नेपालमा राजसंस्था हटेको पनि १० वर्ष जति भयो । तत्कालीन राजा अब पूर्व राजा भइसकेका छन् । अर्थात एक आम सर्वसाधारण नेपाली नागरीक । ५ वटा श्रीबाट ४ वटा श्री हटेर श्री ज्ञानेन्द्र शाह भइसकेका आम नेपाली नागरीकबाट गणतन्त्रका घगडान घगडान नेताहरु तर्सेको देखेर बेला बेलामा अचम्ममा परिन्छ ।
हजारौंको त्याग बलिदनाबाट प्राप्त यो लोकतन्त्र आँफैमा यति मजबुत छ कि यो गुम्छ भनेर डराउनु पर्ने सम्भावना कही कतै देखिदैन । तै पनि हाम्रा नेताहरु एउटा मात्र श्री भएका आम नेपाली नागरीकसँग डराएको देखेर आश्चर्य चकित मात्र परेको हुँ ।
कुनै व्यक्तिले चिया पसलमा चियाको सुर्का तान्दै ज्ञानेन्द्र्रलाई हिँड्डुल गर्न नै प्रतिबन्द लगाउनु पर्छ भनेको भए कुनै टिप्पणी गर्नु पर्ने थिएन । तर गणतन्त्र नेपालको संसदमा एक जनप्रतिनिधि सांसदले पूर्वराजालाई हिँड्डुल गर्न नै प्रतिबन्ध लगाउनु पर्छ भनेको अलि हजम भएन ।
यस अघि नेकपाका अध्यक्ष प्रचण्डले समेत पूर्व राजालाई नाच्दै नहिड्न सुझाएको समेत प्रसंग जोड्नु पर्ने भयो । यो टिप्पणी पूर्व राजा एवं राजावादीहरुको पक्षमा विलकुल होइन, कसैले बङ्ग्याएको पनि होइन कसैले बुझेर बुझ पचाए पनि होइन, कसैले गलत शिर्षक राखेर भ्युअर्स बडाउन खोजे पनि होइन ।
सत्तारुढ दलको ध्यान कता छ भन्ने कुरा यस्तै टिप्पणी र अभिव्यक्तिहरुले स्पष्ट पार्छ । गरीमामय संसदको त्यस्तै महत्वपुर्ण समय यस्ता बिषयमा खर्च गर्ने कि महत्वपुर्ण मुद्धामा बहस गर्ने हो ? माननिय सांसद ज्यु, अवकाश प्राप्त हुनु केही दिन मात्र बाँकी रहदा सम्मानित सर्वोच्च अदालतबाट भटाभट भैरहेको फैसलाहरु तिर ध्यान दिनु भएको छ ?

आर्थिक दृष्टीकोणले महत्वपूर्ण मुद्धाहरुमा भैरहेको चलखेल बारे केही बुझ्न भ्याउनु भएको छ ? पटक पटक प्रधानन्यायाधीशहरुको विदा हुँदा वेन्च सपिङ गर्न खोज्ने गिरोहहरु सक्रिय भएको देख्न सक्ने आँखा छ तपाईहरुसँग ? ज्ञानेन्द्रको पूजा पाठ, हिँडडुल, उठबस हेरेरै बस्ने कि मुल मुद्धामा ध्यान पनि दिने हो ?
तपाईहरु गतिलो भए ज्ञानेन्द्र नाचे पनि गीत गाए पनि पूजा पाठ गरे पनि अथवा चुनावै लडे पनि केही फरक पर्दैन तर विचौलियाको विगविगी बस पार्क देखि अदालतसम्म छ । जनताका दैनिकी भित्रका पिर व्यथा तपाईहरु छर्नुहोला भन्ने आश अझै नगराँै तर न्यायालयको यो हरिविजोगमा त ध्यान दिनुस ।
न्यायाधीश छानी छानी इजलास गठन भैरहेको छ, स्वार्थका मुद्धाहरु तारन्तार पेशीमा चड्दैछन् । न्यायलयको गरिमा ध्वस्त हुने संकेत देख्नु भएको छैन ? ज्ञानेन्द्रको नाच तपाईको प्राथमिकता कि कानुनी सिद्धान्तको उल्ङघन ? समाचारहरु पढ्न, हेर्न र सुन्न पाउनु भएको छैन कि ज्ञानेन्द्र फर्केलान भन्ने पिरले मुटुमा ढ्याङग्रो ठोकेको ठोक्यै ।
लोकतन्त्रका नेताहरु पतन् भएनन् भने जनता प्रति बफादार भए भने, रगतको खोलो बगाएर शहिद बनेका, घाइते भएका, वेपत्ता भएकाहरुको सपनालाई नकुल्चचिने हो भने, आफ्नो र आफ्नाको मात्र उन्नती नसोच्ने हो भने, जनताको हित मा नै जीवन समर्पण गर्ने हो भने निर्धक्क हुनुस ज्ञानेन्द्र त के उनका छोरा पारस र तिनका पनि छोरा हृदयन्द्रसम्म पनि फर्किदैनन् ।
तर सर्वहारा नेताका घर ज्ञानेन्द्रका भन्दा ठूला, सम्पत्ति उत्तिकै छोराहरु पारसलाई पनि माया गर्ने खालका अनि जनताका छोराछोरीलाई चाँही पढ्न समेत नदिने आफ्ना छोरा छोरीको ग्रयाजुएसनको फोटो अमेरीका बेलायतबाट सीधै पोष्ट गर्ने हो भने हृदयचन्द्रको छोराको पाला तिरको चाही ग्यारेण्टी लिन सकिदैन ।
बलिदानबाट प्राप्त उपलब्धीले जनताको जीवनमा परिर्वतन चाहियो । जनताका छोराछोरी चाही मरुन आफ्ना छोराछोरी चाँही अमेरीका बेलायतमा पढुन ? प्रशासन, प्रहरी, न्यायलय जताततै सेटिङ नै सेटिङ छ । जनप्रतिनिधिको ध्यान ज्ञानेन्द्रको नाच र हिड्डुलमा छ । यही बेथिति कायम रह्यो भने नाच्ने मात्र होइनन्, तालुमा तबला पनि बजाउलान् ।
जनताको मत पाएर त्यसको चरम दुरुपयोग गरी आफ्नो व्यक्तिगत सम्पत्ती आर्जन गरी नातागोताको नाममा नदेख्ने गरी लुकाएर राखेकाहरुका मात्र हुन डराउने । इमान्दार बफादार जनतालाई सर्वोपरी ठान्ने नेताका लागि पूर्वराजा ज्ञानेन्द्र त के स्वर्गकै राजा इन्द्रले हिड्डुल, नाचगान गरे पनि फरक पर्दैन ।

