शनिबार, माघ ८, २०७८
चौध मन्त्री गिरफ्तार गरी सिंहदरबार कब्जा ! रामप्रसाद राई र केआइ सिंहले गरेका थिए यस्तो दुस्साहस !

चौध मन्त्री गिरफ्तार गरी सिंहदरबार कब्जा ! रामप्रसाद राई र केआइ सिंहले गरेका थिए यस्तो दुस्साहस !

सिंहदरबार कब्जा गर्ने प्रयास गरिएको पहिलो घटना विसं.२००८ माघ ८ !


  • स्वदेश नेपाल
  • शनिबार, माघ ८, २०७८

आज माघ ८ गते अर्थात् नेपालको राजनैतिक इतिहासमा एउटा बिर्सन नमिल्ने घटना भएको दिन । नेपालको इतिहासमा राजा महाराजाले गरेको ‘कु’ बाहेक जनताको तर्फबाट सिंहदरबार कब्जा गर्ने प्रयास गरिएको पहिलो घटना विसं.२००८ माघ ८ गते रातिको हो ।

अन्य देशमा विद्रोहमार्फत् केन्द्रीय सत्ता कब्जाका घटनाहरु हुने गरे पनि नेपालमा चाँहि रामप्रसाद राई र डा. केआइ सिंहबाहेक अरुले यस्तो दुस्साहस गर्न सकेका छैनन् ।

यही दिनको स्मरण गर्दै भोगीराज चाम्लिङद्वारा ‘लिखित ‘जननायक रामप्रसाद राईः ‘माझकिरातको क्रान्तिदेखि सिंहदरबार विद्रोहसम्म’ पुस्तकको एक अंशः

विद्रोहका लागि काठमाडौं जान उर्दी– रामप्रसाद राईले तहस नहस भएको मुक्तिसेना पुनर्गठन गरे । सिंहदरबार कब्जा गर्नुभन्दा केही पहिलेदेखि विद्रोहको तयारी गरिएको थियो । रामप्रसाद राईले सार्वजनिक भाषण गरेर चेतावनी दिनु यसैको संकेत थियो ।

रामप्रसाद राईको भाषणबाट रक्षादलले विद्रोह गर्दैछ भन्ने कुराको छनक त दिएकै थियो, त्योभन्दा पहिले नै सूचना प्राप्त भइसकेको थियो । तत्कालीन शान्तिमण्डलका सदस्य बद्रीविक्रम थापाले यसबारे राजा त्रिभुवनलाई समेत पूर्वजानकारी दिएका थिए ।

रामप्रसाद राईले विद्रोहका लागि पहिलादेखि नै तयारी गरेको कुरा हैकमसिंह राईको भनाइले अझ पुष्टि हुन्छ । उनी घरमा उर्दी टाँसिएपछि काठमाडौं आइपुगेका थिए । यसबारे उनी भन्छन्ः

२००८ सालमा मेरो घरमा म्याद टाँसियो । काठमाडौंमा लड्न आउँछ भने आउँछ, आउँदैन भने जिउधन सर्वस्व हुन्छ भन्ने म्याद टाँसिएको थियो । म्याद टाँसिएपछि म लडाइँ गर्न काठमाडौं गएँ ।

रामप्रसाद राई अघि नै काठमाडौं हान्न गइसकेको थियो । हामीलाई बोलाएपछि ६० जना कि १०० जना हो, थपिँदैथपिँदै हुल बाँधिएर काठमाडौं गयौं । पहिला ओखलढुंगा गयौं । त्यहाँबाट ‘काठमाडौं जाऊ’ भनेपछि काठमाडौं गयौं । हामी सिधै सिंहदरबार छिर्‍यौं । हामीलाई कसैले रोकेन । हामी बन्दुकविना नै गएका थियौं ।

काठमाडौंमा गिरफ्तार- भूगोलपार्कमा भाषण गरेपछि रामप्रसाद राईलाई सरकारले गिरफ्तार गर्‍यो । सुरुमा हनुमानढोका र भोलिपल्ट भद्रगोल जेलमा थुनियो । मानबहादुर राई भन्छन्:

“भूगोल पार्कको भाषण सकेपछि राति बुबा र म सँगै आयौं । म पनि बुबासँगै थिएँ । घरभित्र पसेपछि मुमाले खाना बनाइराख्नुभएको रहेछ । खाना खानुहुँदै थियो, आधासरो होला खानुभएको थियो । बहिनीलाई काखमा लिएर खुवाउनु हुँदै थियो, बाहिर ढोकामा ‘ढ्याकढ्याक’ गरेको आवाज आयो ।

बुबाले भन्नुभयो, ‘को हो ?’

‘भान्सा गर्नुस्, म हेरेर आउँछु’ भनेर मुमा हेर्न जानुभयो । यसो झ्यालबाट हेर्दा गाडी अनि प्रहरी पनि देख्नुभएछ । म पनि कुनामा बसेर खाँदै थिएँ । दिदी पनि थिइन् ।

‘होइन हजुर गाडी पनि छ ! पुलिस, मिल्ट्रीजस्ता मान्छेहरु पनि छन्’, मुमाले भन्नुभयो । एकदम अँध्यारो थियो ।

बुबाले भन्नुभयो, ‘को रैछ त ?’

मुमाले ‘होइन हजुर पुलिसजस्तो छ । क्या हो हजुर बरु बाहिरबाट यसो…’ भन्नुभाथ्यो, ‘के रे ? के भन्छौ तिमी ?’ भनेर बुबा झट्ट आउनुभयो र झ्यालबाट भन्नुभयो, ‘को हो ?’

‘हजुर, हामी पो, हजुरलाई माथि बोलावट भा छ, लिन आएको’, तिनीहरुले भने ।

बुबाले भन्नुभयो, ‘ल ठीक छ, म कपडा लाउँछु ।’ भात छोड्नुभयो । कपडा लगाएर फुत्त बाहिर निक्लिहाल्नुभयो ।

‘हजुर माथि गाडीमा बस्नुस्’, भने ।

ठ्याप्प राखे, हुइयाँ लगे ।

हामी त जाने कुरा भएन । हाम्रो गार्ड चाहिँ गएछ । उसले पो समाचार ल्यायो, ‘लेˆटिनेन्ट सापलाई हनुमानढोकाभित्र लगे ।’

आमा चिन्ताले रातभरि सुत्नु भएन । भोलिपल्ट भद्रगोल लगेपछि चाहिँ बुबाले खबर पठाउनुभयो, ‘म यहाँ भद्रगोलभित्र छु । केही चिन्ता नमान्नू । मलाई ल्याएर यहाँ राखेका छन् ।’

सरकारभित्र पनि खैलाबैला भयो होला । उहाँलाई ‘रिलिज’ गर्ने भन्ने कुरा भएको थियो, बुबा मान्नुभएन । मुक्तिसेना उत्तेजित भइगए ।”

रामप्रसाद राईलाई माघ ४ गते गिरˆतार गरिएको थियो । रामप्रसाद राईलाई गिरˆतार गरिएको सन्दर्भमा टंकबहादुर राई उल्लेख गर्छन्, “रामप्रसादका केही सहयोगीहरुले रीसले उत्तेजित हुँदै ‘कि यिनीहरुलाई मारेर यहीँ गाडिदिऊँ’ भन्दा रामप्रसाद राईले ‘यिनलाई नमारौं, यसो गरेर हामीलाई खास फाइदा हुँदैन, म यिनीहरुसँग जान्छु’ भनेर सम्झाउनुभयो । त्यसपछि एकछिन चिया र चुरोट पिउनमा बिताएर तिनीहरुका साथ जानुभयो । वहाँलाई लगेर टुँडिखेलछेउको गोलघर जेलमा राखियो ।” तर, टंकबहादुर राईले भनेझैं सुरुमै गोलघरमा राखिएको थिएन, हनुमानढोका लगिएको थियो ।

पुष्पकर शाक्यका अनुसार रामप्रसाद राईलाई हनुमानढोका पुलिस चौकीका तत्कालीन इन्चार्ज बलदेव उपाध्यायको कमान्डमा गएको रक्षादलका जवानहरुले गिरˆतार गरेको थियो । मुगाधन राई नयाँ खुलासा गर्दै भन्छन्- ‘मेरो, जंगवीर राई र सुरवीर राईका कमान्डमा धेरै मुक्तिसेना थिए । शुरवीर राईको कमान्डमा रहेको मुक्तिसेनाहरुले ले. रामप्रसाद राईलाई पक्रेर थुनेका थिए ।’

सिंहदरबार कब्जा गरेपछि विद्रोही रक्षादलका जवानहरुले शुरवीर राईलाई गिरˆतार गरेका थिए । मच्छेन्द्रबहादुर राई भन्छन्, ‘सिंहदरबारको गेटको बुर्जामा सुतिरहेको कर्नेल शुरवीर राईलाई विद्रोही रक्षादलका सेनाहरुले बन्दुकका कुन्दा र लात-बुटले हान्दै त्यहाँबाट पल्टाउँदै झारे । सिंहदरबारको गेटअगाडि र लुमढीको बीचमा गुहेघारी । सिस्नुघारीमा मर्‍यो भनी ˆयाँके, राति नै बौरेर उठेर भाग्यो ।’

सुरवीर राईले जनमुक्ति सेनाबाटै कुटाइ खाएको कुरा गृह मन्त्रालयले पनि स्पष्टीकरण जारी गर्ने क्रममा पुष्टि गरेको छ ।

रामप्रसाद राईलाई गिरˆतार गरेर भद्रगोल जेलमा राखिएपछि खाना पुर्‍याउन श्रीमती दिलकुमारी राई ठकुरी, छोरा मानबहादुर राई र छोरी लक्ष्मी गए । जेलको खाना राम्रो छैन भनेकाले दिलकुमारीले घरकै खाना रामप्रसाद राईका सहयोगी मिल्ट्रीलाई बोकाएर पठाउँथे । मानबहादुर राई त्यो क्षण स्मरण गर्दै भन्छन्, “जेलमा भेट्न जाँदा बुबाले ‘कोको आको छ’ भन्नुभयो । ‘छोरा, सानो छोरी र म आको छौं’, मुमाले भन्नुभयो । पालेले ‘१०-११ वर्ष पुगेको मानिस भित्र जान मिल्दैन’ भनेछ ।

दुई वर्षकी थिइन् लक्ष्मी । ‘त्यसो भए मेरी छोरी ल्याइदिनुस् भित्र’ भनेर बुबाले भन्नुभएछ । १५-२० मिनेट लक्ष्मीलाई खेलाएर ‘लु पुर्‍याइदेऊ’ भनेर पठाइदिनुभयो । ‘छोरी भित्र लाँदा लेˆटिनेन्ट साप्ले त आँखाभरि आँसु बनाएर आँसु नै चुहाउनुभयो’ त्यहाँका पालेहरुले भने ।”

किन मंगलबार नै कब्जा गरियो सिंहदरबार ?

सिंहदरबार कब्जा गर्नुभन्दा पहिले लप्टन रामप्रसाद राई, मेजर नारायणसिंह, अग्निप्रसाद खरेल, चन्द्रकर शाक्यलगायतबीच गोप्य छलफल र योजना बनेको थियो । उनीहरुले सिंहदरबार कब्जा गर्ने योजना निर्माण गर्दा ‘रगतले सहीछाप गरेका’ थिए ।

तर, सिंहदरबार विद्रोहपछि पक्राउ पर्ने डरले माटोमुनि गाडेर लुकाउँदा नष्ट हुन पुग्यो ।

रामप्रसाद राईका केही सहयोगीले माघ ११ गते शुक्रवार सिंहदरबार कब्जा गर्न सुझाव दिएका थिए । किनभने, शनिवारको दिन सरकारी सेना विदामा हुने भएकाले विद्रोहलाई नोक्सान हुँदैन भन्ने तर्क थियो ।

पुष्पकर शाक्य अहिले पनि चुकचुकाउँदै भन्छन्, “हाम्रो बुबा र म रामप्रसाद राईलाई भेट्न जेलमा गएका थियौं । वहाँले माघ ८ गते राति ११ बजे विजुली निभेपछि सिंहदरबार कब्जा गर्ने भनेर हाम्रो बुबालाई भन्नुभयो । ‘मैनवत्तीहरु तयार गरिराख्नू’ भन्नुभएको थियो । हाम्रो बुबाले माघ ८ गते सिंहदरबार कब्जा गर्नु हुँदैन भनेर सल्लाह दिनुभएको थियो । वहाँले मंगलबार बिहान टुँडिखेलमा सेनाको कवाज हुन्छ, सेनाहरु जम्मा हुन्छ त्यसैले अप्ठेरो हुन्छ, शनिवार (बिहान) भए कवाज खेल्दैन, मान्छेहरु पनि घरमै हुन्छ त्यसदिन कब्जा गर्‍यो भने राम्रो हुन्छ भन्नुभएको थियो । अग्निप्रसाद खरेलले मंगलबार साइत छ भनेर मंगलबार नै सिंहदरबार कब्जा गरेको हो । (शुक्रबार राति) कब्जा गरेको भए रामप्रसाद राईहरु सफल हुन्थे । उनीहरुको राज चल्थ्यो ।” गृह मन्त्रालयको स्पष्टीकरणलाई आधार मान्ने हो भने शनिवार अर्थात् शुक्रवार बेलुका नै सिंहदरबार कब्जा गर्ने तयारी थियो ।

किनभने, माघ ८ गते मंगलवार २ बजे रक्षादलका जवानहरुबाट हतियार लिई अफिसरलाई जिम्मा दिने आदेश दिइएकाले शनिबारको सट्टा मंगलवार सारिएको थियो ।

हतियार खोसिएपछि विद्रोह गर्नुको अर्थ नहुने ठानी मंगलबारकै दिन सिंहदरबार विद्रोह भएको हुन सक्छ अथवा हतियार खोस्ने आदेश र कब्जा गर्ने ‘साइत’ संयोग मात्र पनि हुन सक्छ

सिंहदरबार बिद्रोहबारे जनतालाई आह्वान गर्ने हिसावले माघ ९ गते बिहानै देखि रक्षादलका बिद्रोही जवान, राष्ट्रिय महासंघका सदस्य, नेपाल कम्युनिष्ट पार्टी र किसान संघका केही सदस्य र कार्यकर्ताहरुसमेत जिपमा बसी क्रान्ति र शान्तिका लागि अपिल गरेका थिए । रक्षा दलका जवान मच्छेबहादुर राईका अनुसार त एउटा जिपबाट ‘अब नयाँ गणतन्त्र नेपाल भएको छ’ भन्दै प्रचार गरेका थिए । प्रचारका क्रममा चौधै मन्त्री गिरफ्तार गरिएकोसमेत बताइएको थियो । सिंहदरबार कब्जामा सहभागीमध्येका एक हैकमसिंह राई पनि सिंहदरबार विद्रोहपछि गरिएको प्रचारबारे यही कुरा बताउँछन् । उनका अनुसार त्यसबखत ‘पूरानो नेपाललाई नयाँ नेपाल’ बनाइयो भन्ने प्रचारप्रसार भएको थियो ।

उनकै शब्दमाः “बजारमा घोषणा गरेछन् । मलाई त थाहा पनि दिएनन् । म पर पोस्टिङमा थिएँ, नरशमशेरको दरबार श्रीमहलमा ।” घोषणा के गरेछन् भने, ‘आजदेखि नयाँ नेपाल बनाइयो । चौध मन्त्रीमण्डल गिरफ्तार । पूरानो नेपाललाई नयाँ नेपाल बनाइयो ।”

गृष्मबहादुर देवकोटाद्वारा लिखित ‘नेपालको राजनीतिक दर्पणबाट यसरी भएको थियो सिंहदरबार कब्जा

दिल्ली सम्झौताको विरोध गर्दै भैरहवामा विद्रोह गरेका डा. केआइ सिंहलाई सरकारले डाका घोषणा गरेर गिरफ्तार गरेको थियो । उनलाई पाल्पाको जेलबाट रातारात काठमाडौंमा ल्याएर थुनिएको थियो । रक्षा दलका रामप्रसाद राई र अग्निप्रसाद खरेलहरु पनि सदर जेलमा थुनामा थिए । यसैवीच २००८ माघ ८ गते थुनामा रहेका रक्षा दलका सिपाहीले विद्रोह गरे ।

रक्षादलका विद्रोही सिपाहीले राति नै बारुदखाना, तोपखाना, बन्दूकखाना, मुलुकीखाना, सिंहदरबार सेक्रेटरियट र अरु प्रमुख स्थानहरु कब्जा गरेर टेलिफोनको तार काटिदिए ।

माघ ९ गते बिहान केआइसिंह नेतृत्वको रक्षा दलका विद्रोही, राष्ट्रिय महासभाका केही सदस्य र कम्युनिष्ट पार्टीका कार्यकर्ताले जीपमा चढेर क्रान्ति र शान्तिको माइकिङ गर्न थाले ।

मन्त्रीहरु भागेर नारायणहिटीमा शरण लिन पुगे । त्यसबेला मात्रिका कोइरालालाई हटाएर त्रिभुवनले आफैं सरकार चलाइरहेका थिए ।

विद्रोहीले सिंहदरबार कब्जा गरेपछि माघ ९ गते बिहान टुँडिखेलमा सेना तैनाथ भए । नारायणहिटीबाट पनि सेना थपियो र सिंहदरबारमाथि धावा बोलियो ।

दिउँसो १२ बजेसम्म शहरका विभिन्न भागमा कब्जा गरी बसेका विद्रोहीहरु पक्राऊ परे ।

करिब तीन घण्टासम्म टुँडीखेल र सिंहदरबारबाट दोहोरोफायरिङ भयो । सिंहदरबारभित्रबाट विद्रोहीले र टुँडीखेलबाट सेनाले फायरिङगरे । केही सैनिक घाइते भए । एकजना नागरिकको मृत्यु भयो । रक्षादलका ड्राइभरको मृत्यु भयो । अन्ततः विद्रोहीहरु सिंहदरबारको पर्खाल नाघेर भाग्न थाले ।

विद्रोह सुरु हनासाथ आ-आफ्नो घरबाट लुक्दै राजदरबारमा शरण लिन पुगेका थिए ।

माघ ९ गते बिहानै केआइ सिंहलाई भेट्न गणेशमान सिंह र टंकप्रसाद आचार्य सिंहदरबार गए । केआइसिंहले राजालाई हामी रक्तपात चाहँदैनौं, केवल आत्मरक्षा चाहन्छौं र सर्वदलीय सरकार गठन होस् भन्ने माग राख्न चाहन्छौं भन्ने खबर पठाए ।

तर, दरबारबाट यसको उत्तर लिएर आउँदासम्म केआइ सिंहले सिंहदरबार छाडिसकेका थिए । अन्ततः माघ १० गतेसम्म काठमाडौंको स्थिति समान्य बन्यो ।

डा. केआइ सिंह र रामप्रसाद राई अंकित हुलाक टिकटडा. केआइ सिंह र रामप्रसाद राई अंकित हुलाक टिकट
सिंहदरबार विद्रोहमा सामेल योद्धामध्ये रामप्रसाद राई मारिए । भागेर चीनमा शरण लिइरहेका डा. केआइ सिंहलाई ६ वर्षपछि २०१४ साल साउनमा नेपाल झिकाएर तत्काली राजा महेन्द्रले १० महिना प्रधानमन्त्री बनाए ।

बहादुर योद्धा केआइसिंह नेपाली कांग्रेसले दिल्ली सम्झौता गरी राणाहरुसँग सम्झौता गरेकोमा रुष्ट थिए । राणा शासन ढाल्न भैरहवा मोर्चाको नेतृत्व गरेका सिंहले क्रान्तिका बेला गठन भएको सैन्य शक्ति र क्रान्ति जारी राखेपछि राज्यले उनलाई दमन र गिरफ्तार गरेको थियो । त्यसैले उनले बहादुरीपूर्वक सिंहदरबार कब्जा गरेर जनपक्षीय सर्वदलीय सरकार गठनको माग गरेका थिए । यद्यपि उनी यसमा सफल हुन सकेनन् । पछि प्रधानमन्त्री बनेपछि सिंह संविधानसभा विरोधी बने ।

नेपाल सरकारले डा. केआईसिंहलाई पोलिटिकल लिडर भन्दै २ रूपैयाँको हुलाक टिकट जारी गरेको छ । त्यस्तै प्रजातान्त्रिक योद्धा रामप्रसाद राईको नाममा ७५ पैसाको हुलाक टिकट जारी भएको छ । (गृष्मबहादुर देवकोटाद्वारा लिखित ‘नेपालको राजनीतिक दर्पणमा)

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट