‘म’ यो दुई तिहाईको कम्युनिष्ट सरकारलाई कसरी प्रशंसा गरुँ ? – २

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार

विनोद त्रिपाठी– एसिड आक्रमणबाट बिद्यार्थी मुस्कान खातुनको अनुहारबाट मुस्कान गायव भएको छ । उनको हाँसो अपराधीले लुटिसकेका छन् । वीरगंजमा ३ दिन अघि यी अवोध किशोरीको मुस्कान ति अपराधीले लुटे जुन अपराध हामीले सृजना गरेको सामाजिक प्रतिविम्व पनि हो । यो डर लाग्दो अपराध अहिले एकै पटक जन्मिएको होइन । राजनीति परिवर्तनका नाममा भएका अपराधले उत्पादन गरेका बिभिन्न रुपका यी बिद्रुप अपराधहरुका उदाहरण हुन् । कसरी ? यो आलेखमा नेपालमा अपराध र महिला हिंसामा कसरी बढोत्तरी आयो भन्ने थोरै संकेत गर्न खोजिएको छ । किनकी बर्तमान सामाजिक परिवेश र यसले तय गरेका गन्तब्यहरु यस्तै प्रकारका दुष्चक्रबाट सृजित भएकोले जनतामा भ्रम निराकरण गर्न आबस्यक ठानिएको छ ।

नेपालमा यो एसिड आक्रमण पहिलो होइन । यस अघि चार पटक यस्तै घटना भइसकेका छन् । गणतन्त्र आएपछि एसिड आक्रमण, सुई घोच्ने लगायतका बिभिन्न प्रकारका घृणित हर्कत रुपी अपराधहरु जन्मिए । अहिले मुस्कान खातुनका अपराधीहरु पक्राउ त परिसकेका छन् । तर, भित्रभित्रै सेटिङ पनि चलिरहेको होला । यो हामी सोझो अनुमान गर्न सक्छौं । किनकी यस अघि भएका यस्तै अपराधका अपराधीलाई खुलेयाम कारवाही गरिएको भए सम्भवत यस्ता घटना दोहोरिंदैन थिए । विडम्वना हाम्रो प्रणालीले अपराधीलाई जति वलवान बनाईदिएको छ, त्यति नै पीडितलाई निरिह पारिदिएको छ । यो विगतका घटनाले पुष्टि गरिसकेको छ । त्यसैले, यी र यस्ता घटना हाम्रो राजनीति परिवर्तनसंग स्वत जोडिएका छन् । हाम्रा परिवर्तनले महिलालाई अधिकार दियो । तर, सुरक्षा दिएन । हाम्रो राजनीतिले महिलालाई नेता त बनायो, तर मुस्कान दिएन । अपराधी छुटाउने र निर्दोषहरुलाई दोषी करार गर्ने संस्कार हाम्रो यो राजनीतिले स्थापित गरिदियो ।

कम्युनिष्टहरुले युद्ध र आन्दोलन गर्दा एउटा गित खुब सुनाए । ‘आमा दिदि बहिनी हो, कति बस्छौ दासी भइ, सुखको सधैं प्यासी बनेर ..।’ तत्कालिन एमालेमा रहेर जेवि टुहुरेले गाएको यो गित सुन्दा हरेक ब्यक्तिलाई जुरुक्क पाथ्र्यो । निरिह नेपालीलाई यो गितले कम्युनिष्ट बन्न प्रेरित गर्यो । दिदिबहिनीलाई साँच्ची कम्युनिष्टले त्यो स्वतन्त्रता दिने हो कि भन्ने भ्रम फैलियो । गित आँफैमा कति जिवन्त छ । हरेक मानिसलाई प्यास लाग्छ । खान, लाउन, हेर्न, घुम्न, प्रेम गर्न आदि आदि । यो प्यास मेटाउन महिलालाई उति नै अधिकार छ, जति पुरुषलाई छ । यो प्राकृतिक नियम हो । गितमा कुनै खोट छैन । हाम्रो नियतमा खोट हो । कम्युनिष्टहरु ढोंगी हुन्छन् । भाषण एउटा गर्छन् । ब्यबहार अर्को गर्छन् ।

तराईमा महिलाहरुको स्वतन्त्रतामा अन्धबिश्वास थोपरिएको बर्षो अघिदेखि हो । हुने खाने घरका परिवारले काठमाडौं, पोखरा, चितवन जस्ता ठुला शहरहरुमा छोरीहरुलाई राखेर पढाएका छन् । आर्थिक अबस्था कमजोर भएका परिवारका छोरीहरु त्यहिं पढ्छन् । कति छोरीले त पढ्न पनि पाउँदैनन् । संस्कृति भित्र लुकेको कुरीतिले तराईका गल्लीगल्लीमा अधिकांश छोरीहरुको मुस्कान दविएको छ । पहाडका गाउँगाउँमा अन्धबिश्वासका जडतामा टेकेर महिलालाई कथित बोक्सी आरोप यहि समाजले लगाइदिएको छ । तराईको दहेज र पहाडको दाइजोले महिलाहरु अझै कति पीडित छन्, त्यसको डर लाग्दो पाटो कसैले बाहिर ल्याउन सकेको छैन ।

हिमालदेखि तराईसम्म कुनै न कुनै अन्धबिश्वासले अपराधलाई अझै टिकाइराखेको छ । यो अपराधमा सबैभन्दा बढि पीडित महिलाहरु नै भएका छन् । यसलाई समाजले सहज रुपमा स्वीकार गर्यो । यहि दासतालाई मुद्धा बनाएर कम्युनिष्टहरुले देशभरि आफ्नो संजाल फैलाए । परिणाम स्वरुप राजनीतिमा पाका उमेरका महिलाहरु कुनै न कुनै पदमा आसिन हुन पुगे । तर, तराईमा छोरीहरुको स्वतन्त्रतामा हिजो र आज तात्विक अन्तर हुन सकेन । आमाहरु नगरपालिका र गाउँपालिकाका पदमा पुगेपनि घरदेखि बजारसम्म छोरीहरु निर्धक्क घुम्ने मनोरञ्जन गर्ने बाताबरण छैन । अर्थात छोरीहरुको स्वतन्त्रतामा असुरक्षाको बाताबरण झन बढेको छ ।

हाम्रो ठुलो सिमाना भारतसंग जोडिएको छ । बेलाबेलामा राष्ट्रसंघले भन्ने गरेको छ,‘बिश्वमा महिलाहरु सबैभन्दा बढि असुरक्षित हुने स्थान दिल्ली हो । घुम्न जाने महिलाहरु साबधान रहनुहोला ।’ पछिल्ला बर्षमा दिल्लीमा पुरुषले महिला माथि दर्जनौं एसिड आक्रमण गरेका घटना सार्बजनिक भएका छन् । यस्ता घटनाले एकथरि भारतीय बृद्धिजिवी र त्यहाँका असल मनहरुले आफ्नै नागरिकहरुलाई घृणा गर्न थालिसकेका छन् । एकथरि भारतीय नै अर्कोथरि भारतीयबाट हैरानी ब्यहोरेको यो घडीमा हाम्रो खुल्ला सिमानाले त्यो विकृति भित्र्याइरहेको छ ।

नेपालका कम्युनिष्टले आन्दोलन वा युद्ध गर्दा भारतको खुब बिरोध गर्छन् । जब सत्तामा जान्छन्, अनि भारतको विकृतिलाई सहजै स्वीकारी दिन्छन् । हामी भारत बिरोधी होइनौं, त्यहाँको आपराधिक समाज र हामीलाई त्यसले पारेको असरको बिरोध गछौं भन्ने सन्देश कहिल्यै नेपालका कम्युनिष्टले दिएनन् । परिणाम स्वरुप कम्युनिष्ट सरकार भएर पनि खुल्ला सिमानाका कारण धमाधम दिल्ली हुँदै अनेक प्रकारका अपराधका सिकाईका प्रयोगहरु नेपालमा भित्रिरहेको छ । अपहरण गर्ने शैली त कम्युनिष्टले त्यतैबाट मजैले सिके । युद्ध वा आन्दोलन गर्दा कम्युनिष्टले धेरैलाई अपहरण गरे । यो इतिहास साँची छ ।

तत्कालिन माओबादीले युद्ध गर्दा महिलाहरुको प्रयोग ज्यादा गरेका थिए । महिला माथि भएका यौन हिंसाका घटनाले माओबादी भित्रभित्रै बदनाम भइसकेको थियो । शान्ति प्रक्रियामा आएपछि माओबादीबाट पीडित महिलाहरुले सरकारका बिभिन्न निकायमा उजुरी गरे । पेरिसडाँडा कार्यालयमा त्यो बेलाको माओबादी युद्धबाट यौन हिंसामा परेका ४६ वटा उजुरी छानविन नगरी अझैसम्म दवाइएको छ । पछि यी मुद्धाहरुलाई लिएर राष्ट्रसंघले तत्कालिन माओबादीलाई ताकेता पनि गरेको थियो ।

राजनीति परिवर्तन गरेर महिलालाई अधिकार दिने कम्युनिष्टले सिकाए । राजनीतिमा मात्र महिलाको पहुँच भएर महिला हिंसामा कमि हुँदैन भन्ने उदाहरण नेपालका कम्युनिष्टले बंगलादेश र पाकिस्तानबाट सिकेनन् । बंगलादेशमा महिलालाई राजनीतिमा प्रतिनिधित्व उच्च प्रकारको छ । हामी कहाँ ३३ प्रतिशत प्रतिनिधित्व शुरु भएको छ । अहिले पनि शक्तिशाली पदहरुमा बंगलादेशले महिलालाई बिराजमान गराएको छ । तर, त्यहाँ महिलाहरुको स्वतन्त्रता यति कहाली लाग्दो छ , तपाई हामीले अनुमान पनि गर्न सक्दैनौं । केटीहरु खुलेयाम गल्लीमै बलत्कृत हुन्छन् । हरेक घरघर भित्र महिलाहरु हिंसाको धारमा एक मुठी सास लिएर बाँचेका छन् ।

पाकिस्तान र बंगलादेश महिला स्वतन्त्रताको लिष्टमा बिश्वमै पुछारमा छ । तर के त्यहाँ राष्ट्रपति, प्रधानमन्त्रीदेखि सरकारी बिभिन्न तहमा महिला प्रतिनिधित्व छैन र ? त्यहि प्रकारको राजनीति संस्कार बर्तमान हाम्रो संबिधानले दिएको छ । नेपालका कम्युनिष्टहरुले यहि विकृत राजनीतिलाई संस्थागत गरिदिएका छन् । फेरि यो लेखमा अर्को अर्थ नलागोस । महिलालाई राजनीति अधिकार दिएर हिंसामा कमि हुँदैन भन्ने आसय होइन । राजनीति अधिकार सबैभन्दा ठुलो अधिकार हो । तर, जबसम्म प्रणाली र नियतमा परिवर्तन हुँदैन, राजनीति अधिकार पाएर पनि महिलाले स्वतन्त्रता र सुरक्षा पाउने रहेनछन् भन्ने बंगलादेश र पाकिस्तानबाट सिक्नुपर्छ भन्ने मात्र हो ।

अहिले नेपालको सरकारी संयन्त्रमा कम्युनिष्टको संजाल छ । अर्थात कम्युनिष्ट सेटिङ छ । अहिले यति धेरै सोर्सफोर्स चल्छ कि कुनै पनि सिष्टमले कामै गर्देन । यसको पछिल्लो उदाहरण हो कंचनपुरकि निर्मलापन्त प्रकरण । कम्युनिष्ट निकटका पत्रकारदेखि यिनकै पहुँचका ब्यक्तिसम्मले सोर्सफोर्सका आधारमा सरकारका निकायलाई आफ्नो कावुमा राखेका छन् । नेपाल प्रहरीका अबकास प्राप्त उच्च अधिकारीले मसंग भनेका थिए, ‘अहिलेसम्म राजनीतिले प्रहरीलाई थिचेको यो नै पहिलो दृष्टान्त हो । ’ सरकारका मन्त्री पिएदेखि बिचौलिया कार्यकर्ताले प्रहरीलाई स्वतन्त्र ढंगले काम गर्न दिएका छैनन् ।

यसको पछिल्लो उदाहरण हो, निर्दोष पत्रकार रवि लामिछाने चितवन हिरासतमा रहेका बेला प्रहरी महानिरिक्षक सर्बेन्द्र खनालले रविलाई भेटेपछि गृहमन्त्रालयले स्पष्टिकरण सोध्नु । अहिले कुनै पनि सुरक्षा अधिकारीले स्वतन्त्रपुर्वक काम गर्न पाउँदैनन् । सरकारले अर्थात सत्तारुढ कम्युनिष्ट पार्टीले यी अंगलाई आफ्नो नियन्त्रणमा होइन, आँफु अनुकुल जनताको बिरुद्ध प्रयोग गरिरहेको छ । यदि यो सोर्सफोर्स नभएको भए घटना घटेको केहि दिन भित्रै निर्मला हत्याकाण्डका अपराधी पत्ता लागिसक्थ्यो ।

२०६४ साल अघिसम्म नेपाल प्रहरी बिश्वमै अब्बल दर्जामा कहलिएको थियो । नेपाल प्रहरीले चाह्यो भने जस्तोसुकै अपराधी पनि उम्कन पाउँदैनन् भन्ने त्यतिबेलाका उदाहरण छन् । तर, जब कम्युनिष्टले पछिल्ला बर्षहरुमा नेपालमा सत्ताको बागडोर सम्हाल्न थाल्यो अनि नेपाल प्रहरी र राष्ट्रिय अनुशन्धान आयोग निरिह बन्दै गए । कम्युनिष्टलाई समर्थन नगर्ने प्रहरी अधिकारीहरु कि अबकास रोजेर घर फर्किए । कि कुनामा थन्क्याइए । यो बिडम्वना नेपाल प्रहरी भित्र नतोडिएसम्म न पीडितले न्याय पाउने संभावना रहन्छ न अपराधीले सजाय पाउँछ । यसको गतिलो उदाहरण निर्मला पन्त हत्याकाण्ड नै छैन र ? त्यसैले, म यो सरकारलाई कसरी प्रशंसा गरुँ ? अर्थात हामीले यो सरकारलाई कुन आधारमा समर्थन गर्ने ?

(लेखक त्रिपाठी, नेपाली मिडिया क्षेत्रमा सम्पादक बनिसकेका छन् त्रिपाठीले समसामयीक बिषयमा कलम चलाउँदै आएका छन् ।)

भाग १ – यो भन्दा माफियाकरण के हुन सक्छ र, ओली सरकारको प्रशंसा गरुँ ?

स्वदेश नेपाल मिडिया प्रा.लि.

अधक्ष्य तथा प्रधान सम्पादक : इन्द्रकुमार श्रेष्ठ

एकताबस्ती, बूढानीलकण्ठ नगरपालिका वडा नं ९, काठमाण्डौ
फोन : ०१ ४३ ७११६८
Regd No: १९५७४३/०७५/०७६

© 2017 Swadesh Nepal || Designed by appharu