समीरबाबु कट्टेल- अनलाइन पत्रकारिता सुरु भएपछि भिडियो एडिटिङ जान्ने जनशक्तिको खोजी व्यापक छ। कुनै विषयमा भिडियो खिचेपछि त्यसलाई आकर्षक र दर्शकको मन जित्न सक्ने बनाउने काम नै भिडियो एडिटिङ हो।
‘भिडियो एडिटिङसम्बन्धी तीनवटा कोर्स पढाइ हुन्छ। ग्राफिक डिजाइनिङ, भीएफएक्स र एनिमिसन। यी कोर्स दुईदेखि तीन वर्षमा पूरा गर्न सकिन्छ। लगभग तीनदेखि चार लाखमा यो सबै कोर्स पूरा गर्न सकिन्छ,’ भिडियो एडिटर साहिल खान भन्छन्, ‘सामान्य कम्प्युटर चलाउन जान्ने र इच्छाशक्ति भएको मान्छेले यो काम सिक्न सक्छ। कति छिटो दक्षता हासिल गर्ने कुरा सिक्ने व्यक्तिमा भर पर्छ।’
३१ वर्षीय खानका इन्जिनियर बुवा छोराले पनि इन्जिनियरिङ नै पढोस् भन्ने चाहन्थे। तर सानै उमेरमा फिल्म हेर्ने रुचिका कारण यही क्षेत्रमा काम गर्न चाहन्थे उनी। काठमाडौं आएर उनले मल्टिमिडियाको कोर्स पढे। तीन हजार मासिक तलब खान थाले। चार वर्ष काम गरेपछि उनको तलब २५ हजार भयो। ७ वर्षपहिले उनले उत्तरढोका, लाजिम्पाटमा आफ्नै मुभी फ्याक्ट्री प्रालिनामक स्टुडियो खोले। हाल उनको स्टुडियोमा ६ जना एडिटरहरू काम गर्छन्। ‘काम हेरी १० हजारदेखि ३० हजारसम्म पारिश्रमिक थाप्छन्। कामले उनीहरू खारिँदै जान्छन्,’ खानले भने ‘म आफैं भने सबै खर्च कटाएर मासिक तीन लाखसम्म जोगाउँछु।’ खानको सफलता हेर्दा मेहनती र इमानदारलाई यो क्षेत्रमा सम्भावनै सम्भावना छ।
अर्का एडिटर रेनिस फागो पनि भिडियो एडिटिङको क्षेत्रमा प्रशस्त सम्भावना रहेको बताउँछन्। उनले प्लस टु कोर्स सकेपछि मल्टिमिडियाको कोर्स पढे। त्यसपछि रसियामा ६ महिनाको कोर्स गरेर आए। उनी भिडियो इडिटिङअन्तर्गत कलर ग्रेडिङको काम गर्छन्। ‘मेहनती मान्छेले ६–७ महिनाको कोर्स गरेपछि काम गर्न सक्छ। म्युजिक भिडियो, टीभीका विज्ञापन म्युजिक भिडियो पनि यसैअन्तर्गत पर्छन्। काम सिकेपछि खाली बस्नु पर्दैन।’ फागोले भने, ‘यो कोर्स सिकाउने संस्थाहरू बजारमा प्रशस्तै छन्। तुलनात्मक रूपमा यो अलि महँगो छ। एक, डेढ लाख खर्चिंदा बेसिक कोर्सहरू सिकिन्छ। अरू त आफैंमा भर पर्छ।’
४२ वर्षीय वनिश शाहले भिडियो इडिटिङको क्षेत्रमा काम गरेको २० वर्ष भयो। उनको अनुभवमा कम्प्युटर राम्रोसँग चलाउन जान्नेले यो काम सिक्न सक्छ। करिब ६ महिनादेखि एक वर्ष सिकेपछि सामान्यतया काम गर्न सक्ने भइन्छ। काम सिकेपछि २०–२५ हजारको काम पाउन खासै गाह्रो हुन्न। अनुभवीले भने मनग्ये कमाउँछ। ‘आजकल फिल्म इन्डस्ट्रीमा यसको सम्भावना धेरै छ,’ शाहले भने।
भिजुअल इफेक्टको कमाल

‘जुन काम मान्छेले गर्न असम्भव छ, त्यसलाई भीएफएक्सको माध्यमबाट जस्ताको तस्तै बनाइन्छ। जस्तो कि मान्छे उडेको जस्तो बनाउने, गाडी विस्फोट गर्ने, आगलागीको दृश्य देखाउने, लडाइँमा मान्छे काटेर रगतपच्छे बनाउने, असिनापानी, सुनामी, हुरीबतास देखाउने काम भीएफएक्सले गर्छ।’ भीएफएक्स एडिटर सत्यम रानाले भने, ‘यो नेपाली सिनेमाको क्षेत्रमा नयाँ विषय हो। हामीले नै यसलाई स्थापित गरेका हौं। यो सबै कम्प्युटरको माध्यमबाट गरिन्छ।’
आठ, नौ वर्षको उमेरमा श्यामश्वेत टीभीमा रानाले एउटा हलिउड सिनेमा हेरे। सिनेमाको नाम ट्याक्कै सम्झिन सक्दैनन्, उनी। जसमा मान्छेले गर्न नसक्ने विभिन्न दृश्यले उनको ध्यान खिच्यो। एसएलसीपछि उनले तीनमहिने मल्टिमिडियाको कोर्स लिए। पहिलो दिन नै उनलाई सानैमा आकर्षण गरेको त्यही दृश्य देखाइयो। उनी झन् छक्क परे। उनलाई जेमा रुचि थियो, त्यही सफ्टवेयरसँग उनको जम्काभेट भएको थियो। यसले उनलाई झन् उत्सुक मात्र बनाएन, त्यही काम सिक्ने र जीवन निर्वाहको बाटो खोलिदियो।
भीएफएक्ससम्बन्धी सामान्य काम सिक्न डेढ, दुई वर्ष लाग्छ। राम्रो काम गर्न जान्नेले खाली बस्नु पर्दैन। यसमा अनुभवले पनि खारिइन्छ। रानाले भने, ‘मासिक ३० देखि ४० हजार कमाउन कुनै असजिलो छैन। सुरुमा काम सिक्न अलि खर्चिलो भए पनि खाली बस्नु पर्दैन। नेपाली सिनेमाकै काममा पनि दुई तीन लाख आम्दानी हुन्छ।’
दाङका वसन्त घर्तीमगर क्याम्पस पढ्दा औधी सिनेमा हेर्थे। सिनेमाको हिरो उडेको दृश्यले उनलाई आकर्षित गथ्र्यो। हेर्दै जाँदा कम्प्युटरले बनाएको भन्ने थाहा पाए पनि आफैंले उक्त काम गर्न सकिन्छ भन्ने लागेको थिएन, उनलाई। उनले भारत गएर सोही विषयमा २८ महिनाको कोर्स पूरा गरे। त्यसपछि काम गर्न थाले। कामको खाँचो भएन। दाम पनि भयो। पाँच वर्षअघि उनी काठमाडौं आए।
‘नेपालमा पनि भीएफएक्सको ट्रेन्ड बसेको छ। यो नै खुसीको कुरा हो। मगरले भने, ‘एक डेढ वर्ष सिकेपछि एउटा लेभलको काम गर्ने सक्ने भइन्छ। ३० देखि ३५ हजार आम्दानी गर्न गाह्रो छैन।’ उनको आम्दानी धेरै छ, आफ्नो कामप्रति सन्तुष्ट छन् उनी।
नागरिक अनलाइनमा करिब एक दशक पत्रकारिता गरेका मदन चौधरीले बबरमहलमा भिडियो एडिटिङ गर्ने आफ्नै इजोत मिडिया प्रालि खोलेका छन्। ‘भुरभुरा रहर’ फिल्मको निर्देशन गरी एडिटिङमा लागेका उनी सम्पर्कमा आएका अरूको डकुमेन्ट्रीलगायतको एडिटिङ गर्छन्। भन्छन्, ‘जागिर छाडेपछि केही समय टेन्सन भयो। अहिले जागिरभन्दा राम्रो कमाइ भएपछि म दंग छु।’
फोटोग्राफर ललिता खड्का राम्रो काम गर्ने भिडियो एडिटर नपाएर दिक्क छिन्। ‘सामान्य काम गर्ने बजारमा धेरै छन्। उनीहरूलाई काम लगाउँदा बजारमा प्रतिस्पर्धा गर्न सकिँदैन।’ खड्का भन्छिन्, ‘आजकल प्रोफाइल, डकुमेन्ट्रीका काम धेरै आउँछन्। विवाह भोजजस्ता निजी कार्यक्रमको पनि राम्रा राम्रा भिडियो बनाउने चलन बढेको छ। युट्युबमा धेरैको पहुँच र आकर्षण छ।’ उनको अनुभवमा कामको चाप बढे पनि राम्रो काम गर्नेको बजारमा अभाव नै छ। राम्रो काम गर्ने एडिटर कहिल्यै खाली बस्नु नपर्ने उनको अनुभव छ।
अन्नपूर्णपोस्टबाट

