–नीलकण्ठ शर्मा
कैयौं कमजोरीका बाबजुद सरकारी अस्पतालहरु सस्ता छन, सजिलोसँग जान सकिन्छ, गरिब, विपन्न र असहायहरुको पनि पहुँच पुग्छ । यहाँ निमुखाहरुको लागि पनि ढोका खुला हुन्छ ।
बहुसंख्यक डाक्टर र नर्सहरु गुणस्तरीय शिक्षा प्राप्त गरेका योग्य, सक्षम र ईमानदार छन ।
देशका ९०% बिरामीको औषधि उपचार यिनैले गर्छन् ।
भुकम्पका घाइतेलाई यिनैले उपचार गरे ।
बाढी पैरो, आगजनी, दुर्घटना, दैबी प्रकोपको बेलाको उपचार यिनैले गर्छन ।
अहिले महामारीको बेला,
यिनले जति कोरोना संक्रमितको सेवा कसले गरेको छ ?
टेकु अस्पताल, वीर अस्पताल, महाराजगन्ज अस्पताल, गङालाल अस्पताल, पाटन अस्पताल, सिभिल अस्पताल बानेश्वर, भक्तपुर अस्पताल लगायत आर्मी, प्रहरी र सशस्त्रबाट संचालित अस्पतालहरु सरकारी अस्पताल होइनन र ?
काठमाडौं बाहिर पनि,
अहिलेको महामारीमा उल्लेख्य काम गर्ने, भेरी अस्पताल नेपालगन्ज, धनगढी अस्पताल, कैलाली, भीम अस्पताल भैरहवा, बुटवल अस्पताल, भरतपुर अस्पताल चितवन, पोखरा अस्पताल, बिरगंज अस्पताल, जनकपुर अस्पताल, बिराटनगर अस्पताल, बीपी कोइराला अस्पताल धरान लगायत देशभरका सयभन्दा बढी सरकारी अस्पतालले नै गुणस्तरीय सेवा दिएर हजारौंको ज्यान बचाएका छन ।
यस्तो महामारीको बेलामा यिनैले लाखौं जनतालाई हौसला, प्रेरणा र सहारा दिएका छन । बाच्न सकिने बिश्वास जगाएका छन ।
सम्झौ त,

गतवर्ष ठुला अस्पताल समेत त्रसित भएको बेला बाग्लुङ अस्पतालले पहिलोपटक कोरोना संक्रमण भएकी युवतीको उपचार सुरु गरेको थियो ।
हाम्रो जिल्लाको पर्वत अस्पताल कुस्माले अहिले पनि आफै अक्सिजन उत्पादन गरेर कोरोना संक्रमितहरुको राम्रोसँग उपचार गरेको छ ।
काठमाडौंदेखि दिल्लीसम्म अक्सिजन अभाव भएको बेला हाम्रो जिल्लाको सानो अस्पतालले गरेको काम प्रेरणादायी छैन र ?
देशभरका बहुसंख्यक सरकारी अस्पतालमा कार्यरत डाक्टर, नर्स र स्वास्थकर्मीहरुले भोक प्यास भुलेर, आफ्नो शरीर प्लास्टिक भित्र गुम्स्याएर (PPE लगाउदा) अहोरात्र खटेर बिरामीको सेवा गरेका छन, उपचार गरेका छन, प्राण रक्षा गरेका छन ।
सुरुमा कोरोना सम्बन्धि अज्ञानता र भयको कारण कैयौं डाक्टर, नर्स र स्वास्थकर्मिहरु डेराबाट निकालिएका छन, फ्लाटबाट लखेटिएका छन ।
अहिले पनि कैयौंले आफ्नो घरमा गएर छोराछोरीलाई काखमा लिन, पतिपत्नीको माया पाउन, आमाबाबुको सामीप्य हुन, दाजुभाइ दिदीबहिनीको नजीक बस्न, तिथि श्राद्द, चाडवाड, बिबाह, व्रतबन्ध, जात्रामेलामा भाग लिन सहभागी हुन पाएका छैनन् । मनमनै सोचौ त ! यिनको पनि निजी जिन्दगी हुदैन र ?
निजि अस्पतालको तुलनामा यिनको तलब भत्ता र सुबिधा निकै कम छ । कैयौं अस्पतालमा अत्यावश्यक पुर्वाधार अझै छैनन् । कैयौं अस्पतालमा धारामा पानी आउदैन । सफा र सुरक्षीत सौचालय समेत छैनन् । अत्यावश्यक उपकरण छैनन्, उचित जनशक्ति छैन । अस्पतालमा समेत सरकारले राजनीति गर्दछ । विशेषज्ञ डाक्टरको कुरा सुनिदैन ।
यहाँ पनि सरकारी डन, दलाल, माफिया र बिचौलियाको प्रभाव छ । ओम्नि लगायतका सरकारी ठेकदारले गुणस्तर नभएका सामान ल्याएर डाक्टरहरुलाई भिडाएको भुल्नु भयो ? सरकारलाई उचित सुझाव दिएकोमा गतवर्ष नै टेकुका भाइरोलोजिष्ट डाक्टर पुन कारबाहीमा परे ।
हरेक सरकारको पालामा गरेर डाक्टर गोविन्द केसी २० औ पटक आमरण अनशन बस्दा पनि उनका उचित मागहरू सुनुवाइ भएनन्, अझै पुरा भएनन । मेडिकल कलेजमा माफियाको प्रभाव बारे त उल्लेख गर्नै पर्दैन ।
गतवर्षको महामारीमा काम गरेका कैयौं सरकारी अस्पतालका कोभिड १९ सग जोडिएका डाक्टर र स्वास्थकर्मिहरुले सरकारले तोकेको जोखिम भत्ता अझै पाएका छैन । उदाहरणको लागि संसद भवन अगाडिको निजामती अस्पताल नै लिन सकिन्छ । कोरोनाको बेला सबैभन्दा बढी नेता, साम्सद र उच्च पदस्थहरुको सेवा गर्ने अस्पताल यो पनि हो ।
केहि कमि कमजोरीका बाबजुद कैयौं निजी अस्पतालले पनि राम्रोसँग सेवा उपलब्ध गराएका छन । यिनको काम हेर्ने, सेवाको गुणस्तर किटान गर्ने, जथाभावी शुल्क लिन रोक्ने काम त सरकारले गर्नुपर्छ नि !
त्यसैले अहिलेको महामारीको बेला हामी सबैको प्राणरक्षाको लागि समर्पित भएका डाक्टर, नर्स र स्वास्थकर्मी, यो क्षेत्रमा आवद्ध सुरक्षाकर्मी र सरसफाइमा आबद्ध व्यक्तिहरुको जथाभावी आलोचना नगरौ, लान्छना नलगाउ । बरु सरकारले गर्नुपर्ने अनेकौं कामहरू औल्याउँदै लेखौ ।
बरु यस्तो कठिन अवस्थामा यिनिहरुले गरेको सेवा, सहयोग र असल कामकोलागि हौसला दिउ, धन्यवाद दिउ र जयजयकार गरौ ।

