐरी, जितेन्द्र मुखिया, अविनाश बोहरा र सन्दीप लामिछाने (कप्तान) ।

