परिचय
परमात्मा तत्त्व प्राप्तिका लागि वेदमा तीन मार्ग बताइएका छन्– कर्ममार्ग, उपासना मार्ग र ज्ञान मार्ग । त्यसै गरी उपनिषदलाई तीन भागमा विभाजन गरिन्छ– कर्म, उपासना, र ज्ञान काण्ड । ईश उपनिषद ज्ञानकाण्ड अन्तर्गत पर्दछ । यसको पहिलो मन्त्रमा ईशावास्य भनिएकोले यसलाई ईशावास्य उपनिषद पनि भनिन्छ । प्रसिद्ध उक्ति अज्ञान मृत्यु हो र ज्ञान अमरता हो– विद्ययाऽमृतमश्नुते यसै उपनिषदबाट लिइएको हो । शान्तिपाठ समेत जम्मा १९ मन्त्र भएको यो उपनिषद शुक्ल यजुर्वेदको ४० औं अध्यायबाट लिइएको हो ।
सरलता र गहनता दुवै दृष्टिले गर्दा यस उपनिषदलाई प्रथम स्थान दिइएको छ । आचार्य शंकरले प्राथमिक दश उपनिषदमा यसलाई प्रथम स्थानमा राखेका छन्। अन्य उपनिषदमा जस्तै यसमा पनि वक्ता र श्रोता गुरु शिष्य कसैको नाम पाईंदैन ।
शान्ति पाठ
शान्ति पाठका उपनिषदका अभिन्न अंग मानिन्छन् । मन्त्रपाठ गर्नाले मन एकाग्रचित्त भइ उपनिषदको जटिल विषयवसतु बुझ्न सुगम हुन जान्छ भन्ने मान्यता रहिआएको छ ।
ॐ पूर्णमदः पूर्णमिदं पूर्णात्पूर्णमुदच्यते ।
पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते ।।
ॐ शान्ति ॐ शान्ति ॐ शान्ति
अर्थः
परमात्म तत्त्व पूर्ण छ । पूर्णबाट पूर्ण नै उत्पन्न हुन्छ । पूर्णबाट पूर्ण लिँदा पूर्ण नै शेष रहन्छ अर्थात् परमात्मतत्व पूर्ण छ ।
ईश्वरवत्व स्वयंमा पूर्ण छ । प्राप्त गर्नेहरू समक्ष पनि उत्तिकै पूर्णता हुन्छ । तीन प्रकारका तापहरूको शान्ति होस् ।
ॐ श्री परमात्मने नमः
ॐ ईशावास्यमिद ँ् सर्वं यत्किञ्च जगत्यां जगत् ।
तेन त्यक्तेन भुञ्जीथा मा गृधः कस्य स्विद्धनम् ।।१।।
यस गतिशील जगतमा जे जति वस्तु र प्राणीहरू छन् ती सबैमा सर्वशक्तिमान, सर्वज्ञ, सर्वकल्याणयुक्त परमेश्वर व्याप्त छ । जसले त्याग गर्छ उसैले भोग गर्छ अर्थात् भोगको आनन्द लिनु छ भने अनासक्त भई अरुको हितमा त्याग गर्न सिक्नु पर्छ । अरुको धनमा लोभ गर्नु हुँदैन । आखिर यो धन कसको हो ? अर्थात् कसैको होइन ।१।
यस मन्त्रले चार कुरामा ध्यान केन्द्रित गरेको छ–
क) पृथ्वीमा जे जति साना ठूला स्रोत साधनहरू छन् ती प्रकृतिका निःशुल्क उपहार हुन् ।
ख) त्याग गर्न सिक अर्थात् केवल मैले मात्र उपभोग गरुँ भन्ने भावना त्याग ।
ग) अरुका कमाईको अनुचित हक भोगको इच्छा, लोभ, नगर ।
घ) धन कसको हो ? धन सबैको हो, कुनै व्यक्ति वा वर्ग विशेषको होइन ।
कुर्वन्नेवेह कर्माणि जिजीविषेच्छत ँ् समाः ।
एवं त्वयि नान्यथेतोऽस्ति न कर्म लिप्यते नरे ।।२।।
यस संसारमा सक्रिय रहेरै सय वर्ष बाँच्ने इच्छा गर्नु पर्छ । हे मानिस, तिम्रा लागि यही विधान छ । यसै प्रकारले कर्म गर्दै बाँच्ने मानिसका लागि कर्मबन्धन हुँदैन । जसले तनावरहित, आरामदायक र लामो स्वस्थ जीवन बाँच्ने इच्छा गर्छ उसले त्याग गर्नु पर्छ । यसरी ईश्वरका लागि (व्यक्तिगत स्वार्थका लागि होइन, परमार्थ र परोपकारका लागि) काम गर्नेलाई कर्मफलले बन्धनमा पार्दैनन् ।२।
असुर्या नाम ते लोका अन्धेन तमसावृत्ताः ।
ता ँ् स्ते प्रेत्याभिगच्छन्ति ये के चात्महनो जनाः ।। ३ ।।
आफ्ना स्वार्थका लागि मात्र काम गर्नेहरू यो शरीर छुटेपछि अन्धकारपूर्ण योनि (असूर्य लोक) मा जन्म लिन्छन् । यस्तो आत्महन्ताले मानसिक श्रेष्ठता प्राप्त गर्न सक्दैनन् र प्रेत योनि (निम्न स्तरको) जीवन बाँच्छन् ।। ३ ।।
अनेजदेकं मनसो जवीयो नैनद्देवा आप्नुवन्पूर्वमर्षत् ।
तद्धावतोऽन्यानत्येति तिष्ठत्तस्मिन्नपो मातरिश्वा दधाति ।। ४ ।।
त्यो सर्वोच्च एक शक्ति कस्तो छ भने मनभन्दा पनि गतिमान छ । अचल भइकन पनि दौडेर अरुलाई उछिनिदिन्छ । त्यस शक्तिसम्म देवताहरू पनि पुग्न सक्दैनन् अर्थात् त्यो सृष्टिभन्दा अघि देखि नै छ । त्यस (परमेश्वर) को संकल्पले नै वायु, जल आदि (दृश्य जगत) को निर्माण हुन्छ ।४।
तदेजति तन्नैजति त्द्दुरे तद्वन्तिके ।
तदन्तरस्य सर्वस्य तदु सर्वस्यास्य बाह्यत ः ।। ५ ।।
त्यो एकमात्र परमात्मा नजीकभन्दा नजीक छ भने पुग्न नसकिने टाढा पनि छ । त्यो अचल छ भने निरन्तर गतिमान पनि छ । त्यो सबैको भित्र पनि छ भने चारैतिर पनि त्यही छ अर्थात् त्यो पूर्ण (सिङ्गो) पनि छ, त्यो अनन्त पनि छ ।५।
यस्तु सर्वाणि भूतान्यात्मन्येवानुपश्यति ।।
सर्व भूतेषु चात्मानं ततो न विजुगुप्सते ।। ६ ।।
जसले सम्पूर्ण सृष्टिलाई आफूभित्र अनुभव गर्छ तथा स्वयं आफूलाई सम्पूर्ण प्राणीहरूमा अनुभव गर्दछ, त्यस पछि उसले एक आत्माको प्रत्यक्ष दर्शन गर्छ ।त्यसैले उसले कसैसित घृणा, रागद्वेष गर्दैन ।।६।।
यस्मिन्सर्वाणि भूतान्यात्मैवाभूद्विजानतः ।
तत्र को मोहः कः शोक एकत्वमनुपश्यतः ।। ७ ।।
जुन अवस्थामा, व्यक्तिरुप चैतन्यले अनुभवद्वारा (सुनेर वा पढेर होइन) सम्पूर्ण विश्व आत्मचैतन्य देख्छ, उसले जगत र ईश्वर तत्त्व भिन्न छैन भन्ने बुझ्छ । त्यस स्थितिमा म शरीर हूँ, शरीर मेरो हो, शरीरसँग सम्बन्धित पदार्थहरू मेरा हुन् भन्ने भावना र संयोग वियोगको, सुख दुख रहँदैनन् । अनि उसले सर्वत्र आत्माको एकत्व देख्छ अर्थात् विश्वसंग एकत्व भाव अनुभव गर्छ ।७।
स पर्यगाच्छुक्रमकायमव्रणमस्नाविर ँ् शुद्धमपापविद्धम् । कविर्मनीषी परिभूःस्वयंर्याथातथ्यतोऽर्थान्व्धाछाश्वतीभ्यः
समाभ्यः ।। ८ ।।
त्यो (ईश्वरीय शक्ति) नै सम्पूर्ण विश्व ब्रह्माण्डमा छ । अत्यन्त तेजस्वी छ । त्यो कारण, सूक्ष्म र भौतिक शरीररहित छ । अविद्या (जन्म मरण) दोष बाट मुक्त छ । सर्वदर्शी त्रिकालज्ञ हुनुका साथै विचारक पनि छ । सबै प्राणीका मनको प्रेरक (अन्तर्यामी), स्वयंभू र सबैैको आदिकारण पनि छ । त्यस प्रभुले अनादि कालदेखि जीवरुपी प्रजालाई यथातथ्य रुपमा व्यवस्थित गरेको छ । (त्यसैले उसको व्यवस्था अनुरुप पदार्थहरूको उपयोग गर्नु पर्छ जसले यसो गर्दैन उसले कष्ट भोग्नु पर्छ )।। ८ ।।
अन्धं तमः प्रविशन्ति येऽविद्यामुपासते ।
ततो भूय इव ते तमो य उ विद्याया ्ँ रताः ।।९।।
जो अज्ञानी छन् अर्थात् जसको केवल पदार्थवादी दृष्टिकोण छ, त्यस्ता व्यक्तिहरू गहन अन्धकारतिर जान्छन् । अनि जो केवल ज्ञानी छन् अर्थात् जसले केवल शब्द ज्ञानको अनुसरण गर्छन्, त्यस्ता व्यक्तिहरू त्यो भन्दा पनि अझ ठूलो अन्धकारमा जान्छन् ।९।
अन्यदेवाहुर्विद्ययान्यदाहुरविद्यया ।
इति शुश्रुम धीराणां ये नस्तद्विचचक्षिरे ।।१० ।।
विद्याको उचित अनुष्ठान गर्नाले अर्थात् वास्तविक ज्ञान प्राप्त गर्नाले प्राप्त हुने फल अर्कै हो र अविद्याको मार्गमा जानाले अर्थात् सांसारिक इच्छापूर्तिका लागि मात्र कर्म गर्नाले अर्कै किसिमको फल प्राप्त हुन्छ । यो कुरा धीर विज्ञजनले बताउँदै आएका छन् । १०।
विद्यां चाविद्यां च यस्तद्वेदोभय ्ँ सह ।
अविद्यया मृत्युं तीर्त्वां विद्ययामृतमश्नुते ।। ११ ।।
जसले यस विद्या र अविद्या दुवैलाई राम्ररी बुझ्छ उसले अविद्याद्वारा मृत्युलाई पार गरेर अमरता प्राप्त गर्छ । जुन मनुष्यले ज्ञानमार्ग र कर्मानुष्ठान आदि सबै रहस्य जान्दछ, उसले निष्काम कर्म अनुष्ठानद्वारा, मृत्यु के रहेछ भन्ने कुरा जानेर, ज्ञानस्वरुप परमात्मालाई प्राप्त गर्छ । आफू अव्यक्तको अभिव्यक्ति मात्र हो भन्ने बुझे पछि मानिस अमर, निःशोक र निर्भय हुन जान्छ । ११ ।
अन्धं तमः प्रविशन्ति येऽसम्भूतिमुपासते ।
ततो भूय इव ते तमो य उ सम्भूत्या ्ँ रताः ।। १२ ।।
जुन मानिसहरुले असम्भूति (अव्यक्त प्रकृति) को उपासना गर्छन्, उनी घोर अन्धकार (अज्ञान) मा रुमल्लिन्छन् । तथा जसले केवल सम्भूति (व्यक्त प्रकृति) को उपासना गर्छन् उनीहरू पनि त्यस्तै अन्धकारमा रुमल्लिन्छन् । अर्थात् जसले दृश्य जगतका पदार्थकै चाहनामा (सकाम कर्म अुष्ठान) आराधना गर्दछन्, अज्ञानमय, भोग योनिलाई नै सबै कुरा ठान्दछन्, उनीहरू बारम्बार त्यस्तै जीवनमा जन्म मरणको चक्रमा पर्दछन् ।१२।
अन्यदेवाहुः सम्भवादन्यदाहुरसम्भवात् ।
इति शुश्रुम् धीराणां ये नस्तद्विचचक्षिरे ।।१३।।
सम्भूतिको आधारमा जुन ज्ञान प्राप्त हुन्छ त्यो अर्कै हो भने असम्भूतिको आधारमा प्राप्त हुने ज्ञान अर्कै हुन्छ । अर्का शब्दमा, व्यक्त विषयको ठानेर उपासना गर्दछ भने स्वर्गादि तथा अन्यान्य भोगरुप फल प्राप्त हुन्छ भने अव्यक्त परमेश्वरको उपासना गर्नाले ईशतत्वमा प्रतिष्ठित भएर ऊ ब्रह्मज्ञ हुन्छ । यो कुरा विज्ञजनले हामीलाई बुझाउँदै आएका छन् ।१३।
सम्भूतिं च विनाशं च यस्तद्वेदोभय ्ँ सह ।
विनाशेन मृत्युं तीर्त्वा सम्भूत्यामृतमश्नुते ।। १४ ।।
जसले तत् लाई जन्म र मृत्यु दुवै रुपमा बुझेको छ, उसले जन्मको अन्तबाट पार भई अमरता प्राप्त गर्छ । अर्थात् जुन साधकले, अव्यक्त परमेश्वरलाई र व्यक्त शरीर दुवैको ज्ञान तत्त्ववेत्ताहरूको सत्सङ्गद्वारा जानेर अनुभवमा ल्याउँछ ऊ जन्म मरणको भ्रमबाट मुक्त भएर अमर ईशतत्वमा प्रतिष्ठित हुनजान्छ ।१४।
हिरण्यमयेन पात्रेण सत्यस्यपिहितं मुखम् ।
तत्वं पूषन्नपावृणु सत्यधर्माय दृष्टये ।।१५ ।।
सत्यको मुख चमकदार बिर्कोले ढाकिएको छ । हे पोषक सूर्यदेव, त्यो बिर्को हटाइदिएर सत्यको दर्शन गराइदिनु होस् । बाहरी दृश्य जगतका आकर्षणले गर्दा सच्चिदानन्दस्वरुप परमात्माको दर्शन हुन सकेको छैन । त्यस कारण सत्य र धर्मको दर्शनका लागि जे जति अवरोधहरू छन् ती सबै हजुरले हटाइ दिनुहोस् । १५।
पूषन्नेकर्षे यम सूर्य प्राजापत्य व्यूह रश्मीन्समूह ।
तेजो यत्ते रूपं कल्याणतमं तत्ते पश्यामि योऽसावसौ पुरुषः सोऽहमस्मि ।।१६।।
सबैका पोषक र एक मात्र तत्वदर्शी सर्वनियन्ता प्रकाशदाता सूर्यस्वरुप देव तपाईंले प्रजापतिस्वरुप भएर प्रकाश किरणहरू जम्मा गरेर पुञ्जीभूत गर्नुहोस् । सूर्यको आत्मस्वरुप पनि परमेश्वर नै हुन् र त्यही प्रकाशको एक अंश म पनि हूं । यस अनुभवलाई सोऽहम भनिन्छ ।१६।
वायुरनिलममृतमथेदं भस्मान्त ्ँ शरीरम् ।
ॐ क्रतो स्मर कृत ्ँ स्मरकृत ्ँ स्मर ।। १७ ।।
यस शरीरमा वायु नै प्राण (जीवन) तत्त्व हो । तर यसको अन्त भस्म हो । त्यसैले ॐ (सच्चिदानन्द परमात्मा) को स्मरण गर्नु पर्छ । आफ्ना कर्म पनि स्मरण गर्नु पर्छ । अर्थात् शरीर नाशवान छ तर प्राणवायु (चैतन्य समष्टि) को विनाश हुँदैन त्यसैले सच्चिदानन्द परमात्माको सबैले विधिपूर्वक तपाईंको स्मरण गर्नु पर्छ साथै आफ्ना कर्म पनि स्मरण गर्नु पर्छ ।१७।
अग्ने नय सुपथा राये अस्मान्विश्वानि देव वयुनानि विद्वान् ।
युयोध्यस्मज्जुहुराणमेनो भूयिष्ठां ते नम उक्तिं विधेम ।।१८।।
सबै कुरा जान्ने हे अग्निदेव, हामीलाई सुपथबाट आनन्दतर्फ लैजानु होस् । पापको कुटिल आकर्षणबाट जोगाउनुहोस् । अर्का शब्दमा, हे देव, तपाईंले हाम्रा सम्पूर्ण कर्महरू राम्ररी थाहा पाउनु भएको छ । त्यसैले हामी यस मार्गका बाधा (पाप) लाई पन्छाई दिनुहोस् । यो कुरा वाणीले निवेदन गर्दै बारम्बार समर्पणपूर्वक नमस्कार गर्दछौं ।१८।
शान्ति पाठ
ॐ पूर्णमदः पूर्णमिदं पूर्णात्पूर्णमुदच्यते ।
पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते ।।
ॐ शान्ति ॐ शान्ति ॐ शान्ति
आचार्य, श्रीराम शर्मा, (सन् २०१०), एक सौ आठ उपनिषद (तीन खण्ड), मथुरा ः युगनिर्माण योजना ।
खप्तड बाबा, (वि.सं.२०५१),धर्मविज्ञान सार संक्षेप–सम्पादक चूडानाथ भट्टराय, थापाथली काठमाडौं ः श्रीमती
जयाराज्यलक्ष्मी शाह ।
गीताप्रेस गोरखपुर,(वि.सं.२०६३), ईशादि नौ उपनिषद– व्याख्याकार हरिकृष्णदास गोयन्दका, गोरखपुर ः गीताप्रेस ।
भक्तिवेदान्तस्वामी, ए सी, (सन् १९९०) ईशोपनिषद्– इस्कोन सोसाइटी ।
राजगोपालाचारी, सी, (सन् १९४९),उपनिषद्स, दिल्ली ः द हिन्दुस्तान टाइम्स लिमिटेड ।
रामकृष्ण मठ, (सन् १९४३), फोर उपनिषद्स– नागपुर, रामकृष्ण मठ ।
विकीपीडिया, अक्टुबर २०१० ।
विश्व हिन्दु महासंघ, रुपन्देही,)वि.सं.२०६४– ६५) ॐ ज्ञानज्योति त्रैमासिक, अंक २७, विश्व हिन्दु महासंघ, रुपन्देही, वि.सं.२०६५ ।

