आइतवार, अशोज ३, २०७८
जीवित इतिहास अर्थात् कान्छा शेर्पा – सगरमाथाको पहिलो सफल आरोहण टिमका जीवित सदस्य (भिडियो)

जीवित इतिहास अर्थात् कान्छा शेर्पा – सगरमाथाको पहिलो सफल आरोहण टिमका जीवित सदस्य (भिडियो)

तेन्जिङ हाम्रा लागि राजाजस्तै थिए - जीवित इतिहास कान्छा शेर्पाको सम्झना : पहिलोपटक यसरी भएको थियो सगरमाथा आरोहण


  • स्वदेश नेपाल
  • आइतवार, अशोज ३, २०७८

तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले गरेको ‘सगरमाथा विजय’को कथा किंवदन्ती बनिसकेको छ ।

तर ६८ वर्षअघिको त्यो आरोहण अभियानको रोमाञ्चकता, जोश र त्यसले सगरमाथा मुन्तिर बस्ने स्थानीय समुदायमा ल्याएको चामत्कारिक परिवर्तन एक मानिसको सम्झनामा अझै जीवन्त छ । उनी हुन्, सगरमाथाको पहिलो सफल आरोहण दलका सदस्य कान्छा शेर्पा । कान्छा सन् १९५३ मा सगरमाथाको सफल आरोहण गर्ने दलको सदस्य हुन् ।

अनुहार मुजैमुजा परे पनिचम्किला आँखा भएका शेर्पा ‘८९ वर्षे हजुरबा’ भइसकेका छन् । खुम्बू क्षेत्रको मुख्य व्यापारिक केन्द्र नाम्चे बजारमा नै कान्छाले पूरै जीवन बिताए । करिब १५ सय जतिको बसोबास भएको नाम्चेमा १०० वर्षअघि जसोतसो कठिन जीवनयापन हुन्थ्यो । अहिले त्यस क्षेत्रमा बस्ने समुदायको जीवनशैली आश्चर्यजनक रूपमा बदलिएको छ ।

पर्यटकको घुइँचो, इन्टरनेट क्याफे, उपहार पसल र कफी हाउस पदयात्री अनि गल्लीछेउ चारतले भव्य लजहरू । यही हो अहिलेको नाम्चे बजारको रमझम । खुम्बुको विकासको मुख्य आधार नै बर्सेनि आउने पर्यटक हुन् । अन्तर्राष्ट्रिय पर्यटककै कारण खुम्बु आज समृद्ध भएको छ ।
कान्छा सानो छँदाको नाम्चेको जीवन र अहिलेको नाम्चेमा आकाश पातालको अन्तर छ । त्यो समय ‘हुनेहरू आलु खान्थे, नहुनेहरूसँग त आलु पनि हुँदैनथ्यो’, कान्छा स्मरण गर्छन् । अधिकांश शेर्पा त खानेकुराका लागि वनजंगलमा च्याउ खोज्न जाने गरेको उनलाई हिजैजस्तो लाग्छ ।

‘त्यसवेलाका पोशाक, औजार अहिलेका जस्ता कहाँ थिए र !’, ऊवेलाको सम्झना गर्दै कान्छा भन्छन्, ‘खाना पकाउन पनि मट्टितेल मात्रै पाइन्थ्यो ।’ कान्छा एकैछिन टक्क अडिएर आफूले लगाएको ‘शेर्पा छुवा’ सुम्सुम्याउँछन् । उनले ज्याकेटबाहिर उहाँले घाँटीमा प्रार्थना गर्ने माला पहिरिएका छन् ।

योहो टेलिभिजनको हिमाली मन्थन कार्यक्रममा कान्छा शेर्पा गरिएको कुराकानी :

त्यतिवेलाको नाम्चेका एउटा किशोर कान्छालाई भने खुम्बू उपत्यकाको शिरमा अवस्थित दैत्याकार ‘चोमोलोङमा’ विश्वको सबैभन्दा अग्लो हिमाल हो भन्ने पनि थाहै थिएन । तर यो सबै फेरियो, जब सन् १९५३ मा स्विसहरूले पश्चिमाहरूले ‘एभरेष्ट’ भनेर पुकार्ने चोमोलोङमा चढेरै छाड्ने अठोटसहित दुईपल्ट आरोहण गरे । त्यसबेला १९ वर्षे लक्का जवान कान्छाले स्विसहरूको टोली नाम्चेबाट उकालो लागेको देखे । अनि देखे, उनीहरूसँग गइरहेका तेन्जिङ नोर्गेलाई, जो आरोहण दलमा सामेल उच्च पर्वतीय शेर्पाहरुका एक चामत्कारिक सरदार अगुवा थिए । कान्छाले बिना कुनै अनुभव उनले पहिलो टोलीसँग सगरमाथा आरोहण गरेका थिए ।

तेन्जिङलाई त्यसरी स्विस दलसँग देखेकै वर्ष सामानले भरिएको एउटा गह्रौँ डोको बोकेर नाम्चेतिर उक्लिरहेका कान्छाको जम्काभेट गोराहरूका जस्ता पहिरनमा ठाँटिएर ओरालो झर्दै गरेका तीन शेर्पासँग भयो । ‘मैले उनीहरूसँग सोधेँ– हैन, तिमीहरूले यस्ता ज्याकेट किन्ने पैसा कसरी पायौ ?’, कान्छाले बताए, ‘अनि उनीहरूले भने– दार्जिलिङमा, तेन्जिङ नोर्गेसँग काम गरेर ।’ त्यसपछि कान्छा दार्जिलिङ भाग्ने निश्चय गरे ।

कान्छा भन्छन्, ‘तेन्जिङले मेरो बाबुको नाम सोधे । उनले मेरो बाबुलाई राम्रैसँग चिन्दा रहेछन् । त्यसपछि मैले उनीसँग काम गर्ने अवसर पाएँ ।’ तेन्जिङले कान्छालाई नयाँ लुगा किनिदिए । कान्छा ३ महिनाजति तेन्जिङको घरमा पानी ओसार्ने, लुगा धुने र भान्सामा सघाउनेजस्ता काममा व्यस्त भए । ‘एकदिन तेन्जिङले एक्कासि भने– कान्छा हामी अब काठमाडौँ जाँदैछौँ । त्यहाँबाट चोमोलोङमा ।’

कान्छासँग पर्वतारोहणको कुनै अनुभव नभए पनि उनी काम पाइने भयो भनेर खुशी भए । त्यो समय कान्छाको एक दिनको तलब पाँच रुपैयाँ थियो । यो रकम खुम्बू वरिपरि सामान बोक्दा पाउने ज्यालाको चौबर थियो । काठमाडौँमा बेलायतीहरूसँग उनीहरूको भेटघाट भयो । कान्छाले कुनै अंग्रेजसँग मुखामुख भेटेको यो नै पहिलो पटक थियो । ‘उनीहरूका आँखा गोला, कपाल कैलो थियो’, कान्छाले सम्झिए, ‘अनि हिलारीचाहिँ साह्रै अग्ला देखिन्थे ।’

चोमोलोङमा पुगेपछि अनुभवी शेर्पाहरूले कान्छालाई ‘क्राम्पोन’ लगाएर हिउँमा कसरी हिँड्ने र आइस एक्स हिउँ बञ्चरो० कसरी प्रयोग गर्ने देखाए । सिकाए । ‘आइसफलको डर थियो ।, तर हामीले ती बडेमानका धाँजा पार गर्न आफूसँग मुढाहरू लगेका थियौँ’, मुसुक्क हाँसेर सुस्तरी शिर झुकाउँदै कान्छाले भने ।

अधिकांश शेर्पा जस्तै कान्छा पनि व्यक्तिगत सन्तुष्टिका लागि नभएर पैसा कमाउन सगरमाथा चढ्दै थिए । सन् १९५३ शेर्पाको टोलीका लागि सबैभन्दा ठूलो पुरस्कार थियो, ३०० रुपैयाँको बोनस, जुन साउथ कोलसम्म भारी बोकेर सामान पु¥याएबापत अंग्रेजहरूले दिने वाचा गरेका थिए । आरोहण दलका नेता जोन हन्टको यो वाचा एउटा रणनीतिक कदम थियो, जसलाई साउथ कोलमा अक्सिजनका बोतल र अन्य आवश्यक सरसामान लगेर राख्नु आरोहण टोलीको सफलताका लागि कति महत्त्वपूर्ण छ भन्ने राम्ररी थाहा थियो ।

शेर्पा भाषाको कार्यक्रम श्यर्वी ङोटोमा कान्छा शेर्पा गरिएको कुराकानी :

तेन्जिङको दृढ नेतृत्व अझै कान्छाको स्मृतिमा ताजा छ । ‘चिया पकाएर हामीलाई खुवाए, केही (खाजा) पनि दिए । केही शेर्पाको पैताला हिउँजस्तै चिसा भइसकेका थिए’, कान्छा सम्झिन्छन् । त्यसैले उनले उनीहरूका पैताला तताउन मालिस गरे । ‘उनी साह्रै बलिया र दृढ मानिस थिए’ कान्छा तेन्जिङ प्रशंसामा शब्द खर्चिन्छन्, ‘तर शेर्पाका लागि भने साह्रै दयालु पनि थिए ।’

हिलारी र तेन्जिङले शिखरमा पहिलो पाइला टेक्दा कान्छा दोस्रो शिविरमा थिए । ‘अहिलेजस्तो रेडियो थिएन । त्यसैले हामी पर्खेर मात्र बसिरहेका थियौँ’, कान्छाले भने, ‘जब उनीहरू तल उत्रिए, अनि खुसीयाली मनायौँ । अँगालो मार्यौँ ।’ उनलाई अहिले पनि एउटा कुराले मनमा चसक्क घोच्छ, सगरमाथामा उनीहरूको टोलीले छाडेको खानेकुराको रास सम्झेर । ‘हामीले दोस्रो शिविरमा खानेकुराको रास नै छाड्यौँ– बिस्कुट, डिब्बाबन्द मासु, चिया र गुलिया खानेकुराहरू’ उनले भने ।

पत्नीले सन् १९७३ तिर ज्यानकै जोखिम हुने यस्तो काम छाड्नु भनेर नसम्झाउञ्जेल कान्छाले उच्च हिमाली भेगको काम गरिरहे । केही वर्षयता भने उनी नाम्चेका सेलिब्रेटी बनेका छन् ।

शेर्पा संस्कृति संरक्षण गर्न र शेर्पालाई शैक्षिक अवसर जुटाउन समर्पित कान्छाले शेर्पा फाउण्डेसन नामको संस्था समेत स्थापना गर्न सहयोग गरेका छन् । ‘पर्यटन शेर्पाहरूका लागि त ठीक छ’, उनी भन्छन्, ‘तर यो देउताका लागि भने ठीक छैन ।’ आफू केटाकेटी हुँदा जाडोमा कैयौँ फिट हिउँ जम्ने गरेको देखेका कान्छा अहिले सबै टाकुरा काला भइसकेको देख्दा साह्रै दुःखी हुन्छन् । उनी भन्छन्, यो राम्रो संकेत होइन ।’

-योहखबरबाट

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट