नेपाल एयरलाइन्सको पहिलो वाइड बडी विमान आएको ५ महिना भयो। दोस्रो– ४ महिना। पर्यटनमन्त्री स्वयं अझै दोधारमा छन्– यी किनिएका हुन् कि भाडामा ! प्रमाण मागेर तुरुन्त हेर्न सक्ने मन्त्री रवीन्द्र अधिकारी बरु ‘ब्रह्म’ ले अनुमान गर्छन्, ‘भाडामा त नहुनु पर्ने हो !’ उनले आफूसँग किनेको ठोस प्रमाण भने नभएको प्रस्ट पारे। एपी वान टेलिभिजनको ‘तमसोमा ज्योतिर्गमय’ कार्यक्रमका लागि टीकाराम यात्रीलाई अन्तर्वार्ता दिँदै उनले प्रतिबद्धता जनाए, ‘म यसमा गम्भीरतापूर्वक छानबिन गराउँछु। साढे २ महिनाभित्र निचोड दिनेछु।’
वाइड बडी किनेको प्रमाण सरकारसँग छ कि छैन ? भन्ने प्रश्नमा उनले भने, ‘किनिएको भन्ने नभई सञ्चय कोषले कसरी ऋण दियो होला ? नागरिक लगानी कोषले कसरी ऋण दियो होला ? अर्थ मन्त्रालयले कसरी स्वीकृति दियो होला ? प्रश्न उठिसकेपछि त्यसमाथि पनि हेर्नुपर्छ। तर आज मसँग त त्यो त छैन। मैले त त्यही भएका डकुमेन्टहरू हेर्ने हो। डकुमेन्ट हेर्न पनि मलाई त विज्ञ चाहिन्छ।’
निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले ‘लालपुर्जा छ’ भन्नुभएको छ। तपाईंले त्यो मगाउनुभएको छैन ? भन्ने जिज्ञासामा उनले नजानिँदो गरी विषयान्तर गरे, ‘मैले समग्रको छानबि रिपोर्ट मगाइरहेको छु। त्यसका आधारमा छानबिन समिति बनाएर काम गर्छु।’ तपाईंको ब्रह्मले के भन्छ ? किनेको होला कि भाडामा ? उनको जवाफ छ, ‘मेरो ब्रह्मले चाहिँ भाडामा होलाजस्तो लाग्दैन।’ भाडामा रहेछ भने के गर्नुहुन्छ ? उनले भने, ‘पाता कसेर, क्षतिपूर्ति भराएर राखिन्छ नि।’ कसलाई क्षतिपूर्ति भराउने ? उनको उत्तर छ, ‘जो–जो त्यो निर्णयमा संलग्न भए।’
मन्त्रालयको नेतृत्व गर्ने पात्र कहीं न कहीं आकर्षित हुँदैन ? उनले भने, ‘यदि त्यहाँबाट तानिए भने तान्छिन्।’ तपाईंसम्म लहरो तानियो भने ? ‘म आउँदा यी सबै प्रक्रिया सिद्धिएका थिए’, उनले भने, ‘यो वाइड बडी खरिद प्रक्रियामा अहिलेको मन्त्री म कुनै ठाउँमा सम्लग्न छैन।’ भएको पाइए ? उनले भने, ‘जस्तो सुकै सजाय भोग्न तयार छु।’
एपीवानसँगको अन्तर्वार्तामा भने उनले छानबिन गराउने पटक–पटक बताए। आफू स्वयं ढुक्क नभएको विषयलाई ‘अफवाह’ भन्नु आफैंमा सन्देहात्मक छ। ‘किनेको हो कि, भाडामा म अध्ययन गराउँदैछु। मलाई त लाग्छ– भाडामा नहुनुपर्ने हो’, उनले भने, ‘भाडामा हो भन्ने भयो भने त्यो धेरै ठूलो अपराध भयो। त्यो क्षम्य हुँदैन। तिनीहरू सजायको भागिदार हुनेछन्। सबै क्षतिपूर्ति भराइनेछ।’
सिधै कम्पनीसँग नकिनी एजेन्टमार्फत् गएकोचाहिँ सत्य रहेको उल्लेख गर्दै उनले अनियमितालाई स्वीकार गरे। किनेको हो कि भाडामा भन्ने विषयमा मन्त्री आफैं गुमराहमा भएको हो कि अरूलाई गुमराहमा राख्न खोजिएको ? भन्ने प्रश्नमा उनले भने, ‘मन्त्रीले पनि सूचना क्रमशः पाइरहेको छ। एउटा अध्ययन ग¥यो, अर्को कुरा आएको छ, अर्को कुरा आएको छ।’
उनले दुवै वाइड बडी दैनिक ७ देखि ८ घण्टा उडिरहेको गलत तथ्यांक प्रस्तुत गरे। निगम स्रोत भन्छ, ‘औसतमा ३ घण्टा पनि उडेका छैनन्। उडेका ठाउँमा पनि पहिलाका न्यारो बडीका सेक्टर खोसेका छन्। न्यारोलाई थन्क्याएर ती उडाउनुपर्छ। समग्रमा यात्रु संख्या पनि घटेको छ।’
टेन्डर प्रक्रियामा लेखिएभन्दा जहाज ल्याउँदा धेरै पक्ष ढाँटिएको छ। बिचौलियाको सञ्जाल बनाइएको छ। म्याक्सिमम टेक अफ वेट (एमटीओडब्लु) १२ हजार केजी घटाइएको छ। मन्त्रीलाई भने त्यसमा चिन्ता देखिएन। ‘ए, कति केजीको थियो त्यो ? इन्जिन कस्तो छ ? इन्जिनको नम्बर के हो ? भनेर जब सोध्छ नि मान्छेले, त्यो त मलाई थाहा हुँदैन नि’, अधिकारीले भने।
अन्त्यमा सोधियो, ‘किनेको हो कि भाडामा… मन्त्री अधिकारी ढुक्क हुनु हुँदो रहेनछ।’ उनले भने, ‘मलाई चाहिँ किनेकै हो जस्तो लाग्छ।’ जस्तो लाग्छ, तर ढुक्क छैन, होइन ? भन्ने प्रश्नमा उनको उत्तर थियो, ‘नाङ्गा आँखाले त म कन्फर्म गर्न सक्दिनँ नि।’
हेर्नुस भिडियो

