तपाईंको मोबाइलमा नचिनेको विदेशी नम्बरबाट ‘मिस्ड कल’ आइरहेको छ? छ भने, महत्वपूर्ण कल होला भनेर ती नम्बरमा कल फिर्ता नगर्नुस्, तपाईंको ब्यालेन्स गुम्न सक्छ।
विदेशी ठगहरुले पैसा कमाउन त्यसरी मिस्ड कल गरेका हुन्। ती विदेशी नम्बरमा कल फिर्ता गर्दा मोबाइलको धेरै ब्यालेन्स काटिन सक्छ । काटिएको रकमबाट मिस्ड कल गर्ने व्यक्तिले फाइदा उठाइरहेका हुन्छन्।
विदेशी नम्बरबाट आएको कल फिर्ता गर्दा एक दुई सेकेन्ड मात्र कुरा गर्दा पनि मोबाइलको ब्यालेन्स स्वात्तै काटिने गरेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । नचिनेका त्यस्ता नम्बरमा ‘कल ब्याक’ नगर्न प्राधिकरणले सचेत गराएको छ।
विभिन्न देशका नम्बरबाट नेपालमा त्यसरी कल आउने गरेको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताए । ‘२–३ सेकेन्डमात्र कल गर्दा पनि १–२ सय रुपैयाँसम्म ब्यालेन्स काटिन सक्छ,’ अर्यालले भने, ‘ठग्ने उद्देश्यले त्यस्ता कल आइरहेका छन्।’

सामान्यतया, नेपालबाट विदेशमा कल गर्दा त्यहाँको ‘अपरेटरले’ले कल ‘टर्मिनेसन शुल्क’ प्राप्त गर्छन् । त्यही शुल्क उठाउने उद्देश्यले विदेशबाट मिस्ड कल गर्ने गरेको पाइएको छ । अपरेटरसँग मिलेर त्यस्ता कल गर्ने र राम्रो शुल्क उठाउने गरेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणले सूचना जारी गर्दै त्यस्ता नम्बरमा कल फिर्ता गर्दा ‘हेलो हेलो’ मात्र गर्ने तर अरु केही नबोल्ने गरेको जनाएको छ । पछि पुनः ‘अर्जेन्ट छ भनेर कल गर्नुस्’ भनेर म्यासेज वा इमेल आउन सक्छ । ग्राहकले जतिपटक फिर्ता गर्छन्, त्यत्तिपटक पैसा काटिने तर कुराकानी नहुने प्राधिकरणले जनाएको छ।
प्राधिकरणले पोल्यान्ड, मलेसिया, अमेरिका, जर्मनी, दक्षिण सुडान, साउदी अरेबिया लगायत देशबाट आएका त्यस्ता कललाई विशेष ध्यान दिन आग्रह गरेको छ । आफूले नचिनेको नम्बरबाट बारम्बार कल आएमा ती नम्बरलाई ब्लक गर्न वा प्राधिकरणमा जानकारी गराउन आग्रह समेत गरेको छ।
यस्ता नम्बरमा मिस्ड कलबाट मात्र होइन, इमेल, फ्याक्स, सामाजिक सञ्चाल वा अन्य माध्यमबाट पनि फोन गर्न आग्रह गर्दै नम्बर पठाउन सक्ने प्राधिकरणले जनाएको छ।
केही समयअघि यस्ता समस्या धेरै भए पनि प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकसँग नचिनेको (अन नोन) नम्बरलाई ब्लक गर्न निर्देशन समेत दिएको थियो । ठग्ने उद्देश्यका त्यस्ता नम्बर बारम्बार परिवर्तन गरिरहने भएकाले पटकपटक नयाँ नम्बरबाट मिस्ड कल आउन सक्ने अर्यालले बताए।
ठग्ने उद्देश्यले अपरिचित नम्बर विदेशबाट मात्र नभएर स्वदेशबाट पनि प्रयोग गर्ने गरेको पाइएको छ । अपरिचित नम्बरबाट फोन गरेर धम्की दिने, फिरौती माग्ने, चिट्ठा परेको झुटा जानकारी दिने समेत गरेको पाइएको छ।
गत वर्ष मंसिरमा ओभर द टप (ओटिटी) सेवा प्रयोग गरी ‘अन नोन’, ‘नो कलर आइडी’, ०१२३४५६, १२३४५६, ८८८८८८८८८८ जस्ता अपरिचित नम्बर देखिने गरी धेरै कल आउन थालेपछि नेपाल टेलिकमले त्यस्ता नम्बरबाट आएको कल नउठाउन आग्रह गरेको थियो।
ओटिटी सेवा भनेको इन्टरनेट प्रयोग गरेर भ्वाइस कल, म्यासेज जस्ता सेवा चलाउन सकिने विभिन्न एप्लिकेसन हुन् । स्काइप, भाइबर, ह्वाट्सएप, फेसबुक म्यासेन्जर, स्न्याप च्याट, इमो जस्ता कैयौं एप्लिकेसनलाई ओटिटी सेवा मानिन्छ । यस्ता एप्लिकेसन प्रयोग गरी मोबाइल फोनमा भ्वाइस कलसहित विभिन्न सुविधा प्रयोग गर्न सकिन्छ।
प्राधिकरणले यस्ता ओटिटी सेवा प्रयोग गरी नम्बर अपरिचत बनाएर हुने कल रोक्न सेवा प्रदायक कम्पनीलाई निर्देशन समेत दिएको थियो।
अन्तर्राष्ट्रिय टेलिकम्युनिकेसन युनियनको प्रावधान अनुसार पनि परिचित नम्बर भएको कल मात्र स्वीकार गर्ने व्यवस्था दूरसञ्चार सेवा प्रदायक कम्पनीले गर्नुपर्छ । युनियनको प्रावधान अनुसार मोबाइलमा आउने सबै नम्बर कल लाइन आइडेन्टिफिकेसन (सिएलआई) हुनुपर्छ।
नेपालमा प्रयोग हुने अधिकांश ओटिटी सेवा बाहिरबाट सञ्चालित छन् । मुलुकमा सञ्चालन भएका सेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय कल ल्याउने विभिन्न क्यारियर हुन्छन् । त्यसरी आउने अपरिचित कललाई सेवा प्रदायक कम्पनीले ‘गेटवे’बाटै अस्वीकार गर्ने व्यवस्था मिलाउन सक्ने प्राधिकरणको भनाइ छ।- नागरिकन्युजबाट

