बिनोद त्रिपाठी – पत्रकार रवि लामिछाने रिहाईले देश अहिले रमाइरहेको छ । नेपाली आमा प्रफुल्लित छिन् । सच्चा नेपाली मनहरु खुशीले गदगद् छन् । रवि, युबराज कंडेल र नर्स अस्मिता कार्कीको रिहाई नै गलत भयग्रस्त रोगीहरु मनहरु बिरुद्धको संजिवनी बुटी हो । हुन त धरौटी, तारिख र केहि शर्तले यो रिहाईप्रति त्यत्रो बिधी हर्ष बढाईं गर्नुपर्ने जरुरी त होइन । तर, नेपाली नागरिकहरु राजनीति गर्ने नेता, शासक र कथित बौद्धिक तहबाटै कति निरास भएका रहेछन् भन्ने यो रिहाई गतिलो प्रमाण हो । रवि लामिछाने रिहाईमा देखिएको जनताको खुशीले सीमा नाघ्नु गतिलो सुचक पनि हो ।
अहिले समाजले कुनै बरिष्ठलाई खोज्दैन । डम्म भुँडी उठेकोलाई रोज्दैन । रोगले थल्थलीएकोलाई देश सुम्पँदैन । दुर्गन्ध निस्किएकोलाई काँध थाप्दैन । नेतासंग टाँसिएकोलाई च्याप्दैन । एउटा स्वस्थ्य र फुर्तिलो नागरिकले देश चलाउन पाउनुपर्छ भन्ने सन्देश पनि हो यो । शासक बदलियो । बिधी बदलिएन । नीति बदलियो । नियत बदलिएन । युग बदलियो । जनयुगान्त बदलिएन ।
मानवता मर्न थाल्यो । साँझमा टुप्लुक्क देखिने अनुहारलाई देउता भनेर भित्र्याउँथ्यौं । अहिले कसैप्रति बिश्वास छैन । युद्धले अपराध सिकायो । अपराध सामान्य बनायौं । अपराधीलाई देश चलाउन दियौं । निर्दोषलाई तड्पाएरै सिद्ध्यायौं । खोइ, मानिसका कोमल मनहरु ? खोई ति दुखी आमाहरुका असल सन्तानहरु ? यहि हो परिवर्तन ? यसैका लागि भोट दिएको हो ? भेडा त ति थिए, जस्ले अपराधीलाई चुनाव जिताए । भेडा त ति हुन् जस्ले गरिबको गास खोसेर खाइदिनेलाई सत्ता सुम्पिदिए । आखिर, यो अपराध मनोवृति कहिलेसम्म ? यिनले सक्थे भने देशै निल्थे । सकेनन्, एक एक निर्दोष र सक्षम नागरिक निलिरहेका छन् । कहिले युद्धका नाममा निले । कहिले, जात र बर्गका नाममा ।

पार्टीबाट अलग बनाइदिने हो भने हरेक पार्टीका अध्यक्षका पछाडी मात्र २० जना होलान् । त्यो पनि तलब वा भत्ता दिएर मात्रै । अरु नेताको कुरै नगरम । अरु बरिष्ठको कल्पनै नगरम । यिनका घरकी श्रीमतीले पनि उज्यालो अनुहार र इमान्दार बिपक्षी रविहरुलाई भोट दिन्छिन् । तर, ति रविहरु नजरबन्दमा छन् । थिचिएका छन् । ढुंगाको छपनीमुनी अंचेटिएका छन् ।
आज, न पार्टी, न कुनै संस्था न खरिद गरिएका न भेटेका न देखेकाबाट एक अमुक आफ्नै पेशामा निरन्तर खटेएका रवि लामिछानेका साथमा लाखौंको जनता रहेछन् । यो आन्दोलनबाट रवि जनमत पाएर जनताको कांधमा बस्न सफल भए । यो रिहाइ एउटा त्यस्तो सुचक हो, उन्नत समाजका प्रतिनिधीहरुले एक इमान्दार सिपाहीलाई काँध दिंदा रहेछन् । यो संख्या थोरै होला, तर बढ्ने क्रम तिब्र छ । हिजो क अक्षर नचिनेकाले दिएको मतादेश जस्तो होइन यो । लाखौंको यो भीडमा कोमल मनकारी डाक्टरहरु थिए, ठुला छाती भएका इन्जिनियरहरु थिए । यो अभिमत हो । नरपिचासहरुले पाए जस्तो मतादेश हुँदै होइन । यो रवि प्रतिको जनमत संग्रहको परिणाम हो ।
हामी ठुला मिडिया रमिता हेर्यौं । शहरहरुमा लाखौंका जुलुश निस्किए । घरघरबाट आमाहरु रवि खोज्दै कुदिरहे । पढाउँदै गरेको शिक्षक रवि खोज्दै कक्षामै हराए । तर, हाम्रा समाचारका हरफहरुमा रविको ‘र’ कतै अटाएन । सकि नसकी एउटा हेडलाइन बनायौं, ‘बर्षमा यति जना आत्महत्या गर्छन्, तर सेलिब्रटीको पछि किन लाखौं जनता ?’ रविका समर्थकलाई हतोत्साहित बनाउन यी हेडलाइन तयार गरिएका थिए । न्यायलाई खेद्न । रविलाई अँचेट्न । आज न्यायप्रेमी जनताबाट यिनै लज्जित बने । रविले असल जनमनहरुको अँगालो पाए । यी जनमनहरु सबै असल नागरिक थिए । यिनकै प्रिय बने रवि । त्यसैले उनि नागरिकप्रिय पत्रकार कहलिए ।
हामी ति तमाम नागरिकप्रति सलाम अर्पण गर्न चाहन्छौं, जस्ले बिहानैदेखि भोकभोकै १०÷११ दिनसम्म तातो सडकमा दिनहरु बिताए । प्रहरीको कुटाईबाट घाइते भए । आफ्नो काम धन्दा छोडेर रवि रवि भन्दै चिच्याउँदै बजारमा ओइरिए । एकजना होइन, लाखौं जना । बिदेशमा बसेका नेपालीहरु बिदामा बसे । जाग्राम बने रविको रिहाईका लागि । गाउघरदेखि शहर बजार र गल्लीगल्लीबाट उठ्यो रविका दुई हातको साथमा लाखौं हातहरु । यी सबै जनमनहरु अहिले सबैभन्दा बढि दुइ हात जोडेर नमनका मुख्य हकदारहरु हुन् । जनता अब भेडा बन्छन्, आफ्नो रक्षा गर्ने सिपाहीका लागि ।
आज रविलाई ट्वीटर चलाउनेले काँधमा बोके । फेसबुक चलाउनेले काखमा राखे । यूट्युब चलाउनेले मन भित्र राखे । ग्रुप चलाउनेले आँखाको नानी भित्र राखे । सडकमा भोकभोकै कुद्नेले आफ्नो मुटु भित्र बसायो । घरकी आमाले कोख भित्र राखिन् । युबाहरुले पाखुरामा सजाए । नानीहरुले आफ्नो सिरानीमा राखिदिए । अनि त रवि कालो इनारको खाल्डोबाट बाहिर आए । फलामका जंजिरहरु तोडेर रिहा भए । के यि तमाम मनहरु तपाईले जित्न सक्नुभएको छ ? वा मैले जितेको छु ? अथवा मैले भोट दिएका कुनै नेताले जितेका छन् ? ति अबोध मनहरु, ति प्राकृतिक हृदयहरु र ति भगवानका शिरहरु रवि लामिछानेले जितेका रहेछन् । हामी ति मनहरुप्रति फेरि आभार प्रकट गर्छों ।

हामी आफ्नो दायित्व पुरा गरौं । आफ्नो काममा मात्र लागौं । असल नागरिक स्वत बन्नेछौं । अर्काको उचाई झार्न खोज्दा कतै आँफै बिलय त हुन्नौं, अहिले नै चेतौं । फेरि पनि सबैप्रति नमन गर्न चाहन्छु सच्चाईका लाखौं पहरेदारहरुलाई । हामी अझै ब्युँझन सक्नुपर्छ, किनकी न्यायको तराजु अझै सन्तुलित छैन । हाम्रा हातहरुका स्पर्शले ति तराजुलाई सन्तुलन बनाउन सक्नुपर्छ । पारि क्षितिजमा अस्ताएको सन्ध्यालाई नखोजौं । त्यो त अस्ताएर जानेछ । एउटा कालो छाँयाबाट पुर्वको सूर्योद्धयको हरपल प्रतिक्षामा बाँच्न सिकौं ।
यति मात्र हाम्रो मन भित्र विवेक पलायो भने कुनै रविहरु अस्ताएर जाने छैनन् । कुनै रविहरु ब्ल्याक होल भित्र हराउने छैनन् । हामी निकृष्टलाई होइन, उत्कृष्टलाई काखी च्यापौं । किनकी हामीले उन्नत र उत्कृष्ट समाज बनाउनुछ । यो जिम्मेवारी यहि भीडले पुरा गर्न सक्छ । किनकी सबै भीडहरु अचेत हुँदैनन् । रवि लामिछाने, युबराज कंडेल र नर्स अस्मिता कार्की रिहाई भएकोमा धेरै धेरै बधाई छ ।

