सोमवार, भदौ २८, २०७८
‘मिसन पत्रकारिता’ जग हसाउँने स्थितिमा आइपुगेको छैन ? छातिमा हात राखेर समिक्षा गरौं ।

‘मिसन पत्रकारिता’ जग हसाउँने स्थितिमा आइपुगेको छैन ? छातिमा हात राखेर समिक्षा गरौं ।


  • स्वदेश नेपाल
  • सोमवार, भदौ २८, २०७८

भानुभक्त आचार्य

१. पञ्चायतकालमा दुई खेमाका पत्रकारहरु थिए— पञ्चायत पक्षधर र बहुदलीय व्यवस्था पक्षधर । बहुदलीय पक्षधर पत्रकारहरुले लोकतन्त्र प्राप्तिलाई आफ्नो मिसन बनाए, जसलाई मिसन पत्रकारिता भनियो । त्यसबेला ती दुवैपक्षमा खुलेर नलाग्ने मध्यमार्गीहरू थिए, जसले विकास पत्रकारिता चलाए । अर्थात् मिसन पत्रकारिताको उद्देश्य लोकतन्त्रको प्राप्ति थियो । त्यसका लागि पत्रकारहरुले कुटाइ खाए, निर्वासन सहे, जेल बसे तर मिसनमा सम्झौता गरेनन् ।

२. तर, बहुदल आएपछि मिसन पत्रकारिता रोकिएन । हुन त पञ्चायतकालमै दक्षिणपन्थी र बामपन्थी लेखक/पत्रकार थिए तर खासै मतभेद थिएन । कारण, पञ्चायत दुवै पक्षको साझा शत्रु थियो । बहुदल लागेपछि यी पत्रकारहरु स्पष्ट दुई राजनीतिक विचार समूहमा विभाजित भए । दक्षिणपन्थी पत्रकारहरुले प्रेस युनियन गठन भएपछि बामपन्थी पत्रकारहरुलाई पनि संस्था चाहियो, अनि प्रेस चौतारी जन्मियो । माओवादीले आफनो राजनीतिक विचार प्रवाह गर्न प्रेस क्रान्तिकारी गठन गर्यो । अर्थात् लोकतन्त्रको पुनर्बहाली र माओवादीसँग शान्तिसम्झौता हुने बेलासम्ममा पत्रकारहरु सम्बन्धित राजनीतिक दलको उत्थान र प्रवद्र्धनमा लागे, जसलाई राजनीतिक दल केन्द्रित मिसन पत्रकारिता भन्न सकिन्छ ।

३. बहुदलकालभरि (२०४७–२०६२/०६३) मूलतः पार्टी केन्द्रित पत्रकारहरु थिए । तर ती पार्टीभित्र पनि अप्रत्यक्ष रुपमा खास खेमाको प्रचारप्रसार गर्ने र अर्को पक्षलाई उदाङ्गो पार्ने शैली विकास भइरहेको थियो । जस्तै तत्कालीन माधव नेपाल र केपी ओली खेमा वा गिरिजा कोइराला र देउवा खेमा वा राप्रपाका थापा र चन्द पक्षीय खेमा । यो खेमा केन्द्रित मिसन पत्रकारिताले २०६२/०६३ पछि मौलाउने अवसर पायो । त्यसबेला खुलेका रेडियोहरु कुन पार्टीको कुन खेमाको भनी श्रोताले अनुमान गर्न सक्ने भइसकेका थिए । साप्ताहिक पत्रपत्रिका त आफ्नो गुटको नेताको स्तुतिगान र आफ्नै पार्टीको अर्को खेमाको सत्तोसराप गर्न थालिसकेका थिए । विस्तारै साप्ताहिक पत्रपत्रिका अनलाइनमा रुपान्तरण हुँदै गए । अनि आफ्नै पार्टीभित्र प्रशंसा र आलोचना गर्दा नै समाचार पुग्ने भइसकेको थियो ।

४. अनलाइन पत्रारिताको उद्गम अवस्था २०७२ मा संविधान जारीपछिको अवस्थालाई मान्न सकिन्छ । त्यसबेला नै एक हजारको हाराहारीमा अनलाइन दर्ता थिए भने अहिले त प्रेस काउन्सिल नेपालमै 2830 दर्ता भएका छन् । सूचना विभागको तथ्याङ्क अझै बढी छ । पञ्चायतकालमा मिसन पत्रकारिताका रुपमा सुरु भएको राजनीतिक पत्रकारिताको यात्रा दोस्रो चरणमा दलकेन्द्रित मिसन पत्रकारिता, तेस्रो चरणमा खेमा केन्द्रित पत्रकारिता हुँद चौथो चरणमा व्यक्ति केन्द्रित पत्रकारितामा आइपुग्यो । हरेक मन्त्री वा सांसदका आफ्नै अनलाइन, पार्टी नेताका पत्रकारहरुको छुट्टै समूह, जिल्ला र गाविस तहमा पनि पत्रकारलाई विभिन्न प्रलोभनमा आफ्नो सार्वजनिक छवि राम्रो देखिने प्रायोजित सामग्रीहरु छताछुल्ल भए । यो व्यक्तिकेन्द्रित पत्रकारिताको उत्कर्ष कोभिड—१९ को महामारीसँग अझ छताछुल्ल देखियो । समाचार सम्बन्धित राजनीतिक व्यक्तिको पक्षमा भएर पुगेन, अब वफादार पत्रकारहरुले समाचारको शीर्षक नै ऊप्रति सकारात्मक हुने गरी लेख्न थाले । फलानोको पहलमा यस्तो भो । फलानोको पहलमा उस्तो भो । यहाँ केही स्क्रिनसटहरु छन्, जसले व्यक्तिकेन्द्रित मिसन पत्रकारिताको झलक दिन्छ ।

अबको मिसन पत्रकारिता कता जाला? व्यक्ति केन्द्रित त भइसकियो । के अब फलानो नेताको शरीरको फलानो अंगको मात्रै वर्णन गर्ने पत्रकारिता हुने पा हो कि ? जस्तो कि तत्कालीन बेलायती युवराज्ञी डायनाको तिघ्राको मात्रै, हातको मात्रै वा अनुहारको मात्रै बिमा गर्ने प्रयासहरु भएका थिए ।

खासमा मिसन पत्रकारिताका तीन लक्षहरु हुनु पर्ने हो— लोकतन्त्रको रक्षा, आवाजविहीनहरुको प्रतिनिधित्व र सत्ता र शक्तिमा रहेकाहरुमाथि लगातार निगरानी । हाम्रो पत्रकारिताले सबैभन्दा बढी नेताहरुलाई परिचित बनायो । उनीहरुको लगातारको चर्को आवाजले गर्दा अल्पसंख्यक र सिमान्तकृत समुदायको आवाज अझै दबियो । आफ्नो नेताले संविधान र लोकतन्त्रकै विरुद्धमा कदम चाले पनि त्यही सही हो भन्ने अवस्था आयो । पत्रकारको चेतना र विवेकको लगाम नेताको हातमा पुग्यो । पत्रकारहरु शक्तिमा रहेकाहरुको निगरानी गर्ने होइन कि उनीहरुकै चाकरी गर्ने, सेवा सुविधा लिने, राम्रो जागिर वा अवसर खोज्ने भए ।

फर्केर हेरौं ३० वर्षे पञ्चायतकालको मिसन पत्रकारिता र ३१ वर्षे बहुदलकालको मिसन पत्रकारिता । हाम्रा अग्रज पत्रकारहरुसँग तुलनमा गरौं । के उनको पत्रकारिताको स्वभिमानको छहारीमा हामी उभिन योग्य छौं ? पञ्चायतकालमा सफल देखिएको मिसन पत्रकारिता चौथो चरणमा आइपुग्दा जग हसाउँने स्थितिमा आइपुगेको छैन ? छातिमा हात राखेर समिक्षा गरौं ।

-पत्रकार आचार्यको फेसबुकबाट

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट