नेपालका एकमात्र अर्बपति विनोद चौधरी धेरैजसो मञ्चमा भारतका पूर्वराष्ट्रपति स्व. अब्दुल कलामको एउटा उक्ति दोहोर्याइरहन्छन्, “सपना त्यो होइन, जो राति निदाएको बेला देखिन्छ । सपना त्यो हो, जसले निदाउन दिँदैन ।”
विनोदका लागि केही कुराले अर्थ राख्छ भने त्यो हो— सपना देख्न सक्ने ताकत । सपनालाई पछ्याउन सक्ने धैर्य । र, सपना साकार बनाइछाड्ने दृढ इच्छाशक्ति । विनोद चौधरी आफैं पनि त्यस्तै सपनाको एउटा नाम हो । खुला आँखाले देखेका सपना पछ्याउँदै उनी नेपालको एक्लो अर्बपति भएर संसारभर छाएका छन् ।
उद्यम–व्यापारको जगमा आफूलाई विश्वका शक्तिशाली व्यक्तिको सूचीमा उभ्याउन सफल विनोदले अचेल देख्ने सपना फरक छ ।
उनी अचेल मुलुकलाई समृद्ध बनाउने सपना देख्छन् । युवाहरू अरबको चर्को घाममा होइन, आफ्नै माटोमा उभिएर अरबमा खेलेको सपना देख्छन् ।
केही दिनअघि पोखराका युवा उद्यमीहरूसँग आफ्ना ‘अर्बौंका कथा’ सुनाइरहँदा विनोदले पटक–पटक दोहोर्याए, “म सपना होइन, योजना बाँड्न चाहन्छु । सपना त धेरै देखाइए । म राजनीतिसँग योजना जोड्न चाहन्छु । व्यवस्थापन जोड्न चाहन्छु । परिणाम जोड्न चाहन्छु । केही गर्न सक्छु र केही दिन सक्छु भन्ने आत्मविश्वास जोड्न चाहन्छु ।”
१९ वर्षे उमेरमा सुजुकी कार नेपाल भित्र्याउँदाको सपना सम्झिँदै उनले सुनाए, “विदेशी ब्रान्डलाई नेपालमा स्थापित गर्नु अहिलेजस्तो सजिलो थिएन । लगानीको डरसँगै समाजले अंगीकार गर्दैन कि भन्ने डर उत्तिकै हुन्थ्यो । एकपछि अर्को ब्रान्ड नेपाल ल्याउन गरेको आँटले नै मलाई यो स्थानमा ल्याइपुर्यायो ।” उनले वाइवाइ ब्रान्ड थाइल्यान्डबाट नेपाल ल्याउँदाको प्रेरक कथा पनि सुनाए ।
“विनोद चौधरी आफै बर्षमा १/२ पाकेट भन्दा धेरै खादैनन् वाईवाई किन ?- टेक्नोलोजीको कनेक्सन्ले दिने अवसरबारे- नेपाल लिट्रेचर फेस्टिबलमा विनोद चौधरी र प्रतिक प्रधान बीचको हौसलापूर्ण सम्बाद”

व्यापार र व्यवसायमा एकपछि अर्को कीर्तिमान राख्दै ‘फोर्ब्स’को अर्बपति सूचीमा नेपालबाट एक्लै प्रतिनिधित्व गर्ने विनोद नेपालको अन्तर्राष्ट्रिय सम्बन्धका सेतु हुन् ।
उनी देशभित्र जति प्रभावशाली र सम्मानित छन्, अन्तर्राष्ट्रिय समुदायमाझ पनि उत्तिकै घुलेका छन् । कूटनीतिक सम्बन्ध विस्तारमा उनी दशकौंदेखि सक्रिय छन् । विभिन्न मुलुकका राष्ट्रप्रमुखसँगको सम्बन्धदेखि व्यापारिक साझेदारसम्ममा उनी उत्तिकै जोडिएका छन् ।
चीन, भारत, श्रीलंकालगायत दक्षिण एसियाली मुलुकदेखि युरोपेली, अमेरिकी, अफ्रिकी मुलुकसम्म फैलिएका छन् ।
एक घण्टासम्म विनोदका कुरा सुनेपछि एक सहभागीले सोधे, “सफलताको मापन के हो ?” विनोदले उत्तर दिए, “तपाईंले देखेको सपना पूरा भयो भने मान्नुस्, तपाईं सफल हुनुभयो । सही समय, सही स्थान र सही व्यक्तिसँग हुनुले सफलताको बाटो कोर्छ ।”
उनले व्यापार–व्यवसायमा आफूले पाएका सफलताका उदाहरण दिए । सही समय, स्थान र व्यक्तिसँगको आयामिक सम्बन्धकै कारण चौधरी ग्रुप अहिले ३० भन्दा बढी मुलुकमा फैलिएको सुनाए ।
“अहिलेको पुस्ता चेतना, प्रविधि र अवसरका कारण धेरै अगाडि छ । नेपाललाई विश्वसामु लैजान यो पुस्ताले ठूलो हस्तक्षेप गर्न सक्छ । त्यसैले मलाई तपाईंहरूबाट ठूलो आशा छ,”उनी भन्दै थिए, “नेपालबाट अब सयौं विनोद चौधरी जन्मिनुपर्छ ।”
पोखरामा बन्दै गरेको अन्तर्राष्ट्रिय विमानस्थलको सन्दर्भ उप्काउँदै विनादले युवा उद्यमीलाई आग्रह गरे, “यो विमानस्थलमात्रै होइन, अवसरको खानी हो । सरकारले केही गरिदेला र हामीले केही गरौंला भनेर बस्ने होइन । तपाईंहरूजस्ता युवाले पोखरा हुँदै नेपाललाई विश्वभर चिनाउनुपर्छ ।”
उनले व्यवसायको परम्परागत परिभाषालाई बदल्न युवाहरू जाग्नुपर्ने पनि बताए ।
“संसारभर व्यवसाय वा ब्रान्डको परिभाषा परिवर्तन हुँदैछ,” उनी भन्दै थिए, “अब फाइदामात्रै होइन, त्यससँगै परोपकार पनि जोडिनुपर्छ । कुनै पनि व्यवसाय, उद्यम या ब्रान्डको मेरुदण्ड परोपकार हुनुपर्छ ।”
विनोदले व्यवसाय र परोपकारसँगै अर्को कुरामा पनि पटक–पटक जोड दिए ।
राजनीति र आर्थिक एजेन्डाका विषय नजोडिँदासम्म मुलुकले प्रगति गर्न नसकेको उनको सार थियो ।
“आर्थिक विकासका एजेन्डाबिना राजनीति हुँदैन । राजनीतिबिना आफूले सोचनेअनुसारका आर्थिक एजेन्डा स्थापित हुँदैनन्,” उनले सुनाए, “त्यसैले राष्ट्र विकासको एजेन्डा भएको व्यक्तिले राजनीति गर्नुपर्छ । संसारमा यही भएको छ । मलेसियाका महाथिर मोहम्मद र सिंगापुरका ली क्वान युको उदाहरण मात्रै हेरे पुग्छ ।”
विनोदले उद्योग–व्यापारजस्तै राजनीतिमा पनि व्यवस्थापन क्षमता चाहिने उल्लेख गरे । आफू आर्थिक मुद्दामात्रै नभई दशकौंदेखि राजनीतिमा घुलेको भएर पनि हुन सक्छ– उनले व्यवस्थापन र राजनीतिलाई सँगै जोडेर लैजानुपर्ने बताए ।
“नेपालको भविष्यप्रति म विगतमा पनि आशावादी र उत्साहित थिएँ, अहिले पनि छु,” उनले भने, “राजनीतिक स्थिरता मूल मुद्दा थियो, त्यो नेपालले पायो । अब निजी क्षेत्रलाई राज्यको कुनै पनि क्षेत्रभन्दा कम होइन भन्ने सोच सरकारमा विकास हुनुपर्छ । निजी क्षेत्रप्रति कुनै पनि आग्रह र पूर्वाग्रह छैन भन्ने सन्देश बारम्बार दिन आवश्यक छ । अनि बल्ल मुलुकले चाहेको समृद्धि देख्न सक्छ ।”
निर्यात बढाउने, नेपाली उत्पादन र कृषिलाई प्रतिस्पर्धी बनाउने, पर्यटन क्षेत्रलाई अझै गुणात्मक विकास गर्ने, विद्युत् निर्यातलाई सहजीकरण गर्ने, लगानी भित्र्याउने, ठूला पूर्वाधार विकास गर्नेजस्ता मुद्दालाई राजनीतिले केन्द्रमा राख्नुपर्ने आवश्यकता औंल्याए ।
विनोदलाई सुनिरहेका युवा उद्यमीमध्ये एकजनाले सोधे, “तपाईं राजनीतिमा आउनुभएको छ । अरूभन्दा के फरक गर्नुहुन्छ ?”
विनोदले मुसुक्क हाँसेर जवाफ दिए, “कुनै दिन आफ्नो मान्छे ठूलो पदमा जाला र आफूलाई आर्थिक फाइदा होला भन्ने लोभ र आशा ममा छैन । किनभने उद्योग–व्यापारले मलाई पुग्ने धनसम्पत्ति दिइसकेको छ । अब मैले त्यो सीप र क्षमता मुलुकको समृद्धिमा खर्चिन्छु ।”
साभार -बाह्रखरीबाट

