–प्रा. पुरुषोत्तम दाहाल
“घुस लिने र दिने दुवै अपराधी हुन् । सानो दुःखले निर्माण गरेको देश होइन यो, चार जात छत्तीस वर्णको फूलबारी हो । देशको जडीबुटीबाट देशको ढिकुटी भर्नु । प्रजा मोटा (समृद्ध) भए दरबारसमेत बलियो हुन्छ । आक्रमण नगर्नु तर आक्रमण गर्न आउनेलाई नछाड्नु । विदेशी महाजन आए देशलाई कंगाल तुल्याउने छन् । जनता जोसँग खुसी हुन्छन् उसैलाई जिम्मेदारी दिनु ।”
यी माथि उल्लिखित भनाइहरू नेपालको एकीकरण र भूगोलको रक्षा गर्ने तत्कालीन बडामहाराजा श्री ५ पृथ्वीनारायण शाहका हुन् ।
गोरखा राज्यको राजघरानाका यौटा २० वर्षे युवामा तपोभूमिको, ऋषिभूमिको रक्षा गर्ने, विदेशी, त्यस समयको कहिल्यै सूर्य नअस्ताउने शासन जमाएको बेलायतलाई यस भूगोलभित्र छिर्न नदिने र छरपुष्ट छरिएर बसेका ससाना राज्यहरूलाई पहिले सहमति अन्यथा युद्धबाट विजय हासिल गरी एकीकृत गर्ने विचार आउनु आफैँमा अद्भूत हो ।
आफ्नो त्यस विचारलाई सार्थक बनाउन उनले बनाएको रणनीति, उनका सहयोगीहरूको योगदान, सम्पूर्ण जनताको समर्थन लिने कलाको अध्ययन हुन सकेको छैन ।
लोकतन्त्रको जननी मानिने त्यस समयको बेलायत आफ्नो देशभित्र जतिसुकै उदार मानिए पनि विदेशका लागि उसको साम्राज्य विस्तार र निरंकुश सत्ताको प्रतीक मानिएको थियो । भारतमा रहेका अनेक राज्यका राजाहरू अंग्रेजसंग कि पराजित भए, कि आत्मसमर्पण गरेर जोगिए कि त सम्बन्ध बनाएर लेवी तिर्दै बसे तर सानो भए पनि यो भूखण्डमा अंग्रेजको कुनै दाल गलेन ।

भौगोलिक जटिलता, कुशल राजकीय नेतृत्व, वीर सेना र उपयुक्त रणनीतिका कारण अंग्रेजहरू समेत पराजित हुन पुगे । यो रोमाञ्चक विजय र भूगोलको रक्षा र एकीकरणका नायक यसैकारण श्रेय पृथ्वीनारायण शाहमा जान्छ । यद्यपि, नागरिकहरूको समर्पण, बलिदान र साहस समवेत रूपमा जोडिएको थियो । यो सत्यलाई नेपालको आजको नेतृत्व स्वीकार गर्न तयार देखिएको छैन ।
राजा पृथ्वीनारायण शाहलाई आर्थिक सहयोग जुटाउन सुझाव दिने विसे नगर्चीको शालिक स्थापना गरिएको छ, यो सुखद् पक्ष हो । तर, जसलाई सुझाव दिइयो, जसको नेतृत्वले देश बन्यो, जसले बनाएको देशको भूगोलका नाममा राष्ट्रियता, देशभक्ति, राष्ट्रवाद, जस्ता शब्दहरूको प्रयोग सर्वाधिक गरिएको छ, उसैकाप्रति अत्यन्त विभेद र अपमान किन ?
अरू राजा र पृथ्वीनारायण शाह समान होइनन् भन्ने कुरालाई नेपालको राजनीति र तथाकथित अग्रगामीहरूको कृतघ्न झुण्डले बुझ्न चाहिरहेको छैन । हिंसाको बलमा शासन कब्जा गरेको मान्ने हो भने ०५२ यता मारिएका मानिसहरूको संख्या १७ हजार नाघेको थियो र त्यसका योजनाकार नायक पुष्पकमल दाहाललाई शासनको रातो कार्पेटमा बसाइएको लामो समय भएको छ ।
राष्ट्रको एकीकरणका सन्दर्भमा शत्रुपक्षलाई यातना दिने त्यस समयको मात्रै होइन अहिले पनि प्रचलनमा छ । माओवादी सशस्त्र हिंसाकालमा माओवादीहरूले गरेको क्रूर यातनापूर्ण हत्या र राज्य पक्षले प्रतिरक्षाका नाममा गरेको गैरन्यायिक हत्या र यातनाको सम्पूर्ण प्रतिवेदन बनाउन नै बाँकी छ । जबकि मानव अधिकारको अनेक अन्तर्राष्ट्रिय, राष्ट्रिय घोषणा, सन्धि र कानुनहरूको जालो अहिलेको विश्वमा पर्याप्त छ ।
त्यो समयमा नेपाल जस्तो राष्ट्रमा न लोकतन्त्रको कुरा हुनु थियो, न मानव अधिकार र मौलिक हकको, न शत्रुपक्षका कब्जामा आएका सेना वा नागरिकलाई यो गर्ने वा नगर्ने कुनै सिद्धान्त नै स्थापित थियो । त्यसतो समयमा राज्यहरूको एकीकरण वा विलयको अभियान आश्चर्य थियो । सञ्चार थिएन, यातायात थिएन, हतियार पर्याप्त थिएन, कुनै युद्धकला वा शास्त्रको अध्ययन थिएन, तैपनि नेपाल नामको यो भूखण्डलाई जोगाउने प्रयास त्यससमयको नेपाल, आजको नेपाल र भविष्यको नेपालका लागि समेत गौरवपूर्ण मानिनुपर्छ ।
बाइसी चौबीसी राज्यका राजकुमारको लस्करमा रहेको भ्रममा रहेका र आज पनि आफ्नो पुर्खाको श्रीपेच स्मरण गर्नेहरूका लागि भने एकीकरण अभियानले केही पेट पोलिरहेको हुन सक्छ । त्यो बेग्लै कुरा हो तर जो सिंगो देशकाप्रति गौरव गर्दछ त्यसका लागि पृथ्वीनारायण शाहको योगदान सदा गौरवका साथ स्मरणीय हुनेछ ।
यतिखेर अधिकारको नाममा संघीय प्रदेशहरू निर्मित छन् । ती प्रदेशको जमिनलाई नेपालको परिचय दिने र कहिल्यै पनि विदेशी बुट बजार्न नदिने नायक पृथ्वीनारायणप्रति किन द्ववेष ? किन ईश्र्या ? किन घृणा ?
घर बनाएर सन्तानहरूलाई हस्तान्तरण गर्ने पितामाताजीको नाम बिर्सेर वा त्यस नामलाई अपमानित गरेर कोठाचोटाहरूका अंशबण्डा गर्दै झगडा गर्ने सन्तानहरू जस्तै आजको नेपालको शासकीय सोच भएको छ ।
राष्ट्रवादका नाममा नारा लगाउनेहरू कालापानी, लिपुलेकमा पुग्न सकेका छैनन्, सुस्ताको सानो भाग आफ्नोमा पार्न सकिरहेका छैनन, जंगबहादुर समेतले फिर्ता गर्ने सामथ्र्य राखेको सीमा र लगाएको सीमास्तम्भको रक्षा गर्ने कूटनीति जसमा छैन, तिनीहरू नै पृथ्वीनारायणलाई अपमानित गर्न सक्रिय छन् । यो विडम्बनाबाहेक केही पनि होइन ।
पुर्खाको योगदान बिर्सनेहरू जरा काटेर फल टिप्न झुत्तिने र कुस्ती खेल्ने मतिका नायक हुन् । यदि वर्तमान सरकार आफ्नो पुर्खाको गौरवमा गर्व गर्न सक्छ भने, जरा काटेर टुप्पोमा फल टिप्ने दुर्बुद्धिको छैन भन्ने प्रमाणित गर्ने हो भने पुस २७ को दिनलाई राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका रूपमा उत्सव मनाउन राष्ट्रिय बिदा गरोस् र देशव्यापी रूपमा राष्ट्र निर्माणको सन्देश दिने कार्यक्रमहरू सञ्चालन गरोस् ।
अग्रगमनको अर्थ सन्तानले बाबुआमाको हत्या गरेर बाबुआमाकै पसिनाबाट बनेको घर आफ्नो कब्जामा लिनु होइन । राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती मनाउँदा संघीय लोकतान्त्रिक गणतन्त्रको मानमर्दन हुँदैन बरु सम्मान नै हुनेछ । सबैलाई चेतना भया ।
-ईहिमालयनटाइम्सबाट

