-पत्रकार राजेन्द्र बानियाँ
“ला सपना पो?”
मेरो सरकारप्रती गर्व छ मलाई किनभने मलाई कोरोनाबाट बचाउने सरकारै यहि हो । त्यसको पछिल्लो उदाहरण मेरो सरकारले कती जोखिम मोलेर निषेधाज्ञा थप गर्ने निर्णय गरेछ । कठै कति सकस भयो होला,ऐठन भयो होला अनि सरकारको आँखा रसायो होला जनतालाई घरमै थुन्नुपर्दा तैपनी बडो चुनौती सामना गर्दै निषेधाज्ञा थप्ने निर्णय गरेछ ।
सरकार होस् त मेरो जस्तो निषेधाज्ञामा बसेका जनताको घरघरमा रासन पुगेको छ,हमेसा सरकारका मान्छे अनि वार्डका जनप्रतिनिधिले सोधिरहन्छन् तपाईँलाई कुनै समस्या छ कि?
खातामा महिनैपिच्छे सरकारले राहत रकम हाल्देको छ क्या मज्जा ,सरकारलाई थाहा छ नि महामारीमा जनताको चुलो बाल्ने दायित्वबाट सक्षम सरकार कहिँ चुक्छ त?
टोलटोलमा एम्बुलेन्स कुदेको छ कतै भाइरसले जनतासङ्ग पौठेजोरी खेल्ला र त्यसलाई अस्पतालमा लगेर पछारौँला भनेर । एम्बुलेन्स खाली कुद्दैनन् टोलमा । बरु डाक्टर,स्वास्थ्यकर्मी अनि अक्सिजनको सिलिन्डर पनि सङ्गै हुन्छ ।
घरघरमा गार्हो पर्दा साथी होस् भनेर हट लाइनको ब्यबस्था गरिएको छ । अलिकती सकस हुनासाथ सरकारले स्थानीयस्तरमा बनाएका अत्याधुनिक सुबिधासम्पन्न होल्डिङ्ग सेन्टरमा लैजाने ब्यबस्था गरेकै छ, थप गार्हो हुँदा अक्सिजनको अनि आइसीयुको कुनै कमी छैन ।
घरमै बेसार पानी,अम्बाको पात पकाएर खाए पनि हुन्छ,त्यसको पनि पूरा तयारी छ अनि खोप प्रधानमन्त्रीज्युले भनेकै समयमा हरेक नागरिकले पाईहालेका छन् ।
वाह! मेरो सरकार,नेता र कार्यकर्ताहरु !!
तपाईहरुको रामराज्यमा मलाई लकडाउन होइन,निषेधाज्ञा होइन जेल पनि कति सुबिधासम्पन्न होला जस्तो पो लाग्छ कहिलेकाँही ?मलाई त जेल पनि एकपटक सयर गर्न पो मन छ त । किनकी जेलमै पनि कोरोना होला भनेर सिसाको खोपी बनाउनुभाको होला हैन?
लेख्न अझै मन थियो,सरकारको गुणगान ,महिमा र भक्तिगान गरेर पुगेकै छैन, तल घण्टी बज्यो हेरेर आउँछु ल । भनेकै थिएँ नी। २० दिन अघि ज्वरो आको मलाई वार्डको संयोजनमा कर्मचारी अनार,स्याउ अनि तरबुजाको जुस पो लिएर आएछन् , माया नि कति गर्ने क्या आमाले जसरी, जुस अहिल्यै खानुस् खुरुक्क भने मैले सुर्काएँ ।
वाह!मेरो राज्यसत्ता, सरकार अनि देशको बागडोर चलाउने महामहिमहरु ! कोहि बात छैन । तपाईहरु सत्ताको जोडघटाउमा लागे पनि हुन्छ, साम्सदको हेराफेरीमा लागे नि हुन्छ । पोहोर पनि तपाईहरुले त्यसै गर्दा नि जनतालाई केही भएन ।।

