पश्चिमा विश्व नै हल्लाउने ‘पूर्वीय सभ्यता’
आचार्य लक्ष्मण भण्डारी – हामी जुन भूमिमा बसेका छौँ, त्यो सामान्य भूमि होइन । जुन संस्कार, संस्कृति, मूल्य, परम्परा र पहिचान छन् हामीसँग, ती पनि असामान्य र अति विशिष्ट छन् । हाम्रा ऋषिमनीषि, आचार्य एवम् पूर्वजहरूले जुन साधना, तपस्या र योगबलका आधारमा विशिष्ट ग्रन्थ, पुराण र वैदिक दर्शनको रचना गरेका छन्, वास्तवमा त्यो दर्शन हामी पूर्वीयहरूका लागि मात्रै होइन, सारा दुनियाँका लागि
अपरिहार्य र अति आवश्यक रहेछ भन्ने कुरा समयक्रमसँगै स्पष्ट हुँदै आएको छ । जुन पश्चिमी सभ्यताको आज विकास भएको छ, त्यो सभ्यता विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने महान् चिन्तक, साहित्यकार, वैज्ञानिक र दार्शनिकहरूले पूर्वीय मूल्य र वाङ्मय नै पश्चिमी विकासको आधार हो भन्ने कुरा स्पष्टसँग बताएका छन् । उनीहरू पूर्वीय सभ्यताप्रति यति नतमस्तक छन् कि हामी कल्पना सम्म पनि गर्न सक्दैनौँ ।
महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले भनेका छन् :- ‘We owe a lot to the Indians who taught us how to count, without which no worthwhile scientific discovery could have been made’, अर्थात्, हामी पूर्वीयहरूप्रति चिर ऋणी छौँ, किनकि उनीहरूले हामीलाई गणित सिकाए, त्यसका अभावमा कुनै पनि सार्थक प्रकृतिको वैज्ञानिक आविष्कार गर्न सकिने थिएन । अल्बर्ट आइन्स्टाइन पश्चिमी सभ्यताका अत्यन्त श्रद्धेय व्यक्तित्व मात्र नभएर सारा विश्वका लागि अत्यन्त सुपरिचित प्रेरणास्रोत पनि हुन् । उनको यो भनाइले के बुझाउँछ भने आज विश्वमा विकास भएको गणित र वैज्ञानिक आविष्कारको मूल पूर्वीय सभ्यता नै रहेछ ।
फ्रेडरिक भोन सेलेगल प्रसिद्ध जर्मन लेखक, दार्शनिक एवम् जर्मन स्वच्छन्दतावादका संस्थापकमध्ये एक हुन् । उनी संस्कृत भाषा र पूर्वीय भारतवर्षको प्रशंसा गर्दै भन्छन् ः There is no Language in the world, even Greek, which has the clarity and the philosophical precision of Sanskrit. Indian civilization is not only at the origin of everything, she is superior in everything, intellectually, religiously or politically and even the Greek heritage seems pale in comparison।अर्थात् ‘यो विश्वमा संस्कृत भाषा जस्तो नियमनिष्ठता र दार्शनिक सुस्पष्टताले युक्त अन्य कुनै भाषा छैन, ग्रीसेली पनि छैन । यसरी, हेर्दा यी महान् भारत वर्ष प्रत्येक कुराको उद्गमस्थल मात्र होइनन्, तिनी हरेक कुरामा श्रेष्ठ छिन् ः बौद्धिक, धार्मिक,राजनैतिक सबै दृष्टिले उच्चतर छिन्, तुलना गरी हेर्ने हो भने महान् ग्रीसेली परम्परा पनि भारतवर्षका लागि निस्तेज लाग्दछ ।’
हामी सबैले जाने पढेका महान् अमेरिकी लेखक, निबन्धकार, प्राध्यापक एवम् अन्तज्र्ञानवादी(ट्रान्सेन्डेन्टालिस्ट) आन्दोलनका अगुवा राल्फ वाल्टो इमर्सनले भनेका छन्,‘ The Vedas hunt me. In them I have found enternal compensation, unfathomable power, unbroken peace’ अर्थात् वेदहरूले मलाई पछ्याइरहन्छन् । तिनमा मैले अनन्त अनुकम्पा, अगम्य शक्ति र अविच्छिन्न शान्ति प्राप्त गरेको छु ।’
हाम्रा वेदहरू कति शक्तिशाली रहेछन् भन्ने जान्नका लागि इमर्सनको यही भनाइ पर्याप्त छ । वेद मात्रै होइन, गीताका बारेमा पनि विशिष्ट पश्चिमी चिन्तकहरूले यसरी नै प्रशंसामा शब्दहरू खर्च गरेका छन् । हेनरी डेभिड थोरोले त गीताका तुलनामा आधुनिक जगत् तुच्छ लाग्ने सम्मको विचार व्यक्त गर्दछन् । उनी भन्छन् ः‘ In the morning I bathe my intellect in the stupendous and cosmogonal philosophy of the Bhagvat Gita, in comparison with which our modern world and its literature seem puny and trivial’ अर्थात् प्रत्येक बिहान म आफ्नो विचारशक्तिले भगवद्गीताको भव्य र विश्वत्पत्ति विषयक ब्रह्माण्ड दर्शनमा स्नान गर्दछु । त्यतिखेर यसका तुलनामा आधुनिक जगत् र यसको साहित्य अत्यन्तै निरीह र तुच्छ लाग्दछन् ।

प्रसिद्ध अङ्ग्रेजी उपन्यासकार एल्डौस हक्स्ले पनि गीताबाट अत्यन्तै प्रभावित छन् । उनले लेखेका छन् :-‘ The Bhagavad Gita is the most systematic statement of spiritual evolution of endowing value to mankind. The Gita is one of the clearest and most comprehensive summaries of spiritual thoughts ever to have been made.’ अर्थात् भगवदगीता आध्यात्मिक साहित्यको अत्यन्तै व्यवस्थित विवरण हो । मानवजातिका लागि यो चिरस्थायी महत्त्वको रत्न हो, अर्थात् यो आजसम्ममा निर्मित आध्यात्मिक सारतत्त्व बोकेको सर्वाधिक स्पष्ट र व्यापक आध्यात्मिक सारांश हो ।
अणुबमका पिता भनेर चिनिने विश्वप्रशिद्ध महान् भौतिकशास्त्री जुलियस रोबर्ट ओपनहाइमरले गीताकै बारेमा भनेका कुरा पनि त्यतिकै महत्त्वपूर्ण छ । उनकै शब्दमा :- ‘The juxtaposition of western civilization’s most terrifying scientific achievement with the most dazzling description of the mystical experience, given to us by the Bhagavad Gita, India’s greatest literary monument.’ अर्थात् भारतवर्षको महान् साहित्यिक निधि भगवद्गीताले हामीलाई प्रदान गरेको रहस्यपूर्ण अनुभूतिको चकित पार्ने वर्णनका सान्निध्यमा राख्दा पाश्चात्य सभ्यताको महान् वैज्ञानिक उपलब्धि पनि अत्यधिक भयप्रद लाग्दछ ।
हामी बसेको भूमि जसलाई हामीले खासै महत्त्व दिँदैनौँ, हाम्रा पूर्वजले छोडेर गएका सभ्यता, मूल्य र संस्कारलाई भुलेर सम्पूर्णरूपमा पश्चिमी सभ्यता र संस्कृतिलाई अपनाउन मन पराउँछौँ, त्यही पश्चिमी जगत्का यी एकसे एक हस्तीले भने आफ्ना मूल्य र सभ्यतालाई हाम्रो पूर्वीय सभ्यताको तुलनामा निस्तेज फिलिङ्गो मान्छन् । माथि नाम उल्लेख गरेका विद्वान् मात्रै होइनन्, त्यस्ता सुप्रसिद्ध दर्जनौँ चिन्तकहरूले पूर्वीय सभ्यताको मुक्तकण्ठले प्रशंसा गरेका छन् ।
भोल्टेयर, विलियस वर्डस्वर्थ, सोपेनहावर, मार्क ट्वाइन, जर्ज बर्नाड सा, हर्मन हेस्से, रोमा रोलाँदेखि लिएर बाराक ओबामासम्मले पूर्वीय दर्शन, साहित्य, ग्रन्थ र संस्कारप्रति गहिरो आस्था प्रकट गर्दै उच्च प्रशंसा व्यक्त गरेका छन् ।
यी विशिष्ट हस्तीले हाम्रो सभ्यताप्रति व्यक्त गरेका विचार यदि पढ्ने र स्मरण गर्ने चाहना उत्पन्न भयो भने के गर्ने त ? यसको एउटै जबाफ हो ः ‘पूर्वीय सभ्यता’ नामक पुस्तकको अध्ययन, किनकि यसरी प्रकाशित पुस्तक भारत र नेपालसहित सम्भवतः विश्वमै अर्को छैन । प्रस्तुत पुस्तक नेपाली मूलका प्रसिद्ध भारतीय लेखक, पत्रकार एवम् चिन्तक सलील ज्ञवालीको सम्पादनमा नेपाली भाषामा प्रकाशित भएको छ । त्यसो त प्रस्तुत कृति अङ्ग्रेजीमा ‘ग्रेट माइन्डस अन इन्डिया’ नामले पहिल्यै प्रकाशित भएर विश्वभरि लाखौँ पाठकको हातमा परिसकेको छ । अङ्ग्रेजी र नेपालीमा मात्रै होइन, हिन्दी, तामिल, तेलगु, गुजराती, मराठी, कन्नडजस्ता अन्य भाषामा पनि यो पुस्तक प्रकाशित भएको छ ।
नेपाली भाषामा प्रकाशित प्रस्तुत ‘पूर्वीय सभ्यता’को नेपालीमा अनुवाद भने अनुवाद अध्ययनमा नै विद्यावारिधि गर्ने प्रथम नेपाली, प्राध्यापक डा.गोविन्दराज भट्टराईले तीनको वर्षको समय खर्चिएर गरेका हुन् ।
लेखक सलील ज्ञवाली उत्तरपूर्वी भारतको सिलाङमा जन्मेहुर्केका उच्चशिक्षित चिन्तक हुन् । उनका पिता कृष्णप्रसाद ज्ञवाली पनि प्रसिद्ध चिन्तक नै हुन् । उनै चिन्तकका सुपुत्र सलीलको पूर्वीय वाङ्मयप्रति अतीव उच्च श्रद्धा र प्रेमभाव रहेको छ । उनी आफ्नो मूल्य, सभ्यता र जीवनदर्शनको सुरक्षा गर्न रुचाउने स्वभावका लेखक हुन् । प्रस्तुत कृति उनको यस्तै रुचिको परिणति हो ।
प्रसिद्ध फिलिपिनी कवि एवम् लेखिका श्रीमती मेरिया क्रिस्टिना बेजारले पूर्वीय सभ्यतालाई आफ्नै घरमा अपमानित तर टाढाटाढा सम्मानित ज्ञान भनेर भनेकी छिन् । प्रस्तुत कृतिबारे आफ्नो धारणा व्यक्त गर्दै क्रिस्टिना अगाडि लेख्छिन् ः सलील ज्ञवालीको प्रस्तुत कृति प्रातःकालको भालेको डाँको सरि एक उद्बोधन हो, जसले भविष्यका नवाङ्कुरहरूमा भारतवर्षको वास्तविक सौन्दर्य अर्थात् ज्ञान र अपार आध्यात्मिक अनन्तताको बोध निश्चय गराउनेछ ।
हामी टाढाटाढा नयाँनयाँ सभ्यताको खोजीमा, विकास र मूल्यको खोजीमा भौँतारिन्छौँ, तर आफ्नै आँगनका जनक र बुद्ध देख्दैनौँ, आफ्नै मूल्य दर्शनको अपमान गर्दै पराइका दर्शन र मूल्यका दास भएर त्यसैअनुसारको दर्शनका अभ्यासी बन्दछौँ । उनै फिलिपिनी लेखिका हाम्रो यो पारा देखेर भन्छिन्,‘जबजब म पूर्वीय सभ्यताका अनुयायीहरूलाई आफ्नै वैभवशाली अतीतबाट प्राप्त भएको, आफ्नै पवित्र भूमिबाट निःसृत ज्ञानभण्डारबारे अनभिज्ञ भएको देख्छु, त्यसबेला म सारै विचलित र व्याकुल हुन्छु । मैले मुस्किलले मात्रै त्यस्ता पूर्वीय मानिसहरू देखेकी छु, जसले आधुनिक शिक्षा हासिल गरेका र भगवद्गीताको अध्ययन गर्दै त्यसप्रति श्रद्धा प्रकट गरेका होऊन् ।’क्रिस्टिनाको यो भनाइ साच्चै नै यथार्थ हो ।
हामीलाई माक्र्सवाद थाहा छ, लेनिनवाद र माओवाद पनि थाहा छ, तर हामीदेखि धेरै टाढा बस्ने बिदेशीलाई थाहा भएको गीताको दर्शन के हो, त्यो थाहा छैन, वेद र पुराण के भन्छन्, थाहा छैन ।
सलील ज्ञवालीले हामी सबैलाई आफ्नो बारेमा विश्वका एक भन्दा एक अति विशिष्ट महामनीषिहरूले जानेका कुरालाई जान्न भनेर दिव्य ‘पूर्वीय सभ्यता’ नामक पुस्तक उपहारमा दिएका छन् । यसको अध्ययन गरी अल्बर्ट आइन्स्टाइनदेखि लिएर बाराक ओबामा सम्मले हाम्रा बारेमा मुक्तकण्ठले व्यक्त गरेका धारणाहरू थाहा पाई यसको अनुसरण, संरक्षण र सम्बर्धनमा समेत क्रियाशील हुनु हाम्रो कर्तव्य हो ।
हामी को हौँ, हामीलाई मान्छेले कसरी सोचेका छन् र मूल्याङ्कन गरेका छन् भन्ने कुरा ‘पूर्वीय सभ्यता’ नपढी थाहा हुनै सक्दैन । प्रसिद्ध मनोविद् कार्ल गुस्ताब जुङले ‘पाश्चात्य ब्रह्मविद्या भनेको पूर्वकै अप्रवीण अनुकरण मात्रै हो भन्ने तथ्यलाई हामीले अभैm बुझ्न सकेका छैनौँ भनेर आफ्ना मान्छेहरूलाई भनिरहेका छन् ।
प्रस्तुत पुस्तकको मूल अङ्ग्रेजी संस्करण भारतको पेन्गुइन बुक्सले प्रकाशित गरेको हो । प्रस्तुत कृतिलाई लेखकले आफ्नो स्वदेशप्रतिको अगाध प्रेमका रूपमा लिएका छन् । कृति हेर्दा सानो छ, तर यसका लागि लेखकले ठुलो श्रम र समयको लगानि गरेका छन् । सन् १९८६ देखि ९८ सम्म उनी यसका लागि डुबेर लागेका थिए ।
लेखकले पूर्वीय सभ्यता हामी पाठकका लागि तायार पार्दै अनुरोध गरेका छन् ः यो ब्रह्माण्ड विज्ञानविषयक ज्ञानको अनन्त भण्डार, यो अकल्पनीय श्रेष्ठतालाई विश्वविख्यात वैज्ञानिक, लेखक, कवि, चिन्तक, साहित्यकार, राजनीतिज्ञ आदिले प्रकट गरेका धारणाहरूले प्रभावित भएर हामी आफ्नै गौरवशाली अतीतको वेद, पुराण, गीता, उपनिषद्, पुराण आदिले निर्देशित गरेको एउटा अकल्पनीय विश्वतिर पुनर्भ्रमण गर्न सकौँ र हाम्रा ह्रासोन्मुख सभ्यतालाई पुनः प्रकाशित गर्न सकौँ ।
चिल्ला पृष्ठहरूमा रङ्गीन कलेवरमा प्रकाशित कुल १६३ पृष्ठको पुस्तक ‘पूर्वीय सभ्यता’लाई ओरियन्टन पब्लिकेसनले बजारमा ल्याएको छ । सबै पुस्तक पढेर पनि यदि यो पुस्तक विशेष गरी पूर्वीय सभ्यतामा हुर्केबढेका र पढेका कुनै पाठकले पढ्न बाँकी छोडे भने सम्झनुपर्छ उनले आपूmलाई चिन्न र जान्न धेरै ढिलो गर्नेछन् वा सधैँका लागि पछि पर्नेछन् ।
पुस्तकमा सङ्कलित महान् मनीषिका विचारले हामीलाई आफ्ना मूल्यप्रति एक पटक गहिरिएर सोच्न अवश्य बाध्य पार्छन् ।‘भारतवर्षले हाम्रो चेतनाको द्वार खोलेको मात्र होइन, अपितु यसले आफ्ना धार्मिक कृतिहरूका सहयोगले नैतिक परिकल्पनालाई पनि विस्तृत गराइदिएको छ ।’ भनेर बाराक ओबामाले भनेका कुरा सुन्दा र ‘पूर्वीय जीवनपद्धतिले जीवनको प्राकृतिक एवम् वास्तविक दर्शन प्रस्तुत गर्दछ । हामी पश्चिमेलीहरू अस्वाभाविक मुखुन्डाहरू भिर्दछौँ । भारवर्षको मुहारमा त्यस्ता कोमल अभिव्यक्ति छन्, जसले स्वयम् स्रष्टाका हातको चिह्न बोकेका हुन्छन् ।’ भनेर जर्ज बर्नाड साले भनेको थाहा पाउँदा पूर्वीय सभ्यताका अनुयायीलाई साँच्चै नै अपार हर्षबोध हुन्छ, पुस्तक मार्फत् । पुरै आनन्दका लागि त पुस्तक नै पुरै नपढी हुँदैन । लेखक सलील ज्ञवालीले ठुलो दुःख गरेर हाम्रालागि यति महत्त्वपूर्ण कृति तयार गरिदिएका छन् । यसका लागि उनका नाममा कृतज्ञता, धन्यवाद र आभारका जति शब्द खर्च गरे पनि थोरै हुन्छ ।
कृति – पूर्वीय सभ्यता , सम्पादन/सङ्कलन- सलील ज्ञवाली , पृष्ठ -१६३(४०+१२३) , पुस्तकको लागि सम्पर्क फोन – 9845068605/9845048964

