काठमाडौं । यूएईमा जारीे एसीसी यू–१९ एकदिवसीय एसिया कपअन्तर्गत नेपालले पहिलो म्याच आज खेल्दैछ । नेपालले पहिलो खेल टेष्ट मान्यता टोली बंगलादेशविरुद्ध खेल्न लागेको हो । खेल बिहान ११ः१५ बजेदेखि शारजाहको मैदानमा सुरु हुनेछ ।
यसअघिको तालिकामा नेपाल र बंगलादेशबीचको खेल शुक्रबारका लागि तय गरिएको थियो । तर, अन्तिममा आएर एसीसीले नेपाल र बंगलादेशबीचको खेल एक दिनपर धेकेलेको हो । एसिया कपमा खेलेका पछिल्लो पाँच म्याचमा नेपालले बंगलादेशलाई हराउन सकेको छैन ।
एसिया कपमा नेपाल र बंगलादेशले पहिलोपटक सन् २००८ मा खेलेका थिए । सो प्रतियोगिताको पहिलो खेल वर्षाका कारण टस हुन नपाई रद्द भएको थियो । दोस्रो खेलमा बंगलादेशविरुद्ध नेपाल ३ विकेटले पराजित भएको थियो । त्यस्तै, तेस्रो खेलमा बंगलादेशविरुद्ध नेपाल ६ विकेटले पराजित भएको थियो ।
एसिया कपअन्तर्गत बंगलादेशविरुद्ध नेपालले चौथो खेल २०१७ मा खेलेको थियो । सो खेलमा बंगलादेशसँग नेपाल २ विकेटले पराजित भएको थियो । त्यस्तै, एसिया कपमा नेपालले बंगलादेशविरुद्ध अन्तिमपटक २०१९ मा खेलेको थियो । सो खेलमा बंगलादेशले नेपाललाई ६ विकेटले हराएको थियो ।
विगत जे जस्तो भए पनि नेपालले अब सकारात्मक क्रिकेट खेल्नुपर्छ । र, टेष्ट मान्यता टोली बंगलादेशविरुद्ध जित निकाल्ने लक्ष्य राख्नुपर्छ । नेपालले बंगलादेशविरुद्ध ओपनिङ ब्याटरको भूमिका सन्तोष कार्की र अर्जुन कुमाललाई दिने सम्भावना छ ।
यूएई जानुअघि यी दुई ब्याटरले घरेलु प्रतियोगितामा राम्रो प्रदर्शन गरेका थिए । हुन त कप्तान देव खनाल पनि ओपनिङ ब्याटर हुन् । तर, तेस्रो नम्बरमा भरपर्दो ब्याटरको आवश्यकता पर्ने भएकाले एसिया कपमा टिमले देवको भूमिका फेर्न सक्छ ।
बंगलादेशविरुद्ध चौथो नम्बरमा विवेक राना मगरले मौका पाउन सक्छन् । उनले पनि घरेलु मैदानमा यो नम्बरमा खेलेर टिमलाई राम्रो योगदान दिएका थिए । पाँचौंमा विकेटकीपर अर्जुन साउँदले मौका पाउने सम्भावना छ । भारतमा क्रिकेट सिकेका अर्जुनले हालै घरेलु मैदानमा राम्रो प्रदर्शन गरेकाले उनी पनि प्रशिक्षकको प्रमुखको रोजाइमा हुनु सक्छन् ।
छैटौं नम्बरमा आदिल अन्सारीले मौका पाउन सक्छन् । आक्रामक ब्याटिङ गर्न सक्षम उनी हार नजिक पुगेको म्याच पनि जिताउन सक्छन् । अलराउन्डरको रूपमा पहिलो खेलमा उपकप्तान शेर मल्ल, विवेक यादव र गुल्शन झाले मौका पाउने सम्भावना छ । साथै, यी खेलाडी बलिङमा पनि सक्षम छन् ।
त्यस्तै, तीव्र गतिको बलरको रूपमा दुर्गेश गुप्ताले बंगलादेशविरुद्ध प्लेइङ–११ मा मौका पाउने सम्भावना प्रवल छ । स्पिनर खेलाएमा दीपेश कँडेल पहिलो प्राथमिकतामा पर्न सक्छन् । उनले हालै घरेलु एकदिवसीय प्रतियोगितामा ६ खेलमा १३ विकेट लिएका थिए
पहिलो खेलमा तिलकराज भण्डारी, बसिर अहमद, प्रकाश जैशी र राहुल भण्डारी बेन्चमा बस्न सक्छन् । एसिया कप नेपालका लागि चुनौती र अवसर दुवै हो । आफूभन्दा बलियो टिमसँग प्रतिस्पर्धामा उत्रदा नेपाललाई कमजोरी सुधार्ने र नयाँ कुरा सिक्ने मौका मिल्नेछ ।
बंगलादेशविरुद्ध नेपालको सम्भावित प्लेइङ–११ ः सन्तोष कार्की, अर्जुन कुमाल, देव खनाल (कप्तान), विवेक रानामगर, अर्जुन साउँद (विकेटकीपर), आदिल अन्सारी, शेर मल्ल (उपकप्तान), विवेक यादव, गुल्शन झा, दुर्गेश गुप्ता र दीपेश कँडेल ।

