‘सिंगो देश पावरफुल भए पो जनता पावरफुल हुन्छन्’
मुलुकको राजनीतिक घटनाक्रमहरुलाई हेर्दा यस्तो लाग्छ हाम्रा नेतागढलाई एउटा मात्र कुरा आउँछ, राजनीति । सत्ता समीकरणको फेरबदलको हल्ला फैलिन शुरु भैसकेको छ । नेकपाका दुई अध्यक्षबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमतिका लिखित दस्तावेज सार्वजनिक समेत भइसकेको छ ।
सरकार गठन भएको एक बर्ष नपुग्दै मन्त्री मात्र होइन प्रधानमन्त्री नै फेरिने विषय चर्चामा हुनुले स्पष्ट पार्छ कि यो जेनेरेशनका नेताज्यूबाट मुलुकले धेरै आशा नगरे हुन्छ । कारण अब नेकपाका दुई अध्यक्ष आँफू कसरी शक्तिशाली हुने भन्ने बिषय बाहेक केहीमा पनि केन्द्रीत हुन भ्याउँदैनन् ।
देशका दुई प्रमुख नेता जसलाई यो देशका जनताले बकाइदा भोट दिएर मुलुक बदल्ने म्यान्डेड दिएका छन्, आज दुई नेता पार्टी भित्र आँफू बलियो बन्ने होडबाजीमा व्यस्त छन् । पछिल्लो एक महिनाको उहाँहरुको अभिव्यक्तिहरु हेर्दा स्पष्ट हुन्छ कि आलोपालो प्रधानमन्त्रीको मुद्धा गतिलो तरिकाले उठिसक्यो ।
जति ढाकछोप गर्न खोजेपनि पूर्व एमाले भित्र माधव नेपाल गुट र केपी ओली गुटको अघोषित उद्घोष भैसक्यो । मुलुकको समस्या एकातिर छ शिर्ष नेताहरुको प्राथमिकता एकातिर छ । आम नेपालीलाई कुन चाँही नेता पावरफुल भएर के फरक पर्छ ?
सिंगो देश पावरफुल भए पो जनता पावरफुल हुन्छन् । के–के न गरौंला जस्तो बैठकबाट निस्केका नेताजीहरुको हस्याङ फस्याङ हेर्नुस न ! फेरी सञ्चारकर्मीहरुलाई दिने प्रतिकृया सुन्यो भने उहाँहरुलाई जस्तो यो दशेको पिर चिन्ता कसैलाई छैन जस्तो देखिन्छ । आम्मामा देशको पिर ।
१०–२० बर्ष यो देशलाई स्थाई तरिकाले सञ्चालन गर्न सके न अलिकति फेरिन्छ । माधव नेपाल शक्तिशाली भए ठूलो भाग खाँउला, प्रचण्ड प्रधानमन्त्री भएपछि त भाग्यमा ४ चाँद लाग्छ । यिनै केपी बुढा ५ बर्ष टिके भने केही न केही बनिन्छ भन्नेहरुको स्वार्थी भिडले मुलुक लखतरान परिसक्यो ।
नेतागणको यो अनुहारमा त दोष छैन तर, यो शैलीले मुलुक फेरिदैन । नेपाली राजनीतिमा र मुलुक परिर्वतनमा उहाँहरुले दिएको योगदान नै आजका राजनीतिज्ञको प्रमुख क्वालिफिकेशन भयो । तपाईहरुको हिजोको जेल बसाईकै ऋण आज जनतालाई गलपासो भो ।
यस्तो राजनीतिक खिचातानीले मुलुकको विकास कसरी हुन्छ ? बोलेको कुरा पु¥याउनु कहिल्यै नपर्ने । मनमा जे लाग्यो त्यहै फ्याट्ट बोलिदियो, पुग्यो । त्यो वाचा कहिल्यै पूरा गर्नु नपर्ने । जन निर्वाचित राजनीतिज्ञले झुठो बोल्दा पनि न नैतिकताको प्रश्न उठ्ने न कुनै कारवाहीको सामना गर्नुपर्ने ।
अनि जनताले चाँही फेसबुकमा केही लेखेको भरमा, केही बोलेको भरमा कानूनी कारवाही भोग्नु पर्ने । ड्राइभरको तलब, स्वकिय सचिवको तलब, हाजिरी नै नभएको दिनको तलब लिएको प्रमाणित भएका सांसद, जनप्रतिनिधिहरुले ङिइच्च हाँसेर मात्र पुग्छ ?
इन्धनको पैसा लिनु, ड्राइभर, पिएको पैसा आँफूले लिनु भ्रष्टाचार होइन ? अनि भ्रष्टाचार गरेको सांसद मन्त्रीले जनतालाई जवाफ दिन नपर्ने अथवा यसो बक्तव्य निकालेर मुक्ति पाउने संसारको अर्को कुन देशमा हुन्छ ?
देश बनाउन आएकाहरुले आँफू बन्ने मात्र गतिविधि गर्दैनन् । जाबो ३ करोड जनता भएको देश ह्याण्डल गर्न नसक्ने के सिष्टम बसाल्दैछन् यो देशका राजनीतिज्ञ । ३ करोड मानिस भनेको कुनै ठूलो नम्बर नै होइन । त्यसमाथि विकासका विभिन्न मोडलहरु अरु देशबाट सीधै कपी गर्दा पनि यति थोरै जनतालाई चयनले सुख दिएर पाल्न सकिन्छ ।
त्यसका लागि देशभक्त मानिसको खोजी गर्नु पर्दैन । भएका केही नेतालाई देशभक्त बनाउन सके पुग्छ । अहिले पनि २ तिहाइको सरकार छ, प्रचण्डले प्रधानमन्त्रीलाई, प्रधानमन्त्रीले मन्त्रीहरुलाई र मन्त्रीहरुले आ–आफ्ना विभाग र कार्यालयलाई सघाउने हो । अनि प्रतिपक्ष कांग्रेसले ससक्त भूमिका संसदमा निभाउने हो भने आम नागरिकका धेरै समस्या समाधान हुन्छन् ।
तर, विद्धान राजनीतिज्ञहरु भन्नुहुन्छ राजनीति त्यसरी चल्दैन । हामी भन्छौ जबसम्म राजनीति त्यसरी चल्दैन तबसम्म देश यसरी नै चलिरहन्छ । राजनीतिक पार्टी भित्र सँधै यस्तै चरित्र, अनि यिनै राजनीतिक दलबाट चुनिएका नेता देशको कार्यकारी, त्यसमाथि छिमेकी र मित्र राष्ट्रको नाङगो हस्तक्षेप ।
अब भन्नुहोस्, बालुवाटार र सिंहदरबारमा कति जनाको फोटो मात्र फेर्ने । साढे २ बर्षपछि प्रधानमन्त्री फेर्ने सहमती भएको भए साढे २ बर्ष पूग्ने २/४ दिन बाँकी हुदासम्म चुपचाप लाइनमा बसे भैहाल्यो र सहमति गरेका अर्का नेताले साढे २ बर्ष पुगेको दिन अर्का अध्यक्षलाई खुल्ला हृदयले कुर्सी हस्तान्तरण गरेर पूरा सहयोग गरे भैहाल्यो ।
पालो आउन ढेड बर्ष बाँकी हँदा यो हल्ला खल्ला किन ? सहमति सही हो भने पनि प्रधानमन्त्री ओलीसँग अझै डेढ बर्ष छ । केही गर्न यो समय कम होइन र नेता प्रचण्डसँग त्यसपछि साढे २ बर्ष हुने छ ।
मुलुक परिर्वतन गर्ने प्रयास गर्न यो समय थोरै हुँदै होइन, कायापलट हुन्छ २ बर्षमा । त्यसैले समय अगावैको यो हल्ला खल्लाले मुलुक झन पछि पर्छ । ६०–७० नाघेका नेताले यति जाबो कुरा नबुझेका पक्कै छैनन् होला ।
प्रधानमन्त्रीनै बन्न राजनीति गर्नुभएको होइन भने प्रमाणित गर्ने जिम्मा दुइ शिर्ष नेताको । टन्नै प्रधानमन्त्री भैसक्नु भएका नेता माधन नेपालको अबको भूमिका पनि इतिहासले मूल्याङकन गर्नेछ ।
-न्युजट्वान्टी फोरबाट

