नीति निर्माण गर्न जनताको भोट लिएर संसद छिरेका सांसदहरु देश र जनतालाई काम लाग्ने नीति होइन, आफुलाई काम लाग्ने नीति बनाइरहेका छन् ।
अब कुनै सांसद अपराधिक गतिविधिमा संलग्न भएको अभियोगमा पुर्पक्षका लागि थुनामा गए उनको सांसद पद निलम्ब नहुने भएको छ । दर्शकहरुलाई स्मरण गराऔँ कि संविधान सभाको पहिल्यै र दोस्रो कार्यकालमा निर्मित कार्यसंचालन नियमावलीले सांसदलाई फौजदारी अभियोग लागेमा, पक्राउ पर्ने वित्तिकै पदबाट निलम्बन हुने व्यवस्था गरेको थियो ।
तर आज भर्खरै सिंहदरबारमा बसेको समितिको बैठकले अपराध गर्दा पनि सांसद पद रहिरहने, अपराधिक गतिविधिमा संलग्न हुँदा पनि, अपराधिक काम गरेपनि उन्मक्ति दिने सहमति गरेको छ ।
सांसद कानुन भन्दा माथी हुने गरी ल्याउन लागिएको यो नियमावलीले स्पष्ट पार्दछ की नीति निर्माताहरु देश र जनताको हित भन्दा पहिले आफ्नो वा आफ्नो पार्टीको हितलाई सर्वोपरी ठान्छन् ।
जुन जुन पार्टीमा अपराधिक गतिविधिबाट राजनीतिमा छिरेका देश चुसेर आँफु अघाएका अनि पार्टीलाई सधाएकाहरुको विगविगी छ, त्यस्ता पार्टी र तिनका सांसदले बनाउने नियमावली नै यस्तै हो ।
नैतिक पतन भैसक्दा पनि, फौजदारी कसुरमा जेल छिरी सक्दा पनि सांसदको हैशियत रहिरहने भएपछि पुलिसले सलाम ठोम्ने कि हत्कडी लगाउने ?
कमसे कम निरापराधि प्रमाणित नभएसम्म सांसद पद निलम्ब हुँदा कसको के जान्थ्यो ? अब शायद सजिलो होला, कोही कोठी खोल्नुस, चेलीबेटी वेचबिखन गर्नुस, कोही हातहतियार ओसारपसार गर्नुस, कोही तस्करी गर्नुस ।
भ्रष्ट्रचार बाहेक, हत्या बलत्कार, अपहरण जस्ता फौजदारी कसुरमा थुनामा परेपछि स्वयं आफैले नैतिकता देखाएर पद त्याग गर्नुपर्नेमा उल्टो पद निलम्बनै नहुने रे । यो निर्णय देश र जनताका लागि धोका हो ।
केही राजनीतिक दललाई आफ्ना केही मानिस बचाउनु छ भन्दैमा कानुनको धज्जी उडाउने यस्तो केटाकेटी सोचले मुलुक समृद्ध बन्दैन । स्वयं कानुन निर्माताहरु अपराधिक गतिविधिमा संलग्न हुँदा पनि निलम्बीत नहुने हो भने आम सर्वसाधारण मानिसचाँही किन दण्डीत हुने ?
लोकतन्त्रमा सबैलाई कानुन लाग्छ तर कानुन बनाउनेहरुलाई कानुनले नछुने हो भने सारा सांसदहरुलाई माननिय होइन, श्री ५,६,७ जति भन्न मन लाग्छ भनौ तर जनताले दिएको मतको मात यति सम्म लागेको हो भने एउटा अर्को नियम पनि प्रस्ताव गरिदिनु होस कि कुनै पनि अपराधिक गतिविधिमा नलागेको, फौजदारी अभियोगमा जेल नपरेको, हत्या, हिंसा बलत्कार लागुऔषध कारोबार, तस्करी, अपहरण, नगरेको व्यक्ति सांसद हुनै नपाउने ।
केही नभए मिनीमम पनि कुखुरा चोरेको होस् वा पाकेट मारेको होस् । अपराध र अपराधी त्यती प्यारो लाग्छ भने सांसद हुन अपराध नगरी नहुने नियमावली पास गर्नुहोस । आखिर देश होईन आँफु नै बन्नु छ भने किन नौटंकी गर्नुुहन्छ ?

