-ध्रुबहरि अधिकारी/नेपालपोलिटी
ख्यातिप्राप्त स्नायुविद् डा. उपेन्द्र देवकोटाले एक पल्ट सार्वजनिक गरेको बेहोराले पुनःपुष्टि भएको छ : नेपालको माओवादी आन्दोलनलाई बाहिरका इसाई पादरी (मिसनरी) समूहले स्रोत-साधन (पैसा) जुटाइदिएका हुन् । त्यसैले ६३ साल बैशाखको घटनापछि तिनलाई सत्ताधारी समूहले प्रतिफल लिने अवसर दिए।
४ जेठको घोषणा र माघको अन्तरिम संविधानमा ‘निरपेक्षता‘ छिराइएको कुरालाई यसै सन्दर्भमा हेर्न सकिन्छ। धर्मान्तरणको अभियान तीव्र तुल्याउन प्रतिक्षारत पश्चिमा समूहहरू सक्रिय रहेको तथ्य जग-जाहेर छ। लाग्छ, अचेल क्याथोलिक इसाईको मुख्यालयको उत्तराधिकार नेपालको सन्दर्भमा युरोपेली संघका कूटनीतिक प्रतिनिधिले पाएका छन्।
सम-सामयिक अन्तर्राष्ट्रिय आँकडाले देखाउँछन्, २१ औं शताब्दीको आरम्भमा पनि तेस्रो ठूलो धार्मिक मत हो। एक अर्बभन्दा बढी मानिसले अंगालेको धार्मिक मत हो। यसमध्ये ९६ करोड त भारतमै छन्—अघिल्लो साताको आरम्भमा (२५ अगष्ट) निस्केको तथ्याङ्कले देखायो ।
१२ लाखको जनसंख्या भएको मौरिससमा आधा जन-आवादी हिन्दुहरूको छ। अंग्रेजको ‘राज‘ सकिएपछि बनेका पाकिस्तान र बंगलादेशमा पनि हिन्दु अल्पसंख्यक छन्। भुटान र श्रीलंकामा पनि हिन्दुहरूको उपस्थिति छ। अलि पर दृष्टि दिऔं, इन्डोनेसिया (बाली टापू), फिजी, क्याम्बोडिया, थाईल्याण्ड, ट्रीनिडाड/टोबागो, सुरिनाम जस्ता देशमा पहिलेदेखि नै हिन्दुहरूको बसोबास रहिआएको छ। अचेलभरि बेलायत, अमेरिका जस्ता देशमा पनि जनगणनाको क्रममा हिन्दुहरू देखापरेका छन्। यी सबैको आस्थाको केन्द्र कुन हो त ? नि:सन्देह पशुपतिनाथको पवित्र भूमि भएको देश नेपाल ।
इसाईहरूको आस्था केन्द्र पोपको राज्य भ्याटिकन छ, एक सम्प्रदायले महारानी एलिजाबेथको देश बेलायतलाई पवित्रस्थल मान्छन्। इस्लाम मतका अनुयायीले मक्का, मदिनाको सन्दर्भले साउदी अरेबियालाई केन्द्र ठान्छन्। तब संसारभर छरिएका हिन्दुहरुले नेपाललाई आफ्नो धरोहर सम्झे त के बिराए ? यसमा पोलो, पिरलो किन ?
जसरी राष्ट्रपति ओबामाले इसाई धर्मग्रन्थ बाइबलमा हात राखी शपथ लिंदैमा अमेरिकामा बस्ने अन्य धर्मावलम्बीको अधिकार कुण्ठित भएको छैन त्यसैगरी नेपाल हिन्दुराष्ट्र/राजतन्त्र रहँदा अन्य धर्मका अनुयायीको हक-भोग खोसिएको थिएन। अहिले पनि संविधानको प्रस्तावनामा ‘हिन्दुराष्ट्र‘ लेखिंदैमा त्यो हक हरण हुने होइन। यथार्थमा संरक्षित रहन्छ ।
लाटा-सोझा नेपालीलाई ललाई-फकाई, आर्थिक प्रलोभनमा पारेर धर्म परिवर्तन गराउने कार्य मात्र निषेधित हो। हिन्दुराष्ट्रमा उपलब्ध सुरक्षाकै कुरो बुझेर होला, हालै मात्र मुस्लिम समुदायले समेत हिन्दुराष्ट्रको पक्षमा वक्तव्य दिए।
अमेरिकाको प्यु रिसर्च सेन्टर (Pew Research Center) ले सन् २०१४ को अन्त्यतिर जारी गरेको सर्वेक्षण केलाए विश्लेशणका थप आधार भेटिन्छन्। न्यु वोर्ल्ड एन्साइक्लोपेडिया नामक विश्वकोशको इन्टरनेट साइटमा समावेश धर्म विषयक सूचना पढ्दा इसाई र इस्लाम मतलाई राज्यधर्म मान्ने देशहरूको लामो-लामो फेहरिस्त देखिन्छ।
‘हिन्दुधर्म’ भनेर छुट्याएको स्थानमा पुग्दा यस्तो वाक्य पढ्नु पर्ने बाध्यता छ : ‘कुनै बखत नेपाल संसारको एकमात्र हिन्दुराष्ट्र थियो, तर सन् २००६ मा संसद्को एक घोषणापछि त्यो हैसियत समाप्त भयो।‘
ज-जसले ६३ साल जेठ ४ गतेको घोषणा गर्ने, गराउने षडयन्त्रकारीहरूको साथ दिए तिनले बहुसंख्यक नेपाली हिन्दुहरूको निष्ठा र आस्थामाथि मात्र घात गरेका थिएनन्; तिनले त विश्व ब्रह्माण्डमा छरिएर रहेका सम्पूर्ण हिन्दुहरूको आस्थाको धरोहर भत्काउने सरासर अनुचित र निकृष्ट कार्य गरेका थिए। अब तिनले पश्चाताप गर्नुपर्छ, प्रायश्चित्तमा लाग्नुपर्छ।
नेपालको स्थापित ‘हिन्दुराष्ट्र‘ को चिनारी समाप्त पार्न बाहिरबाट लागिपरेकाहरू यसको सवलताबाट व्याकुल देखिन्छन्। इतिहासका अनेक कालखण्डमा यसलाई मास्ने, निमोठ्ने शासकहरू आए तैपनि यो जस्ताको तस्तै छ।
आँकडा अङ्कले इङ्गित गर्ने अर्को पक्ष के हो भने संसारमा देखिएका अन्य सबै धार्मिक मत हिन्दुमतको विकल्प हुने ध्येयले विकसित गरिएका थिए तर हिन्दुमत मान्नेको गन्ति कम भएन: धनको प्रलोभनले अरु मतका मानिसलाई यता तानेर गन्ति बढाएको होइन किनभने यस्तो मान्यता हिन्दुधर्ममा छैन।
आँकडाको पक्ष एक हो भने इतिहास-सम्मत यथार्थ अर्को पाटो हो। ‘गुगल खोज‘ गर्नेहरूले विश्वभरका लिखत, ग्रन्थ केलाए हुन्छ, धर्महरूमा जेठो धर्म हिन्दुधर्म नै हो। विश्वको सबैभन्दा प्राचीन एवं जीवित धर्म हो हिन्दुधर्म – यो कथन मैले लिस्टभर्स नामक वेबसाइट (listverse.com) मा भेटेको हुँ।
तीन पुस्ते केलाउने नेपाली चलन मुताविक हेर्ने हो भने हिन्दुधर्म हजुरबाबु हो। अन्य मतहरू भाइ, छोरा, नाति हुन्। हिन्दु बाहेकका अन्य मतहरुलाई तिनको स्थापनाकालको मिति भिडाई जाँचे भैगयो। वैकल्पिक मतकै रुपमा आएका भएपनि तिनले हिन्दुमतलाई विस्थापित गर्न सकेका छैनन्।
सहनशीलता हिन्दु दर्शनको विशेषता होला, तर त्यही आधार समाती त्यसलाई नष्ट-भ्रष्ट गर्न सम्भव नहोला।
संस्कृतमा लेखिएको वेद संसारकै प्राचीन धर्मग्रन्थ भएको यथार्थ पूर्वीय र पश्चिमी सबै समाजले मानेको विषय हो। वेद, पुराण, उपनिषद्, रामायण, महाभारत र त्यसकै अङ्ग भगवद्गीतामा आधारित जीवनदर्शनले मनुष्यको आचरण र कर्तव्य पक्षलाई सर्वाधिक महत्व दिन्छ भनेर लेखेको ठाउँ-ठाउँमा पढ्न पाइन्छ। बौद्ध, शिख र जैनधर्म हिन्दुधर्मका निकटका मत मानिन्छन्। नेपालको सन्दर्भमा त हालैका दिनमा इस्लाम मतका मानिसले समेत यो देश ‘हिन्दुराष्ट्र‘ हुनुपर्ने माग अघिसारेको स्थिति छ ।
हिन्दुहरूले अरु धार्मिक मतहरूको सम्मान गरेका छन्, कसैको केही बिगारेका छैनन्। तसर्थ आफूलाई दोषी ठानेर प्रतिरक्षाको लागि मात्र प्रस्तुत हुने काम नगरौं। गर्वले ‘हिन्दु हुँ‘ भन्ने अभ्यासलाई तीव्र गराएर लगौं।

