बुध, चैत्र १९, २०७६
Wed, April 1, 2020

वीर बलभद्रको वीरताका सामु यसरी झुक्यो कसैसँग नझुकेकाे विश्व विजेता अंग्रेज !


  • स्वदेश नेपाल
  • शनि, माघ ४, २०७६

प्रवीण अधिकारी – बिक्रम सम्बत १४६१ ( ईश्वी १४०४ ) तीर छिरेको चर्चित राजपुत क्षत्रिय घराना राम सिंहका बंसज अहिराम कुँवर जो गोरखा हुँदै काठमाडौँ आएका थिएस तिनीहरुकै कुल बंशमा बल भद्र कुँवर १५ माघ १८४५ अर्थात ३० जनवरी १७८९ मा पिता सरदार चन्द्र वीर कुँवर र आमा अम्बिका देवीको कोखबाट जन्मिएका थिए। बलभद्रका बुबा सरदार चन्द्रवीर कुँवर पनि प्रख्यात योद्धा थिए।

यिनकी आमा अम्बिकादेवी बूढाकाजी अमरसिंह थापाकी छोरी पनि प्रखर वीर योद्धा थिइन्। वीर भद्र कुँवरको जन्म चन्द्र वीर कुँवरको माहिला छोराका रूपमा काठमाडौँको प्याफल टोलमा भएको थियो। नेपाल विस्तार अभियानका क्रममा पृथ्वी नारायण शाहसंग काठमाडौँ विजय हासिल गर्न गोरखाबाट काठमाडौँ आएका सेनापतिद्वय अहिराम कुँवरका पनाति र अर्का योद्धा सरदार जयकृष्ण कुँवरका नाति हुन् बलभद्र कुँवर। यिनीहरुको पुस्तैनी घर काठमाडौँको पश्चिमोत्तर क्षेत्र इचंगुनारायणमा अद्द्यावधि रहेको छ। घर अगाडी भगवतीको सानो पुस्तैनी मन्दिर छ।

फोटो साभार नेपालखबर

प्याफलमा जन्मे पनि बलभद्रको बाल्यकाल सधैं सैनिक छाउनीहरू तथा युद्धमोर्चामा बित्यो ! विसं १८६२ मा १४ वर्षको उमेरमा उनको बिहे मालिकादेवी थापासँग भयो ! बि स. १८६३ मा बलभद्र कुँवर बरखगण पल्टनमा भर्ती भए। उनलाई पल्टनको कमान दिएर डोटी खटाइयो, त्यसपछि गढवाल। बलभद्रका बाबु चन्दवीर पनि त्यस बेला गढवालको राजधानी श्रीनगरको कमान सम्हालेर बसेका थिए। बलभद्र गढवाल पुगेको केही समयपछि एक स्थानीय विद्रोह दबाउने सिलसिलामा चन्द्रवीरले वीरगति प्राप्त गरे। वीरगति प्राप्त गरेका बाबु चन्द्रवीरले सम्हालेको जिम्मेवारी नै सम्हाल्ने गरी बलभद्रलाई बढुवा गरियो । यिनी १८६७मा डोटीकोलागि क्याप्टेन थिए र इन्लाई १८६८मा नालापानी ,खलङ्गाको सुरक्ष्यार्थ खटाइएको थियो ।

“पुरानो गोरख गण” बलभद्रले नेतृत्व गरेको नेपाली सेनाको गण थियो। जो अद्याबधी नेपालमा छ। बलभद्रका बुबा चन्द्र वीर कुँवर ( वीरभद्र पनि भनिन्छ ) फौजी थिए। हातपाखुरा लाग्नेबित्तिकै फौजमा सेवा गर्ने र वृद्ध उमेरले नसक्ने भएपछि मात्र अवकाश लिने त्यस बेलाको चलन अनुसार वल भद्र कुँवर सानै देखि बाबुको पछि लागेका थिए। यसप्रकार बलभद्रको परिवारनै फौजी परिवार थियो,.वीरता र राष्ट्रकालागि बलिदान भावका कारण हरेक नेपालीका मनमस्तिष्कमा गहिरो स्थान बनाएका ऐतिहासिक पात्र बलभद्र कुँवर आजका दिनमा पनि उत्तिकै श्रद्धाका पात्र रहेकाछन।

सुगौली सन्धी हुनु भन्दा अघि अमर सिंह थापाले नेतृत्व सम्हालेको सैनिक क्षेत्र कुमाउँ र गढ़वालको थियो। भक्ति थापा मगरले सम्हालेको क्षेत्र देओथल र बलभद्र कुँवरले सम्हालेको क्षेत्र नालापानी थियो। बि.स. १८७१ अशोज ७ गते तदनुसार सन् १८१४ अक्टोबर २२ का दिन अङ्ग्रेज सेनानायक जनरल गिलेस्पीले आफ्ना फौज लिएर देहरादून प्रवेश गरेको चाल पाएपछि देहरादून कब्जा गर्ने अङ्ग्रेजहरूको योजना विफल पार्न नेपालका सेनापति अमरसिंह थापाले उक्त इलाकाको रक्षार्थ कप्तान बलभद्र कुँवरलाई खटाएका थिए। योग्य कमान्डरहरूलाई महत्त्वपूर्ण क्षेत्रका जिम्मेवारी दिने सिलसिलामा अंग्रेजसँगको युद्धमा उनलाई देहरादून क्षेत्रको रक्षार्थ सेनापति बनाएर पठाइयो। नालापानीको सबैभन्दा उच्च स्थानमा पर्ने खलङ्गा किल्लामा वीर बलभद्र कुँवरले आफ्ना नेपाली सिपाही, ग्रामीण महिला तथा केटाकेटी गरी करिब छ सय जनाको साथ लिई बलभद्र युद्धको लागि जुटे। नेपाली फौजसित हतियारका नाममा केही तोप, भरुवा बन्दुक, ढुङ्गामुढा, खुकुरी, धनुष बाण, भालाजस्ता साधनहरू मात्रै थिए।

अङ्ग्रेजहरूका आधुनिक हतियार र सुसङ्गठित ठूलो फौजको सामना गर्नु नेपाली सेनालाई फलामको चिउरा चपाउनु बराबरको काम थियो। त्यसै बखत ३० अक्टोबरका (१५ अशोज )दिन गिलेस्पीले आफ्ना मतहातमा भएका ३६०० भन्दा बढी सेनाको साथमा किल्लामाथि आक्रमण सुरू गरे। किल्लातर्फ बढेका अङ्ग्रेज फौजका केही अधिकृत जवान मात्र बाँच्न सफल भए। लेफ्टिनेन्ट एलिस सहित अङ्ग्रेजका धेरै सेनाहरू युद्धमा मारिए। यिनले १९ असाेज १९७१ मा अंग्रेज तर्फ ३६०० फौजको नेतृत्व गर्ने कर्नेल मोवी र जर्नेल गिलेप्सिलाई वीर भद्र कुंवरले नेपाल तर्फको ६०० फौजको नेतृत्व गर्दै लडाई मैदानमै मारेका थिए।

फोटो साभार नेपालखबर

त्यतिखेर ७१८ शिपाही र ३१ अधिकृत ब्रिटिश सेना तर्फ हताहत भएको थियो। नेपालको एकीकरण अभियानमा नेपालका सम्पूर्ण जात जाति ,बर्ग ,समुह नेपालको झण्डा मुनि एकत्रित थिए। छातीको दूध आफ्ना बच्चाहरुलाई चुसाउदै एक हातले बच्चा च्यापी अर्को हातले तरवार च्यापेर हाम्रा बिरांगनाहरु युद्ध मैदानमा ओर्लिएको पहिलो युद्ध यहि हो। प्रथम प्रयास असफल भएपछि अङ्ग्रेजहरूले थप तयारी गरी दोस्रो पटक हमला गरे। दोस्रो पटक जनरल गिलेस्पीसमेत मारिए। गिलेस्पीको मृत्युपश्चात् तितर-वितर फौजको नेतृत्वका भार कर्नल माँबीले सम्हाले।

माँबीको पटक-पटकको आक्रमण असफल भएपछि अङ्ग्रेजहरू युद्धद्वारा नेपाली वीर गोर्खालीलाई परास्त गर्ने आशा मारे। उनले भर्खर जुँगाको रेखी बसेको २३ वर्षे कप्तान ठिटो हराउन नसकेपछि किल्लामा जाने पानीको मुहान रोक्न लगाए। अङ्ग्रेजहरूको उक्त धोकापूर्ण चालले नेपालीले पानीसमेत पिउन पाएनन्। त्यस अवस्थामा पनि बलभद्र अंग्रेजलाई ललकार्दै ६०-७० जनाको डफ्फा लिएर अडेका थिए। पानीको प्यासले किल्लाभित्र हाहाकार मच्चिन थाल्यो। बाहिरबाट शत्रुका तोपहरूको अग्निवर्षा जारी थियो भने भित्र सारा फौज प्यासले तड्पिरहेका थिए। त्यस्तो दर्दनाक परिस्थितिमा जीवित रहेका बाँकी वीर सेनाको हितका लागि बलभद्रले स्वतः किल्ला छोड्नुपरेको थियो। सन् १८१४ नोभेम्बर ३० मा बलभद्रले किल्ला छोडेर जाँदा साथमा ७० जना जति मात्र बाँकी थिए। किल्लाको स्वतः त्यागपछि मात्र अङ्ग्रेजहरूको पाइला खलङ्गा किल्लासम्म पुग्न सकेको थियो।

बलभद्रको नाममा जारी हुलाक टिकट

युद्ध पश्चात् नेपालीहरूको पराक्रम र बहादुरीको प्रशंसा गर्दै अङ्ग्रेजहरूले एक युद्ध स्मारकको स्थापना गरे। उक्त स्मारकको शिलालेखमा लेखिएको छ- हाम्रा वीर शत्रु बलभद्र र उनका वीर गोर्खालीहरूको स्मृतिमा सम्मानोपहार हालको देहरादून स्थित सहस्त्रधार रोडमा पर्ने स्मारक भारतीय पुरात्तव विभागको संरक्षणमा छ। यो विश्वभरिको एक मात्र त्यस्तो उदाहरणीय स्मारक मानिएको छ जहाँ कुनै सेनाद्वारा आफ्नो शत्रु सेनाको अद्भूत वीरतालाई उल्लेख गरिएको छ। भारतको उत्तराखण्ड राज्य अन्तर्गत पर्ने देहरादूनको नालापानीमा पर्ने खलङ्गा किल्लाले नेपाल र नेपालीको गौरवमय इतिहास बोकेको छ ।

फोटो साभार नेपालखबर

यिनको अन्तिम कालमा सुगौली सन्धी द्वारा बिरक्तिएका बीरभद्र कुँवर अंग्रेजको दोहोलो काट्ने उद्द्येश्य लिई नेपाली सेना छोडेर पंजाव राज्यको रंजित सिंहको सेनामा भर्तिहुन गए। ३ चैत १८८९ मा पेसावर (अफगानिस्तान) को नौसेरा भन्ने स्थानमा पठानहरूसँग लड्दा लड्दै बलभद्रले वीरगति प्राप्त गरे। लडाइँ र वीरताका गाथाहरू अत्यन्त रोचक हुन्छन्। ब्रिटिश शासनले युद्धमैदानमा उत्रिएको नेपाली सेनाका लागि पिउने पानीको नदीसमेत थुनेर प्याकप्याकी पारेपछि सुगौली सन्धि गर्न नेपाल राजी भएको थियो। काखमा बालबच्चा बोकेर नेपाली आमाहरु यो युद्ध लडेका थिए। वीर बलभद्रको वीरताका सामु कसैसँग नझुक्ने अंग्रेज झुक्यो र नालापाीमा वीर बलभद्रको सम्मानमा मोनमेन्ट निर्माण गर्‍यो, अभिलेख राख्यो। वीरताको सम्मान यसरी गरिन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट