काठमाडौं – महावीर पुन अध्यक्ष रहेको राष्ट्रिय आविष्कार केन्द्रले कोरोना भाइरस संक्रमण पुष्टि भइसकेका मान्छेलाई खाना पुर्याउने रोबोट बनाउने काम सुरु गरेको छ ।
रामोन म्यागासेसे पुरस्कार बिजेता सामाजिक अभियन्ता पुनले कोरोना भाइरस संक्रमितको उपचारका लागि आवश्यक उपकरणहरू एकपछि अर्को बनाउने प्रयास गरिरहेका छन् । ‘आइसोलेसन सेन्टरमा रहेका मानिसलाई खाना पुर्याउने रोबोटको नमुनाको पनि विकास गर्ने काम भैरहेको छ’, उनले भने ।
महावीर पुनले दिएको जानकारीअनुसार, कीर्तिपुस्थित राष्ट्रिय आविष्कार केन्द्रमा कोरोना भाइरस संक्रमणले सिकिस्त भइसकेका बिरामीलाई राखेर जाँच्ने ‘इन्क्युबेसन बाकस’ निर्माणको काम पनि सुरु गरेको छ ।
पुनले लकडाउन सुरु हुनेबित्तिकै कोरोना संक्रमित बिरामीको उपचार गर्दा डाक्टरले लगाउने पर्सनल प्रोटेक्टिभ इक्युप्मेण्ट (पीपीई) बनाउने पहल लिएका थिए । अब प्रयोग भइसकेका मास्क र पीपीईलाई किटाणुरहित बनाएर फेरि प्रयोग गर्न ‘यूभी उपचार प्रणाली’ को काम पनि सुरु गरेका छन् ।
पुनले दिएको जनाकारीअनुसार, साधारण किसिमको नयाँ भेन्टिलेटरले जस्तो काम गर्ने सिस्टमको विकास गरेर परीक्षण गर्ने काम पनि भैरहेको छ.। यी सबै काम पोखरामा रहेका पुनले टेलिफोनमार्फत् संयोजन गरेर गरिरहेका छन् ।
२२५० थान पीपीई वितरण
पुनले आफू नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रले कोरोना रोकथामका लागि गत तीन साताभित्र गरेकाहरूको विवरण पनि ‘फेसबुक’ मार्फत् सार्वजनिक गरेका छन् । विवरण अनुसार, १५ दिनअघि सिलाउन सुरु गरेको पीपीई हालसम्म २२५० थान वितरण गरिसकिएको छ ।
‘अहिलेसम्म नेपालको सातै प्रदेशको ४८ जिल्लाहरुको गाउँपालिका र नगरपालिकामा रहेका १४५ ओटा सरकारी अस्पताल, प्राइभेट अस्पताल, प्राथमिक उपचार केन्द्र, हेल्थपोष्ट, क्वारेन्टाइन सेन्टर आदिमा २,२५० वटा पीपीई वितरण गरियो’, उनले उल्लेख गरेका छन् ।
‘मोबाइलबाट सम्पर्क गरी गाडी नै लिएर पीपीई लिन आविष्कार केन्द्रमा आउनेहरुलाई वितरण गरिँदैछ’, उनले भने, ‘ठूलो अस्पताललाई १५ देखि २५ वटा सम्म, मझयौला अस्पताललाई १० देखि १५ वटा र हेल्थपोस्टहरुलाई पाँच वटा सम्म पीपीई दिइएको छ ।’
पुनले दिएको जानकारी अनुसार, अहिलेसम्म काठमाडौं उपत्यकाभित्रका एम्बुलेन्ससहित बाहिरी जिल्लाबाट काठमान्डू आएका १८५ ओटा एम्बुलेन्सका ड्राईभरहरुलाई पनि पीपीई वितरण गरिएको छ । ईमरजेन्सी रेस्क्युमा काम गर्ने सुरक्षाकर्मीहरुको लागि पनि अनुरोध आएअनुसार पीपीई बाँडेको उनले उल्लेख गरे ।
कोरोना बिरामी जाँच्ने बुथको निर्माण
पुनले दिएको जानकारीअनुसार, अहिले १६ जिल्लाहरुमा बिभिन्न टीमहरुले कोरोनाका बिरामी जाँच्ने बुथ बनिरहेको छ । सुरुमा काठमाडौं उपत्यकाका तीनवटा बुथ बनाएर जाँच गरिएअनुसार अरु जिल्लामा पनि बनाउन सुरु गरिएको हो ।
त्यस्ता बुथहरु अहिले टिचिंग अस्पताल, बीर अस्पताल, छाउनी सैनिक अस्पताल, भक्तपुर अस्पताल, बाग्लुंग अस्पताल, महेन्द्रनगर अस्पताल, ईटहरी अस्पतालमा राखेर काम सुरु गरिसकेको उनले बताए ।
कोरोनाको आशंका लागेर अस्पतालमा आउने बिरामीहरुलाई जाँच्ने डाक्टरहरुलाई सुरक्षित गराउनको लागी दक्षिण कोरियाले बनाएको जस्तो बुथको नमुनाको आधारमा केहि थप सुधार गरी बुथहरु निर्माण गर्ने काम गरिरहेको उनले जानकारी दिए ।

