आइत, चैत्र १६, २०७६
Sun, March 29, 2020

सेती नदीमा कसरी आयो सिसै–सिसा ?


  • स्वदेश नेपाल
  • शनि, असार ३०, २०७५

जुन दिन बझाङ सदरमुकाम चैनपुरको नहरमा अलि ठूलो पानी आउँछ, त्यो दिन सेती नदी किनारको पानकोट पुलछेउ चिया पसल सञ्चालन गरेर बसेका कैलाशका झरेन्द्र खड्काको परिवारको निद्रा खोसिन्छ । उनको परिवारमात्र होइन, पानकोट पुलको छेउछाउ रहेका अन्य घरका मानिसहरू पनि सुत्न सक्दैनन् ।

नहरमा बगाइएका सिसाका बोतलहरू एकआपसमा ठोक्किएर निस्कने आवाज यति चर्काे हुन्छ कि छेउका घरमा सुतेका मान्छेहरू पनि तर्सेर व्युँझिन्छन् ।

‘नहरमा बढी पानी आएको दिन रातभर रक्सीका बोतलहरू बगाउँछन्’, झरेन्द्रले भने, ‘हाम्रो अगाडिको नहर अलि भिरालो भएकाले होला । सुत्नै नसकिनेगरी सिसा बज्छन् ।’ निदाएका केटाकेटी पनि त्यो आवाजले तर्सेर व्युँझिने गरेको उनले बताए । उनले आफ्नो घर अगाडिको नहरमा कति सिसा बग्छ भन्ने हिसाब त गरेका छैनन् । तर बजारभरिबाट निस्कासन हुने सिसाका बोतल यही नहर भएर सेती नदीमा मिसिने गरेको ठोकुवा गर्छन् । उनी भन्छन्, ‘बजारभरिका सबै होटल र घरबाट निस्कने सिसाका बोतल र फोहोर बगाउने नहर नै यही हो । अन्त फाल्ने ठाउँ कहाँ छ र ?’

२०६३ जेठमा बसेको सर्वदलीय बैठकले व्यापारीहरूको दबाबमा २०५४ सालमा जिल्ला विकास समितिले गरेको निर्णयलाई उल्ट्याउँदै बझाङमा मदिराको सेवन र बिक्री–वितरणलाई पुन: खुला गरेपछि सेती नदी र त्यस वरपरका खोलानालामा फोहोर र सिसाका डंगुर लाग्न थालेका हुन्। यसरी फालिएका सिसा र फोहोरबाट उत्पन्न प्रदूषणका कारण त्यहाँ मानिस मात्र होइन, सम्पूर्ण परिस्थितीय प्रणाली (इकोसिस्टम) नै प्रभावित हुने खतरा बढेको छ ।

जयपृथ्वी नगरपालिकाको बजार क्षेत्रबाट निस्कने सिसा लगायतका फोहोर सुरक्षित तरिकाले विसर्जन गर्ने ठाउँको अभावमा सबैले फोहोर फाल्ने ठाउँ भनेकै सेती नदी र बाहुली गाडमा हो । बाहुली गाड पनि सेती नदीमै गएर मिसिन्छ । ‘धेरैजसोले नहरमा फाल्छन् । कसै–कसैले सोझै लगेर सेती नदी वा बाहुली गाडमा फाल्छन्’, चैनपुरका सन्तोष सिंहले भने, ‘जहाँ फाले पनि नदीमा नै मिसिने हो ।’ पानकोट, छोरे बगर, सिम्ली रुख, नजिक सेती किनार र बसपार्क, पुरानो बैंक पछाडि, पक्की पुल, पीपल बोट आदि ठाउँमा बाहुली गाड खोलाको किनारमा सबैभन्दा बढी सिसा र अन्य फोहोर थुप्रिएको छ । अनि यी सबै सिसा र फोहोर नदीमा पुग्छन् ।

सदरमुकाम चैनपुर र आसपासका क्षेत्रबाट नगरपालिकाले उठाउने गरेको फोहोर फाल्ने ठाउँ पनि बाहुली गाड र सेती नदी नै हो । अहिले नगरपालिकामा हुने फोहोर बाहुली गाड खोलाको किनारमा निर्माणाधीन बसपार्कको खाल्टोमा फाल्ने गरिएको भए पनि केही महिनाअघि नगरपालिकाले पनि गाडीमा फोहोर संकलन गरेर सोझै बाहुली गाड किनारमा लगेर थुपार्ने गथ्र्यो ।

किनारमा थुपारिएको फोहोरमा आगो लगाउने गरिएको भए पनि धेरैजसो फोहोर सिसाजन्य हुने गरेको र नबलेर सिधै नदीमा मिसिने गरेको नगरपालिकाको फोहोर उठाउने गाडीका चालक पदम थापाले बताए । ‘दैनिक संकलन हुने फोहोरमा बढी सिसा नै हुन्छ’, उनले भने, ‘अरू फोहोर जल्ने भए पनि सिसा जल्दैन । सबै नदीमै गएर मिसिन्छ ।’

परिस्थितीय प्रणालीमा असर
यार्सा तथा जडिबुटी संकलक, उरै भञ्ज्याङको बाटो भएर तिब्बत जाने यात्री र यस क्षेत्रका नदी किनारमा खोलिएका अस्थायी होटलहरूका कारण सेती नदीको मुहानदेखि नै सिसा र फोहोर मिसिने गरेको पाइन्छ ।

कैलास मानसरोवर जाने यात्री र यार्सा लगायत अन्य जडिबुटी संकलनकर्ताका लागि लक्षित गरेर काँडाको धुलीदेखि खोपासम्म सेती नदीको किनारमा खोलिएका होटलबाट निस्कने सिसाका बोतल र कुहिने तथा नकुहिने फोहोर सेती नदीमा विसर्जन गर्ने गरेको कारण नदीमा फोहोर थुपिँ्रदै गएको स्थानीयहरू बताउँछन् ।

समुद्र सतहदेखि झन्डै ५ हजार मिटर उचाइमा रहेको कालंगा सेतीको मुहान हो । यहाँ रहेका होटलहरूले पलास्टिक, सिसा लगायत होटलबाट निस्कने सबै खालका फोहोर फाल्ने ठाउँ सेतीकै मुहान भएको कारण प्रत्येक वर्ष मुहानमा फोहोर थुप्रिँदै गएको साइपाल गाउँपालिका धुलीका लालसिंह बोहराले बताए । कालंगाभन्दा तल खोलिएका ४ दर्जनजति होटल र पसलको फोहोर सेती नदीमा नै फाल्ने र पानी अभावका कारण यसै नदीको पानी पिउने, पकाउने र सरसफाइ गर्न उपयोग गर्ने गरेको उनले बताए । फोहोर फाल्नेमात्र नभई शौचालयको व्यवस्था नहुँदा यो बाटो भएर आवत–जावत गर्ने र व्यापार/व्यवसाय गर्नेहरूको मानव मलमूत्र त्याग गर्ने सुरक्षित थलो पनि सेती नदी नै हो । ‘सबैले यस्तैगरी चलाएका छन् । हामीले किन व्यवस्थित गर्ने ?’ दहचौरस्थित होटल व्यवसायी धनबहादुर बोहराले भने, ‘यत्रो फोहोर व्यवस्थापन गर्नतिर लाग्ने कि होटल गरेर बस्ने ?’

पिउने पानीको वैकल्पिक व्यवस्था नभएका कारण मुहानमा फोहोर छ भनी जान्दाजान्दै पनि सेतीको पानी पिउनुपर्ने बाध्यता रहेको अर्का होटल सञ्चालक महिमान तामाङले बताए । फोहोर व्यवस्थापनबारे उनले भने, ‘एकको प्रयासले मात्र यो सम्भव छैन । समयमै सबैले थालनी गरे सेती नदीलाई प्रदूषण मुक्त गर्न नसकिने होइन ।’ चैतदेखि असोजसम्ममा २५ हजारभन्दा बढी भेडामा तिब्बतबाट मदिरा आउने गरेको बताउँदै उनले ती सिसालाई व्यवस्थापन गर्नसके मुहान सफा हुने बताए । साइपाल गाउँपालिकाका मानबहादुर बोहराले चिन्ता व्यक्त गर्दै भने, ‘यसले यहाँ आउने पर्यटकहरूलाई त नराम्रो सन्देश दिन्छ नै । जलीय पारिस्थितिकीय प्रणालीमा पनि नराम्रो असर पर्न जान्छ । त्यसैले समयमै यसको नियन्त्रण आवश्यक छ ।’

सिसाजति नदी र खोलामै
साइपाल गाउँपालिका र जयपृथ्वी नगरपालिका मात्र होइन । जिल्लाभरिबाट उत्पादन हुने सिसाजन्य फोहोरको विसर्जन गर्ने सजिलो ठाउँ भनेको नदी, खोला नै हुने गरेको छ । गाउँतिरका नदी खोलाहरूमा कम मात्रामा सिसा विसर्जन गरिने भएका कारणले जोखिम कम भए पनि सेती नदीमा भने दैनिक ठूलो मात्रामा सिसा विसर्जन हुने गरेको छ ।

बझाङलाई अन्य जिल्लासँग जोड्ने मुख्य सडक (जयपृथ्वी राजमार्ग ) सेती नदी किनारै–किनार भएर केदारस्युँ गाउँपालिकाको देउरादेखि तलकोट गाउँपालिकाको रुपातोलासम्म पुगेको छ । यसभन्दा माथि पनि सेतीको किनारमा राजमार्ग निर्माणको काम भइरहेको भए पनि गाडी सञ्चालनमा छैन । तर अहिले गाडी सञ्चालनमा भएको ठाउँमा रहेका केदारस्युँ गाउँपालिकाको देउरा, रायल, आनन्दपुर, सहजपुर, झोता, झोताको मल्लो बजार, दुर्गाथली गाउँपालिकामा रहेका सुडी खोला, झनाना र मौरी बगर बजार क्षेत्रबाट उत्पादन भएको टनका टन सिसा सोझै सेती नदीमा मिसाउने गरिएको छ ।

छब्बिस पाथीभेरा गाउँपालिकाको भाँडे बगर, भ्यागुते गाड, मालुमेलाको बजार क्षेत्र, जयपृथ्वी नगरपालिकाको तमैल, सुवेडा, भोपुर र तलकोट गाउँपालिकाको सुनिकोट, धमेना रुपातोलामा रहेका बजारबाट ठूलो मात्रामा उत्पादन हुने सिसा सोझै सेती नदीमा मिसाइने गरेको छ । ‘देउरा बजारबाट मात्रै दिनकै १/२ ट्रक सिसा सेती नदीमा फाल्छन् होला’, देउरामा लामो समयदेखि डेरा गरेर बसिरहेका दंगाजीका गणेश सायरले भने, ‘भएभरको सिसा फाल्ने ठाउँ नै सेती नदी हो ।’

सेती नदीको सहायक नदीको रूपमा रहेका साइपाल गाउँपालिकाको घाटगंगा, इंगलद्धार, गनइगाड, तलकोट गाउँपालिकाको लिस्नीगाड, भैत्यागाड, तलकोटी गाड सुकगाड, सुनिगाड, मष्टा गाउँपालिकाको द्धारीगाड, लाछीगाड, डुङ्ग्रीगाड लगायतका खोला र नदीहरू यस क्षेत्रका बासिन्दाले सिसा विसर्जन गर्ने ठाउँ हुन् ।

यस्तै जयपृथ्वी नगरपालिकाको कचाली खोला, गोलाइगाड, डिलगाड, खप्तड छान्ना गाउँपालिकाको जडारीगाड, छब्बिस पाथीभराको भ्यागुते खोला, दुर्गाथलीको तारुगाड, थलारा गाउँपालिकाको थलारीगाड, केदारस्युँ गाउँपालिकाको जुइलीगाड, नारुगाड, कांलगा लगायत सेती नदीका दर्जनांै सहायक नदी र खोलाहरू पनि स्थानीयको सिसा थुपार्ने स्थान हुन् । भिरालो सतह भएका यी सबै खोलाले सिसा बगाएर सेती नदीमै पुर्‍याउँछन् ।

तलकोटदेखि देउरासम्म सेतीको सतह समथर भएका कारण सबै सिसा यतै आएर थुप्रिने गरेको छ । ‘अन्त कहाँ फाल्ने ? जमिनमा फालौं भने सिसा बिझ्ने, केटाकेटीहरू घाइते हुने जोखिम हुन्छ’, खप्तड छान्ना गाउँपालिकाका मंगलबहादुर खड्काले भने, ‘खोलामा फाल्दा बगाएर लैजान्छ । सबैले सिसा फाल्ने ठाउँ खोला नै हो ।’

पानी प्रदूषित
बझाङ सदरमुकाम चैनपुरका बासिन्दाको खानेपानीको मुख्य वैकल्पिक स्रोत सेती नदी नै हो । पिउन, लुगा धुन र नुहाउन सबैभन्दा बढी सेतीको पानी प्रयोग गर्ने चैनपुरले नै सेतीमा सबैभन्दा बढी सिसा, प्लाष्टिक र अन्य फोहोर मिसाउने ठाउँको रूपमा परिचय बनाएको छ । धारामा पानि नआउँदा सबैले सेती नदी र बाहुलीगाडकै पानी प्रयोग गर्नुपर्ने बाध्यता छ । तर नदीको पानी पछिल्लो समय प्रदूषित बन्दै गएको कारण समस्या हुनथालेको स्थानीयहरू बताउँछन् ।

सेती नदी र बाहुलीगाडको पानी प्रदूषित हुँदै गएपछि त्यहांँ नुहाउँदा पनि छालाजन्य रोगको संक्रमण हुनथालेको यहाँंका बासिन्दा बताउँछन् । ‘यहांँको पानीले नुहाएको १/२ घन्टापछि जीउ चिलाउन थालिहाल्छ’, स्थानीय डबल खड्काले भने, ‘शरीरमा विमिरा आउने, घाउ पाक्ने हुनथालेको छ । २/३ वर्ष पहिला यस्तो हुँदैनथ्यो’, पानी शुद्ध नभए पनि अन्य व्यवस्था नहुँदा त्यही प्रदूषित पानी प्रयोग गर्नुको विकल्प आफूहरूसंँग नभएको उनले बताए ।

जिल्ला स्वास्थ्य कार्यालय बझाङको तथ्याङ्क अनुसार बझाङमा पछिल्लो समय पानीजन्य संक्रमणका बिरामीको संख्यामा प्रत्येक वर्ष वृद्धि भइरहेको छ । आर्थिक वर्ष २०७२/७३ मा यस जिल्लामा १० हजार ७ सय ७२ जना पानीजन्य रोगबाट संक्रमित भएका थिए भने आर्थिक वर्ष २०७३/७४ मा यसरी संक्रमित हुनेको संख्या बढेर १९ हजार ४४ पुगेको थियो ।

यस वर्षको फागुनसम्मको तथ्याङ्क अनुसार बझाङमा दूषित पानीका कारण १० हजार १०१ जना बिरामी भएको र गर्मीयाममा यस्ता बिरामी बढी हुने भएकाले गत वर्षभन्दा यस वर्ष पानीजन्य रोगको संक्रमणबाट गत वर्षभन्दा धेरै मानिस प्रभावित हुने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गंगा जोशी अनुमान गर्छन् । यस्ता रोगहरूमा टाइफाइड, हेपाइटाइटिस ए, हेपाइटाइटिस ई, जन्डिस, आउँ, झाडापखाला जस्ता बिरामीको संख्या अधिक हुने गरेको जोशीले बताए । यसका अलावा यहाँका केटाकेटी, युवा र वयस्कहरूले उन्मुक्त भएर पौडीको आनन्द लिने ठाउँ पनि हो । तर केही वर्षयता सेती नदीमा सिसाको मात्रा बढ्दै गएका कारण नुहाउन पनि जोखिम भएको छ ।

‘धेरै ठाउँमा पौडी खेल्नै छोडिसके’, थलारा गाउँपालिका ९ मालुमेलाका रवि खड्काले भने, ‘नदीमा सिसै–सिसा छ । पौडी खेल्न गएकाहरू सिसाले काटेर घाइते भइरहेका छन् ।’

पौडी खेल्ने बाहेक भदौदेखि जेठसम्म नदीमा जाल खेलेर माछा मार्ने काम नदी किनारका बासिन्दाको संस्कृति नै हो । जाल थापेर माछा मार्न नदीको निश्चित खालको सतह र पानीको बहाव चाहिन्छ । पानीको प्रवाह कम भएको र माछाहरू खेल्न मिल्नेसम्म परेको ठाउँमा जालमा बढी माछा फँस्ने गर्छन् ।

तर नदीमा मिसाइएको सिसाका कारण पहिला धेरै जाल खेल्ने ठाउँमा आजभोलि पस्नै नसकिनेगरी सिसा भेटिने गरेको र मानिसहरू घाइते हुने गरेको भुक्तभोगीहरू बताउँछन् । विशेषगरी नदी किनारमा रहेका बजार क्षेत्रको आसपास त पानीमा खुट्टा राख्नै नमिल्नेगरी सिसा फालिएका कारण स्थानीयको जाल खेल्ने पेसासमेत संकटमा पर्नथालेको छब्बिस पाथीभरा गाउँपालिका–१ मटेलाका लोकेन्द्र गिरीले बताए ।

‘पहिला जस्तो जाल खेल्नै छोडिसके’, उनले भने, ‘जाल खेल्न मिल्ने धेरैजसो ठाउँमा खुट्टा टेक्न नमिल्नेगरी सिसा थुप्रिएको छ ।’ खाली खुट्टा नदीको आधा भागसम्म गएर जाल हान्नुपर्ने र नदीमा जताततै सिसै–सिसा भएका कारण खुट्टा काट्ने डरले जलेरु (जाल खेल्ने मानिस) हरू जान डराउने गरेका छन् ।

खोला तथा नदीबाट ल्याइएका सिंचाइ कुलो र नहरबाट सिंचाइ हुने खेतमा सिसाका टुक्रा बगेर आउने भएका कारण खेतमा काम गर्दा पनि घाइते हुनेहरूको संख्या दिन–प्रतिदिन बढ्दो छ । ‘कति बेला सिसाले काट्छ भनेर डराई–डराई काम गर्नुपर्ने अवस्था छ’, चैनपुरका जीवन सुनारले भने, ‘खोलामा फालेका सिसाका टुक्राजति सबै नहरले बगाएर खेतमा थुपारेको छ ।’ रोपाइँ गर्ने क्रममा दैनिक ५/७ जना घाइते हुने गरेको उनले बताए ।

जलचरमा असर
सेती नदीमा पाइने हिमालयन ट्राउट (असला) माछा स्वादको हिसाबले देशभर प्रख्यात छ । बाहिरी जिल्लाबाट बझाङ आउनेहरूले होस् वा बझाङबाट बाहिर जिल्लाका मानिसका लागि होस्, सबैले सम्झिने कोसेली सेतीको माछाको सुकुटी नै हो ।

पछिल्लो समय धनगढी महेन्द्रनगरसम्म पनि सेतीको आलै माछासमेत कोसेलीका रूपमा पुग्ने गरेको छ । नदीमा सिसा, पलाष्टिकजन्य र अन्य फोहोरको मात्रा बढ्दै जाँदा यसको उत्पादन प्रत्येक वर्ष घट्दै जानथालेको स्थानीयको अनुभव छ । ‘रक्सीका बोतलहरू नदीमै फालिएका छन् । भएभरको फोहोर नदीमै फालेका छन् ।

माछा मात्र होइन, केही वर्ष पहिला प्रशस्त मात्रामा पाइने पानी ओद (पानीमा बस्ने एक खालको मृग) पनि लोप भइसकेको स्थानीयहरू दाबी गर्छन् । माछाको आहार गर्ने यो जनावर केही वर्षदेखि देखिन छाडेको थलाराका जनक खड्काले बताए । उनले भने, ‘हाम्रो गाउँ नजिक नदीमा प्रत्येक वर्षजसो देखिने ओद २/३ वर्षजति भयो, देखिनै छोडेको छ । नदीमा माछा घटेकाले हराएका हुन् कि भन्ने हाम्रो अनुमान छ ।’ उनका अनुसार पहिला–पहिला प्रशस्त देखिने पानीहाँस (स्थानीय भाषामा जलेवा) पनि आजकाल देखिन छाडेका छन् ।

सेती नदीको पानीको शुद्धता र त्यहाँको जलीय पारिस्थितिकीय प्रणाली (वाटर इकोसिस्टम) बारे अध्ययन गरिरहेका पानीविज्ञ डा. दीपक रिजाल पनि उनको भनाइसँग सहमत छन् । ‘सेती नदीमा फालिएको सिसाका कारणले माछामात्र होइन, अन्य जलचरहरूको परम्परागत बासस्थान नै जोखिममा परेको छ,’ रिजाल भन्छन्, ‘बजारभरिको अन्य फोहोरसमेत सोझै नदीमा मिसाइएका कारण पानी विषाक्त बन्दै गएको छ । यसले जलचर मात्र नभएर सेती नदीको पानी प्रयोग गर्ने मानव र पशुपन्क्षीको स्वास्थ्यमा पनि ठूलो असर पारिरहेको छ’, यसरी सिसा नदीमा मिसाउँदा नदीमा भएका सबै खालका जलचरको बासस्थान बिग्रँदै जाने र दीर्घकालमा नदी नै अप्राकृतिक (मृत) हुने उनको भनाइ छ । यसरी नै नदीमा फोहोर मिसाएका कारण नेपालका धेरै नदी जीवात्मारहित (मृत) नदीको रूपमा परिणत भइसकेको उनी बताउँछन् ।

नदीमा सिसा, पलाष्टिक र अन्य फोहोरहरू सोझै मिसाउनु अपराध भएको बताउँदै जैविक विविधता विज्ञ डा. तीर्थबहादुर श्रेष्ठले यसले नदीमा रहेका जीवहरूको अस्तित्व नै लोप हुने बताए । उनले भने, ‘जैविक विविधता संरक्षणको हिसाबले यो कहालीलाग्दो अवस्था हो । यसले कहाँ कस्तो असर परेको छ भन्ने प्रश्नै हँदैन । यो सरासर अपराध हो ।’

यस्तै माछाविज्ञ टेक गुरुङले पानीमा सिसा र पलाष्टिकजन्य फोहोर मिसाउँदा माछालाई मात्र नभई त्यहाँ भएका सबै जीवजन्तुलाई असर पर्ने बताए । उनले भने, ‘एउटा जीवलाई असर पर्ने बित्तिकै समग्र खाद्य चक्रमा नै समस्या खडा हुन्छ । यसले गर्दा पानीमा भएका सबै जीवजन्तुलाई असहज अवस्था पैदा हुने गर्छ ।’ माछाको आहार गर्ने ओद लोप हुनुका कारण पनि यही भएको उनले बताए । उनी भन्छन्, ‘प्राकृतिक वातावरण मासिएपछि माछा पाउन छोड्यो । माछा पाउन छाडेपछि ओदलाई समस्या भयो ।’

पवित्रतामा प्रश्न
आठौं शताब्दीमा महर्षि वेद व्यासले लेखेको हिन्दुहरूको धार्मिक ग्रन्थ मानसखण्डमा सेती नदीलाई सीता नदीको रूपमा वर्णन गरिएको छ । उक्त ग्रन्थमा पुलह नाम गरेका ऋषिले उरु क्षेत्र (अहिलेको उरैलेक) मा वर्षाैंसम्म भगवान शिवको तपस्या गरेपछि सीता नदीको उत्पत्ति भएको कुरा उल्लेख छ ।

कैलाश पर्वतबाट उत्पन्न हुने गंगा नदीको जल गर्भस्थ भई उरु क्षेत्रमा प्रकट भएको र कालान्तरमा यसै नदीलाई सेती नदीको नामले पुकार गरिने उक्त ग्रन्थमा उल्लेख छ । यसर्थ यस नदीको पानी गंगाको नदीसरह नै पवित्र भएको मान्यता छ । नन्दिनी, नलिनी, सीता (सेती) मालती, महापदा, विष्णुपदा र विसंभृत्य ७ वटा नदी मिलेर गंगानदी बनेका कारण यी नदीहरू पनि गंगा नै भएको मानसखण्ड पुराणमा उल्लेख गरिएको छ ।

पौराणिक कालमा यस नदीका शाखा नदीहरू मिसिने विभिन्न संगमस्थलमा और्य, अत्री लगायतका ऋषिमुनिहरूले तपस्या गरेर सिद्धि प्राप्त गरेको कुरासमेत उक्त ग्रन्थमा उल्लेख गरिएको छ । और्य ऋषिले तपस्या गरेको स्थान आगर र अत्रीले तपस्या गरेको स्थान तपोवनमा अहिले पनि यहाँका स्थानीयहरू श्रद्धापूर्वक पूजाआजा गर्ने गर्छन् ।

गंगा नदीकै स्वरूप भएका कारण सेती नदीको जल वर्षाैंसम्म भरेर राख्दा पनि किरा नपर्ने र नगन्हाउने गरेको सेती नदीको धार्मिक महत्त्वबारे लामो अध्ययन गरेका पूर्वसचिव विष्णुप्रसाद खत्री बताउँछन् । ‘गंगा नदीको जति धार्मिक महत्त्व छ, त्यत्तिकै धार्मिक महत्त्व सीता (सेती) नदीको पनि छ’, उनी भन्छन्, ‘अहिले पनि यस नदीका हरेक दोभान र त्रिवेणीमा भएका शक्तिपीठहरूले नदीको पवित्रता पुष्टि गरेको छ ।’

केही वर्ष अघिसम्म यस नदीलाई स्थानीयले गंगा नै भन्ने गरेको र नदी किनारका बासिन्दाले पाहुनाको स्वागतका लागि गंगाबाट तत्काल ल्याएको पानी ख्वाउने चलन रहेको बताउँदै उनले नदीको स्वच्छता बिघदै गएकोप्रति चिन्ता व्यक्त गरे । ‘७/८ वर्षमै पानी खानै नमिल्नेगरी नदीको स्वच्छता बिग्रिएको छ । नदीमा फोहोर मिसाउने यो क्रम रोकिएन भने केही वर्षमै सेती नदी पनि अर्काे वाग्मती हुनसक्छ ।’

बझाङ राज्य र यहाँ धार्मिक इतिहासका समेत लामो अध्ययन गरेका प्रा. विष्णुभक्त शास्त्रीले जथाभावी फोहोर मिसाइएका कारण सेती नदीको पवित्रतामाथि नै प्रश्न उठेको बताए । ‘रक्सीका बोतल त्यतै भरिएका छन् । जिल्लाभरिको सबै खालको फोहोर सेतीमै थुपारेका छन्’, उनले भने, ‘५/७ वर्ष अघिसम्म ढुक्क भएर पिउन सकिने यहाँको पानीमा अब नुहाउन र लुगा धुन पनि नसकिने अवस्था भइसक्यो । यस्तै भइरह्यो भने यसको पवित्रता कसरी कायम रहन सक्छ ?’

कति होला सिसा ?
यस जिल्लामा २०५४ साल अघिसम्म न्यून मात्रामा मात्र मदिरा खपत हुने गरेको थियो । २०५४ सालमा तत्कालीन जिल्ला विकास समितिले बझाङलाई मदिरा निषेधित क्षेत्र (ड्राइ एरिया) घोषणा गरेपछि रक्सीको खपत निकै घट्यो । घरेलु मदिराको लुकिछिपी कारोबार भइरहेको भए पनि सिसाका बोतलमा प्याक भएर आउने मदिरा भने बन्द नै भयो । २०६३ सालमा दोस्रो जनआन्दोलन सफल भयो ।

७ राजनीतिक दलको प्रत्यक्ष र तत्कालीन विद्रोही माओवादीको अप्रत्यक्ष सहभागितामा आन्दोलन सफल भएसंँगै सर्वदलीय संयन्त्रमार्फत शासन सञ्चालन हुने शैलीको विकास भयो । जनआन्दोलन सफल भएसंँगै २०६३ जेठमा बसेको सर्वदलीय सर्वपक्षीय बैठकले व्यापारीहरूको दबाबमा २०५४ सालमा जिल्ला विकास समितिले गरेको निर्णयलाई उल्ट्याउँदै बझाङमा मदिराको सेवन र बिक्री–वितरणलाई पुन: खुला गरियो ।

त्यो बेला यहांँ सडक यातायातको पहुंँच नपुगेका कारण व्यापारीहरूले हवाइजहाज चार्टर गरेर बझाङमा मदिरा भित्र्याउन थाले । दैनिकजसो ४/५ वटा मदिरा बोकेका निजी विमानसेवाका जहाजहरू बझाङ विमानस्थलमा अवतरण हुन्थे । आर्थिक वर्ष २०६३,६४ मा मात्र बझाङमा ३० करोडभन्दा बढीको सिसामा प्याक भएका ब्रान्डेड मदिरा हवाइजहाज मार्फत भित्रिएको तत्कालीन बझाङ उद्योग वाणिज्य संघका अध्यक्ष ओमजंगबहादुर सिंह बताउँछन् ।

२०६६ सालमा सदरमुकामसम्म गाडी पुगिसकेपछि हवाइजहाजबाट आउने रक्सीका सिसीहरू ट्रकमा खाँदिएर जिल्ला भित्रिन थाले । कति सिसा बझाङ भित्रिन्छ भन्ने यकिन तथ्याङ्क कुनै पनि निकायसँंग नभए पनि १२ स्थानीय तह भएको यस जिल्लामा साविकका ४७ गाविसमा मदिरा बिक्री गर्न ३ सय ७९ जनाले लाइसेन्स लिएको कोष तथा लेखा नियन्त्रण कार्यालयको तथ्याङ्क छ । ग्रामीण क्षेत्रका झन्डै १ हजारभन्दा बढी साना व्यापारीहरूले अनुमति नै नलिएर मदिरा बिक्री गर्ने गरेको कोलेनिकाका कर्मचारीहरू नै बताउँछन् ।

‘दैनिक १०–१५ ट्रक मदिरा धनगढीबाट बझाङ आउँछ’, बझाङ उद्योग वाणिज्य संघका अध्यक्ष दानबहादुर सुर्मेली भन्छन्, ‘त्यसमा आउने भनेको सबै सिसा नै हो । कति सिसा आउँछ भनी हिसाब त कसैले गरेको छैन’, उनले पुन: प्रयोगको व्यवस्था नभएका कारण जिल्ला भित्रिएको सबै सिसा नदी र खोलामै फाल्ने गरिएको बताए ।

केही गाउँमा प्रहरीको सहयोग लिएर स्थानीय आमा समूह, युवा क्लबहरूले मदिरा बिक्री–वितरणमा रोक लगाएको भए पनि वर्षमा ९० करोड रूपैयाँ हाराहारीमा कानुनी रूपमा मदिरा आयात हुने गरेको उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष एवं मदिराका थोक बिक्रेता जगत मल्ल बताउँछन् । यस अतिरिक्त वार्षिक करिब २० करोडभन्दा बढीको मदिरा गैरकानुनी रूपमा तिब्बतबाट यस जिल्लामा आउने गरेको छ । यो सबै मदिरा सिसाका बोतलहरूमा आउने गरेको उनले बताए ।

नियन्त्रणको पहल शून्य
सेती नदी र यसका सहायक खोला र नदीहरू सिसा, पलाष्टिक लगायतका फोहोर मिसिनाले दिन–प्रतिदिन प्रदूषित हँ‘दै गर्दा स्थानीय बासिन्दाको पानीको स्वच्छताप्रतिको चिन्ता बढिरहेको छ । तर फोहोरको व्यवस्थापन गर्ने मुख्य जिम्मा पाएका स्थानीय तहले भने यसप्रति कुनै चासो दिएको पाइँदैन ।

सेतीमा सबैभन्दा बढी सिसा, पलाष्टिक र अन्य फोहोर मिसाउने जयपृथ्वी नगरपालिकामा फोहोर व्यवस्थापन गर्ने शाखा नै हुनुपर्ने हो । यद्यपि न यहाँ फोहोर व्यवस्थापन शाखा छ, नत कुनै कर्मचारीलाई यसको जिम्मेवारी नै तोकिएको छ । उल्टै बजारभरिबाट नगरपालिकाको गाडीले संकलन गरेको फोहोर नदी किनार र आसपासका क्षेत्रमा नगरपालिकाले नै फाल्ने गरेको छ ।

सेती नदीको प्रदूषण र यसको नियन्त्रणबारे जिज्ञासा राख्दा नगरपालिकाका प्रमुख वीरेन्द्र खड्काले सेती नदीको अवस्था सामान्य नै भएकोले चिन्ता गरिहाल्नुपर्ने अवस्था नरहेको बताए । ‘चिन्ता गरिहाल्नुपर्ने अवस्था मैले देखेको छैन’, उनले भने, ‘कहीं कसैले जनचेतनाको कमीका कारण त्यसरी नदीमा फोहोर फालेका होलान् । यस विषयमा हामी चेतनामूलक कार्यक्रम सञ्चालन गर्नेछौं’, उनले त्यति धेरै सिसा, पलाष्टिक र अन्य फोहोर सेतीमा फालिएको छ भन्ने आफूलाई नलागेको र त्यसो गरिएको भए नियन्त्रणका लागि प्रयास गर्ने हलुको जवाफ फर्काए ।

सेती नदीमा माछा पाउन छोडेको बारे गरिएको प्रश्नका जवाफमा उनले भने, ‘पहिलाको भन्दा माछा मार्नेहरूको संख्या अचेल बढेको छ । त्यसै कारण माछा पाउन छोडेको होला । फोहोरका कारणले हो जस्तो लाग्दैन ।’ उनले फोहोरका कारणले नै त्यसो भएको भए त्यसको नियन्त्रणका लागि पहल गर्ने बताए ।

‘यस्ता कुरामा कसैको ध्यान नै गएको छैन’, जयपृथ्वी नगरपालिकाका रमेश केसीले व्यंग्य गर्दै भने, ‘जनप्रतिनिधि बाटो खन्नमै व्यस्त छन् । यस्ता कुरामा ध्यान दिने फुर्सत नै छैन’, उनले सेती नदीको स्वच्छता कायम राख्न तत्काल पहल चाल्न नसके केही वर्षमै समस्या जटिल बन्ने चिन्ता गरे ।

जयपृथ्वी नगरपालिका मात्र होइन जिल्लाका सबै स्थानीय तहका जनप्रतिनिधिहरू र संरक्षणको क्षेत्रमा काम गर्ने निकायहरू कसैले पनि यस विषयमा सोच्न भ्याएका छैनन् । केदारस्युँ गाउँपालिकाको सबैभन्दा बढी सिसा र फोहोर सेतीमा मिसाउने देउरा क्षेत्रका वडा अध्यक्ष लोकेश भण्डारीले भने, ‘सिसाले असर त धेरै पारेको छ । यस विषयमा त हामीले ध्यान नै दिएका रहेनछौं ।’ उनले आफ्नो क्षेत्रबाट नदीमा मिसिने फोहोर नियन्त्रणका लागि योजना नै बनाएर लागू गर्ने प्रतिबद्धता जनाए ।

यता साइपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्र धामीले पनि सेती नदीको मुहान क्षेत्रमा रहेको सिसा र प्रदूषणका कारण त्यहाँ मानिसमात्र होइन, भेडा, च्याङ्ग्रा, चौंरी र खच्चडलाई पनि हिँडडुल गर्न समस्या हुनथालेको बताए । ‘मुहानमा सिसा फाल्ने समस्याले ठूलो रूप लिँदै गएको छ । अहिले त्यो क्षेत्रमा मान्छेमात्र नभएर पशुचौपाया पनि हिँडाउन गाह्रो भइरहेको छ’, उनले भने, ‘सामान्य प्रयासले यो समस्या समाधान नहुने भएकाले योजना बनाएरै यसको नियन्त्रण गर्ने सोच बनाएका छौं ।’ उनले यस वर्ष नदीको मुहानलाई सिसामुक्त बनाउन सरसफाइ अभियान थालेको भए पनि सिसाको परिमाण अधिक भएका कारण अभियान सफल नभएको बताए ।(कान्तिपुरबाट साभार गरिएको हो)

प्रतिक्रिया
ताजा अपडेट