सोमवार, साउन २८, २०७५
नेपाललाई पछि पार्दै भुटानले आफ्नै भूउपग्र अन्तरिक्षमा पठायो

नेपाललाई पछि पार्दै भुटानले आफ्नै भूउपग्र अन्तरिक्षमा पठायो


  • स्वदेश नेपाल
  • सोमवार, साउन २८, २०७५

मणि दाहाल – बेलाबेला आफ्नै स्याटलाइट अन्तरिक्षमा पठाउनेबारे चर्चा हुने गरे पनि यो दौडमामा नेपाललार्इ भुटानले उछिनेको छ। शुक्रबार भुटानको पहिलो स्याटलाइट भुटान-१ अन्तरिक्षमा पुगेको छ। भुटानका चार विद्यार्थीले जापानमा तयार पारेको क्युबस्याटलाई शुक्रबार अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आइएसएस)बाट ‘लो अर्थ अर्बिट’मा स्थापित गरेको भुटानी सरकारको मुखपत्र कुन्सेलको अनलाइन संस्करणले जनाएकाे हो।

जापानी अन्तरीक्ष एजेन्सी (जाक्सा)को सहयोगमा शुक्रबार भुटान-१ नामको क्युबस्याटलाई अन्तरिक्षमा राखिएको हो।

दक्षिण एशियामा अन्तरिक्ष विज्ञानमा भारत अग्रणि छ। दक्षिणी छिमेकी अन्तरीक्षमा स्याटलाइट प्रक्षेपण गर्न सक्ने विश्वका एक दर्जन देशहरु मध्य पर्छ। दक्षिण एशियाकाे अर्काे मुलुक बंगलादेशले कम्युनिकेसन स्याटलाइट बंगलाबन्धु-१ गत मे महिनामा अन्तरिक्ष पठाएकाे थियाे। भुटानसँगै फिलिपिन्स र मलेसियाले पनि शुक्रबारै अा-अाफ्ना स्याटलाइट अन्तरिक्षमा पठाएका छन्।

भुटानका चार विद्यार्थीले उचाइ, लम्बाइ र चौडाइ दश-दश सेन्टिमिटर रहेको सो सानो क्युबस्याट निर्माण गरेको हुन्। जापानको क्युशु इन्स्टिच्युट अफ टेक्नोलोजी (क्युटेक) को ब्रिड्स-२ परियोजनाअन्तर्गत भुटानी विद्यार्थीले साे स्याटलाइट निर्माण गरेको थिए।

ब्रिड्स अन्तरिक्ष कार्यक्रम कमजोर भएका देशहरुलाई जापानले सहयोग गर्ने परियोजना हो। भुटान सरकारले यसलाई ऐतिहासिक अवसर भन्दै क्युबस्याट भुटान–१ को हुलाक टिकट समेत जारी गरेको कुन्सेलले जनाएको छ।

सानो स्याटलाइटले प्राकृतिक प्रकोप, कृषि विकास र वातावरण संरक्षणको विषयमा सूचना दिनेछ। पृथ्वीबाट ५ सयदेखि १ हजार ५ किमी बीचमा रहने यो स्याटलाइटमा दुई वटा उच्च गुणस्तारका क्यामेरा जडान गरिएका छन्। ती क्यामेरामार्फत हिमताल, ताल, जंगलकाे तस्विर लिनेदेखि आधारभूत कम्युनिकेसन सेवा उपलब्ध हुनेछ। भुटान-१ स्याटलाइट प्रत्येक दिन चार-पाँच पटक भुटानको अाकाशमाथि अाउनेछ। र तीन चार मिनेट समय बिताउनेछ। यो स्याटेलाइटको आयु ६ देखि ९ महिना महिना हुनेछ।

फ्लाेरिडाबाट पठाउने तयारीमा नास्ट

नेपालमा पनि बेलाबेलामा आफ्नो स्याटलाइट राख्ने विषयमा चर्चामा आउने गरेको छ। दूरसञ्चार प्राधिकरणले कम्युनिकेसन प्रयोजनका लागि ठूलो स्याटलाइट राख्ने बताउँदै आए पनि त्यसमा काम अघि बढ्न सकेको छैन। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठा (नास्ट) र विद्यार्थीहरुको छुट्टाछुट्दै समूह अन्तरिक्षमा सानो स्याटलाइट पठाउने तयारीमा छन्। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले जापानको सहयोगमा आफ्नै स्याटलाइट पठाउने तयारी छ।

स्विजरल्याण्डमा रहेर स्पेश प्रविधि कम्पनीमा काम गर्दै आएका राकेश प्रजापतिले पनि इन्जिनिरिङका केही विद्यार्थीसँग मिलेर पकेटक्युब निर्माणको गरिरहेका छन्। नास्टले अर्को वर्षको भदौसम्ममा क्युबस्याट पठाउने तयारी गरिरहेका छन्। प्रजापतिको ओरियन स्पेश र विद्यार्थीहरुकाे नास्टभन्दा अघि नै पठाउने तयारी छ। क्युबस्याट १० सेन्टिमिटर हुन्छ भने पकेटक्युब त्यसको आधा हुन्छ। पहिलो क्युबस्याटको लागि १ करोड ४२ लाख रुपैयाँमा समेत पठाइसकेको छ।

‘अर्को वर्षको अगस्ट महिनासम्ममा अमेरिकाको फ्लोरिडाबाट क्युबस्याट पठाइसक्ने छौं’, नास्टका उपकुलपति प्रा.जीवराज पोखरेलले नेपालखबरसँग भने, ‘त्यस परियोजनाका लागि नास्टका एक वैज्ञानिक छनौट भैसक्नु भएको छ। उहाँ अगस्टभित्रै जापान जानुहुनेछ।’ पोखरेलले अर्को वैज्ञानिक पनि चाँडै छनौट गरेर पठाउने तयारी भइरहेको बताए।

अन्तर्राष्ट्रिय दूरसञ्चार युनियनले नेपालका लागि साढे तीन दशक अघि नै स्याटलाइट राख्नका लागि स्थान (स्लट) छुट्याए पनि त्यसको उपयोग हुन सकेको छैन। नेपालले आग्रहमा युनियनले स्याटलाइट राख्ने समयावधि थप्दै आएको छ।

नेपालखबरबाट

प्रतिक्रिया
सम्बन्धित समाचार