त्यसकारण विदेशिनेहरूप्रति हेय दृष्टि राख्नु राम्रो हैन । विदेशिएका युवालाई हेर्ने नकरात्मक दृष्टिकोणहरूको मर्मत गर्न आवश्यक छ । विदेशिनु एक वाध्यता हो । यसको पछाडि आफ्नै गरिबी मात्र नभएर राजनीतिक अस्थिरताको पनि ठूलो हात छ । जनयुद्धताका आफूलाई अशुरक्षित महसुस गरेर कति युवा विदेशिएका थिए भन्ने इतिहास पुरानो भइसकेको छैन ।
– पञ्च विस्मृत
हामीले स्कुलमा केही यस्ता कुराहरु सिकेर आएका छौँ, जुन गलत छन् । जस्तो कि कम सुत्नू धेरै पढ्नू, टुप्पी कसेर पढ्नू । पैसा महत्त्वपूर्ण कुरा होइन, विद्या ठूलो कुरा हो । धन नहोस् तर सानो र सुखी परिवार होस् । एक थोपा पसिना भएपनि स्वदेशमै बगाउनू आदिइत्यादि । यी सब दर्शन मात्र हुन्, खोत्रो दर्शन । यी खोक्रो र जीवनविरोधी दर्शनहरुलाई कुर्कुच्चामुनि नपारी वैदेशिक रोजगारीको बहस सम्भव छैन ।

सम्पन्नहरुले विपन्नलाई उठ्न नदिने षडयन्त्रको दुर्गन्ध छ यीमध्ये कतिपयमा । आर्थिक स्वतन्त्रता हासिल नगरी यी दर्शनहरुलाई आत्मसात् गरे कुनै पनि बेला जीवन दुर्घटित हुन सक्छ । किनकि यिनमा कुनै वैज्ञानिकता छैन । वास्तविकता त कम सुत्नाले प्रभावकारी पठन हुन सक्दैन । पैसाको सही ज्ञानबिना सुखी परिवारको परिकल्पना गर्न सम्भव छैन । पसिना बगाउने कुरामा उत्पादकत्वको ख्याल गर्न अत्यावश्यक हुन्छ । त्यसैले त्यस्ता अवैज्ञानिक विचार र विचारकहरुलाई त्यति माथि पनि नहेर्नू जसले गर्दा यथार्थको टोपी भुइँमा खासोस् ।
नेपालमा विदेशिएका युवालाई हेर्ने दृष्टिकोण अत्यन्तै तल्लो स्तरको छ । “विदेश गएका युवा फर्काउने कुरा गर्नुभयो, कसरी सम्भव होला ?” भन्ने पत्रकारको सवालमा लालबाबू पण्डित भन्छन्, “घरमा भाँडा नमाझ्ने अर्काकोमा भाँडा माझ्दा गर्व महसुस गर्ने प्रवृत्तिले नै हामी पछि परेका छौँ । अर्काकोमा जागिर खोजिहिँड्ने प्रवृत्तिको अन्त्य नभई हामी आत्मनिर्भर हुन सक्दैनौँ । नयाँ उद्यमी, व्यवसायी बनाउन सक्दैनौँ । उत्पादन बढाउन सक्दैनौँ र रोजगारीसमेत सृजना गर्न सक्दैनौँ । राम्रो काम गरेर आफू उदाहरणीय बन्ने प्रयास गरे मात्रै अरूले पनि क्रमशः उदाहरणीय काम गर्दै जान्छन् भन्ने सन्देश बोके हुन्छ । जबसम्म उद्यमशीलताको विकास हुँदैन तबसम्म आर्थिक विकास कल्पना मात्रै हुन्छ । त्यही भएकाले आफू अरूकोमा काम गर्न जाने हैन, अरूलाई कसरी काम लगाउन सकिन्छ, रोजगारी कसरी दिन सकिन्छ भन्ने चिन्तनसहित काम थाले देशको आर्थिक विकास सम्भव हुन्छ । व्यक्तिको व्यवहारले राम्रो र नराम्रो हुने भएकाले हाम्रो व्यवहार र प्रवृत्तिमा सुधार ल्याउन जरुरी छ । व्यक्तिको व्यवहारले राम्रो र नराम्रो हुने हो । आफ्नो व्यवहार सुधार्यौँ भने हाम्रो उन्नतिलाई कसैले रोक्न सक्दैन ।”
त्यसरी केही नेताहरु विदेशिएकालाई स्वदेश फर्काउँछु भनेर उफ्रेजस्तै आजकल केही उद्यमी भनाउँदाहरु विदेशिएकालाई निकृष्ट र आफूलाई उत्कृष्ट देखाउने ध्याउन्नमा लागेका देखिन्छन् । नेपालमै पैसा फल्छ भनेर विभिन्न ‘आइडिया’ शेयर गर्ने ब्लग्गरहरु, भ्लग्गरहरु र पत्रकारहरु इन्टरनेटमा छाएका देखिन्छन् । यो राम्रो कुरा हो । तर तिनले विदेश जानेहरुलाई दोष नदिई, निरुत्साहित नगरी तिनका कुनै पनि भिडियो, समाचार या लेख पूर्ण भएको देखिँदैन । आफ्नो सफलताको कथा सुनाउन विदेशिएका युवालाई दोष नदिई नहुने, अथवा विदेश जाने प्रवृत्तिलाई दोष नदिई नहुने यो तिनको कस्तो प्रवृत्ति हो ? अन्य देशमा काम गर्नेले पनि विदेशिएकाहरुको उदाहरण दिनु पर्दा ‘खाडी’ शब्द प्रयोग गर्नु पर्ने, विदेशमा काम गर्नेहरुले जहिल्यै घरबासीका आँखामा अनपढ, गवार केही कुरा नबुझ्ने मान्छेको पर्याय बन्नु पर्ने ? अर्कातिर विदेशबाट आएको रेमिट्यान्सको भूमिका बुझ्नै नखोज्ने; यस्तो प्रवृत्ति कुनै पनि हालतमा स्वस्थ लाग्दैन ।
तर त्यसरी विदेशिएकाहरुको पीडामाथि उभिएर आफ्नो सफलताको कथा सुनाउँदा सरकार तिनलाई पुरस्कृत गर्दो रहेछ । यूट्यूब तिनको एक्काउन्टमा डलर जम्मा गरिदिँदोरहेछ ।
मैले यी हरफहरु लेख्दा धेरै नेपालीका कनसिरी तात्ला, तर एक पल्ट विचारेर हेर्नोस् नेपालमै उद्यम गर्ने कतिले आफ्नै गाउँमा बसेर गरेका छन् ? आफ्नो दुर्गम गाउँ छोडी काठमाडौं उपत्यकाका वरपर छरिएर उद्यम गर्नु राम्रै हो, तर दर्शन छाँट्नु लज्जास्पद हो । किनभने एक सुदुर दुर्गम क्षेत्रको मान्छे काठमाडौंमा बसेर व्यापार गर्नु या उद्यम चलाउनु विदेशिनु सरह नै हो । जब एक व्यक्ति आफ्नो गाउँघर छोडेर अन्यत्रै गएर उद्यम गर्छ ऊ परदेशी (Migrant) बन्छ, प्रवासी बन्छ । एक विकट ठाउँमा बसेर गरेर देखाउनु एउटा कुरा । त्यसो त युवाहरुले नेपालको चाहे जुनसुकै स्थानमा बसेर उद्यम गरे पनि त्यो देशको आर्थिक विकाशको लागि सकरात्मक कुरा नै हो । तर देशको भौगोलिक, आर्थिक, साँस्कृतिक र सम्बन्धित क्षेत्रमा पुगेको विकाशको हिसाबकिताब नगरी विदेशिएकालाई मुर्ख साबित गर्ने तर्कहरु पेश गरिरहनु त्यति स्वस्थ देखिँदैन । अर्को महत्त्वपूर्ण कुरा भनेको उद्यम गर्न पूँजी चाहिन्छ । तर लालबाबू पण्डित होस् चाहे ब्लग्गर, भ्लग्गर अथवा पत्रकार मित्रहरु, कसैले पनि बुझ्न नचाहेको कुरा भनेको यो चाहिँ हो ।
पूँजी भएकाहरु स्वभावतः विदेश जाँदैनन् । विदेश जाने भनेका बेरोजगार, भूमीहीन, पूँजीहीन, रिण लागेका, गरिब र भौगोलिक विकटता र विकाशले नछोएका ठाउँका युवाहरु नै हुन् । श्रमविज्ञ डा. गणेश गुरुङका अनुसार विदेशिएकाहरुलाई जम्मा पाँच वर्गमा बाँढ्न सकिन्छ । जस्तो, १, धनि वर्ग जो अमेरिका, यूके, अष्ट्रेलिया जान्छन् । २, अलिक गरिब जो यूरोपतिर जान्छन् । ३, तिनभन्दा कम पूँजीवालाहरु जापान, ताइवानतिर जान्छन् । ४, तिनभन्दा पनि गरिब जो छन् ती खाडी या मलेसियातिर जान्छन् । ५, र, पाँचौ वर्ग जो छन् ती छिमेकी मुलुक भारततिर जान्छन् । र, देश चलेको भनेको खाडी या मलेसियातिर जानेहरुबाट हो ।
हामी नेपालीहरू गरिब मात्र छैनौँ, महागरिब छौँ । जेफ्री साक्स (Jeffrey Sachs) आफ्नो किताब (The End of Poverty HOW CAN WE MAKE IT HAPPEN IN OUR LIFETIME) मा लेख्छन्, “ती मान्छेहरू जो पूर्ण रूपमा निस्सहाय (Utterly destitute) छैनन्, आफ्नो कमाइको केही अंश भविष्यको लागि बचाउन सक्छन् । तर जो पूर्ण रूपमा निस्सहाय छन्, ती आफ्नो कमाइको सम्पूर्ण अंश, अझ बढी, सिर्फ बाँच्नकै लागि सक्छन् । भविष्यको लागि बचाउने तिनको लागि कुनै ठाउँ रहन्न ।”
उनले देखेको समाज नेपालमा पनि छ भन्ने कुराको ज्ञान सत्तामा बस्ने र दर्शन छाँट्ने सबैलाई हुन जरुरी छ । विदेशिएका हजारौँ दाजुभाइ दिदी बहिनीहरू उनले देखाएका दुई मध्ये कस्तो खालको गरिबीबाट पीडित छन् र ती कस्तो खालको भौगोलिक स्थितिबाट आएका छन् भन्ने कुरा काठमाण्डूमा बसेर देख्न सकिन्न । त्यसकारण विदेशिनेहरूप्रति हेय दृष्टि राख्नु राम्रो हैन । विदेशिएका युवालाई हेर्ने नकरात्मक दृष्टिकोणहरूको मर्मत गर्न आवश्यक छ । विदेशिनु एक वाध्यता हो । यसको पछाडि आफ्नै गरिबी मात्र नभएर राजनीतिक अस्थिरताको पनि ठूलो हात छ । जनयुद्धताका आफूलाई अशुरक्षित महसुस गरेर कति युवा विदेशिएका थिए भन्ने इतिहास पुरानो भइसकेको छैन ।
गरिब र भूमीहीन युवालाई कसैले पनि रिन दिँदैन । न आफन्तले न त बैँकले । सरकारी अनुदानका कुरा हात्तीका देखाउने दाँत मात्रै हुन् । त्यस्तो अवस्थामा एक युवा विदेशिनुलाई नराम्रो अर्थमा लिन हुन्न । बरु उसलाई अर्थशास्त्र र पैसाको ज्ञान दिनु आवश्यक छ । किनभने देशबाट बाहिरिएका लाखौँ युवाको रोजगारी आज मान्छेले एउटा जागिरको रुपमा मात्र लिएका छन् । फलस्वरुप ऊ दशकौँ देशबाहिर बस्न विवश छ । उसको विदेश बसाइलाई पूँजी निर्माणको आधारको रुपमा लिनु पर्छ । अथवा त्यस्तो ज्ञान उसलाई दिनु पर्छ, ता कि उसले कमाएको रकम घर खर्चमा मात्र नजाव, वचत होस् र त्यो पूँजीको रुपमा विकसित होस् । त्यस पूँजीलाई लगानी गरियोस् र एक युवा एक उद्यमी बनोस् ।
श्रमविज्ञ डा. गणेश गुरुङका अनुसार विदेशिएका युवाहरुबाट वर्षमा सात सय तीस खर्ब रुपियाँ रेमिट्यान्सको रुपमा भित्रिन्छ । जसले कृषिलाई समेत जित्छ भनिन्छ । यतिको ठूलो रकम कहाँ गइरहेको छ ? कति रकम उद्यममा लगानी भएको छ ? यस कुराको खोजीनिती गर्न आवश्यक छ ।
पूँजी निर्माण नै व्यवसायको जग निर्माण हो । आयश्रोतको निर्माण हो । जब पूँजी निर्माण गर्न सकिन्छ आफ्नो क्षमता अनुसारका व्यवसाय गर्न सकिन्छ । विदेशिने हरेक युवाहरु आफैले पनि यसबारे सचेत हुन जरुरी छ । आजका हरेक मान्छेले व्यापारिक ‘माइण्डसेट’को हुन जरुरी भइसकेको छ । विदेशमा कति तलव बुझिन्छ भन्ने कुरा महत्त्वपूर्ण हैन, कति बचाइन्छ भन्ने कुरा महत्त्वपूर्ण कुरा हो । कति बच्दै आएको छ र कहाँ खर्च भइरहेको छ भन्ने कुराको हेक्का कामदारलाई हुन जरुरी छ । र, यस कुरामा घर परिवारले झनै सचेत हुन जरुरी छ । किनभने अघि नै भनियो, वैदेशिक रोजगारी जागिर हैन, पूँजी निर्माणको एक प्रक्रिया हो । र, यो उमेर र स्वास्थ्य रहुञ्जेलमात्र हो । उमेर सकिएपछि फर्केको कामदारले नयाँ व्यवसाय सुरु गर्नु पहाडको टुप्पोमा पुगेर फेरि फेदीबाट यात्रा सुरु गर्नु जस्तै हो । त्यस्तो अवस्था सिर्जना हुन नदिन दुवै पक्षालाई पैसाको ज्ञान बाँढ्न जरुरी छ । स्कुलमा कहिल्यै पढाइ नहुने पैसाको च्याप्टर दुवै पक्षलाई दिन जरुरी छ ।
(- पञ्च विस्मृतको ब्लगबाट)

