-विनोद त्रिपाठी
के अहिले चुनाव गर्ने बेला हो ? के लास माथि, बिरामी माथि, भोकापेट माथि, गरिबी माथि, भोकमरी माथि खुशीयाली मनाउँदै भोट माग्ने बेला हो ? यो जटिल अबस्था यो बर्षभरि जाने अबस्था छ । अनि यहि पीडामा कुन मुखले जनतासंग भोट देउ भन्ने ? यो जस्तो निकृष्ट निर्दयीता अरु केहि हुन सक्छ ?
हुन त यो सरकार गठनको शुरुका दिनदेखि मैले केपी शर्मा ओली पक्षीयको चर्तिकलाको लगातार बिरोध गर्दे आएँ । ओली कार्यकालमा जे भोगियो, जे देखियो, जे भविस्यमा हुनेछ र देश जनताले जे परिणाम भोग्नेछन्, त्यो लगातार लेख्दै र बोल्दे आएको छु । प्रजातन्त्रमा जनतालाई सकस दिने ओली बाहेक नेपालमा कोहि जन्मिएकै छैनन् भन्ने अब पुष्टि गर्न अरु केहि चाहिन्छ ?
‘दिन दु गुना, रात चार गुना’ महंगी बढेको बेलामा बिपक्षी दलहरुले चेत्नु पर्दथ्यो, ओली सरकारले जनताको पक्षमा काम गर्देनन् है । त्यतिबेला ओलीलाई रोक्न नसक्नु बिपक्षी दलहरुको लाचारी थियो ।
जब, मध्यरातमा चुनाव घोषणा गरिन्छ, जब मध्यरातमा संसद विघटन गरिन्छ, के तपाईंलाई लाग्छ यो राम्रो नियतले चुनाव गर्न खोजिएको हो ? त्यस्तो सोच्नु भएको छ भने त्यो गंभिर भुल हो । यस्तो भुल गरेर कुनै भष्मासुरको मतियार बन्ने अर्को भुल कदापी नगर्नुस ।
हिजो राजाबादीलाई लागेको थियो, ओलीले राजतन्त्र फर्काइदिनेछन् । कांग्रेसलाई लागेको थियो, ओली जडसुत्रबादी कम्युनिष्ट बन्ने छैनन् । एकथरि कम्युनिष्टलाई लागेको थियो, ओलीले धोका दिने छैनन् । तर, ति सबै भ्रम थिए भन्ने अब आएर प्रष्ट भएन ?
राजाबादीले बुझ्नुपर्छ, जस्ले सपथ खाँदा ईश्वर शब्द घृणा गर्छ, के उसले हिन्दु राष्ट्र बनाउला, राजतन्त्र फकाईदेला सोच्नु भएको छ ? कांग्रेसले बुझ्नुपर्छ, जस्ले पटक पटक संसदको चिरहरण गरेको छ, के उसले प्रजातन्त्र बचाउँछ ? जस्ले असल कम्युनिष्टको गुण परित्याग गरेको छ, के उसले कम्युनिष्टलाई बचाउँछ ? ओलीले आफ्नो स्वार्थ बाहेक देश र जनताको पक्षमा कहिल्यै काम गर्देनन् भन्ने अझै बुझिएन भने नेपालको स्वाभिमान धुजाधुजा हुनेछ ।
ओली अस्थिरता चाहन्थे, अस्थिरता ल्याए । त्यहि भएर उनि विश्वासको मत लिन नपर्ने समयमा बिश्वासको मत लिएको नाटक गर्थे । अहिले उनि लोकतन्त्रमा चुनाव हुन्छ भनेर मध्यरातमा चुनाव घोषणा गर्ने घृणित काम गरिरहेका छन् । जनताको पक्षमा के यस्ता हर्कत सही छन् ? अझै सारा जनताले म एक नेपाली सिपाही हुँ भनेर सोच्ने कि नसोच्ने ?
एक पटक कुनै पार्टी, बाद र समुह एकातिर थाँती राखेर ओली–भण्डारी प्रबृतिको खुलेर बिरोध गरौं । हिजै मात्र नेपाल पत्रकार महासंघले बिज्ञप्ति जारी गरेर भनिसकेको छ, ओली सरकारको यो अलोकतान्त्रिक कामको सबैले आआफ्नो स्थानबाट बिरोधमा उत्रनैपर्छ ।’ समाजका बुज्रुक बर्गले अब चेत्नैपर्छ र यो अस्थिरता निम्त्याउनेलाई कुनै कोणबाट पनि माफ गर्न हुँदैन ।


