बुधबार, माघ १९, २०७८
आकाशमा त्यस्तो रहस्यमय वस्तु के देखियो?

आकाशमा त्यस्तो रहस्यमय वस्तु के देखियो?


  • स्वदेश नेपाल
  • बुधबार, माघ १९, २०७८

अष्ट्रेलियाका वैज्ञानिकहरूले भनेका छन् तिनीहरूले मिल्की वे भनिने हाम्रो आकाशगङ्गामा अफ्नै अक्षमा घुमिरहेको एउटा रहस्यमय बस्तु फेला पारेका छन् जुन यसअघि थाहा पाइएका कुनै पनि खगोलीय बस्तुसँग मेल खाँदैन।

एकजना विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीले पहिलोपल्ट फेला पारेका उक्त बस्तुले हरेक १८ मिनेटको अन्तरालमा पूरा एक मिनेट अवधीसम्म रेडिओ उर्जाको ठूलो मात्रा उत्सर्जन गर्ने गरेको पत्ता लगाइएको छ। ब्रम्हाण्डमा यसरी घरीघरी उर्जा उत्सर्जन गर्ने बस्तुहरू प्रायः फेला पर्ने गरेको छ।

तर पूरा एक मिनेटसम्म यो स्तरमा सकृयता देखाउने बस्तु फेला पर्नु एकदमै अस्वाभाविक रहेको अनुसन्धानकर्ताहरू बताउँछन्। अब तिनीहरूको एक टोलीले यो विषयमा थप जानकारी जुटाउन अध्ययन थालेको छ।

विद्यार्थी

टाइरन ओ’ डोहर्टी खगोलशास्त्र अध्ययनका लागि अस्ट्रेलियाको इन्टरनेशनल सेन्टर फर रेडियो एस्ट्रोनोमि रिसर्च (आईसीआरएआर)मा स्नातक विद्यार्थीको रूपमा भर्ना हुँदा उनले ब्रह्माण्डमा भएका रेडियो तरङ्गहरूको अनुसन्धानका लागि कम्प्युटर प्रोग्राम बनाउने लक्ष्य लिएका थिए।

तर उनले सन् २०२० को नोभेम्बरमा हाम्रो आकाशगङ्गामा घुमिरहेको एउटा अज्ञात वस्तु देखेपछि त्यसैको अध्ययनमा जुटे।

धेरै महिनाको तथ्य परीक्षणपछि उनले पत्ता लगाएको यो खोज गत ज्यानुअरीमा विज्ञान सम्बन्धी जर्नल नेचरमा प्रकाशित भएसँगै सार्वजनिक घोषणा गरिएको छ।

“म केही कोडहरू लेख्ने प्रयासमा लागिरहेको थिएँ। यस्तो रोमाञ्चक खोजमा आइपुग्ने अपेक्षा साँचिनै गरेको थिइनँ,” २२ वर्षीय ओ’ डोहर्टीले बीबीसीसँग भने।

“आकाशमा के हुन्छ कसले के गर्छ भन्नेबारे केही पनि थाहै हुँदैन।”

“यसले मलाई अनर्स उपाधि सहित स्नातक पूरा गर्न सहयोग गर्‍यो त्यसैले कुनै गुनासो छैन,” ठट्टा गर्दै उनले भने।

क्षणिक देखिने बस्तुहरू

अस्ट्रेलियाको पर्थ सहरबाट कुरा गर्दै ओ’ डोहर्टीले खगोलशास्त्रीहरूले ‘क्षणिक’ वस्तुहरू भन्ने गरेको अन्तरिक्षमा देखिँदै हराउँदै गर्ने वस्तु पत्ता लगाउने प्रविधि विकास गर्न आफू लागिरहेको बताए।

यो अध्ययनका लागि उनीसँग धेरै मानिसहरूको सूची थियो तर एक जनालाई पनि भेट्न सकिरहेका थिएनन्।

तर उनले यस्तो कुरा भेटे जसलाई उनको अनुसन्धान केन्द्रले ‘यसअघि कहिल्यै नदेखिएको’ र ‘रहस्यमय’ भएको बताएको छ। यी युवा अस्ट्रेलियालीले यो रहस्यमय घुमिरहने वस्तु बारेमा हामीलाई अहिलेसम्म थाहा भएका कुराहरू बताएका छन्।

यो के हो?

ओ’ डोहर्टी का अनुसार यो वस्तु के हुनसक्छ भन्नेबारे अहिलेसम्म दुई वटा मान्यता छन्। यसमध्ये एउटाले यो ताराबाट उछिट्टिएर रहेको सेतो सानो ग्रह भएको विश्वास गर्छ।

अर्को मान्यताले यो एउटा चुम्बकीय तत्त्व भएको ठान्छ। जुन अत्यन्त शक्तिशाली विद्युतीय क्षेत्र भएको न्युट्रोन तारा हुनसक्छ। तर यसको अनौठो व्यवहारले खगोलशास्त्रीहरूलाई टाउको कन्याउन बाध्य बनाएको ओ’ डोहर्टी बताउँछन्। यसले हरेक १८ मिनेटमा एक मिनेटसम्म रेडियो ऊर्जा निष्कासन गर्छ।

क्षणिक ऊर्जा निष्कासन गर्ने वस्तुहरू ब्रह्माण्डमा सामान्य भए पनि एक मिनेटसम्म यस्तो ऊर्जा फैलाउने वस्तु फेला पर्नु निकै असाधारण हो।

“ऊर्जा निष्कासन गर्ने क्षणको अन्तर पनि निकै अनौठो छ,” ओ’ डोहर्टी भन्छन्। त्यसैले यो एउटा बिलकुलै नयाँ आकाशीय पिण्ड हुनसक्ने ठानिएको छ।

-बीबीसी

प्रतिक्रिया
सम्बन्धित समाचार