आइत, चैत्र २३, २०७६
Sun, April 5, 2020

केवल साठी वर्षअघि काठमाण्डौ युरोपजस्तै भव्य रहेछ, काठमाण्डौ वास्तवमैं वै’भवपूर्ण रहेछ !


  • स्वदेश नेपाल
  • मङ्ल, माघ २१, २०७६

६०-७० वर्षअघि काठमाडौं ठ्याक्कै युरोपजस्तै रहेछ । यत्ति हो, युरोप आज पनि उस्तै छ तर हामी फेरियौं ।

तलको बागबजारको फोटो आजको कोपेनहेगनभन्दा कत्ति कम छैन ।

हामीसँग दरबार पनि रहेछन्, विश्वकै सुन्दर मन्दिर पनि । रानी पोखरीदेखि कमलपोखरीसम्म पोखरी त कतिकति ! लण्डनको बिगबेनजस्तै शानसँग उभिएको घण्टाघर पनि ! चट्ट शहर हेर्न धरहरा त थिँदै थियो, सास फेर्न थुप्रै टुँडिखेल र गौचरनहरू पनि रैछन् । नदी त अलि अस्तिसम्म पौड़ी खेल्न मिल्ने नै थिए ।

तिनका किनारमा बनेका घाटहरूमा साँझ मान्छे जम्मा भएर भलाकुसारी गरेको तस्बीर सम्झिनुस् त ! शहरमा घोड़ाहरू थिए, अनेक वन्य जीवजन्तु र चराचुरुङ्गी पनि थिए । युरोपमा आज पनि छन् ।

‘जुद्ध वारुण यन्त्र’ भन्ने दमकल सुविधा पनि शहरसँग रहेछ । पिउने पानीका लागि सुन्धारादेखि गुर्जुधारासम्म सुन, तामा र ढुङ्गाले बनेका निरन्तर कलकल पानी बग्ने धाराहरू थिए रे । दरबार हाइस्कुलदेखि त्रिचन्द्र कलेजसम्म र नरदेवी आयुर्वेद अस्पतालदेखि वीर हस्पिटलसम्म त थिए नै ।

घर निर्माणका हाम्रा आफ्नै शैली रहेछन् । कलालाई राज्यले सम्मान गरेर नै होला, राष्ट्रिय नाचघर र नाटकघरहरू बनेका रहेछन् । शहरका लागि नभई नहुने संरचनाबारे हामीलाई उहिल्यै थाहा रहेछ ।

कुमारी जात्रा, इन्द्रजात्रा, घोड़े जात्रा, मच्छिन्द्रनाथको रथयात्रादेखि लाखे नाचसम्म कति हो कति मनोरञ्जन र सांस्कृतिक जमघटहरू ! रोचक पक्ष के रहेछ भने बाहिरका शासकले जितेर काठमाडौंमा शासन गरे पनि यहाँका कला, संस्कृति र चाडबाड़चाहिँ संरक्षण नै गरेका रहेछन् ।

कुमारी जात्रा होस् या भोटो जात्रा, राज्यप्रमुखकै प्रत्यक्ष संलग्नता देखिनुले यो पुष्टि गर्छ । ती जात्रा नमरून् भनेर गुठी पनि थिए । सोच्दै मन रसिलो हुने ।

त्यतिबेलाको काठमाडौंलाई अहिलेजस्तो रेमिट्यान्स पनि नचाहिने । मोनोरेल र स्मार्ट सिटीको नारा बेच्ने नेता पनि नचाहिने । यस्तो लाग्छ, काठमाडौं वास्तवमैं वैभवपूर्ण रहेछ ।

आफ्नो जनसङ्ख्यालाई धान्न सक्ने पूर्वाधार र विकास काठमाडौंले हासिल गरेको रहेछ । तर, शासकहरूको अक्षमताले गर्दा देशका अन्य भागले काठमाडौंसँगै आफूलाई अगाडि बढाउन नसकेपछि बिस्तारै धान्नै नसकिने गरी मान्छे काठमाडौं भित्रिए ।

मान्छे बढ़ेसँगै पूर्वाधार बढ़ेनन् । आज न सुन्धारामा पानी आउँछ न टुँडिखेलमा घाम तापेर खेल खेल्न पाइन्छ । स्कुल भवनमा आगो लाग्यो भने सुरक्षित ठाउँमा जम्मा हुन कतै खाली जग्गा बाँकी छैन ।

काश ! देशका अन्य भाग पनि समानान्तर विकास भइदिएको भए र काठमाडौंले मात्रै बोझ खेप्नु नपरेको भए आज हामीसँग पनि विश्वलाई देखाउन सक्ने सुन्दर राजधानी हुने रहेछ !

तस्बीरहरू फेसबुकलगायतका सामाजिक सञ्जाल र इन्टरनेटबाट लिइएका हुन् ।

-नारायण गाउँलेको फेसबुकबाट

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट