संघीय संसद राष्ट्रियसभाको बिहीबारको बैठकमा प्रधानमन्त्री ओलीले अमेरिकी सहयोग अनुदान एमसीसी सम्झौता नपढेर नै विरोध भइरहेको बताएका छन् ।
उनले एमसीसी नपढी अमेरिकी सेना नेपालमा आउने भन्ने लगायतका अफवाह फैलाइएको बताएका हुन् ।
‘केही केहीहरूले हल्ला चलाएका छन्, एमसीसी पढ्न अल्छी लाग्छ कि के हो ? एमसीसी पढेका मान्छे त्यति भेटिनँ,’ प्रधानमन्त्री ओलीको भनाइ थियो ।
संघीय संसदको प्रतिनिधिसभामा दर्ता भएको एमसीसीलाई पढेर मात्रै बोल्न प्रधानमन्त्रीको सुझाव थियो ।
प्रधानमन्त्रीले एमसीसी सडक र सदनको विषय बनेको भन्दै सबैले पढेर मात्रै धारणा राख्नुपर्ने सुझाव दिएका थिए ।
एमसीसीको विरोध गर्नेहरूलाई मुलुकमा वैदेशिक लगानी आउन लागेको र विकास हुन लागेकोमा चिन्ता भएको प्रधानमन्त्री ओलीको आरोप थियो । उनले भने, ‘कि यस देशमा विकास हुन आँट्यो भन्ने चिन्ता हो ? यस देशमा विकासका लागि अनुदान आयो भन्ने चिन्ता हो ?’
एमसीसीबारे नेकपाभित्रै विवाद रहेको छ । एमसीसीले नेपालको सार्वभौमिकता संकटमा पार्ने नेकपाका नेताहरूले बताउँदै आएका छन् । पार्टीभित्रको विवादका कारण उक्त सम्झौतालाई संसदमा छलफलका लागि अगाडि बढेको छैन ।
नेकपाले झलनाथ खनालको नेतृत्वमा एमसीसी अध्ययन कार्यदल नै गठन गरेको थियो । उक्त कार्यदलले एमसीसी सम्झौता परिमार्जन नगरी पारित हुन नहुने प्रतिवेदन बुझाएको थियो । अर्कोतर्फ सरकारले भने एमसीसीमा रहेका परियोजना बजेटमा राखेर संसदबाट पारित गराएको छ ।
एमसीसीबारे प्रधानमन्त्रीको भनाइ जस्ताको त्यस्तै
अहिले केही केहीहरुले हल्ला चलाएका छन् । पढ्न अल्छी लाग्छ कि के हो ? एमसीसी पढेको मान्छे मैले त्यति भेटिनँ । एमसीसी सम्झौता खोजेर ल्याएर पढे हुन्छ । पढ्ने भन्दा हल्लाका घरमा कुद्ने, जसरी भए पनि विरोध गर्न पाए भयो भन्ने कस्तो चिन्तन ?
खुट्टाले टेक्ट छोडेर हातले टेकेर खुट्टा ठाडो पार्ने अभ्यास गर्न किन जरुरी छ ? खुट्टैले टेकेर हिँड्नुपर्छ । खुट्टाले टेक्ने भनेको जे त्यसमा (एमसीसीमा) प्रबन्ध छ, त्यो प्रबन्ध पढेर त्यो प्रबन्धमा ठीक बेठीक यहाँ यहाँ छ भन्नु एउटा कुरा हो ।
लहैलहैमा लौ अमेरिकी सेना आउने भयो, कहाँ पढ्छन्, के पढ्छन् ? अचम्म लाग्छ !
कागले कान लग्यो भन्दाखेरि लाँदा त दुख्छ होला नि ! दुख्या छैन भने होइन होला भन्ने थाहा पाउन प¥यो नि ! दुख्या छैन भने भने छाम्नु त प¥यो नि ! दुख्यो दुखेन पनि वास्ता नगर्ने छ कि छैन पनि नछाम्ने अनि लहैलहैमा कुद्ने, यो प्रवृत्ति देख्दा अचम्म लाग्छ ।
अहिले यो सडकको विषय पनि बनेको छ, अन्तको पनि विषय बनेको छ । तर पढे हुन्थ्यो नि, सम्झौतामा के लेखेको छ ।
कि यस देशमा विकास हुन आँट्यो भन्ने चिन्ता ? कि यस देशमा विकासका लागि अनुदान आयो भन्ने चिन्ता ?
ठीकै छ । यस विषयमा माननीयज्यूहरुसमक्ष आप्नो विचार अर्को समयमा राख्छु, छलफलमा आउने नै छ ।

