बुधबार, भदौ २३, २०७८
मलाई पश्चिमेली देशले प्रयोग गरेको आक्षेप लगाउनेहरुसंग कुनै प्रमाण भए प्रस्तुत गर्न चुनौती दिन्छु – पुन

मलाई पश्चिमेली देशले प्रयोग गरेको आक्षेप लगाउनेहरुसंग कुनै प्रमाण भए प्रस्तुत गर्न चुनौती दिन्छु – पुन


  • स्वदेश नेपाल
  • बुधबार, भदौ २३, २०७८

डाक्टर महावीर पुनले आफु माथि पश्चिमा राष्ट्रको लागि जासुसीको काम गरेको आरोपलाई खण्डन गर्दै आफ्नो सामाजिक संजाल फेसबुक मार्फत एक पोस्ट गदै उक्त आरोपलाई पुष्टि गर्न चुनौती दिएका छन् ।

यही बिषयलाई डा. पुनले यसरी खण्डन गरेका छन , यस्तो छ पुनको पोस्ट :-

जो जस संग सम्बन्धित छ – पश्चिमाहरुको काम गरेको भनेर मलाई कपोलकल्पित आक्षेप लगाउनेहरुलाई मेरो सिधा जवाफ निम्न अनुसार छ । चित्त नबुझेमा भेटेरै र आमने सामने बसेर कुरा गर्न सकिन्छ । लुकेर कुरा काट्ने बानी छोडौं।

१. पश्चिमी देशहरुले मलाई स्याटेलाइट फोनहरु उपलब्ध गराएको र सो फोनहरु मैले माओबादीहरुलाई उपलब्ध गराएको आक्षेपको सम्बन्धमा – त्यस्तो फोन मैले पाएको भए मैले गाउँ गाउँमा इन्टरनेट पुर्याउन अनेकौं दुख कष्ट गर्नु पने नै थिएन । सर्बप्रथम मैले २०५४ सालमा नेपाल टेलिकमले गाउँमा इन्टरनेट बिस्तार गर्न सहयोग गर्छ कि भनेर टेलिकमको MD लाई भेटेको थिएँ।

उनको भनाई अनुसार म जस्तो हरिप व्यक्तिले त्यति बेला स्याटेलाईटको लाइसेन्स पाउने चान्स नै थिएन किन भने त्यति बेला स्याटेलाइट फोन INGO, सरकारी कार्यालयहरु र धनी धनी ब्यक्तिहरुले लाइसेन्स लिएर प्रयोग गर्दथे । स्याटेलाईटको लाइसेन्स नै पाएको भए पनि त्यसको लागी चाहिने बीसौं लाख पैसा म संग थिएन।

२०५६ सालमा नेपाल टेलिकमले बल्ल बल्ल 25 हजार रुपैंया धर्रौटी राखेर गाउँको लागि एउटा VHF फोन लाइन दियो तर त्यसबाट इन्टरनेट चलेन र फोनले पनि राम्रो संग काम गरेन।

अनि २०५७ साल देखि मैले वायरलेस प्रबिधि बाट पोखरा देखि म्याग्दी सम्म इन्टरनेट ल्याउन अध्ययन सुरु गरेको हो। त्यसको लागि लाइसेन्स लिनु पर्थ्यो र मैले संचार मन्त्रालयमा लाइसेन्सको लागि निबेदन दिएँ । तर एक बर्ष सम्म मन्त्रालय धाउँदा पनि अनुमति पाउने छाँट काँट पटक्कै देखिएन ।

अनि २०५८ सालमा बेल्जियमको एक जना र फिनल्याण्डको एक जना ब्याचलर लेभलमा कम्प्युटर पढ्ने बिद्यार्थी हाम्रो गाउँमा भोलुन्टर गर्न आएका थिए । उनीहरु संग मिलेर केहि टेक्निकल सम्भावनाहरु खोजियो । तर् मुख्य समस्या भनेको वायरलेस उपकरणको देखियो किन भने त्यति बेला वाई फाई टेक्नोलोजी भर्खर आउदै थियो ।

वाई फाई बाहेक अरु टेक्नोलोजीहरु ज्यादै महंगा महंगा थिए जसको लागि म संग पैसा नै थिएन । त्यसैले वाइ फाई प्रबिधि नै प्रयोग गरेर इन्टरनेट ल्याउन प्रयासमा लागियो । त्यसको लागि अमेरिका बाट २ जना बिद्यार्थीले सबै भन्दा पहिला ६ वटा सानो वाई फाई राउटर (DLINK 900AP) ल्याए जसको मुल्य ४१५ डलर थियो । ति राउटरहरु अमेरिकामा बसोबास गरेको एकजना व्यापारीले किनेर दिएका थिए । ति अमेरिकी बिद्यार्थीहरुले आफुले पाएको छात्रवृतिको पैसा बचाएर इन्टरनेटको लागि चाहिने अरु सामानहरु किनेका थिए ।

अनि हामीले नै बिभिन्न किसिमको एन्टेनाहरु बनाएर प्रयोग गरेको हो किन भने बजारमा कुनै एन्टेना पाइंदैन थियो । त्यतिबेला एन्टेना र राउटर किन्न पनि सरकार बाट अनुमति लिनु पर्थ्यो ।

त्यहि सानो राउटर प्रयोग गरेर १८ महिना सम्म अनेकौं परीक्षणहरु गरेर बल्ल बल्ल २०५९ सालमा पोखराको महेन्द्रपुलको इन्टरनेट म्याग्दीको मेरो गाउँ सम्म पुर्याएको हो । त्यति बेला प्रयोग गरिएको राउटर, डिस एन्टेना, रुखको टावर र स्कूलमा प्रयोग गरिएको काठको बाकसमा जडान गरिएको कम्प्युटरहरुको फोटोहरु हेर्नु होस् ।

खास गरि मलाई पश्चिमेली देशले प्रयोग गरेको भनेर आक्षेप लगाउने भाईहरुले आँखा खोलेर फोटोहरु हेर्नु होस् र दिमागले सोच्नु होस् । मलाई कुनै पश्चिमी देशले मदत गरेको भए मैले फोटोमा देखाइएको जस्तो अति नै साधारण सामानहरु प्रयोग गर्नु पर्ने थिएन र पोखरा बाट नै गाउँ गाउँमा वायरलेस इन्टरनेट तान्नु पर्ने थिएन । स्याटेलाइट बाट तान्न पाएको भए यस्तो दुख गर्नु पर्ने नै थियन नि । सम्बन्धित मान्छेहरुले दिमाग छ भने सोच्नु होस् ।

२. अनि बाह्य दबाबले गर्दा त्यति बेलाको नेपाली सेनाले मैले म्याग्दी र अन्य जिल्लाहरुमा बनाएको इन्टरनेट बिस्तारको काम नरोकेको र मलाई कारबाही नगरेको भन्ने कुराको कुनै प्रमाण छ भने आक्षेपकर्ताले प्रस्तुत गर्नु होला । म त्यति बेला अधिकांश समय गाउँमा नै बस्दथें र काठमाडौँमा एक बर्षमा दुई तीन पटक मात्र आउंथे ।

त्यति बेला मैले काठमान्डूमा कुनै साधारण मान्छेलाई पनि चिनेको थिएन । अनि काठमाडौँको ठुला ठालु घराना का नेपाली मान्छेहरुलाइ, नेताहरुलाई र बिदेशी संस्थाको सदस्यहरुलाई मैले कसरी चिन्नु र ? माओबादी द्वन्द कालमा मैले म्याग्दी र कास्की जिल्लाको जम्मा २२ वटा गाउँहरुमा मात्र इन्टरनेट पुर्याएको थिएँ। द्वन्दकाल सकिए पछि २०० वटा गाउँहरुमा इन्टरनेट पुर्याएको हो।

३. मलाई रामन म्यागसेसे पुरस्कार युरोपेली मुलुकले दिएको भन्ने कुराको उत्तर यस प्रकार छ । सो पुरुस्कार फिलिपिन्सको एउटा संस्थाले एशियन मुलकका बासिन्दाहरुलाई मात्र दिने पुरुस्कार हो । यस संस्थाको बोर्ड मेम्बरहरु फिलिपिन्सका नागरिकहरु हुन्छन । कुनै पनि युरोपेली नागारिकहरु यसका सदस्य हुँदैनन् ।

फिलिपिन्स भन्ने देश युरोपमा पर्दैन भन्ने कुरा मलाई आक्षेप लगाउने मनुवालाई थाहा नभए जस्तो लाग्यो । थाहा नभएर भनेको हो भने ठिकै छ नि त । अनि जहाँ सम्म पुरुस्कार पदकहरुको कुरा छ, मैले पाएको म्यागसेसे पदक, नेपाल सरकारले दिएको उज्ज्वल राष्ट्र दीप दोस्रो पदक सहित सबै राष्ट्रिय र अन्तरराष्ट्रिय पदकहरु मैले लिलामीमा बेच्न राखेको छ किन भने मैले पदकको लागी र कसैलाई खुसि पार्न काम गरे कै होइन ।

४. अन्तमा मलाई पश्चिमाहरुले सहयोग गरेका थिए भन्ने आरोपको जवाफ यस प्रकार छ । सुरुका दिनहरुमा पुरानो कम्प्युटरको पार्ट पुर्जाहरु, वायरलेसका सामानहरु ल्याइदिने ब्याक्तिहरु USA, Netherland, Belgium, Finland, Singapore र Australia का बिद्यार्थीहरु नै थिए । तिनीहरुको फोटो पनि यसै साथ राखेको छु ।

आक्षेपकर्ता भाइले भने जस्तो तिनीहरु कुनै सरकारी एजेन्टहरु थिएनन् । कसैलाई अझै पनि शंका लाग्छ भने तिनीहरु संग सोझै सम्पर्क पनि गराई दिन सक्छु । उनीहरु अहिले पढाई सकेर कसैले जागिर गदै छन् र कसैले ब्यापार गर्दैछन र छोरा छोरीको बाबा पनि भै सकेका छन् । ति बिदेशी बिद्यार्थी भाईहरुको फोटो आँखा खोलेर हेर्नु होस् ।

लौ सोझो कुरा यहि हो । पत्याए पनि ठिकै छ, नपत्याए पनि ठिकै छ । मज्जाले अगाडी बढौं !!!

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट