बसभित्र खुट्टा टेक्ने ठाउँ नभेटेपछि परिचालक छतमा चढ्ने भर्याङमा झुन्डिए । एक घन्टापछि बस गन्तव्यमा पुगेर रोकियो । सबै यात्री झरेर आआफ्नो घर लागे । बस चालक पनि झरे । परिचालकलाई खोजे, भर्याङ र छतमा पनि खोज्दा नभेटेपछि बसपार्क चाहारे ।
असोज २३ गते साँझ पुरानो बसपार्कबाट भक्तपुर सरस्वतीखेल जाने बस छुटेको थियो । बसपार्कमै भरिएको बस ठाउँ ठाउँका बिसौनीमा पनि रोकेर यात्री चढाउँदै अघि बढ्यो । बस खचाखच भरिनलाई चाडबाड आउनै पर्दैन । यो हरेक दिनको कहानी हो ।
भोलिपल्ट बिहान महानगरीय प्रहरी वृत्त थिमीले चालकलाई बोलायो । प्रहरीले उनलाई त्रिवि शिक्षण अस्पताल पुर्याएर शव देखायो । उनकै सहयोगी भएको सनाखत भयो । तर चालकलाई परिचालकको नाम, ठेगाना केही थाहा थिएन ।
सिन्धुपाल्चोक, बाह्रबिसे, खनियाबासका १८ वर्षीय मनिष तामाङ तीन महिनाअघि मात्र उक्त बसमा परिचालक भएका थिए । उनी त्यस साँझ छत उक्लने भर्याङबाट खसेर सडकमा बज्रेको यात्री र चालक कसैले पत्तै पाएनन् । करिब ७ मिनेट उनी सडकमा छट्पटिइरहे । सडकमा आवतजावत गर्नेहरूले पनि वास्ता गरेनन् ।
सेवामा खटिँदा यसरी कसैको मरण नहोस् ।

फाइल फोटो
चालक सवारी साधनको अगाडिको आरामदायी सिटमा बस्छन् । परिचालक दिनको १२ घण्टा अर्थात् बिहान झिसमिसेदेखि झम्के साँझसम्म उभिएर आधा ज्यान बसभित्र टाउको सहित आधा ज्यान झ्यालबाट निकालेर यात्रीसित भाडा उठाउने गर्छन् । उनीहरू स्थायी जागिरे होइनन् । फेरिइरहन्छन् । रुखो र कडा मिजासका हुनसक्छन् किनकि, तिनलाई जसरी हुन्छ बढी यात्री चढाउने, पैसा उठाउने, साहुलाई बुझाउने, तेल हाल्ने र बचेको पैसाबाट चालक र आफू बाँड्ने प्रतिस्पर्धा हुन्छ । मौका मिले अलिअलि जोगाउँछन्, बाँकी फुर्मास गर्छन् ।
उनीहरूको कुनै पहिचान हुँदैन । पोसाक पनि हुँदैन । न कागजात नै । न नियुक्ति पत्र न परिचयपत्र । गुमनाम जीवन । न स्वास्थ्य जाँच न सुरक्षा प्रशिक्षण । उनीहरूको जीवनलाई सडकका अप्ठ्यारा मोड र खाल्डाखुल्डीले हरेक दिन जिस्क्याउने गर्छ ।
सामान्यतया एक दिनमा कति घण्टा उभिन हुन्छ ? पानी पिउने र पिसाब फेर्ने रुटिन के हुनुपर्छ ? शरीर बङ्ग्याएर बस्दा त्यसबाट स्वास्थ्यमा पर्नसक्ने असर के के हुन् ? धूलो, धूवाँको कुइरीमण्डलमा हराएर बेगमा हुइँकिएका सवारी साधनमा झुन्डिएर यात्रा गर्दा परिचालकको भविष्य के होला ? के बस व्यवसायी र सरकारले केही सोचेका छन् ?
परिचालक सुरक्षाबारे अहिलेसम्म कसैले केही गरेको छैन । ट्राफिक प्रहरीले गर्ने भनेको सम्झाइ बुझाइ हो । कहिलेकाहीँ चिट् थमाइदिने । बसको ढोका बन्द गरेर चलाउनुपर्ने, झ्यालबाट टाउको र शरीर बाहिर निकाल्न नपाउने, झुन्डिएर यात्रा गर्न नपाउने नियम पालना गराउन खोज्छ, सक्दैन । ट्याक्सी चालक माइक्रोबसका चालक र परिचालकको पोसाक सुरु भएकोलाई दुर्घटना घटाउने उपाय मानिएको छ ।
सरकारले गर्नुपर्ने काम भने प्रस्टै छन् । पञ्जीकरण नगरी यातायात सवारी साधनमा परिचालक राख्न नपाउने नीति कार्यान्वयन भएको छैन । चालक परिचयपत्र अर्थात् लाइसेन्स दिँदा निजी र सार्वजनिक यातायात कुन चलाउने भनी छुट्टिएको छैन । सार्वजनिक यातायातको साधन चलाउने र सहयोग गर्नेलाई नैतिक र व्यावहारिक शिक्षा दिएर व्यावसायिक रूपमा सवारी साधन चालक परिचयपत्र दिने व्यवस्था छैन ।
छोटो दूरीमा चल्ने यातायातका परिचालक एक जनामात्र हुन्छन्जसले यात्रीसँग भाडा उठाउने, चालकको सेवा सुश्रुसा गर्ने र गाडी सफाइसमेत गर्छन् । उनीहरू बढी पेलिन्छन् । सुरक्षित भए, आँट गरे भने उमेर चढ्दै जाँदा लामो दूरीका साधनका परिचालकझैं आफ्नाचालकसित गाडी चलाउन सिक्छन् । त्यही भएर त चालकलाई ‘गुरुजी’ भन्ने नाम काड्न थालियो ।
परिचालकको रोजगारीबापत सेवा सुविधा सुनिश्चित गर्ने, सामाजिक सुरक्षा र पहिचान स्थापित गर्ने प्राथमिकता परेको छैन । पेसा पनि अमर्यादित जीवन पनि असुरक्षित । परिचालकको सुरक्षामा यातायात व्यवसायीहरू नै जिम्मेवार हुनुपर्छ । त्यसको निगरानीको जिम्मेवारी सरकारको । यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीको ।
हरेकको जीवनको उत्तिकै मूल्य हुन्छ, अरूको सेवामा खटिनेको अझ बढी । उनीहरूलाई पहिचान नगर्दा हाम्रो राज्यको अनुहारमा धूवाँ पोतिन्छ ।
कान्तिपुर सम्पादकीयबाट

