नेपाली पत्रकारहरुको छाता सङ्गठन नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनको लागि यहि चैत्र २५ गते निर्वाचन हुदैछ । यसै परिदृश्यमा चर्चित आर्थिक पत्रकार गजेन्द्रसिंह बुढाथोकीले सभापति पदमा उमेर्द्वारा दिने घोषणा गर्दै आफ्नो धारणा सामाजिक संजाल मार्फत यसरी सार्वजनिक गरेका छन ।
नेपाल पत्रकार महासंघको सभापति मेरो उम्मेदवारी किन?
गजेन्द्रसिंह बुढाथोकी (गजेन्द्र बुढाथोकी)- नेपालका पत्रकारहरूको हकहित संरक्षणका लागि २००८ सालमा स्थापना भएको नेपाल पत्रकार संघ, आफ्नो भूमिका र दायरा फैलाउँदै महासंघ बनेको पनि लामो समय व्यतित भइसकेको छ । नाम र भूमिकाका कारण यस संस्थाको आफ्नो छुट्टै भूमिका र ओज रहनु पर्नेमा पछिल्ला केही वर्षयता श्रमजीवी र पेशाकर्मी पत्रकारहरूले महासंघ छ कि छैन भन्ने अवस्था आएको छ ।
दशकौंदेखि व्यावसायिक (प्रोफसनल) पत्रकारितामा संलग्न थुप्रै अग्रज र पेशाकर्मी पत्रकारहरूले आफ्नो सदस्यता नै नवीकरण नगरेको विडम्बनापूर्ण अवस्था छ, थुप्रै पत्रकारले महासंघको सदस्यता नै लिन्न भनेर बसेको अवस्था छ । आखिर यो अवस्था कसरी आयो?
२०४६ सालको परिवर्तनपछि राजनीतिक दल खुले र तिनका विभिन्न पेशा र क्षेत्रमा भातृ संगठन पनि खुल्न थाले । यो हावाले पत्रकारितालाई पनि छाडेन । एमाले र कांग्रेसले आफ्ना भातृ संगठनका रुपमा पत्रकारको पनि संगठन पनि बनाए, एक दशक लामो सशस्त्र विद्रोह गरेको माओवादी पनि के कम? उसले पनि अर्को संगठन थप्यो । पूर्वपञ्चहरूको पार्टी राप्रपादेखि मधेशवादी दलहरूले समेत पत्रकारका भातृ संगठन बनाए ।

लोकतान्त्रिक परिपाटीमा कोही पनि व्यक्ति राजनीतिक आस्थासँग नजिक रहन सक्छ, यसमा कसैले आपत्ती जनाउन सक्ने अवस्था हुँदैन । तर, जब एक जना पत्रकार कुनै अमूक राजनीतिक दलको सदस्य हुन थाल्छ, उसबाट कस्तो किसिमको निष्पक्ष र वस्तुनिष्ठ पत्रकारिताका अपेक्षा गर्न सकिन्छ? हो, २०१७ देखि २०४६ सालसम्म पञ्चायतकालीन पृष्ठभूमिमा पत्रकारिता गर्न कठिन थियो, त्यो बेला मिसन पत्रकारिता नगरी पत्रपत्रिका पनि बाँच्नसक्ने अवस्था थिएन । तर व्यावसायिक पत्रकारिताको विकास भइसकेको परिवेशमा सानेपामा आर्शिवाद लिएर, बालुवाटार र पेरिस डाँडामा मुठ्ठी उज्याएर पार्टीको जनवर्गीय संगठनप्रति प्रतिबद्ध रहने शपथ ग्रहण गरेर पत्रकारिता गर्नेहरूबाट कस्तो पत्रकारिताको अपेक्षा गर्ने?
यसै सिलसिलामा पत्रकारहरूको साझा संगठनका रूपमा रहनु पर्ने नेपाल पत्रकार महासंघको नेतृत्वमा पुग्नका लागि पनि तत्कालीन बल्खुदेखि अहिलेको बालुवाटार, धुम्बाराहीसम्म, सानेपादेखि पेरिसडाँडासम्म नेताको आर्शिवाद लिएर, तिनै राजनीतिक दलका नेताले घोषणा गरेका व्यक्ति पत्रकार महासंघको नेतृत्वमा जाने विकृति मौलाउँदै गयो । अमूक पार्टीका केन्द्रीय सदस्यदेखि जिल्ला र प्रदेश तहका कार्यसमितिका सदस्यसमेत पत्रकार महासंघको नेतृत्वकर्ताका रुपमा रहन थाले । आफू नेतृत्वमा पुग्नका लागि गैरपत्रकारलाई समेत सदस्यता बाँड्ने विकृति झन् झांगियो ।
विभिन्न नाम र बहानामा देशभरिका पत्रकारहरू संकटमा पर्दासमेत महासंघले एकीकृत रुपमा लबिङ गर्नु, पत्रकारका पेशागत र सामाजिक सुरक्षा गर्नुभन्दा पदमा पुगेपछि आफू पत्रकारको ‘राजा/महाराज’ हुँ भन्ने दम्भ देखाउने प्रवृत्ति पनि झाँगियो, किनकी, पदमा पुग्न दलबाट आर्शिवाद प्राप्त छँदैछ । यो विकृतिका विरुद्ध दशकौंदेखि अग्रजहरूदेखि थुप्रै पेशाकर्मी साथीहरू लड्दै आउनु भयो, तर दलीय सिन्डिकेटविरुद्धको लडाइँमा वास्तविक पेशाकर्मी पत्रकारहरू कमजोर रहनु भयो, तर सँधै त्यो अवस्था रहनेवाला छैन । देशभरि भएका वास्तविक श्रमजीवी, पेशाकर्मीहरू यतिबेला संगठित रुपमा आवाज उठाउन सक्ने अवस्थामा हुनुहुन्छ ।
खासगरि कोरोनाजनित संकटका नाममा गत चैतपछि जब देशभरिका करिब ३५०० पत्रकारहरूको पेशा, रोजगारी र व्यवसाय संकटमा प¥यो, त्यसपछि वास्तविक श्रमजीवी, पेशाकर्मी पत्रकारको नेतृत्व, जसले श्रमजीवी र साना लगानीका मिडियाको वास्तविक पीडा र संकट बुझेको छ, यस्तो नेतृत्वको खाँचो झनै महसुस गरियो । देशभरिकै अग्रज तथा सहकर्मी÷सहधर्मी पत्रकार साथीहरूको यो भावनालाई प्रतिनिधित्व गर्दै यस पटक मैले पत्रकार महासंघको सभापतिमा उम्मेदवारी दिने निर्णय गरेको छु ।
सबै श्रमजीवी, पेशाकर्मी अग्रज तथा सहकर्मी÷सहधर्मी पत्रकार मित्रहरूले पत्रकार महासंघमा दशकौंदेखि कायम रहँदै आएको दलीय सिन्डिकेट तोड्नका लागि साथ दिन विनम्र आग्रह र अपिल गर्दछु । र, यसका लागि आवश्यक परे देशभरि कुनै पनि राजनीतिक दलका भातृ संगठनमा नरहनु भएका वा बाध्यताका कारण रहे पनि छाड्न चाहनु भएका श्रमजीवी, पेशाकर्मी सञ्चारकर्मी साथीहरूलाई ‘स्वतन्त्र पत्रकार अलाइन्स’ नेतृत्व लिन र गोलबद्ध पनि आग्रह गर्दछु ।
मेरोबारे– म २०५२ सालदेखि निरन्तर पत्रकारितामा संलग्न रहँदै २०५३ सालबाट नेपाल पत्रकार महासंघको सदस्य रहँदै आएको छु । उदयपुरबाट सुरुबाट भएको मेरो पत्रकारिता यात्रा, लोकपत्र दैनिक, नेपाल समाचारपत्र दैनिक, राजधानी दैनिक, कारोबार दैनिक, दैनिकी.कम, न्युजकारोबार.कम हुँदै हाल टक्सार मिडिया ग्रुपसँग सम्बन्धित रहेको छु ।
करिब साढे दुई दशकको पत्रकारिता यात्रामा मैले राष्ट्रिय स्तरमा प्रेस काउन्सिल नेपाल, गरिबी निवारण कोष, रोटरी इन्टरनेसनलदेखि नेपाल सरकारबाट ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ लगायत अन्तर्राष्ट्रिय स्तरमा एसियन डेभलपमेन्ट बैंक इन्स्टिच्युट जापानबाट ‘डेभलपिङ एसिया जर्नालिजम अवार्ड’ समेत प्राप्त गरिसकेको छु ।
(महासंघमा वास्तविक पेशाकर्मी पत्रकारको प्रतिनिधित्वका लागि नैतिक समर्थनस्वरुप पत्रकारहरूबाटै रु १०० का दरले सहयोग संकलन गरि मनोनयन शुल्क तिर्ने योजना बनाएको छु । यदि तपाई पत्रकार महासंघमा दलीय सिन्डिकेट अन्त्यको अभियानमा साथ दिनुहुन्छ भने निम्न बैंक अकाउन्ट वा इसेवा, खल्ती अकाउन्टमा रु १०० जम्मा गरेर यस अभियानमा सहभागी हुनसक्नु हुन्छ । मनोनयपछि बढी भएको रकम स्पाइनल इन्जरी नेटवर्कमा अध्ययनरत १६ जना अपांगता भएका बालबालिकाको अध्ययनका लागि उपलब्ध गराइने छ ।)
गजेन्द्रसिंह बुढाथोकी
सानिमा बैंक , खाता नंः ००३०११०६०००१७३८
अथवा – इसेवा/खल्ती अकाउन्ट : ९८५१०५७९६६
मेरा प्रतिबद्धताहरू
१. नेपाल पत्रकार महासंघलाई दलीय सिन्डिकेटबाट मुक्त गरि सही अर्थमा वास्तविक श्रमजीवी, पेशाकर्मी पत्रकारहरूको संगठन बनाउने ।
२. विभिन्न नाम र बहानामा रोजगारी र पेशाबाट विमुख गराइएका सञ्चारकर्मीहरूको हकअधिकार पुनस्र्थापित गर्न महासंघमार्फत ट्रेड युनियन पद्धतिअनुशरण गर्दै दबाब सिर्जना गर्ने, पहल गर्ने÷गराउने । गैरकानुनी, गैरन्यायोचित ढंगले सञ्चारकर्मीलाई सेवाबाट निष्काशन गर्ने सञ्चारगृहमाथि कारबाहीका लागि सरकारमाथि दबाब सिर्जना गर्ने ।
३. श्रमजीवी पत्रकार ऐन अनिवार्य रूपमा लागू गर्न–गराउन महासंघमार्फत् सक्रिय भूमिका निर्वाह गर्ने।
४. हरेक श्रमजीवी, पेशाकर्मी सञ्चारकर्मीको पेशागत र सामाजिक सुरक्षाका लागि महासंघ आफैले र सरकार तथा सञ्चारगृह सञ्चालकहरूमार्फत् उचित व्यवस्थापन गर्न÷गराउन पहल गर्ने।
५. विभिन्न कारणले अशक्तता, बिमारी वा अन्य संकट बेहोर्नु परेका सञ्चारकर्मी, पेशागत जीवनमा सक्रिय रहँदा रहँदै विभिन्न कारणले जीवन गुमाउनु परेका सञ्चारकर्मीको परिवारको आर्थिक सुरक्षा, जीवनवृत्तिका लागि आफैले र सरकार तथा सञ्चारगृह सञ्चालकहरूमार्फत् उचित व्यवस्थापन गर्न÷गराउन पहल गर्ने।
६. पत्रकार महासंघलाई स्वच्छ, निष्पक्ष र पारदर्शी तथा सबैको पहुँचयुक्त बनाउने।
७. साना लगानीका, श्रमजीवी पत्रकारद्वारा सञ्चालित सञ्चारगृह, सञ्चार सामग्री उत्पादन कम्पनी आदिलाई बचाउनका लागि महासंघमार्फत् उचित नीतिगत र व्यवस्थापकीय लबिङ गर्ने।
८. पत्रकारिता पेशामा आबद्ध भइसकेपछि पेशागत क्षमता वृद्धिका लागि देशव्यापी रूपमा मध्यकरिअर सीप अभिवृद्धि तालिम÷प्रशिक्षण अगाडि बढाउने।
९. महासंघको नेतृत्वमा अन्तर्राष्ट्रिय स्तरको पत्रकारिता प्रशिक्षण केन्द्र स्थापना गर्ने गराउने।
१०. नेपाल मिडिया संग्राहलय स्थापना गरि, पत्रकारिताको इतिहास, अग्रज पत्रकारहरूको इतिहास र पत्रकारिताको धरोहरको संरक्षण गर्ने।

