सोम, माघ १३, २०७६
Mon, January 27, 2020

बुद्धभुमि लुम्बिनीको उद्यानमा दोश्रो अन्तर्राष्ट्रिय त्रिपिटक पाठ : एक समीक्षा


  • स्वदेश नेपाल
  • मङ्ल, पुस २९, २०७६

राजेन मानन्धर- आज भन्दा करिब २६सय वर्ष अगाडि लुम्बिनी उद्यानमा एक बालकको जन्म भयो । संसारका सबै मानिसलाई कसरी दुःखबाट मुक्त बनाउन सकिन्छ भनेर उहाँले ज्ञानको खोजी गर्न भारतका कैयन गाउँ शहर डुल्दै ६ वर्ष बिताउनुभयो । आखिर उहाँले त्यो ज्ञान प्राप्त गर्नुभयो र उहाँ भगवान बुद्ध हुनुभयो । बुद्धले ज्ञान प्रप्तिपछिको ४५ वर्ष यस भारतवर्षका विभिन्न ठाउँहरुमा भ्रमण गरेर ज्ञान बाँड्दै बिताउनुभयो । आज हामी उहाँलाई चिन्छौं, सम्मान गर्छौं वा श्रद्धा चढाउँछौं त त्यही ज्ञानका लागि, जुन उहाँले हामीलाई दिनुभयो ।
उहाँको परिनिर्वाणदेखि पटक पटक यस्तो विश्व भरिका हजारौं हजार बौद्ध भिक्षु भिक्षुणीहरु बसेर पाठ गरेर त्यसलाई पूर्ण रुप दिए । यसरी बुद्धबचन संकलन र संरक्षण गर्ने कामलाई संगायना वा संघायना भनिन्छ । उहाँहरुले त्यसरी मिहेनत गरेर संकलन गरेकोले नै आज हामीसँग बुद्ध शिक्षा संरक्षित अवस्थामा रहेको हो । भगवान बुद्धको महापरिनिर्वाण भएदेखि शताब्दीयौं लगाएर छ पटक सम्म विश्वभरीका थेरवाद बौद्धह्ररुको सम्मेलन अथवा संगायना गरेर यसलाई पूर्ण रुप दिएको मानिन्छ ।

त्रिपिटक भनेको भगवान बुद्धले दिनुभएको उपदेशहरुको सम्पूर्ण संकलन हो । यसलाई तीन भागमा विभाजन गर्न सकिन्छ — विनय पिटक, सुत्त पिटक र अभिधम्म पिटक । यो सबै मिलाउँदा करिब ४० वटा पुस्तकहरु बन्दछन् । यसलाई विशेष गरी थेरवादीहरुले बौद्ध शिक्षाको प्राथमिक श्रोतको रुपमा मान्ने गरेको छ ।

त्रिपिटकअन्तर्गतका विनयपिटकलाई भिक्खु विभंग, भिक्खुनीविभंग, महावग्ग, चुलवग्ग तथा परिवारमा विभाजन गरिएको छ । सुत्तपिटकभित्र दीघनिकाय, मज्झिमनिकाय, संयुक्तनिकाय, अङ्गुत्तर निकाय तथा खुद्दक निकाय पर्दछन् । त्यस्तै अभिधम्मपिटक अन्तर्गत धम्मसङ्गणी, विभङ्ग, धातुकथा, पुग्गलपञ्ञती कथावत्थु, यमक र पट्ठान पर्दछन् ।

संसारका सबै बौद्ध देशहरुमा ठुला अथवा साना समुहमा बसेर भिक्षु भिक्षुणी तथा अरुहरु बेलाबेलामा त्रिपिटक पाठ गर्थे — शताब्दीयौंसम्म यो परम्परा चल्यो । विद्वानहरुका अनुसार हजारौं वर्षसम्म महाबोधी मन्दिरमा नियमितरुपमा त्रिपिटक पाठ हुने गर्दथ्यो । त्यस्तै नेपाल लगायतका विभिन्न देशका बौद्ध विहार, बहाल बहिलमा पनि बुद्ध बचनहरुको आआफ्नै ढंगबाट पाठ गर्नेै परम्परा छ ।

गएको दुइ हजार वर्षमा यस दक्षिण एशियाको राजनीतिक, सामाजिक र धार्मिक अवस्थामा धेरै परिवर्तन आयो । यहाँ लामो समयसम्म जग बलियो बनाएर बसेको बुद्धधर्मको नामोनिशान मेटेको अवस्था देखियो । कतै हिन्दु अतिवादीहरुले दुख दिए, पछि मुस्लिमहरुले बौद्ध र हिन्दु दुबैलाई नामेट जस्तै बनाइदिए । हुन त राजनीति संरक्षणले होला, भारतमा हिन्दु धर्मले पुरुत्थान पायो, तर बुद्ध धर्म त्यहाँ नाजुक नै देखिन्छ ।

यस्तै प्रकारले नेपालको बुद्धधर्मले पनि राजनीतिक प्रहार अप्रत्यक्ष रुपमा भएपनि व्यहोर्नुपर्यो । राजनीतिको संरक्षण बिना नेपालमा बुद्धधर्मको अवस्था स्थिर रहने अवस्था थिएन । बुद्धको जन्मभूमि लुम्बिनी नै हजारौं वर्षसम्म माटोको ढिस्को मुनि पुरिनु र त्यहाँका बौद्ध स्थानीयबासीहरुको छायासम्म बाँकी नरहनुले यसै तथ्यलाई इंगित गर्दछ । यस्तो अवस्थामा नेपालमा पनि त्रिपिटक पाठ गर्ने परम्परा लोप भइ केही केही महाविहार तथा गुम्बामा त्यो पनि कर्मकाण्डको रुपमा मात्र रहनु आश्यर्चको कुरा रहेन । त्रिपिटकका सुत्रहरुको व्याख्या साधारण मानिसले बुझ्ने गरी गरिदिने विद्वानहरुको कमी सर्वदा भइरह्यो ।

हालै संसार भरी मानिसहरुमा बुद्धको शिक्षाप्रतिको रुची बढ्न थालेपछि यस टुटेको परम्परालाई बिउँताउने सम्भावना देखिएको छ । धेरैलाई चासो बढेको छ अब, आखिर यो त्रिपिटक भनेको के हो भनेर । यस सन्दर्भमा भारतको महाबोधी मन्दिरबाट त्रिपिटकको पाठ गर्ने परम्पराको थालनी सन् २००६ देखि शुरु भयो । त्यसपछि लगभग १४ वर्षदेखि विश्वभरीका बौद्ध देशहरुका प्रतिनिधिको सहभागितामा बोधगयामा त्रिपिटक पाठ गर्ने परम्पराको पुनरावृत्ति भएको छ ।

लुम्बिनी भगवान बुद्ध जन्मेको ठाउँ । हामी बुद्ध नेपालमा जन्मेको भनेर विश्वभरी पर्यटक निम्त्याउने कार्यक्रम चलाइरहँदा त्यहाँ आउने तीर्थयात्रीहरु यस्तो ठाउँमा पनि धार्मिक क्रियाकलापहरु देख्न पाइएन भनेर दुखेसो गर्ने गर्दछन् । उनीहरु यहाँ आउँदा जसरी घुँडा टेकेर एकआध घण्टा त्रिरत्न शरण गमन गरेर वा शील प्रार्थना गरेर भएरपनि जान्छन् त्यसरी नै यहाँ त्यस्तो गतिविधि भएको हेर्न चाहन्छन् । तर यस्तो हुन सकिरहेको छैन । स्थानीय जनतामा बुद्धधर्मप्रतिको श्रद्धा नजागेकोले अनि काठमाडौं उपत्यका र हिमाली भेगमा तीर्थयात्रुहरु गएपछिमात्र त्यो मन्दिर जस्तो देखिन्छ । यस्तो अवस्था सबैले अनुभव गरेकै हुनुपर्छ ।

यस्तो अवस्थामा बोधिगयामा भइरहेको नियमित त्रिपिटक पाठ कार्यक्रमबाट प्रेरित भएर हुनसक्छ, नेपालमा स्थित बुद्ध जन्मभूमि लुम्बिनीमा पनि गत वर्ष सन् २०१८देखि अन्तर्राष्ट्रिय त्रिपिटक पाठ समारोह गर्ने परम्परा बसेको छ । पहिलो वर्ष नै घोषणा गरिएको थियो, यो वर्ष उसै समय दोश्रो समारोह आयोजना गर्ने भनेर । यसै अनुरुप लुम्बिनी अन्तर्राष्ट्रिय त्रिपिटक पाठ समारोहको आयोजनामा दोश्रो अन्तर्राष्ट्रिय त्रिपिटक पाठ अथवा च्यान्टिङ २०७६ कार्तिक २८ (२०१९ नभेम्बर १४)देखि शुरु भयो ।

यसको पहिलो दिन पहिलो दिन कार्तिक २८ अथवा नभेम्बर १४का दिन बिहान प्रतीकको रुपमा ल्याइएको त्रिपिटक ग्रन्थ सहित विशिष्ट व्यक्तिहरुको अगुवाइमा स्थानीय एवं विभिन्न देशबाट आउनुभएका भन्ते गुरुमांहरुका साथै काठमाडौं, बुटवल, पोखराका साथै अन्य स्थानबाट आउनुभएका बौद्ध समाजका उपासक उपासिकाहरुको साथ पदयात्रा आयोजना गरिएको थियो । पाटनका बौद्धसमुदायको धाःबाजा अग्रपंक्तिमा थियो । उक्त पदयात्रा शान्तिदीप स्थलदेखि मायादेवीको मन्दिर परिक्रमा गरी सभास्थामा पुग्यो । त्रिपिटक पाठ लुम्बिनीस्थित मायादेवी मन्दिरको उत्तर पुर्वको उद्यानमा गरिएको थियो ।

सो कार्यक्रममा २५ देशका १००० भन्दा बढी भिक्षु भिक्षुणी तथा उपासक उपासिकाको सहभागिता भएको आयोजकले जनाएको छ । धार्मिक कार्यक्रम नै नभइरहेको स्थितिमा बुद्धधर्मप्रति श्रद्धा राख्ने यति धेरै मानिस विभिन्न देशबाट आएर भेला हुनु निश्चय पनि उत्साहवर्धक काम हो ।
पदयात्रा सकिएपछि त्यहाँ सजाइएको मञ्चमा औपचारिक कार्यत्रमको भयो । भन्ते, गुरुमांहरु तथा अन्य अथितिहरु आआफ्नो स्थानमा बसे । शुरुवातमा उपसंघनायक भिक्षु बोधिसेन महास्थविरले शील प्रदान गर्नुभयो ।

यसको शुभारम्भ प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, सांसद सुजिता शाक्य, लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरी तथा थाइल्याण्डका पूर्वमन्त्री कुनिन सुधारतले संयुक्तरूपमा दीप प्रज्वलन गरी गर्नुभयो ।

कार्यक्रममा मुख्यमन्त्री पोखरेलले लुम्बिनीको विकास र पर्यटन प्रवद्र्धनका लागि प्रदेश सरकारले अघि बढाइरहेको विभिन्न विकास निर्माणका कामहरुको बारेमा जानकारी दिनुभयो । लुम्बिनी विकास कोषका उपाध्यक्ष मेत्तेय भन्तेले यो कार्यक्रम बौद्धहरुको मात्र होइन सबै शान्तिप्रेमी जनताको साझा कार्यक्रम भएको बताउनुभयो । आयोजक समितिका अध्यक्ष भिक्षु मैत्री महास्थवीरले इतिहासमा पनि त्रिपिटक सज्झायना कार्यक्रमहरु राजाको संरक्षणमै हुने गरेको भन्दै यस्तो कार्यक्रम अब लुम्बिनीमा पनि सरकारीस्तरबाटै सञ्चालन गनुपर्नेमा जोड दिनुभयो ।

त्यसपछि आयोजकहरुले व्यवस्था गरेको समय तालिका अनुसार विभिन्न राष्ट्रका प्रनितिधिहरुले आआफ्नो अंशको त्रिपिटक पाठ गरे । यस अनुसार पहिलो दिन सुत्तपिटक, दोश्रो दिन विनयपिटक तथा तेश्रो दिन अभिधर्मपिटकका सुत्रहरुको बाचन गरिएको थियो । हरेक दिन दिउँसो खाना र चियाको समय बाहेक बिहान ८ बजेदेखिसाँझ ५ बजेसम्म पाठ गर्ने तालिका बनाइएको थियो ।

पहिलो दिनको पाठ सत्रमा नेपाली भिक्षुहरुको नेतृत्वमा सूत्रपिटक अन्तर्गतको दीर्घनिकायको ब्रह्मजालसूत्र वाचन भयो । त्यसपछि श्रीलंकाली भिक्षुहरुबाट सुत्रपाठ भयो । एक छेउमा नेपाली उपासक उपासिकाहरु पलेंटी कसेर बुद्धबचन सुनिरहेका थिए भने कोही कोही ध्यान बसिरहेका थिए । यसै अवसरमा भगवान बुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा विभिन्न देशमा भिक्षु भिक्षुणीहरुको समेत आगमन भयो । धेरै विदेशीहरुका लागि लुम्बिनीमा आफ्नो पदचिन्ह छोड्ने यो पहिलो अवसर थियो ।

दोस्रो दिन कार्तिक २९ अथवा नभेम्बर १५का दिन भियतनामी तथा क्याम्बोडियाली भिक्षुहरुले पाठ गर्नुभयो । त्यसपछि चीनियाँ, जापानी तथा कोरियन भिक्षुहरूको नेतृत्वमा अन्य सुत्रहरुको पाठ भयो ।

यसप्रकार विशेष गरी दक्षिण पूर्वी एशियाका बौद्ध राष्ट्रहरुको प्रतिनिधिहरुको सहभागितामा लुम्बिनीमा त्रिपिटक पाठ हुनु भनेको साँच्चै पवित्र तथा महत्वपूर्ण कार्य हो । हरेक दिन विहानदेखि साँझसम्म विभिन्न देशबाट आउनु्भएका श्रद्धेय भिक्षु भिक्षुणी तथा अन्य उपासक उपासिकाहरुले आफ्नो आफ्नो देशको लागि छुट्याइएको ठाउँमा बसेर त्रिपिटक पाठ गरेको ध्वनीले पवित्र लुम्बिनी उद्यान गुन्जायमान भयो । सबै थेरवादी देशहरुबाट आउनुभएका भिन्ते गुरुमां तथा उपासक उपासिकाहरुको भाषा पालि थियोे तर उहाँहरुले पढ्ने पुस्तकका लिपि भने फरक फरक थियो — कुनै पुस्तक देवनागरीमा थियो भने अरु सिँहाली, थाइ, बर्मेली तथा अन्य लिपिमा पनि थिए । लिपि बेग्लै भएपनि, लय अलि अलि फरक भएपनि उहाँहरु सबैले त्रिपिटक नै पढ्दै हुनुहुन्थ्यो । यसबाहेक महायानी तथा वज्रयानी लामा, आनी तथा गुरुजुहरुको ग्रन्थहरुको भाषा र भाषा फरक भएतापनि ती सबै बुद्धबचन नै थिए । उहाँहरुले ती ग्रन्थहरु ठिक त्यसरी नै पढ्नुभयो जसरी यसलाई हजारौं वर्ष अगाडिदेखि पढिने गरिन्थ्यो । यसप्रकार उहाँहरु राष्ट्रियता, भाषा र संस्कृतिको छेकबार पार गरेर एकै छातामुनि समाहित हुन आउनुभयो ।

यसरी हेर्दा एउटा बिर्सिएको पुरानो बौद्ध परम्पराले नयाँ जीवन पाएको देखिन्छ । सबैलाई भगवान बुद्धको पवित्र जन्मभूमि लुम्बिनीमा एकपल्ट फेरि जाने अवसर मिलेको छ । सबैले आफुले पढेजस्तै अन्य देशका भिक्षुभिक्षुणी तथा उपासक उपासिकाहरुले कसरी बुद्धबचनलाई पाठ गर्छन् भन्ने सिक्ने अवसर प्राप्त भएको छ । ती सबैले पाठ गरेको ध्वनीले लुम्बिनीको वातावरण झन् बढी पवित्र बन्न पुगेको छ ।

यस कार्यक्रमको महत्वबारे सहभागी नेपालका भन्ते तथा गुरुमांहरु उत्साहित देखिनुहुन्थ्यो । भिक्षु उदयभद्रले नेपालीहरुले यसप्रकारको अन्तर्राष्ट्रिय स्तरको कार्यक्रम आयोजना गर्नु धेरै ठुलो उपलब्धि हो भन्नुभएको छ । अनागारिका श्रद्धाचारीले आगामी दिनमा नेपालीहरुको सहभागिता झन् धेरै हुने आशा व्यक्त गर्नुभयो ।ं

लुम्बिनीमा आयोेजना भएको यस माहान् उत्सवमा काठमाडौ, ललितपुर तथा भक्तपुरका धेरै उपासक उपासिकाहरु सहभागी हुनुभएको छ । उहाँहरुले यस कार्यक्रमका बारेमा यस्तो प्रतिक्रिया दिनुभएको छ ।

ललितपुरबाट आउनुभएका पुष्करमान शाक्यले यति ठुलो कार्यक्रम भइरहँदा पनि, अझ लुम्बिनी भ्रमण वर्ष भनेर प्रचार गरिएतापनि वर्षौंदेखि अल्झिरहेको भैरहवादेखि लुम्बिनीको बाटा बनिनसकेकोमा चिन्ता व्यक्त गर्नुभयो ।

अमृतमान ताम्राकार, विजय रत्न तुलाधर, सानुकाजी शाक्यसँगको कुराकानीमा पनि उहाँहरुले एकै स्वरमा नेपालले यति ठुलो कार्यक्रमको आयोजन सक्नु भनेको गौरवको कुरा भएको बताउनुभयो । उहाँले यसलाई अवसरको रुपमा प्रयोग गरेर कसरी हुन्छ धेरै भन्दा धेरै तीर्थयात्रुहरुलाई नेपालमा आउने वातावरण बनाउन पनि सरकारसँग अनुरोध गरे । यसवर्ष पोहरको भन्दा कम मात्र नेपाली सहभागी भएकोमा उहाँहरुले आश्चर्य व्यक्त पनि गर्नुभयो ।

स्वयम्भू निबासी करुणा बुद्धाचार्यले यति ठुलो कार्यक्रम भइरहँदा पनि यहाँ एउटा व्यवस्थित शौचालय पनि नभएकोमा दुःख व्यक्त गर्नुभयो । भएको एउटा शौचालय प्रयोग नै गर्न नसकिने गरी दुर्गन्धित र बिग्रेको अनि महिलाहरुका लागि झन् बढी समस्या भएको पनि उहाँले बताउनुभयो ।

तेस्रो दिनमा कार्तिक ३० अथवा नभेम्बर १६का दिनथाइ भन्तेहरूको नेतृत्वमा पाठ भयो । दिउँसोे वज्रयानी गुरुजुहरुको समूहले उहाँहरुको आफ्नो ग्रन्थ ल्याएर पाठ गर्नुभयो । त्यसपछि नेपाली थेरवाद गुरुमांहरु तथा र महायानी आनीहरूले पाठको नेतृत्व गर्नुभयो ।
मुख्य स्थानमा एक पछि अर्को समुहले आफ्नो आफ्नो पाठ गरिरहनुभएको थियो । यसबेला सम्म मुख्य पाठ गर्ने समुह बाहेक अरुहरु निस्केर जाने चलन शुरु भयो । समयको अभावले अथवा व्यवस्थापनको नियम नै त्यस्तो भएर हो, आफ्नो पालो सकिएपछि विदेशी भिक्षु भिक्षुणीहरु पाठ गर्ने स्थलमा बसिदिएनन् । पवित्र सभाकक्ष शुन्य हुँदै गयो ।

अर्कोतिर नेपाली सहभागीहरु संख्यामा धेरै भएपनि आधा जस्तो पाठ गर्ने समुहमा थिएनन् । भएका पनि पढ्ने पुस्तक नभएर त्यतिकै यताउती हेरेर दिन बिताइरन्थे । पढ्न नजानेपनि भनेको नबुझेपनि यो भनेको बुद्धबचन हो र श्रवण मात्रले पनि पुण्य प्राप्ति हुन्छ भनेर उहाँहरुलाई शिक्षा नदिएको देखियो ।

आयोजकका तर्फबाट आयोजक लुम्बिनी विकास कोषका कार्यकारिणी समितिका सदस्य राजेश ज्ञवाली आयोजना व्यवस्थापनमा केही कमजोरी भएको स्वीकार्नुहुन्छ र आगामी वर्षमा यसमाथि छलफल गरेर सबैको सहभागितामा यसलाई अझ व्यापक बनाउने विश्वास दिलाउनुहुन्छ ।

आयोजक समितिका सचिव हेम बहादुर विष्ट काठमाडौं जस्तो अविछिन्न बौद्ध धर्म र संस्कृति भएको ठाउँबाट निकै थोरै सहभागिता भएको आश्चर्य व्यक्त गर्नुहुन्छ ।

यसरी बुद्धबचनहरुको सँगालो त्रिपिटकका केही चुनिएका गाथाहरु लगभग १ हजार भिक्षु भिक्षुणीहरु तथा अन्यले एकैसाथ ३ दिनसम्म पाठ गरेर कुनैबेला छोडिएको वा बिर्सिएको परम्परालाई पुनर्जीवन दिने काम भयो । यसमा नेपाल लगायत भारत, चीन, श्रीलंका, थाइल्याण्ड, म्यानमार, भियतनाम, लाओस, कोरिया, जापान तथा अन्य केही देशका प्रतिनिधिहरु सहभागी थिए ।

यसका साथै दुई दिन नेपालका दुइ तथा एक विदेशी प्रतिष्ठित बौद्ध विद्वानहरूबाट धर्म देशना पनि भयो । पहिलो दिनमा धर्मदेशना उपसंघनायक भिक्षु बोधीज्ञान महास्थविरबाट तथा सिंगापुरका भिक्षु सुमनासिरी महास्थविरबाट धर्म देशना भयो । दोस्रो दिन विद्याधर आचार्य महायोगी श्रीधर राणा रिम्पोचेबाट धर्मदेशना भयो ।

भिक्षु बोधीज्ञान महास्थविरले बुद्धको शिक्षा जीवनोपयागी भएकोले सुन्नेमात्रै होइन, यसलाई आफ्नो जीवनमा प्रयोग गरेको यसबाट अहिल्यै लाभ हुने बताउनुभयो । भिक्षु सुमनासिरी महास्थविरले बुद्ध नेपालमा जन्मेको कुरामा कुनै संदेह नभएको उल्लेख गर्दै सबै नेपालीले अब बुद्धको शिक्षा अबलम्बन गरेर आफुलाई बौद्ध बनाउन सक्नुपर्ने बताउनुभयो । त्यस्तै श्रीधर राणा रिम्पोचे भगवान बुद्धका बचनहरु त्रिपिटकमा संरक्षित भए तापनि नेपाल लगायत विभिन्न देशबाट राजनीतिक धार्मिक कारणले ती ग्रन्थहरु लोप भएको र हाल ती सबै एक देशबाट अर्को देश हुँदै सबै बौद्धहरुले यसको संरक्षण गर्न थालेको बताउनुभयो ।

तेस्रो दिनको पाठ सकिएपछि औपचारिक समापन कार्यक्रम आयोजना गरिएको थियो । यस अवसरमा समापन कार्यक्रममा बोल्दै लुम्बिनी अन्तर्राष्ट्रिय त्रिपिटक पाठ समितिका अध्यक्ष मैत्री महास्थविरले सबैको सहकार्य एवं सहभागिताले नै यस्तो ऐतिहासिक कार्यक्रम सफल भएको बताउनुभयो । साथै अन्तर्राष्ट्रिय त्रिपिटक पाठ परषिद्का सदस्य वाङ्मो दिक्सेले सबैको सहयोगमा यो कार्यक्रम सफल भएकोमा सबैलाई बधाइ दिनुभयो । लुम्बिनी विकास कोषका उपध्यक्ष मेत्तेय भन्तेले यस प्रकारको कार्यक्रम बौद्धहरुको मात्र नभएर सम्पूर्ण नेपालीहरुको भएकोले आगामी दिनमा यसमा अझ धेरै सहभागिता हुने आशा व्यक्त गर्नुभयो ।

यस अवसरमा आयोजकका तर्फबाट यस कार्यक्रममा सहयोग गर्नुहुने विभिन्न संस्थाहरु तथा व्यक्तिहरुलाई सम्मानस्वरुप सम्झनाको चिनो प्रदान गरिएको थियो ।

औपचारिक कार्यक्रमपछि उपस्थित सबै भिक्षु गुरुमां तथा लामा अनि आनीहरुलाई उपासक उपासिकाहरुले दान प्रदान गर्नुभयो । भिक्षु भिक्षुणीहरुलाई दान दिनुलाई बुद्ध धर्ममा एक कुशल कर्मको रुपमा लिइन्छ ।

यति ठुलो काममा केही कमी कमजोरी हुनु भनेको स्वभाविक हो । यहाँ केही समीक्षात्मक टिप्पणी गर्नुको उद्देश्य अर्कोवर्ष यो कार्यक्रम झन् भव्य होस् भन्ने. हेतुले मात्र हो ।

सबैभन्दा पहिला आयोजक समितिको बलियो आधार भनेकै अखिल नेपाल भिक्षु महासंघ हो । नेपालमा भएको यस्तो कार्यक्रम थेरवादी बौद्धहरको प्रखुतामा हुनुपर्नेमा कार्यक्रममा महासंघका पदाधिकारीहरु नै सबै सहभागी हुन नसक्नुलाई त्यहाँका सहभागीहरुकले निकै अर्थपूर्ण रुपमा लिए । कथिन पनि सकिसकेको थियो, अरु कुनै ठुलो कार्यक्रम पनि राजधानीमा थिएन तर पनि यस्तो पुण्यको कामका नै सहभागिता देखाउन नसक्नुले महासंघले अहिले नेपाल जस्तो बुद्धधर्मलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा दबाइएको देशमा आफ्नो पहिचान वा धार्मिक समानाधिकारका लागि कसरी संघर्षशिल हुन्छ भन्ने प्रश्नचिन्ह समेत खडा गरेको छ ।

खुशीको कुरा हो कि यहाँ विभिन्न देशबाट हजारौंका संख्यामा बौद्ध धर्माबलम्बी सहभागी भए । भिक्षु, भिक्षुणी, लामा, आनीहरु नेपाल लगायत विभिन्न देशबाट आए । उहाँहरुलाई सबैभन्दा बढी जान्ने अनि पाठको नेतृत्व लिनेहरु भनेर सबैले सम्मान गरिराखेका छन् तर उहाँहरु नै तीन दिनसम्म अडिग भएर आआफ्नो ठाउँमा बस्न सक्नुभएन र आफ्नो पालोमा एक आधा घण्टा पाठ गर्ने अनि अरुले पाठ गरेको एकचित्त भएर श्रवण गर्ने गरेको नदेखेपछि चंचल मन भएका सामान्य उपासक उपासिकाहरु धैर्य गरेर बस्न नसक्नु स्वभाविक भयो । अहिलेको सन्दर्भमा चिवर लगाएकाहरुले धर्मसंघको नेतृत्व लिनुपर्नेमात्र होइन आदर्श नै भएर अगाडि बसेर समाजलाई मार्ग दर्शन गर्नुपने अवस्था छ । भन्तेपिं गुरुमांहरु आफ्नो पालो सकिएपछि उठेर बाहिर जाने चलन आउँदा समारोह स्थल खाली खाली देखिने नै भयो । त्यसमाथि विदेशबाट आएका पनि कति त बसे तर धेरै जसो आफ्नो पालोमा आउँदा मात्र आएर बस्ने अनि सकिएपछि जाने गरेको देख्दा यस्तै व्यवस्था थियो कि आयोजकको कमजोरी भनेर बुझ्न कठिन भयो । लाओसका भन्तेहरु नदेखिनुु, भियतनामका भन्तहरुले आफ्नो पालोमा मात्र आएर पढ्ने र सकिए पछि जाने, अले कोरियाबाट एकजना मात्र भन्ते उपस्थित हुनु भनेको सुखद कुरा हुनसक्दैन ।

त्यसपछि उपासक उपासिकाहरुको कुरा । भन्नु नपर्ला, लुम्बिनीमा बुद्ध जन्मनुभएको भएपनि अहिलेको अवस्थामा त्यहाँ स्थानीयबासी बौद्धहरु छैनन्, गएको एक सय वर्षको अभियाले पनि त्यहाँ स्थानीयाबासीहरुलाई साँच्चै श्रद्धा भएका बौद्धहरु बनाउन नसकिरहेको अवस्था छ । यस्तो अवस्थामा लुम्बिनीमा कुनै पनि कार्यक्रम हुन्छ, त्यसलाई सफल बनाउन काठमाडौं उपत्यका र अन्य ठाउँका नेवारहरु र हिमाली प्रदेशका जनजातिहरुले नै भौतिक उपस्थिति जनाउनुपर्छ । पोहरसालको भन्दा यसपालि त्यहाँ नेवारहरुको सहभागिता कम भयो भन्ने हल्ला चलेको छ । सुन्नमा आए अनुसार यस वर्ष त्यहाँ जाने भ्रमण आयोजकहरुले औसत भन्दा बढी पैसा संकलन गर्न खोलेकोले सहभागी कम देखिएको थियो ।

त्यहाँ जानु भनेको त्रिपिटक पाठ गर्नलाई थियो । त्यसो हो भने आफै कण्ठ गरेर सबै पाठ गर्न जान्नेहरु नभएको अवस्थामा त्यहाँ पाठ गरिने सबै गाथाहरु पुस्तकको रुपमा छापेर प्रकाशन गरिदिनु पर्ने थियो । केही चुनिएका बोह अन्य गाथाहरु पढ्ने सामाग्रीको रुपमा उपलब्ध गराउन नसक्नुलाई पनि कमजोरीको रुपमा लिनुपर्छ । हातमा पुस्तक पढ्नलाई नहुँदा सबैले एकै स्वरमा पाठ गर्न नपाएपछि र भनेको कुरा नबुझेपछि उपासक उपासिकाहरुलाई झर्को लाग्नु स्वभाविक हो । त्यसैले आफु आफु गफ गरिदिने, असभ्य तरिकाले बसिदिने वा स्थल हे छोडेर गइदिएमा पनि आश्चर्य मान्नुपर्ने अवस्था देखिँदैन ।

हुन त त्रिपिटक भनेको पवित्र बुद्ध वचन हो भनेपछि त्यसलाई पाठ नै नगरेपनि अरुले पाठ गरेको सुनेमात्र पनि पुण्यलाभ हुन्छ । तर यस्तो कुरा सिकाउने ठाउँ छैन । विहारमा आउने उपासक उपासिकाहरुलाई त्रिरत्न वन्दना र परित्राण भित्र परेका गाथा पाठ बाहेक अरु कुरा सिकाइराखेको छैन भन्ने देखियो । अनि ती सामान्य पाठ बाहेक अरु सिकाइनराखेकै कारणले हाम्रा उपासक उपासिकाहरु यस पुण्यबाट बन्चित भए । त्यसैले थेरवाद बुद्धशासन पुनरुत्थान भएको भनेकै ८० वर्ष भएपनि हाम्रा उपासक उपासिकाहरुलाई यस्तो तालीम वा शिक्षण अभाव भइसरहेकोले यस्ता कार्यक्रममा सहभागी भएर पनि संयमित र अनुशासित भएर बस्न नसकेको देखियो ।

नखाइ बस्त कोही पनि सक्दैन । भन्ते गुरुमांहरुलाई विहार व चीनियाँ विहारमा अनि उपासक उपासिकाहरुलाई गौतमी विहारमा भोजनको व्यवस्था गरिराखेको अनि नै प्रशंसायोग्य कुरा हो । त्यस्तै यस कार्यमा स्वयंसेवकहरुको काम पनि सराहनीय छ । तर समारोहस्थाल नजिकै खाली ठाउँ भइकन पनि त्यहाँसम्म खाने व्यवस्था नगरिदिँदा विशोष गरी बुढाबुढी सहभागीलाई गाह्रो भएको मात्र होइन, गएपछि फर्केर नाउने गरेको समेत देखियो ।

त्यस्तै अरु नभनी नहुने कुरा यो पनि हो कि हजारौं हजार स्वदेशी र विदेशी तीर्थयात्रीहरु पाहुनाको रुपमा बोलाइएको ठाउँमा एउटा चर्पी पनि गतिलो नहुँदा त्यहाँ आएका मानिसहरुको बेहाल दुखद थियो । यति ठुलो लुम्बिनी उद्यानमा दिनहुँ आउने हजारौं तीर्थयात्री र पर्यटकहरुलाई त्यही चार वा आठ जना मात्र जान मिल्ने त्यो पनि बिग्रेको, गन्हाउने अनि घिनलाग्दो चर्पीमात्र छ भन्नु नै आयोजक लुम्बिनी विकास कोषका् लागि लज्जाको विषय हो ।

जे होस् आयोजकको तर्फबाट लुम्बिनी विकास कोषका कार्यकारिणी समितिका सदस्य राजेश ज्ञवालीले आयोजना व्यवस्थापनमा केही कमजोरी भएको स्वीकार गर्दै आगामी वर्ष यसमा सुधार हुने बचन दिनुभएको छ ।

कार्यक्रमको समाप्ति पछि सबै सहभागी भिक्षु भिक्षुणी, लामा, आनी तथा उपासक उपासिकाहरु लामबद्ध भएर दाहिने हातले मैनबत्ती बोकेर मन्दिर वरिपरी दीपयात्रा गरेर र विश्वशान्तिको कामना गरे । बुद्धधर्ममा दीप प्रज्ज्वलनको विशेष अर्थ हुन्छ । भगवान बुद्धले आफ्ना शिष्यहरुलाई आफै दीप बन भन्नु भएको थियो । जसरी आफ्नो बत्ती आफै बोकेर हिँड्ने मानिस आफ्नो लक्ष्यसम्म उज्यालोमा हिँड्न पाउँछ त्यसरी नै बुद्धको शिक्षा जीवनभरी अपनाउनेले जीवनभरी नै सुखी भएर बाँच्न पाउँछ भन्ने यसको आशय हो । यस्तै प्रकारले तीन दिन त्रिपिटक पाठ गरिसकेपछि सहभागीहरुले हात हातमा मैनबत्ती बोकेर मन्दिर परिसरको परिक्रमा गरेर यही सन्देश फैलाउन चाहेको देखिन्छ ।

आउँदो वर्ष यसै समयमा यहाँ लुम्बिनीमा तेश्रो अन्तर्राष्ट्रिय त्रिपिटक पाठ कार्यक्रम आयोजना हुँदैछ । अब लुम्बिनीमा हरेक वर्ष विभिन्न देशका बौद्ध भिक्षु भिक्षुणीहरु आएर एकै साथ त्रिपिटक पाठ गर्ने परम्परा बसेको छ । पक्कै पनि यसका लागि धेरै भन्दा धेरै भिक्षु भिक्षुणी उपासक उपासिका तथा धेरैवटा संस्थाहरुको मिहेनत, लगन र सहकार्यले पनि यसलाई सफल बनाएको छ ।

आगामी वर्षहरुमा यसमा अझ धेरै सहभागी बनाई सबैको सहकार्यले यसलाई अझ धेरै व्यापक र सफल बनाउन सबैको मिहेनतको खाँचो छ ।

-साभार बोधीटिभी/फोटो लेखकको ब्लगबाट

प्रतिक्रिया
ताजा अपडेट