हामी कहाँ अनौठो परिपाटी छ । कुनै पनि विषय उठेपछि केही दिन त्यसले तहल्का पिट्छ त्यसपछि तहल्काबाट त भन्ने अक्षर हट्छ र हल्का मात्र बाँकी रहन्छ । कुनै एउटा संचार माध्यमले एउटा गहन विषयको उठान गर्छ । तर दुर्भाग्य अपवाद बाहेकका बिषयमा अरु संचार माध्यमले त्यसको फलोअप नै गर्दैनन् । फलस्वरुप त्यो बिषय तहल्का बाट हल्का हुँदै जान्छ र दोषीहरुले उन्मुक्ति पाँउछन् । सही बिषय हिजो भर्खर दर्ता भएको अनलाईन, प्रिन्ट, इलेक्ट्रोनिक जुन सुकै मिडियाले उठान गरे पनि बिषयका हिसाबले सबका सबले साथ दिए पो त्यो बिषय टुंगोमा पुग्छ ।
सानो एउटा क्रेडिट दिन पनि बाटो छेउको ४ आना जग्गा नै दिए जस्तो गरी लोभ गर्ने हामी संचारकर्मीको भिंmगाको पित्त जस्तो चित्तका कारणधेरै विषयहरु सेलाउँछन् । जुन मिडियाले विषय उठाएपनि यदि विषय सही छ भने अर्को भिडियाले त्यसलाई आफ्नो पनि न्युज नबनाएसम्म अपेक्षाकृत सुधार हुँदैन ।
प्रधानमन्त्री, मन्त्रीले गरेका उद्घाटन र भाषणमा बोलेका हरफहरु चाँही सबैले हाल्न मिल्ने रे तर एउटा पत्रिका, टेलिभिजन वा अनलाई मिडियामा आएको सनसनीपूर्ण खुलासा चाही उसैले मात्र फलो गर्नु पर्ने रे !
अरुले त त्यो विषय छोए पनि घनघोर पाप लाग्ला जस्तो गरेपछि दोषी उम्कीदैन ? उदाहरणका लागि सांसदहरुले घरभाडा वापद घर हुँदा हुँदै पनि रकम लिएको बिषय खोज पत्रकारिता केन्द्रले पत्ता लगायो र त्यो समाचार कान्तिपुर दैनिकमा छापियो । मन्त्रीहरुले तोके भन्दा बढी इन्धनको पैसा बुझिरहेका छन्, स्वकीय सचिवहरुलाइ गाडी, फ्युल दिएर सरकारी सम्पत्तिको दुरुपयोग गरिरहेका छन् भनेर नयाँ पत्रिका दैनिकले छाप्यो ।
तर खोइ किन हो कुन्नी, अर्को मिडियाले कान्तिपुर र नयाँ पत्रिका भन्ने नाम आफ्नो मिडियामा उच्चारण नै गर्नु नहुने जस्तै गरेको देखेर तीन छक्क पर्छु । एक त एउटा मिडियाले समाएको विषयमा विना कारणको मौन धारण हुन्छ अनि कथमकदाचित बिषय उठाएपनि एक दैनिक पत्रिकाका अनुसार भनेर त्यो पत्रिकाको नाम लिन यति कन्जुस्याँई गरिन्छ कि मानौ अघि भने जस्तै ४ आना जग्गा नै पास गरेर दिनु परेको छ ।
भ्रष्टाचार, बलात्कार, सामाजिक विभेद, कर छली, दलाली, अपहरण, ठगी जस्ता मुद्धामा त जसले विषय उठाएपनि अर्को ले समेत कभर गरे पो अपराध निमिट्यान्न पार्न मद्धत मिल्छ । संचार माध्यमको यो झिंगे चित्त र क्रेडिट दिन गरिने कन्जुस्याँइले गर्दा ठूला ठूला कसुरदारहरुले उन्मुक्ति पाएका छन् त्यो पनि सानले जुंगा मुठार्दै ।
एउटा उदाहरण सम्झिए, हाम्रो कार्याक्रममा अष्टे«लियाका लागि नेपाली राजदुत लक्की शेर्पा माथी लागेको आरोपको न्युज प्राय सबै अन्य मिडियाले कभर गरे तर भन्दा वा लेख्दा एक निजी टेलीभिजनमा भनेर उल्लेख भयो । हे प्रभु, न्युज २४ टेलिभिजनमा भनेर लेख्दा र भन्दा पाठक दर्शक स्वाट्टै घट्छन् कि व्यापार घट्छ ?
आजको दिनमा यति सानो उदारता पनि छात्तिमा छैन भने त्यसको फाइदा गलत पात्रलाई हुन्छ तर खैर नाम नलिए पनि बिषय चाँही सबैले फलो गर्न सकियो भने मुलुकलाई ठुलो फाइदा हुन्छ । हामी सारा संचारमाध्यमहरु कोही एक नम्बरको भन्छाँै कोही नम्बर वन भन्छौ कोही सर्वश्रेष्ठ भन्छौ, सबका आआफ्नौ दाबी छन् तर हातमा रिमोट लिएको दर्शकलाई सब थाहा छ । सबका आआफ्नै इस्यु भएपनि केही इस्यु कमन हुन्छन् । अँ साच्ची कान्तिपुरले छापेको सांसदको डेरा भाडाको विषय कहाँ पुग्यो होला ? सबैले फिर्ता गर्दैछन्, सबैबाट फिर्ता लिइदै छ तर यत्तीका महिना पैसा लिएको सावा त फिर्ता होला तर व्याज ? राज्यको पैसा नियतबश वा भुलबस कसैको बैंक खातामा खुरु खुरु गएपछि फिर्ता गरे भनेर मात्र हुँदैन ।
व्याजसहित फिर्ता गरे पनि भन्नुपर्छ । सबै भन्दा पहिला फिर्ता गर्ने योगेश भट्टराई ज्युलाई अनुरोध छ, के तपाईले सावा सहित व्याज पनि फिर्ता गरे वा फिर्ता लिन निवेदन दिए वा व्याज पनि फिर्ता गर्ने प्रकृया मिलाए भनेर, सके विज्ञप्ती नै नसके सामाजीक संजालमै भए पनि एउटा स्ट्याटस लेखिदिनु भयो भने भटाभट अरुले पनि व्याज सहित फिर्ता गर्छन् ।
त्यस्तै इन्धनको दुरुपयोग गरेको आरोप लागेका माननिय मन्त्री ज्युहरुले नाकको चालले सावा व्याज सहित फिर्ता गर्नु परेन ? थाहै भएन, के भएको रैछ बुझ्छु, अघिल्लो सरकारकै मन्त्रीहरुको पालादेखि चल्दै आएको रहेछ, अघिल्ला मन्त्रीले त झन यसको डबल तेब्बर खाएका थिए भनेर सुख पाइदैन ।
जानेर वा नजानेर राज्यकोषको पैसा आफ्नो व्यक्तिगत खाता, वालेट वा गोजीमा हाल्नु भ्रष्टाचार हो । भ्रष्टाचार सहन्न भन्नु हुने प्रधानमन्त्री ज्यु, ल आफ्ना मन्त्रीहरुलाई कारवाही गरेर देखाउनुस् ।

