मङ्ल, चैत्र १८, २०७६
Tue, March 31, 2020

हिन्दु धर्मको ‘नमस्ते’ संस्कृतिको प्रभाव विश्वभरि फैलियो, गर्व गरौ हाम्रो संस्कृति कति व्यावहारिक रहेछ

तर हिजो अपमान गर्नेले आज नमस्ते गरे भनेर उल्टो तिनको मजाक उडाउने होइन ।


  • स्वदेश नेपाल
  • बुध, चैत्र ५, २०७६

-नारायण गाउँले

१-‘चीन कोरोनाभाइरससँग लड्दै गर्दा पश्चिमाहरू खुशी मनाइरहेका थिए, अहिले बल्ल स्वाद चाख्दै छन् ।’
२-‘पूर्वीय संस्कृतिलाई सधैँ अपमान गर्ने र गिज्याउनेहरू नै अहिले नमस्कार गरिरहेछन् ।’
केही नेपाली प्रबुद्ध, विद्वान् र राजनैतिक विश्लेषकहरूका टिप्पणी हुन् यी ।

तर सत्य के हो भने,

ट्रम्पले एक महिनाअगाडि नै चीनले कोरोनाभाइरससँग प्रोफेशनल तरिकाले लड़िरहेको, चीन यसका लागि सक्षम रहेको र अमेरिका नजिकबाट सघाउन तयार रहेको अन्तर्वार्ता दिएका थिए । विश्वस्वास्थ्य सङ्गठनलाई धेरै देश र अर्बपतिहरूले ठूलो रकम उपलब्ध गराएका थिए । इजरायलदेखि अस्ट्रेलियासम्मका विश्वविद्यालयले कोरोनाभाइरसको खोप विकासका लागि कदम चालिसकेका थिए ।

कुनै पनि सरकारी निकाय या मिडियाले चीनको मजाक उडाएका थिएनन् । यो समस्यालाई सिरियस भएर हेरेका थिए । त्यहाँका डाक्टर, नर्स र अन्य स्वास्थ्यकर्मीहरूले जुन अभूतपूर्व साहस र योगदान गरेका थिए, तिनको सचित्र वर्णन युरोपमा बसेर पढ़िएकै थियो । अहिले एउटामात्रै पनि बिरामी नरहेको नेपालका नागरिकलाई त कुनै देशले प्रवेशमा रोक लगाएको छ तर सङ्क्रमण व्यापक बन्दासम्म पनि लगभग सिङ्गो विश्वमा चिनियाँ नागरिकलाई प्रवेशमा बन्देज थिएन ।

जोखिम बढ्दै जाँदा धेरै देशले चीनसँगको बोर्डर र हवाइ कनेक्टिभिटी नियन्त्रण गर्दै गएका हुन् । आफ्ना नागरिकको सुरक्षा हरेक देशको पहिलो कर्तव्य हो । यो हरेक देशले सकेजति गर्छन् नै । आज चीन आफैले पनि गरेको छ ।

एक दुईवटा मिडियामा आएका आलोचनात्मक लेखबाहेक सिङ्गो विश्व कोरोनाभाइरस चीनबाहिर फैलिनुअघि नै चिन्तित थियो । पश्चिमी मिडियाले माओको अनुहारमा मास्कमात्र होइन, बेलायतकी रानीले हातमा पन्जा लगाएको तस्बीर छाप्दै “कोरोनाभाइरस” भनेर व्यङ्ग्य गरेका थिए । अस्ट्रेलिया, क्यानडा र न्युजिल्याण्ड लगायत धेरै देशको संयुक्त र लोकप्रिय राजसंस्था लिएर गरिएको त्यो व्यङ्ग्यको कसैले विरोध गरेको सुनिएन ।

चीनका माओजस्तै अमेरिकाका अब्राहम लिङ्कनको तस्बीरमा पनि मास्क लगाएका तस्बीर आउँछन् । अहिले पनि ट्रम्पदेखि बेलायती प्राधानमन्त्रीसम्मको खरो आलोचना मिडियामा छापिइरहेकै छ । पश्चिममा मिडियाहरू सरकार-नियन्त्रित छैनन् । ट्रम्प त विरोधसँग आत्तिएर सधैँ फेक मिडिया भन्छन् । आज युरोपका सुपरस्टोरमा खाद्यान्नको स्टक रित्तिएको होस् या नागरिकले शासकप्रति रोष प्रकट गरेको फोटो होस्, विश्वभर पुगेका छन् । किनकि यहाँका सरकारले यस्तो चित्र अन्त नजाओस् भनेर सोसल मिडिया या पत्रपत्रिकालाई एडिट गर्दैनन् । चाहे भने पनि गर्न सक्दैनन् ।

चीनमा कोरोना भाइरसका व्यापक केस आउन थालेपछि सजग गराउने पहिलो डाक्टरलाई प्रशासनले कुप्रचारको आरोप लगाएर प्रहरीकहाँ पुऱ्याएको खबर चीनबाटै आएको थियो । पछि त्यही भाइरसकै कारण उक्त डाक्टरको मृत्यु भयो । यदि एक महिना पहिले नै डाक्टरको कुरा सुनिएको, उनको च्याट डिलिट नगरिएको र यसलाई लुकाउने प्रयास नभएको भए धेरैको ज्यान बच्न सक्थ्यो भन्ने टिप्पणी मिडियामा आए ।

यो चीन या चिनियाँ जनताको विरोध नभएर शासकप्रतिको टिप्पणी थियो । यदि यो घटना फ्रान्स या बेल्जियममा हुन्थ्यो भने मिडियाले सरकार नै ढालिदिने थिए । शासकलाई स्तुतिमात्रै गर्नुपर्छ, आलोचना गर्नुहुन्न भन्ने चेत पाल्नु पनि राम्रो होइन ।

अहिले युरोपका खाली पसलका केही तस्बीर हेरेर खुशी नबनौं । यो अवस्था जताततै आउन सक्छ । भोलि नेपालमैं पनि यो हाहाकार देखिन सक्छ । विश्वमा पोलियो, दादुरा, एचआइभी, स्वाइन फ्लूजस्ता थुप्रै समस्याहरू छन् जसलाई सिङ्गो विश्व मिलेर लड्दै छन् । सके हामीले पनि कोरोनाभाइरसको रोकथाम र उपचार पत्ता लगाएर विश्वलाई उपकार गर्न सक्छौं ।

अनि ‘पूर्वीय संस्कृतिलाई अपमान गर्ने र मजाक उड़ाउने’हरूले आज नमस्कार गरेको भन्ने पनि स्वस्थ तर्क होइन । पश्चिमीमात्रै होइन, कुनै पनि सभ्य सरकार र नागरिकले धर्मको मजाक उड़ाउँदैनन् ।

जनस्तरमा त हिन्दुले क्रिश्चियन र मुश्लिमको या क्रिश्चियनले मुश्लिम र हिन्दुको अनि मुश्लिमले अन्य धर्मको मजाक उडाउनु अलग विषय हो । हिन्दु धर्म र संस्कृतिको प्रभाव अहिले युरोप र अमेरिकामा यत्रतत्र देखिन्छ । संयुक्त राष्ट्र सङ्घकै कार्यक्रममा हिन्दु र बौद्ध धर्मगुरुहरू पुगेर योग र दर्शनबारे शिविर नै चलाएका छन् । बेलायती प्राधानमन्त्री लक्ष्मीपूजाको दिन मन्दिर जान्छन् । टीका लगाउँछन् । केही तुच्छ धार्मिक अतिवादीबाहेक कसैले कसैको अपमान गर्दैन, आफ्नो धर्मको बखान बेग्लै हो ।

आज अन्यले पनि नमस्कार अपनाए भने हामीले हाम्रो संस्कृति कति व्यावहारिक रहेछ भनेर गर्व गर्ने हो । हिजो अपमान गर्नेले आज नमस्कार गरे भनेर उल्टो तिनको मजाक उडाउने होइन । राम्रो कुराको अनुकरण विश्वभर हुन्छ ।

प्रतिक्रिया
ताजा अपडेट