बुधबार, मंसिर २२, २०७८
अष्ट्रेलियाले पनि बेइजिङ ओलम्पिक कुटनीतिक रुपमा बहिष्कार गर्ने घोषणा

अष्ट्रेलियाले पनि बेइजिङ ओलम्पिक कुटनीतिक रुपमा बहिष्कार गर्ने घोषणा


  • स्वदेश नेपाल
  • बुधबार, मंसिर २२, २०७८

अष्ट्रेलियाले पनि आगामी फेब्रुअरीमा बेइजिङमा हुने शीतकालीन ओलम्पिकमा आफ्ना कुनै कुटनीतिज्ञ वा आधिकारिक प्रतिनिधि मण्डल नपठाउने घोषणा गरेको छ । अमेरिकाले यस अघि नै मंगलबार बेइजिङ ओलम्पिक कुटनीतिक रुपमा बहिष्कार गर्ने घोषणा गरिसकेको छ । अमेरिकी घोषणा लगत्तै अष्ट्रेलियाले समेत शीतकालीन बेइजिङ ओलम्पिक बहिष्कार गर्ने बताएको हो ।

बुधबार सिड्नीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले शीतकालीन बेइजिङ ओलम्पिक बहिष्कार गर्ने बताएका हुन् । ‘मानव अधिकार र सिनजियाङको मुद्दा’सम्बन्धी चासो चीन समक्ष व्यक्त गरेको पनि उनको भनाइ छ ।

तर आउँदो फेब्रुअरीमा हुने शीतकालीन ओलम्पिकमा अष्ट्रेलियाका खेलाडी सहभागी हुने मोरिसनले प्रस्ट पारे । अमेरिकाले पनि मानव अधिकार हनन र जिनसियाङका उइगुर मुस्लिममाथि भइरहेको व्यवहारका कारण बेइजिङ ओलम्पिकमा आफ्ना कुनै कुटनीतिज्ञ वा प्रतिनिधि नपठाउने निर्णय गरेको छ । तर अमेरिकी खेलाडी भने सहभागी हुने छन् ।

चीनले शीतकालीन बेइजिङ ओलम्पिक कुटनीटिक रुपमा बहिष्कार गर्ने अमेरिकी घोषणाको निन्दा गरिसकेको छ । मंगलबार चिनियाँ विदेशमन्त्रीका प्रवक्ता झाओ लिजियानले अमेरिकी कदमप्रति ‘सशक्त जवाफ’ दिने बताएका थियो । तर चीनले दिने सशक्त जवाफबारे उनले केही खुलाएनन् ।

त्यस्तै,लिजियानले अमेरिकामाथि ‘खेलकुदमा राजनीतिक तटस्थता’को सिद्धान्त उल्लंघन गरेको आरोप समेत लगाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट