सोमवार, अशोज ३१, २०७९
एक ५१ वर्षीय इजरायलीको आँखाबाट त्यो नेपाल, यो नेपाल !

एक ५१ वर्षीय इजरायलीको आँखाबाट त्यो नेपाल, यो नेपाल !

उनी अर्को पाला आउँदा नेपाल कस्तो होला? 'विनाशको बाटो'मा मासिँदै गएका सुन्दरताले मन खिच्ला कि नखिच्ला?


  • स्वदेश नेपाल
  • सोमवार, अशोज ३१, २०७९

दिवस गुरुङ-पुरानो पदमार्गलाई पछ्याउँदै लमजुङ छाडेर मनाङ प्रवेश गर्दा देखिने पहिलो गाउँ हो- ताल गाउँ। म पहिलो पटक मनाङको यात्रामा छु।

मसँगै यात्रामा छन्, मेरा इजरायली बुढो साथी गाइ हालपरिन। अनि, उनकी छोरी।

यो सुन्दर गाउँ देख्नसाथ ५१ वर्षीय हालपरिन एकछिन सोचमग्न बने। २८ वर्षअघि आफ्नी प्रेमिकासँग अन्नपूर्ण फेरो पदयात्रामा आएका रहेछन् उनी। पदयात्रा गर्दाको सम्झनाहरू एकाएक हालपरिनको सम्झनामा देखापरे।

‘त्यस समय अहिलेका जस्ता कंक्रिट होटलहरू थिएनन्। खरले छाएका स-साना छाप्राहरू मात्रै थिए। बेंसीशहरबाट सुरू भएको हाम्रो पदयात्राको चौथो दिनमा यहीँ गाउँ आएर बास बसेका थियौं,’ पदयात्रामा सँगै आएकी आफ्नी छोरी आएलेटलाई सुनाउँदै बाटो नाप्दै छन्, हालपरिन।

गाउँ पछाडिको झरना अनि गाउँ छेवैबाट बग्ने मर्स्याङ्दी नदी उस्तै छ। मात्र बदलिएका थिए घरका संरचनाहरू। पहिला खरले छाएका र काठले बारेका स–साना होटलहरू थिए। अहिले कंक्रिटले बनेका तलैतलाका होटलहरू छन्।

इजरायलको नियम अनुसार १८ वर्षदेखि २१ वर्षसम्म उनी पनि सैन्य सेवामा आबद्ध भए। त्यसपछि थप २ वर्ष उनी सेनामै जागिरे भए। करिब ५ वर्षको कडा सैनिक शासनमा बसेर अनुशासन पालना गर्नु चानचुने कुरा थिएन। ह्याङओभर हटाउनु थियो। यता उनकी प्रेमिकाले पनि सैन्य सेवा सकाएर अन्य जागिरमा आबद्ध थिइन्। दुवैलाई केही लामो यात्रामा निस्किनु थियो। योजना फुर्‍यो, केही वर्ष सँगै विश्व भ्रमण गर्ने।

तिनताका न अहिलेका जस्ता स्मार्ट फोनहरू नै थिए। न हरेक देश र त्यहाँका ठाउँहरूको जानकारी भरिने अहिलेका युट्युब र फेसबुकजस्ता प्ल्याटफर्महरू नै चल्तीमा थिए। मात्र एउटा माध्यम थियो, किताबबाट जानकारी लिने। उनले पनि लोन्ली प्लानेटको प्रसिद्ध पुस्तक भेटाए। त्यसैमा पढे नेपालबारे। यस अघि न उनले नेपाल देश नै सुनेका थिए, न पढेका थिए। नेपालको बारेमा धेरथोर जानकारी बटुलेपछि दुवैलाई हुटहुटी जाग्यो, नेपाल आउने र नेपाल बुझ्ने। अनि आफ्नै आँखाले स्वर्ग हेर्ने। त्यसपछि उनीहरूको विश्व यात्राकै पहिलो गन्तव्य बन्यो–नेपाल।

जहाजबाट काठमाडौं ओर्लेपछि कुन कुन ठाउँ घुम्ने त्यतिबेलै योजना बन्यो। उतिबेला भर्खर चल्तीमा आएको थियो- अन्नपूर्ण फेरो पदयात्रा। उनीहरूलाई धेरैले यहीँ पदयात्रा गर्न सुझाए।

आएको भोलिपल्टै  उनीहरू हानिएका थिए, राजधानीदेखि बेंसीशहर।

‘उतिबेलाको सडक यात्रा अहिलेको भन्दा बढी चुनौतीपूर्ण तर एड्भेन्चर थियो,’ उनी थप्छन्, ‘सडक नै बेंसीशहर आएर टुंगिएको थियो। बेंसीशहर शहर थिएन, सानो गाउँजस्तो थियो। उतिबेला अहिलेका जस्ता कंक्रिट तलै तलाका सुविधा सम्पन्न होटलहरू थिएनन्। केबल थिए त स–साना खरले छाएका होटल र चिया पसलहरू। शौचालय र बाथरूमको राम्रो व्यवस्था पनि हुन्थेन। अहिलेको जस्तो थरीथरीका परिकारसहितको मेनु पनि कहाँ हुन्थे त्यतिबेला? खाए पनि दालभात, नखाए पनि दाल भात। ब्रेकफास्टमा भने सुक्का रोटी र तरकारी दिइन्थ्यो।’

अहिलेका जस्तो मोटरको कालो धुवाँ र धुलो उतिबेला कहाँ देख्न पाउँथे र पर्यटकहरूले!

केबल देख्थे त सामानले भरिएका खच्चर र घोडाका लोभलाग्दा लस्करहरू। त्रिशूलीसँग भेट्ने हुटहुटीले बेतोडले बगिरहेकी मर्स्याङ्दी, गनेर नसकिने लोभलाग्दा झरनाहरू र हेरेरै नसकिने अनगिन्ती चराचुरूङ्गीहरू, यी सब नियाल्दै अघि बढ्दा बाटो छोटिएको पत्तै हुन्थेन। मोबाइल फोनको जमान थिएन तर उनले त्यतिबेला पनि पुरानो क्यामरा साथमै बोकेर ल्याएका थिए। कति हृदयको अन्तरकुनामा त कति क्यामरामा धीतमरून्जेल यादहरू कैद गर्थे।

२८ वर्ष अघिका फोटोहरू मोबाइलमा अझै सुरक्षित राखेका छन् उनले। मलाई पनि देखाए। जहाँ जहाँ २८ वर्षअघि फोटाहरू खिचेका थिए, त्यहीँ ठाउँमा पुगेर उनी उही पोज दिएर फोटोहरू खिचे। हालपरिन उत्साहित थिए, ‘उहिले र अहिलेको नेपाल। मनाङ जिल्लाको प्रवेशद्वार अझै उस्तै रहेछ।’

फोटोमा प्रष्टै देखिन्छ। प्रवेशद्वार उस्तै भए पनि बदलिएका थिए ठाउँहरू। मानिसहरूका रहनसहन, जनजीवन र जीवन पद्धतिमा धेरै परिवर्तन आयो। यतिका वर्षमा पनि नबदलिएको मात्र थियो, नेपालीको आतिथ्यता, माया अनि स्वागत। नेपालीको हँसिलो चेहरा, पाहुनालाई गर्ने स्वागत सत्कार र नेपाली मायामा उनले कुनै कमी भेटेनन्। उनलाई यसैले त्यो विगतको यात्रा क्षणभर मै सम्झाइदियो।

सडक विस्तारले खुम्चिएको पदयात्रा

समय फेरियो। समयसँगै सबथोक फेरियो। गाउँहरू मोटरबाटोले जोडिए। अझ हरेक घरको आँगनैपिच्छे मोटर पुग्नुैपर्ने हाम्रो चलन छ। डाँडाकाडा, भीर पाखा छिचोलेर आजको दिनमा मोटरहरू घरका आँगन टेकेका छन्। मोटर पुगेसँगै कुनाकन्दराका मानिसहरूले विकासका फलहरू चाख्न पाए। २८ वर्षअघि बेंसीशहरसम्म पुगेको मोटरबाटो आजको दिनमा मनाङको खाङसार पुगिसकेको छ।

उहिले उनले पदयात्रा गरेका भीरपाखा र जंगलको बाटोमा आजको दिनमा सडक बनेका छन्।

पदयात्रा मौलाएपछि पदमार्गको छेउछाउ स–साना टि हाउस र होटलहरू बन्दै गए। समयसँगै ठाउँ-ठाउँमा घना बस्ती नै बन्यो। अनि उनीहरूले थप सुविस्ताका लागि त्यहीँ सिँढीको पदमार्गलाई मासेर चाक्लो मोटर बाटो बनाए। लोभलाग्दो गरी लाइन लगाएर पर्यटकहरू हिँड्ने त्यही पदमार्गमा आजकल कालो धुँवा पुत्याउँदै जीपहरू हुइँकिन्छन्। थकान मार्ने र भरियाले भारी बिसाउने ढुंगाले चिनेका चौताराहरू आजकल भेटिँदैनन्। कतैकतै भेटिन्छन् त कंक्रिट विश्रामस्थलहरू। यी सब देख्दा भने उनलाई ननिको लाग्छ।

पदमार्गले नै उकासेको यहाँको बस्तीले पदमार्ग नै माँसेर मोटर बाटो बनाएछन्। आजको दिनमा पर्यटकहरू सिधै पहिलो दिनमै मनाङको खाङसार पुग्छन्। बीच बाटाका कैयौं होटल व्यवसायीहरू टुलुटुलु हेर्नु बाहेकको विकल्प छैन।

२८ दिने पदयात्रा खुम्चिएर १२ दिनमै 

लमजुङको बेंसीशहरबाट सुरू भएको उनको त्यो पहिलो पदयात्रा चामे, पिसाङ, थोराङ्ला भञ्ज्याङ, मुस्ताङ, बेनीको तातोपानी हुँदै, घोरेपानी, उल्लेरी हुँदै नयाँपुलमा आएर २८ दिनमा टुंगिएको थियो। अहिले भने उनले त्यही पदयात्रा १२ दिनमा सिध्याए। यहीबाट प्रष्ट छ, सडक विस्तारले अन्नपूर्ण पदयात्रा तीव्र गतिमा खुम्चिएको छ।

अव्यवस्थित सडक विस्तार, वैकल्पिक पदमार्गको अभाव र लग्जरी ट्रेकको मोडालिटीलाई व्यङ्ग्य गर्दै उनी भन्छन्, ‘कुनै दिनमा स्कार्पियोमा सरर अन्नपूर्ण फेरो भनेर ट्राभल कम्पनीले ब्रान्डिङ गर्न बेर छैन। एकै रातमा अन्नपूर्णलाई फन्को मारेर शहर फर्कनेहरूलाई त्यो महिना दिने पदयात्राको अस्ली स्वाद के थाहा होला?’

नेपाली दिदीलाई भेट्ने हुटहुटी

उनी र उनकी प्रेमिकाले २८ दिने पदयात्रा सिध्याएर पोखरा आइपुगेका थिए। उतिबेलाको पोखरा त फुच्चे पोखरा थियो, उनी विगतमा फर्कन्छन्, ‘अहिलेका जस्ता गगनचुम्बी भवनहरू एउटा पनि थिएनन्। मात्र थिए स–साना होटलहरू। सफा ताल, खुलला चौरहरू र खुला हृदयका पोखरेलीहरू त्यसबेलाका विशेषता थिए। अहिले त बाटो मात्र हैन, मानिसका मानसिकता पनि साँघुरिसकेछ, शहरलाई एक फन्को मार्दा थाहा मिल्छ।’

शरद ऋतु। दसैं र तिहारको रमझम पोखरामा छाइसकेको थियो। अहिलेकै अनुपातमा भव्य झिलिमिली नभए पनि पोखरा तिनताका पनि सुन्दर, शान्त र शालिन मुद्रामा हुँदो हो। भाइटीकाको दिन थियो। उतिबेला नेपालमा न इन्टरनेट थियो न फोनकै सुविधा। त्यसैले घर परिवारलाई सन्चो विसन्चोको खबर पठाउन चिठी लेखे। हुलाक टिकट खोज्नलाई अहिलेको लेकसाइडतिर पुगे। उनीहरू टक्क अडिए, एउटा सानो किराना पसल अगाडि। त्यहीँ भेटिए कृष्ण काफ्ले।

कृष्णको निधारमा सप्तरंगी टीका, घाँटीमा मखमलको माला देख्दा उनको मनमा कौतुहलता जाग्यो। कृष्णलाई उनले यस पछाडिको कारण सोधे। कृष्णले वृतान्तमा भाइटीकाको बारेमा बताएपछि उनलाई पनि यो चाडमा जोडिन मन लाग्यो। कृष्णकी श्रीमती उमा काफ्लेले उनलाई टीका लगाइदिइन्। उनको नाम ओखर फोरिदिए। अनि लगाइदिए घाँटीमा मखमलको माला। त्यहीँ दिनबाट दुवै जना दिदी भाइ बने।

उतिबेला अहिलेको जस्तो मोबाइल नम्बर वा इमेल आइडी साटासाट गर्ने प्रविधि थिएन। पोखराको बसाइ सकेर दुवै जना बनारस पुगे।

त्यतैबाट विभिन्न देशहरू घुम्दै दुई वर्षमा इजरायल फर्केका रहेछन्। उनै नेपाली दिदी र भिनाजु भेट्ने बुवाको पहिलैदेखिको सपना थियो। उनकी छोरी एलियट सुनाउँछिन्, ‘नेपाल देश भन्नेबित्तिकै उनै नेपाली दिदी र भिनाजुको कुरा सँगै जोडिएर आउँथ्यो। नेपाल आउने सपना त पूरा भयो तर बुवाको त्यो सपना पूरा हुने हो कि हैन भन्ने डर भने मनमै थियो।’

मनाङबाट फर्केपछि उनीहरूले दिदी, भिनाजु भेट्ने इच्छा गरे। भोलि भेट्ने बाँचा गर्दै म आफ्नो बासतिर लागें।

२८ वर्षमा सबथोक बदलिसकेको छ। कहाँको त्यो फुच्चे लेकसाइड! अनि आजको गगनचुम्बी भवनहरूको लेकसाइड। चलायमान शहरले कतिलाई बिदाइ गरे, त कतिलाई स्वागत। कतै उनै दिदी भिनाजु पनि बिदाइमा परे कि !

भोलिपल्ट, लेकसाइडको एक क्याफेमा कफी पिउँदै उनी सोचमग्न थिए। केही प्रयास गर्दैमा उनीहरूसँग भेट भइ पो हाल्छ कि भनेर झिनो आशा बटुलेर दुवै गए लेकसाइडका गल्लीहरूमा। हालपरिनलाई अझै त्यो ठाउँको धमिलो सम्झना बाँकी थियो। त्यसैले दुवै जना त्यहीँ गल्लीमा गए। अनि सुरू भयो उनीहरूको मिसन।

कहाँको उतिबेलाको सानो घरहरू अनि कहाँको आजको गगनचुम्बी भवनहरू। उनले ठ्याक्कै ठम्याउन सकेनन्। छेउछाउका धेरै पसलहरूमा चहार्दा पनि कसैले चिन्न सकेनन्। उमेरले पाका एक बुढाको पसलमा छिर्‍यौं। मोबाइलमा २८ वर्ष अघिको उनै उमाको परिवारको फोटो देखाउँदा उनले चिनेजस्तै प्रतिक्रिया देखाए।

अनि उनैले पुर्‍याइदिए जहाँ उनी र उनकी प्रेमिका २८ वर्षअघि हुलाक टिकट खोज्दै पुगेका थिए। सानो किराना पसल आज ठूलो ट्रेकिङकै सामानहरू पाइने पसल बनेको रहेछ। त्यही कृष्ण काफ्लेलाई भेट्दा र विगत सम्झाउँदा कृष्ण पनि खुसीले दंग भए।

पछाडीपट्टि रहेछ घर। घरैमा रहिछन् उमा। दिदी घरैमा भेटिइन्। दिदी-भाइ २८ वर्षपछि फेरि भेट हुँदा दुवैले खुसी साटे। मानव निर्मित शहर, देश वा महादेशको सीमानाले कहाँ मानवबीच जोडिने सम्बन्धको सीमानालाई तोड्न सक्छ र! दिदी भाइको पुनर्मिलनले सिकाउँछ।

हालपरिन अहिले उमेरले पचास कटे। तीन छोरा र एउटी छोरीका बुवा उनले यो पाँच दशकको समयमा धेरै उतारचढाव ब्यहोरे। दुई वर्ष देशको सैन्य सेनामा निवृत्त भएका उनले कम्प्युटर इन्जिनियरिङदेखि घर निमार्ण कन्स्ट्रक्सनमा काम गरे। सानैदेखिको उनको रूचि भने कार्पेन्ट्रीमा थियो। त्यसैले सन् २००३ मा उनले आफ्नै फर्निचरको उद्योग खोलेका रहेछन्। २० जनाभन्दा बढी कामदारहरू जोडिएको उनको उद्योग उनको शहरको नामी उद्योग रहेछ।

आफ्नै व्यवसायमा लागेका उनी फुर्सद मिलाएर घुम्न रूचाउँछन्। देश विदेश विचरण गरिरहने उनको आदत अनुसरण गर्न योग्य छ। दोस्रो पटक करिब एक महिना नेपाल घुम्दा पनि उनको त्यो नेपाल घुम्ने, हेर्ने र बुझ्ने प्यास भने अझै घटेको छैन। अझै बढे होला। त्यसैले बाँकी प्यास मेटाउन उनी नेपाल आइ नै रहने बाचा राख्छन्।

नेपालप्रतिको प्रगाढ माया, प्रेम अनि सद्भाव बोकेर नेपाल बारम्बार टेकिरहने उनीजस्ता शुभचिन्तन पाहुनाहरूलाई के हामीले न्याय दिन सक्यौं? हिमालको काखमा स्वच्छ हावा र सुन्दरतामा डुबुल्की मार्न आएका उनीजस्ता प्रकृतिप्रेमीलाई पदयात्रा भर धुँवा र धुलोमात्र खुवाएर दिक्क बनाएका त छैनौं? अव्यवस्थित सडक विस्तार र पदमार्ग विस्थापन, कमजोर फोहोर व्यवस्थापन प्रणाली र अनावश्यक होटल व्यवसायीको प्रतिस्पर्धालाई सुधार गर्नुपर्ने पो हो कि!

मेरो इजरायली बुढो साथी हालपरिन फेरि नेपाल आउँछु भनेर गए। उनी अर्को पाला आउँदा नेपाल कस्तो होला? ‘विनाशको बाटो’मा मासिँदै गएका सुन्दरताले मन खिच्ला कि नखिच्ला?

-३२ असारको सेतोपाटीबाट साभार

प्रतिक्रिया
सम्बन्धित समाचार