शनिबार, माघ २२, २०७८
अध्ययन टोली भन्छ : सगरमाथामा दुई हजार वर्ष लागेर बनेको बरफ पछिल्लो ३० वर्षमा पग्लियो, यो विश्वकै लागि खतराको घण्टी हो

अध्ययन टोली भन्छ : सगरमाथामा दुई हजार वर्ष लागेर बनेको बरफ पछिल्लो ३० वर्षमा पग्लियो, यो विश्वकै लागि खतराको घण्टी हो


  • स्वदेश नेपाल
  • शनिबार, माघ २२, २०७८

सगरमाथाको उच्च भागमा रहेको हिमनदी (साउथ कोल ग्लासियर) पग्लिने क्रम बढेको अध्ययनकर्ताहरुले बताएका छन् । अमेरिकाको मेइन विश्वविद्यालयले नेतृत्व गरेको शोधकर्ताहरूको टोलीले गरेको अध्ययन अनुसार पछिल्लो २५ वर्षमा साउथ कोल हिमनदीको एक सय ८० फिटभन्दा धेरै हिउँ गुमेको पाइएको बीबीसीले जनाएको छ ।

जलवायु परिवर्तनको असरका कारण हिमनदी तीव्र गतिमा पग्लिरहेको पाइएको प्रतिवेदनमा उल्लेख छ । २५ हजार ९३८ फिटको उचाइमा रहेको साउथ कोल हिमनदी बनेको बेलाभन्दा अहिले ८० गुणा बढी पातलिएकाे अध्ययन टोलीको निष्कर्ष छ । सन् १९९० देखि हिमनदीको बरफ पग्लिन थालेको र ३० वर्षको अवधिमा यसअघि दुई हजार वर्ष लागेर बनेको बरफ पग्लिसकेको प्रतिवेदनमा उल्लेख छ ।

१० जना वैज्ञानिकहरूकाे टोली हिमनदीमा पुगेर अध्ययन गरेका हुन् । अध्ययन टोलीले विश्वकै सबैभन्दा अग्लो मौसम मापन गर्ने स्टेसन स्थापना गर्नुका साथै बरफको नमुना ल्याएका छन् । बाक्लो हिउँ पग्लिएपछि सगरमाथाको माथिल्लो भेगमा कालो पहाड देखिन थालेको अध्ययन टोलीलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

हिउँ पग्लिनु हाम्रा लागि खतराको घण्टी

वैज्ञानिकका अनुसार हिमनदी पग्लिँदा हिमपहिरो र खडेरीको जोखिम बढ्न सक्छ। सगरमाथाको हिमनदी पग्लनु विश्वकै लागि निकै नराम्रो खबर भएको वैज्ञानिकहरूले चेतावनी दिएका छन्।

यसका कारण हिमपहिरो, खडेरीजस्ता प्रकोपका घटना बढ्न सक्छन्। करिब १ अर्ब ६ करोड मानिस पिउने पानीका लागि यी हिमालमा निर्भर छन्। यो पानी सिँचाइ र जलविद्युतका लागि पनि प्रयोग गरिन्छ।

सगरमाथाप्रति वैज्ञानिकको बेवास्ता

अध्ययनमा भनिएको छ– विश्वस्तरमा वैज्ञानिकहरू विश्वभरका हिमनदीबारे अनुसन्धान गर्छन्, तर विश्वको सर्वोच्च शिखर सगरमाथाको हिमनदीमा कसैले खासै ध्यान दिएका छैनन्। सगरमाथाका हिमनदीबारे थप अनुसन्धान आवश्यक छ, जसले गर्दा हामी सम्भावित प्राकृतिक प्रकोपबाट बच्न तयार रहन सकौं।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट