लक्ष्मी लम्साल– संसारका सात मानव निर्मित आश्चर्यमध्येको एक चीनको ग्रेटवाल विश्वका पर्यटकहरूको प्रमुख गन्तव्यमध्ये एक मानिन्छ। बेइजिङस्थित ग्रेटवालको एउटा खण्डमा नेपाली रञ्जना लिपि भेटिएको छ।
तेह्रौं शताब्दीमा नेपाली कलाकार अरनिकोले तिब्बत हुँदै चीनमा जीवनयापन गरेका थिए। पाँचौं शताब्दीमा तिब्बती राजा स्रङचङ गम्पोसँग विवाह गरेर चीन भित्रिने क्रममा भृकुटीले पनि थुप्रै नेवारी कालीगढ दाइजो पाएकी थिइन्। त्यस यता रञ्जना लिपि चीनभरि फैलिएको हुनुपर्छ।
त्यति मात्रै नभएर अरनिको काल (१२४५–१३०६) पश्चात् च्वीयुङक्वानमा बनेको युनथाइ द्वारमा रञ्जना लिपि देखिनु उनैको प्रभावको निशानी पनि ठान्न सकिन्छ।
कलाकार अरनिको मंगोल सम्राट कुब्लाइ खाँ (१२१५–१२९४) को शासनकालमा तिब्बत छिरेका थिए। कुब्लाइका बौद्ध धार्मिक गुरू फाग्पा (१२३५–१२८०) थिए। ग्रेटवालको द्वारमा मंगोलियन (प्राचीन पवित्र गुरू फाग्पाको नाममा हुनसक्छ) लिपिसँगै रञ्जना लिपि पनि देखिन्छ।
युनथाइका भित्तामा ‘ष्णिष–विजया–धरणी’ र ‘तथागत–हृदय धरणी’ भन्ने वाक्य कुँदिएको रञ्जना लिपिका ज्ञाताहरूले भनेका छन्। थप के लेखिएको छ भन्नेबारे अझै खुल्न बाँकी छ।
ग्रेटवालको रञ्जना लिपिमा रञ्जित मन
ग्रेटवालको वल्लोपल्लो भित्ताको मध्यभागमा एउटा विशाल मुसल जस्तो अस्त्र तेर्सिएको छ। त्यसले पर्खालको प्वाल ताकिरहेको छ। मैले जवाफ फर्काउन गरेको अलमलपछि प्रश्नकर्ता आफैं भन्छिन्, ‘यो तोप हो।’
वास्तवमा त्यो तोप जस्तै छ। भित्ताको प्वालबाट बाहिर टाउको निकालेर शत्रुमाथि जाइलाग्ने तोप। हजारभन्दा बढी वर्षहरू खर्चिएर चीनका तत्कालीन सम्राटहरूले बनाएको विशाल पर्खाल, जुन विश्वको एक अनमोल सम्पदा त हुँदै हो। त्यसमाथि त्यो तत्कालीन रणकौशल पनि थियो।
त्यसैले पर्खालमा थुप्रै प्वालहरू छन्, केही मिटरको दूरीमा थुम्का–थुम्का सुरक्षा आश्रयस्थल पनि छन्। कुनै शत्रु आइलाग्यो भने तिनै थुम्कामा आगोको धुँवा पुत्ताइन्थ्यो, अनि अरूले पनि सतर्कता अपनाउँथे। त्यत्रो युद्ध रणनीतिले बनाइएको पर्खालमा के के चीजहरू, के को प्रयोजनका लागि बनाइएको छ भनेर खुट्याउन जो कोहीलाई कहाँ सजिलो छ र?
अक्टोबर दोश्रो साता च्वीयुङक्वान ग्रेटवालमा उक्लिनुको एउटा कारण थियो, चिनियाँ अन्तर्राष्ट्रिय रेडियो (सिआरआई) नेपाली सेवाले संचालन गरेको ग्रेटवालको सेरोफेरो प्रतियोगिताका विजेताको नामावली घोषणा। सहकर्मी त्वान नाननान (मुना) ले विना पूर्वसूचना फेसबुक लाइभ खोलिदिएपछि एक किसिमको हड्बडी शुरू भयो।
चीनमा सन् २००९ देखि नै फेसबुक र ट्वीटर प्रतिबन्धित भएकाले भीपीएनको सहारा लिनुपर्थ्यो। परीक्षण गर्न खोज्दाखोज्दै ठ्याक्कै जोडिइगयो त के गर्ने? पालैपालो मोबाइलमा अनुहार देखाउँदै दर्शकसामु सामान्य अवस्थामा प्रस्तुत हुन खोजियो। चार, पाँच जनाले परिचय दियौं, मौसमका कारण ज्याकेट लगाउनुको कारण खोल्यौं।
अक्टोबर महिनाको शारदीय दिवामा पनि डाँडाकाँडा छिचोलेर बहिरहेको चिसो बतासले हिउँद ऋतुको झल्को दिइरहेको थियो। तेश्रो स्थानको नतीजा घोषणामा देखिएको हडबडाहट् बुझेर विषयान्तर गर्नका लागि हुनुपर्छ, दोश्रो पुरस्कारको नतीजा सुनाउन फेसबुक लाइभमा आइपुगेकी रेडियोकी उपप्रमुख लिउ वन (सुमेघा) ले भुइँमा पडिरहको बडेमानको वस्तु देखाउँदै सोधिन्, ‘लक्ष्मीजी थाहा छ, यो के हो?’

ग्रेटवालको भितामा कुँदिएको रन्जना लिपि
यसअघि उनले संस्कृत लिपि भएको ग्रेटवालबाट प्रत्यक्ष प्रसारण गर्नेबारे जानकारी दिएकी थिइन्। मैले पनि कतिपय लेखमा ग्रेटवालमा संस्कृत लिपि छ भन्ने पढेको वा सुनेको थिएँ तर देखेको थिइँन। केही दिन अघि नै आयोजकले सोही ग्रेटवालकै युनथाइ द्वारमा पुगेर कार्यक्रमस्थल छनोट गरेका थिए। प्रविधिको फाइदा उठाउँदै ततस्थानबाट आयोजकले फोटोहरू ‘वीच्याट’ मार्फत् पठाइरहेका थिए। उनले मलाई ‘यो हो? त्यो हो?’ भनेर फोटो देखाइरहिन् तर कुनै पनि संस्कृत वा नेपालीसँग मिलेन। शायद स्पष्ट छैन भनेर फोटो देखाउन छोडिन्।
संस्कृत कुँदिएको ग्रेटवाल जाने खुल्दुली यथावत् थियो। अक्टोवर १० तारिख बिहान चार चिनियाँ र २ नेपाली बेइजिङस्थित रेडियोबाट छाङफिङ जिल्लातर्फ नपुगुञ्जेल यही तृष्णा मच्चिरह्यो। मनभित्र खेलिरहेको कुरा नै मुखबाट फुत्किन खोजिरहेथ्यो। त्यो अजंगको तोपमा कतापट्टि छ संस्कृत … भनेर घोत्लिएँ। तर संयमित भएर मुख खोलें– ‘खै, यहाँ संस्कृत कुँदिएको त देखिँदैन नि।’
त्यो वस्तुमा कुनै लिपि नै थिएन, त देखियोस् कसरी? अचानक आएको प्रश्नको जवाफ सजिलै भएपनि कहिलेकाहीं असजिलो हुन्छ। मैले असमञ्जस भोगें। उनले चर्चा गरिन्, ‘लिपि छैन यसमा। तोप मात्रै हो। ऊ … त्यो प्वालबाट बाहिर चियाउने, अनि कोही शत्रु आइरहेको छ भने ड्याम्म पड्काउने।’
जहाँनेर हामी उभिएका थियौं, त्यहाँ पुग्न ठाडो उकालो चढ्नुपर्थ्यो। खुट्किलाबाट फर्किएर तल हेर्ने हो भने रिंगटा लाग्ला जस्तो हुन्छ। ती खुड्किलाको बीचमा पुगेर शरीर सिधा पार्ने र हल्का पछाडि मोडिने हो भने त गर्ल्यामगुर्लुम्मै खस्ने पक्का। बल्लतल्ल माथिल्लो तहमा समथर ठाउँ भेटियो। त्यहाँबाट नियालेपछि ग्रेटवाल साँच्चै अजंगको ड्रागन जस्तै देखियो। पाँचौदेखि १६औं शताब्दी नै लाग्ने धीर परिश्रमको प्रतीक।
झण्डै ७५–८० डिग्रीको ठाडोमा एकजना अधवैंशेले जवानीको तुजुक देखाइरहेका थिए। जब कि सामान्य यात्रुहरू रेलिङ अँठ्याउँदा पनि रिंगिएर उत्तानो परिने पीरले काँपिरहेका थिए। तर ती व्यक्ति दौडेरै उकालो चढ्दै थिए, वास्तवमै दुर्लभ दृश्य!
प्रतियोगिताको विशेष पुरस्कार घोषणा गर्नका लागि प्रमुख अतिथि थिए, चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल। नेपाली समयको सिस्टम चीनमा पनि लागू हुने चिन्ताले राजदूतले दौडिनुपरेको हो कि जस्तो ठानें मैले। अतिथिलाई अघि लगाएर आयोजक एउटा अर्धवृत्ताकार द्वारनेरै पुगे। अनि सूचनापाटी देखाउँदै भने, ‘यहीं छ संस्कृत लिपि, यहींबाट अर्को प्रत्यक्ष प्रसारण गर्ने।’
सूचनापाटीमा लेखिएको त थियो तर भित्तामा नाङ्गो आँखाले लिपि ठम्याउनै सकिएन। सोनी क्यामराको लेन्सको दूरबीनले तानेपछि लेन्समा मिल्दोजुल्दो लिपि देखियो।
राजदूत पौडेलले हत्तपत्त भने, ‘कहाँ यो संस्कृत हुनु, रञ्जना लिपि पो त!’
मैले लगातार फोटोहरू खिचें। द्वारको पूर्वपट्टि भित्ताको सबैभन्दा माथि रञ्जना लिपि कुँदिएको थियो। पाँच हरफजति कुँदिएको पत्थरहरूमध्ये कुनै कुनै भग्न भएकाले अक्षराकृति अस्पष्ट थियो। तथापि रञ्जना लिपिले यो मन नै मग्न भैसकेको थियो।
फोटोहरू क्यामरामा खिचिएनन् बरू सिंगै देशको चित्र पो हृदयमा खिचिएछ। इतिहासका पात्रहरू मनमा सल्बलाएछन्। छाती ढक्क फुलेपछि लाग्यो, विश्वको यस्तो महान् आश्चर्यमा नेपालको पनि योगदान जोडिनु चानचुने कुरा होइन। नेपाली पनि चिनियाँका कम्ता सामान्य मित्र हैनन् भनेर अभिमानका साथ भनूँ भनूँ लाग्यो। त्यहाँ अरू लिपिहरू पनि थिए, सबैभन्दा शिरानीमा देखिएको रञ्जना लिपिमै ढुक्ढुकी रोकियो। भित्ताभरि बुद्ध आकृति कुँदिएका थिए। बुद्धका यी आकृति जहाँ देखिएपनि नेपाली नै लाग्छ र जहाँ भएपनि नेपालमै भएजस्तो हुन्छ।
प्रतियोगिताका लागि सिआरआई दक्षिण एशिया प्रमुख सुन चिङ्लीले प्रथम पुरस्कारको घोषणा गरेपछि सुनाए, ‘छाङ भनेको लामो र छङ भनेको पुरानो भाषामा पर्खाल, अहिलेको सरलीकृत चिनियाँमा शहर, अर्थात् अहिले चाहिं लामो पर्खाल।’
उनले पुरानो अर्थले छाङछाङ भनेको लामो पर्खाल भन्ने पुष्टी गरे। उनको भनाइले युनथाइमा प्राचीन चिनियाँ लिपिको संकेत गर्दथ्यो। भाषा यादृच्छिक् हुन्छ, परिस्कृत हुँदै जान्छ।
पाँचौं शताब्दीमा तिब्बती राजा स्रङचङ गम्पोसँग विवाह गरेर चीन भित्रिने क्रममा भृकुटीले पनि थुप्रै नेवारी कालीगढ दाइजो पाएकी थिइन्। तेह्रौं शताब्दीमा नेपाली कलाकार अरनिकोले तिब्बत हुँदै चीनमा जीवनयापन गरे। यसरी नै रञ्जना लिपि चीनमा फैलिएको हुनुपर्छ।
तेश्रो, दोश्रो र पहिलो पुरस्कारपछि नेपाली राजदूतले विशेष पुरस्कारको घोषणा गरे। पुरस्कार विजेताहरू पुरस्कार पाएर खुशी भए। हामी छिमेकी भूमिमा नेपाली कीर्ति देखेर आल्हादित भयौं। राजदूतले पनि पहिलो पटक ग्रेटवालमा रञ्जना लिपि देख्न पाएकोमा गौरव लागेको सुनाए।
विदेशमा स्वदेशको नाम चम्काउने, पदक विजेता कुनै खेलाडीले कस्तो महसुस गर्छ? ग्रेटवालमा रञ्जना लिपि देख्दा मजस्तो एक नेपालीका मनमा कस्तो भावना छचल्कियो? , भनिरहनु पर्ला र ?
नेपालखबरबाट

