-डा. कविता लामा
समकालीन नेपाली भाषा साहित्यका सशक्त समालोचक डा. कविता लामा सिक्किम विश्वविद्यालय, नेपाली विभागमा प्राध्यापनरत छिन्। उनको परिचय नेपाली भाषा साहित्यका क्षेत्रमा एक प्रखर, इमानदार र सशक्त समालोचकका रूपमा स्थापित छ। उनका भानुभक्तका काव्यकृतिको भाषिक अध्ययन (सन् २००२), दिदृक्षा (सन् २००५), अनुशीलन (सन् २०१०) तथा कविता डिस्कोर्स (सन् २०१७) प्रकाशित कृति हुन्। नेपालमा भएका तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनका विभिन्न अवसरमा उनका ओजपूर्ण अभिव्यक्ति र लेखनले श्रोता तथा पाठकका मन जितेका छन्। साहित्य लेखन र पठनलाई जिउने प्रेरकका रूपमा लिने डा. लामाले विभिन्न साहित्यिक पत्रिकाको सम्पादन पनि गरेकी छन्। पछिल्ला केही वर्षमा डा. लामाले साहित्यिक र भाषिक क्षेत्रमा प्रत्यक्ष सहभागिता समेत दिई भाषा साहित्यको उत्थानमा विशिष्ट योगदान पुर्याउँदै आएकी छन्। प्रस्तुत छ, नेपाली पब्लिककी साहित्य संयोजक डा. गीता त्रिपाठीले डा. लामासँग गरेको कुराकानीः
तपाईं भारतीय नेपाली भाषा साहित्य उत्थानमा निरन्तर सक्रिय रहँदै आउनुभएको छ। नेपाली भाषा साहित्यको प्राध्यापनका केही खास अनुभव पाठकमाझ बाँडिदिनुहोस् न।
– नेपाली भाषा साहित्य प्राध्यापन मेरो पेसा हुनेछ भनी मैले सपनामा पनि सोचेकी थिइनँ। म यस पेसासित जोडिएको २० वर्ष भइसकेछ। आज म यस पेसामा अत्यन्त सन्तुष्ट र खुसी छु। कहिले बिजनबारी डिग्री कलेज, कहिले साउथफिल्ड कलेज अनि वर्तमानमा सिक्किम विश्वविद्यालय हुँदै विभिन्न ठाउँमा विभिन्न व्यवस्थापन र परिवेशमा काम गरियो, धेरै उतारचढाव देखियो, तितामिठा अनुभव बटुलियो। मेरो परिचय निर्माणमा नेपाली भाषा साहित्यको महत्त्वपूर्ण भूमिका छ। मैले आज जति पनि साथीभाइसित सम्बन्धित भएर आफ्नो जीवनलाई सार्थक र सुन्दर बनाउन सके, त्यो नेपाली भाषा साहित्यले मात्र सम्भव हुन सकेको हो जस्तो मलाई लाग्छ।
म जन्मिएकी घर मेरो पहिलो परिवार हो भने दोस्रो परिवार मेरो विभाग हो, जहाँ अग्रज अनि अनुज सहकर्मीहरूलगायत विद्यार्थी-शोधार्थी नानीहरूसित म दिनभरिको समय पढेर, पढाएर, वातचित गरेर बिताउने गर्छु। विद्यार्थी मेरो जीवनका अमूल्य निधि हुन्। नानीहरूबाट म हरेक दिन केही न केही नयाँ कुरा सिकिरहेकी हुन्छु। यही कुराले मलाई ताजा र युवा बनिरहन उत्साहित तुल्याउँछ। यस पेसाको मूल वैशिष्ट्य यही हो र मलाई सबैभन्दा धेरै मन परेको कुरा पनि यही हो। भाग्यवश, मैले नेपाली भाषा साहित्यलाई आफू बाँच्नुको उद्देश्य बनाउन सकेछु। भाषा साहित्य विषयले आफूलाई सधैँ नवीन साहित्यिक-सैद्धान्तिक अवधारणाको विकास र विमर्शप्रति सचेत रहन आह्वान गरिरहन्छ। जति पढ्दै जान्छु, त्यति केही जान्दिनँ रहेछु भन्ने अनुभूतिले आफूलाई अध्ययनशील हुन आग्रह गर्छ। कतै पुराना कुरामा नै टाक्सिएर बसिरहेकी छैन त भन्ने शङ्का र भय पनि भित्र कहीँ लुकेको पाउँछु।
स्नातकोत्तर कालदेखि नै भाषा मेरो रुचिको विषय भए पनि परिस्थितिवश अहिले यस विषयको अध्ययनदेखि म धेरै टाढिएर गइरहेकी छु। यो मेरोनिम्ति दुःखको कुरो हो। तर, सुखको कुरो के हो भने साहित्यको अध्ययन–लेखन अभ्यासलाई भने म निरन्तरता दिन चाहन्छु। सिक्किम विश्वविद्यालय, नेपाली विभागको पाठ्यक्रम अन्तर्विषयक भएकाले कहिलेकाहीँ मैले ‘पत्रकारिता’ तथा ‘सिर्जनात्मक लेखन’जस्ता नयाँ विषय पनि पढाउनुपर्ने हुन्छ। यी विषयहरूले मलाई फाइदा नै पुर्याएको छ, मेरो चासो पनि बढ्दै गएको छ।प्राध्यापनसम्बन्धी एमफिल र पिएचडीका शोधार्थीहरूसित केही भिन्न र नौलो अनुभव छ, शोधार्थीहरूले भन्दा शोध निर्देशकको हैसियतमा आफूले धेर र गहन अध्ययन गर्न परेकाले गाह्रो हुन जान्छ र कहिलेकाहीँ मलाई यस दायित्वदेखि उन्मुक्त हुन मन लाग्छ। यस दृष्टिले प्राध्यापनलाई इमानदारीपूर्वक निर्वाह गर्ने एउटा अत्यन्त चुनौतीपूर्ण पेसा मान्छु।
तपाईंका समालोचनाले विश्व साहित्य समालोचनाका नवीनतम सिद्धान्तका आधारमा नेपाली साहित्यको चिरफार गरेको छ। पश्चिमी सिद्धान्तका आधारमा हाम्रा स्थानीय साहित्यको विश्लेषण गर्दा के कस्ता कठिनाइ महसुस गर्नुहुन्छ?
– त्यति नवीनतम सिद्धान्त भनिहाल्न त मिल्दैन होला। कारण नेपाली साहित्यमा ती नवीन भए पनि विश्व साहित्यमा पुरानो भइसकेका हुन्छन्। आज नयाँ रहेको सिद्धान्त भोलि पुरानो हुन कति पनि समय लाग्दैन। पश्चिमी सिद्धान्तका आधारमा हाम्रा स्थानीय साहित्यको विश्लेषण गर्दा मैले मिश्रित प्रतिक्रिया पाएकी छु। धेरैले मेरो कामलाई मन पराएका छन्, मेरो सानो प्रयासले अपार आशीर्वाद पाएको छ। यसलाई म मेरो ठूलो सौभाग्य मान्छु। अर्को पाटामा कतिपयले मेरो कामलाई नकार्दै तिक्त आलोचना गरेको पनि सुन्नमा आउँदैछ तर त्यस्ता धारणाप्रति पनि मेरो सम्मानभाव छ। उहाँहरूले लिखित रूपमा नै मेरा लेखनगत कमजोरीहरू औँलाइदिए म कृतज्ञ रहनेछु र भविष्यमा तीमाथि डटेर काम गर्ने वचन पनि दिन्छु।
चिया कविता, कफि कविता, सिलगडी साहित्य संस्थान, साङ्ग्रिला प्रकाशन, भारतजस्ता संस्थाले आयोजना गर्ने साहित्यसम्बन्धी विविध कार्यक्रम, वार्ता, सम्मेलनहरूमा सबै स्रष्टा, सङ्गीतकार, कलाकार, नाट्यकर्मी आदिको उत्साहजनक सहभागिता र उपस्थितिले पनि यहाँ साहित्य विकास उर्वरशील रहेको पुष्टि हुन्छ।
समालोचनाका क्षेत्रमा ससाना काम गर्ने प्रयास जेजति मबाट भइरहेको छ आजसम्म, त्यो मार्ग निश्चय सहज छैन। कठिनाइले भरिएको छ। कारण यहाँ स्वयं समालोचना क्षेत्रमा एक जना स्थापित समालोचक हुनुहुन्छ, प्रतिकूलता र मतमतान्तरका कठिनाइहरू तपाईंले पनि निश्चय भोगेको हुनुपर्छ। मेरो भोगाइ पनि यस्तै यस्तै छ। भारतीय नेपाली साहित्य समालोचना क्षेत्रमा मैले शुरुदेखि दुईथरीका विचारधारा हुर्किएको देखेँ- (क) सिद्धान्तलाई मान्यता नदिई केवल आफ्नो अध्ययनको भरमा समालोचना गर्ने जसलाई प्रभाववादी समालोचना भनिन्छ, र (ख) पूर्वीय वा पाश्चात्य सिद्धान्तमा आधारित समालोचना गर्ने जसलाई सैद्धान्तिक, शोधपरक र प्राज्ञिक आदि नामले पनि जानिन्छ। तर, यी दुवैथरीका समालोचना लेखनमा पर्याप्त अध्ययन र धैर्यको आवश्यकता पर्छ। सिर्जनाझैँ गहिरो अध्ययन र साधना नभई कुनै पनि समालोचना लेख्न सम्भव छैन, चाहे त्यो प्रभाववादी नै किन नहोस्। मैले प्रयास गरेका प्रारम्भिककालीन समालोचनापरक लेखहरू नितान्त प्रभाववादी भए भन्ने प्राप्त प्रतिक्रिया वा पृष्ठपोषणबाट मैले आफूलाई प्रभाववाददेखि टाडा राख्न आफ्नो लेखनमा सबैभन्दा पहिला सुधार ल्याउने विचार गरेँ।
म पाठकीय सुझाउलाई मान्यता दिने विद्यार्थी हुँ। सिद्धान्तकेन्द्रित समालोचना लेख्ने रहर र जाँगर मभित्र त्यस समयदेखि नै पलाएको हो। यसका निम्ति मैले पाश्चात्य सिद्धान्तका केही किताबहरू अनि अग्रज, स्थापित समालोचकहरूले लेखेका पुस्तकहरू पढ्ने प्रयास गरेँ। नेपाली माध्यममा शिक्षा ग्रहण गरेकी मलाई सबैभन्दा पहिला अङ्ग्रेजीमा लेखिएका ती किताबहरू बुझ्न असाध्य गाह्रो भयो, त्यो गाह्रोपन अङ्ग्रेजी भाषा, विषय अनि सिद्धान्त सबैमा लागू भएको देखियो। नबुझिएका कुरा लिएर समालोचना कसरी लेख्ने? समस्या त्यहाँ भयो। त्यो मेरोनिम्ति कठिततम क्षण थियो। तर, पाश्चात्य सिद्धान्तमा आधारित समालोचना मैले लेख्नैपर्छ भन्ने आफैसितको चुनौती र प्रतिबद्धताले मैले त्यसको निम्ति परिश्रम गरिरहेँ, गरिरहेँ, गरिरहेँ। अहिले पनि गरिरहेकी छु। सङ्घर्षको त्यो कठिन क्षण आजसम्म पनि हटेर जाने सम्भावना पटक्कै देख्दिनँ तर एकदिन त्यो सफलता निश्चय हात लाग्ने छ भनी अपेक्षा गरिरहेकी छु।
नेपाली साहित्यका विभिन्न विधामा भइरहेका सिर्जना र समालोचनाका पर्याप्तता र अपर्याप्तताप्रति तपाईंको दृष्टिकोण के छ?
– भारतमा नेपाली साहित्यकारहरूले पर्याप्त सिर्जना गरिरहेका छन्। कविता, कथा, उपन्यासबाहेक अन्य विधा निबन्ध, नाटक, साहित्येतिहास र बालसाहित्यमा स्रष्टाहरूको लेखनगत सक्रियता पर्याप्त हुन नसकेको स्थितिलाई पनि अदेखा गर्न सकिँदैन। तर, त्यसलाई म अपर्याप्तताको संज्ञा पनि दिन्नँ। यसका केही कारणहरूलाई बुझ्नपर्ने हुन्छ। जस्तैः प्रकाशन गृह र व्यवस्थापनको कमी, यी विधाका पुस्तकमाथि पाठकको रुचि र चासो नरहनु आदि, आदि। यद्यपि, यहाँका सर्जकहरूले आफ्नै गच्छेअनुसार साहित्य सिर्जना र परिचर्चामा कुनै कमी आउन दिएका छैनन्। हरेक महिनाका हरेक शनिबार र आइतबार आयोजना हुने पुस्तक लोकार्पण कार्यक्रम, विभिन्न सङ्घसंस्थाद्वारा हरेक महिना आयोजना गरिने शब्द, समय र साहित्य सुनौँ, सुनौँ अनि सुनाऔँ। चिया कविता, कफि कविता, सिलगडी साहित्य संस्थान, साङ्ग्रिला प्रकाशन, भारतजस्ता संस्थाले आयोजना गर्ने साहित्यसम्बन्धी विविध कार्यक्रम, वार्ता, सम्मेलनहरूमा सबै स्रष्टा, सङ्गीतकार, कलाकार, नाट्यकर्मी आदिको उत्साहजनक सहभागिता र उपस्थितिले पनि यहाँ साहित्य विकास उर्वरशील रहेको पुष्टि हुन्छ।
पश्चिम बङ्गाल, पूर्वाञ्चल, उत्तराञ्चल राज्यहरूमा लेखिने दार्जिलिङको नेपाली साहित्य, डुवर्स-तराईको नेपाली साहित्य, कोलकाताको नेपाली साहित्य, सिक्किमको नेपाली साहित्य, असमको नेपाली साहित्य, मेघालयको नेपाली साहित्य, मणिपुरको नेपाली साहित्य, मिजोरामको नेपाली साहित्य, बनारसको नेपाली साहित्य, भाग्सु-देहरादूनको नेपाली साहित्य आदि आआफ्ना वैशिष्ट्य, भोगाइ र अनुभव लिएर सिर्जना हुन्छन्।
निबन्ध र नाटकमा कलम चलाउने साहित्यकारको नाम हातको औँलामा गन्न सकिन्छ। तर, भारतीय नेपाली साहित्य ऊर्जा र जाँगरले विकासोन्मुख छ। एउटा दृष्टान्त दिन्छु, हालैमा सामाजिक सञ्जालबाट थाहा लाग्यो, भारतीय नेपाली युवा आख्यानकार छुदेन काबिमोको पहिलो उपन्यास फातसुङ पोखरा, नेपालमा लोकार्पण भयो। लोकार्पण भएको २४ घन्टाभित्र नेपालका धेरजसो पाठकले त्यो उपन्यास पढिसकेर तुरुन्तै उपन्याससम्बन्धी सकारात्मक मन्तव्यहरू, प्रतिक्रियाहरू पोस्ट गरे, ती पोस्टहरू हामीले पनि पढ्न पायौँ, पढेर खुसी लाग्यो। भारतमा यसरी तत्काल पुस्तक पठनपछि चौतर्फी रूपले गरिएको चर्चा मोहन ठकुरीको सर्जक सन्दर्भ हो। यसरी नेपालमा जस्तो कृति पढेर अरूलाई पनि पढूँपढूँ लाग्ने बनाउने संस्कार भारतमा हुर्केर पनि बढ्न सकिरहेको छैन। वास्तवमा पाठकीय मन्तव्य जान्ने, पढ्ने, हेर्ने इच्छा र अपेक्षा हरेक लेखकले गरेको हुन्छ।
सिर्जनाको तुलनामा भारतीय नेपाली समालोचना केही पछि परेको देखिन्छ। यसो हुनाका कारण एउटा समालोचना लेख्नमा अध्ययन र परिश्रम दुवै चाहिन्छ। मैले एक दिनमा एउटा कविता लेखेको जस्तो होइन समालोचना लेख्न। समय लाग्छ। तसर्थ, भारतमा नेपाली समालोचनाको स्थिति सोचनीय छ भन्ने पक्षमा म पटक्कै छैन। यसको सम्पूर्ण दोष समालोचकलाई दिनु म उचित मान्दिनँ, न त यसलाई म अपर्याप्तता नै ठान्छु। किनभने, समालोचकहरूले निस्वार्थ भावले, अनवरत रूपले आफ्नो दायित्व निर्वाह गर्दै आइरहेका छन्। पुस्तक प्रकाशनको संख्यामा पर्याप्तता भए पनि ती पुस्तकहरू पढिदिने पाठक संख्यामा अपर्याप्तता पाइन्छ। समालोचनाका पुस्तकहरू कम्प्लिमेन्टरी दिँदा पनि पढी दिँदैनन् भन्ने समालोचकहरूको गुनासो पनि सुन्नमा आएको छ।
तपाईंले भारतीय नेपाली साहित्यले जातीय एकताको निम्ति कस्तो भूमिका निर्वाह गरेको पाउनुभएको छ?
– अत्यन्त महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ। भारतभरि छरिएर बसेका नेपालीभाषीहरूले विविध विधामा निरन्तर कलम चलाएर साहित्य सेवा गर्दै आइरहेका छन्, उनीहरूले सिर्जिएको साहित्य नै ‘भारतीय नेपाली साहित्य’ हो भन्ने बुझिन्छ। २९औँ राज्यले गठित भारत एउटा सिङ्गो देश हो। जहाँ धेरजसो राज्यमा नेपालीभाषीहरूको बसोवास छ। तर, सबै राज्यका नेपाली साहित्य सिर्जनामा सक्रिय छैनन्। पश्चिम बङ्गाल, पूर्वाञ्चल, उत्तराञ्चल राज्यहरूमा लेखिने दार्जिलिङको नेपाली साहित्य, डुवर्स-तराईको नेपाली साहित्य, कोलकाताको नेपाली साहित्य, सिक्किमको नेपाली साहित्य, असमको नेपाली साहित्य, मेघालयको नेपाली साहित्य, मणिपुरको नेपाली साहित्य, मिजोरामको नेपाली साहित्य, बनारसको नेपाली साहित्य, भाग्सु-देहरादूनको नेपाली साहित्य आदि आआफ्ना वैशिष्ट्य, भोगाइ र अनुभव लिएर सिर्जना हुन्छन्। विभिन्न भौगोलिक, राजनीतिक तथा सामाजिक पृष्ठभूमिमा परिवेशहरू फरक भए पनि जातीय दृष्टिले केही परिआएको खण्डमा हामी एकाअर्काको निम्ति एक भएर खडा हुन्छौँ। हामी भारतीय नेपाली जाति भएर एकाअर्कालाई सहयोग, साथ र प्रेमका हातहरू समातेर आत्मीयता बाँडिरहेका छौँ।
लोकसाहित्य, बालसाहित्य, आधुनिक साहित्य, उत्तरआधुनिक साहित्य, डायस्पोरा साहित्य, अनुवाद साहित्य आदि विविध विधामा धमाधम काम गराउन सकिरहेको छ, पुस्तकहरू प्रकाशन गरिरहेछ। त्यस्तो सहुलियत भारतका नेपाली साहित्यकारहरूलाई छैन। हामी यहाँ एउटा राज्यको विशेष जिल्ला वा अञ्चलले उपलब्ध गराउने सहुलियतभित्र सीमित रहन बाध्य छौँ।
तपाईंले नेपालमा लेखिएका नेपाली साहित्य र भारतीय नेपाली साहित्यबीच के कस्ता समानता र भिन्नता पाउनुभएको छ?
– समानता र भिन्नता यति धेरै छन् कि यस प्रश्नको उत्तर लामो भएर जानेछ। तसर्थ, म दुई कुरा सङ्क्षेपमा राख्न चाहन्छु। कारण माथि गरिएका केही प्रश्नहरूका उत्तर मैले नेपालको तुलनामा पनि दिइकी हुँ। समानताबारे सबैलाई अवगत नै छ तर भिन्नता धेरै छन्। नेपालमा झैँ भारतका नेपाली स्रष्टाहरूमा पनि धेरै काम गर्ने, नयाँ कुरा लेख्ने, साहित्यमा परिवर्तन ल्याउने, दुवै मुलुकका स्रष्टाहरूमाझ अन्तर्क्रिया र लिटरेचर फेस्टिभल गर्ने, सम्मान र अभिनन्दन कार्यक्रम, सिर्जनात्मक कार्यशालाहरू आयोजना गरी साहित्य महारथीहरूका व्याख्यान सुन्नेजस्ता अगाध इच्छा, सपना, जोश, जाँगर र ऊर्जा छन्न्। दुवै मुलुकमा प्रतिभाको कुनै कमी छैन। तर, भारतमा नेपालमा झैँ सरकारी सहुलियत तथा संस्थागत आर्थिक सुविधाहरू उपलब्ध छैनन्।
नेपाल एउटा देश भएकाले त्यहाँका स्रष्टाहरूलाई सरकारले भारतका नेपाली स्रष्टाहरूभन्दा अनेकौँ सहुलियत र सुविधाहरू उपलब्ध गराउन सक्छ। सरकारको प्रावधानअनुसार देश–विदेश भ्रमण, विभिन्न विश्वविद्यालयमा अन्य भाषी स्रष्टाहरूसित विश्वस्तरमा नेपाली साहित्य-विर्मशका निम्ति पठाउँछ। प्रज्ञाप्रतिष्ठानले योग्य साहित्यकारहरूलाई पुस्तक लेखनका निम्ति प्रोजेक्टहरू उपलब्ध गराउन सक्छ। लोकसाहित्य, बालसाहित्य, आधुनिक साहित्य, उत्तरआधुनिक साहित्य, डायस्पोरा साहित्य, अनुवाद साहित्य आदि विविध विधामा धमाधम काम गराउन सकिरहेको छ, पुस्तकहरू प्रकाशन गरिरहेछ। त्यस्तो सहुलियत भारतका नेपाली साहित्यकारहरूलाई छैन। हामी यहाँ एउटा राज्यको विशेष जिल्ला वा अञ्चलले उपलब्ध गराउने सहुलियतभित्र सीमित रहन बाध्य छौँ। भारतमा साहित्य अकादमी, दिल्लीले यस्ता प्रोजेक्टहरू दिनमा धेरै समय लगाउने गर्छ। यताका हामी चाहेर पनि नेपालले जस्तो युद्धस्तरमा काम गर्न सकिरहेका छैनौँ।
नेपाली साहित्यमा समकालीन सन्दर्भका राजनीतिक, साहित्यिक वा सांस्कृतिक कुनै त्यस्तो प्रतिनिधि नारी चरित्रको निर्माण हुन सकेको पाइँदैन, भारतीय नेपाली साहित्यमा कुनै त्यस्ता खास समकालीन नारी चरित्रहरू निर्माण भएका छन् कि?
– मेरो जानकारीअनुसार भारतीय नेपाली साहित्यमा पनि कुनै त्यस्ता नारी चरित्रहरू निर्माण हुनसकेका छैनन्।
‘कविता डिस्कोर्स’ उत्कृष्ट समालोचना सङ्ग्रह हो। तपाईंको अनुभवमा आज समालोचनाले अवलम्बन गर्नपर्ने कुरा के के हुन्?
– ‘कविता डिस्कोर्स’लाई तपाईंले मन पराइदिनुभयो, यसको निम्ति हार्दिक धन्यवाद ! आजसम्मका समालोचनाको छोटो यात्रामा मेरो अनुभव अलिक भिन्न छ। कारण म समालोचनामा कुनै ठूलो उद्देश्य र योजना लिएर आएकी होइन। संयोगवश, मैले केही लेख्ने प्रयास गरेँ, यसमा मेरा गुरुजन, अग्रज, साथीभाइ सबैबाट असीम माया, स्नेह, उत्साह र प्रेरणा पाएँ। आज मलाई समालोचना लेख्न र पढ्न मन लागेको श्रेय म उहाँहरूबाट प्राप्त आशीर्वादलाई दिन्छु।
कविता, आख्यान र समालोचनाका कथ्यमा सीमान्तीकृत स्वरहरूमा राष्ट्रिय चिन्हारीप्रति सचेतता, नारीवाद, समलैङ्गिकता, दलित चेतनाले गरेको आलोचना, वर्तमान समाज-राजनीतिक संरचनाप्रति आक्रोश, स्वअस्तित्वको माग, भाषिक तथा सांस्कृतिक वर्चस्वको प्रतिवाद र हकअधिकारको माग, लैङ्गिक समानता र समताका स्वरहरू समकालीन वैशिष्टयका रूपमा प्रयोगमा आइरहेका छन्।
आजको सन्दर्भमा समालोचनाले अवलम्बन गर्नुपर्ने कुरा के के हुन् भन्ने प्रश्नको उत्तरमा म अरूलाई यस्तो प्रकारले समालोचना लेख्नुपर्छ भनी सुझाउ वा सल्लाह दिने हैसियत राख्दिनँ। उमेर, अनुभव र ज्ञानले पनि म त्यो स्थानमा पुगेकी छैन। तर, म समालोचना लेख्दा केही कुरालाई ध्यान दिएर लेख्ने गर्छु। जस्तैः कृति पठनमा म अत्यन्त इमानदार रहन्छु, विषयको राम्ररी अध्ययन गरेर मात्र आफ्नो विचार राख्छु, कसैप्रति पूर्वाग्रह राख्दिनँ, आफ्नो लेखनलाई अन्यका प्रभाव र दबाउदेखि सधैँ मुक्त राख्ने कोसिस गर्छु, व्यक्तिभन्दा प्रवृत्तिगत उत्खनन गर्ने प्रचेष्टा गर्छु, सिर्जनालाई नवीन अवधारणाबाट प्रस्तुत गर्न सके सायद पाठकको रुचि त्यसतर्फ रहनेछ भन्ने सोचले पनि लेख्छु। मेरा समालोचनामा यी कुरा नै पाठकवर्गले पाउने छन्।
विश्व साहित्यमा नेपाली साहित्यको स्थान कस्तो पाउनु हुन्छ?
– विश्व साहित्यमा नेपाली साहित्यको स्थान दरिलो हुन अझ समय लाग्नेछ। यसमा हामीले एक भएर धेरै पक्षमा काम गर्नपर्ने हुन्छ। नेपाली पुस्तकहरू अङ्ग्रेजीमा अतिरिक्त जापानेली, फ्रान्सेली, रसियाली, चिनियाँ, जर्मनेली आदि भाषामा पनि अनुवाद हुन नितान्त आवश्यक छ। विश्वका जति धेरै भाषामा पुस्तक अनुवाद हुन्छ त्यही हिसाबले पाठकमा ती कृतिहरू पुग्न सके त्यसले विश्व साहित्यमा आफ्नो स्थान बनाउन सक्छ। तर, कृति विश्वस्तरमा अनुवाद हुने योग्य पनि हुनुपर्छ। अनुवादकको भूमिका अझ गुरुत्वपूर्ण रहन्छ, कृतिको मौलिकता कायम राख्नमा। यसबाहेक विश्वका नामी विश्वविद्यालयहरूमा नेपाली साहित्यको पठनपाठन शुरु गर्न सके त्यसले पनि नेपाली साहित्यलाई विश्वसाहित्यको समकक्षमा पु¥याउन सक्छ जस्तो मलाई लाग्छ।
समकालीन भारतीय नेपाली साहित्यको विधागत स्थिति कस्तो पाउनुभएको छ? यसका कथ्यमा समकालीनताको निर्वाह भएको छ कि छैन?
– समकालीन भारतीय नेपाली साहित्यको विधागत स्थिति दरिलो छ। यसको उत्तर मैले माथिको प्रश्नमा आंशिक रूपमा दिइसकेकी छु। कविता, आख्यान र समालोचनाका कथ्यमा सीमान्तीकृत स्वरहरूमा राष्ट्रिय चिन्हारीप्रति सचेतता, नारीवाद, समलैङ्गिकता, दलित चेतनाले गरेको आलोचना, वर्तमान समाज-राजनीतिक संरचनाप्रति आक्रोश, स्वअस्तित्वको माग, भाषिक तथा सांस्कृतिक वर्चस्वको प्रतिवाद र हकअधिकारको माग, लैङ्गिक समानता र समताका स्वरहरू समकालीन वैशिष्टयका रूपमा प्रयोगमा आइरहेका छन्। विशेषतः युवा वर्गका कृतिहरूले त्यसलाई मलजल गर्ने महत्त्वपूर्ण कार्य गरिरहेको छ। समकालीनताको दृष्टिले यहाँको साहित्य सन्तोषजनक छ।
समालोचना लेख्नु लरतरो काम होइन, एउटा समालोचना तयार गर्न सम्बन्धित विषयक दर्जनौँ किताबहरू पढ्नुपर्छ, विषयलाई पचाउनुपर्छ, महिनौँ समय दिनुपर्छ, हतारमा पकाएर छाक टार्ने खाना होइन समालोचना भनेको।समालोचकको अपार दायित्व छ समाजप्रति, साहित्यप्रति, वर्तमान र आउँदो पुस्ताप्रति। ‘समालोचना’ भनेको नेपाली साहित्य सिर्जनाको दिशा निर्देश र भविष्य निर्धारण गर्ने एउटा सशक्त विधा हो।
तपाईंको अध्ययन र अनुभवमा समकालीन नेपाली समालोचनाका चुनौती र सम्भावना के के हुन्?
– यसबारे म इमानदार पाठक भएर भन्छु, भारतमा नेपाली समालोचनाको स्थिति सोचेअनुरूप हुन सकेको छैन। नेपाली समालोचना नलेखिएका होइनन्। कम मात्रामा भए पनि लेखिँदैछन्। नवीन अवधारणा र दृष्टिकोणमा आधारित पुस्तकहरू छापिँदैछन् तर किन हो समालोचना विधाले केही विद्यार्थी–शोधार्थीबाहेक सामान्य पाठकको ध्यान खिच्न सकेको छैन। तसर्थ, समालोचनाका किताबहरू साधारण पाठकदेखि टाढिँदै गइरहेको छ जस्तो मलाई लाग्छ। जब कि नेपालबाट छापिएका समालोचनाका पुस्तकको बजार राम्ररी चलेको थाहा पाइन्छ। हट केकजस्तो किताब विक्री भइरहेका छन् भने भारतमा छापिएका समालोचनाका पुस्तकहरू विक्री गर्नु ठूलो चुनौती भएको छ। अर्काे चुनौती हो, नेपालमा झैँ यहाँ पनि समालोचनाका किताबहरूलाई स्कुल, कलेज र विश्वविद्यालयका विद्यार्थीहरूलाई पढाइने नोट्स हो भन्दै अनुचित टिप्पणी गरेको पाइन्छ। सही छानबिन नगरी, पुस्तक नपढी यस प्रकारले सबै पुस्तकलाई नोटस्को सङ्ज्ञा दिनु यस विधाको विकासका निम्ति घातक हुन जान्छ।
समालोचनाको लेखन प्रक्रिया र यसको वर्तमान स्थितिबारे अनेकौँ नकारात्मक मन्तव्यहरू प्रकाशमा आइरहेका छन्। यस्तो लाग्छ, सबै एक भएर समालोचनाको विरोध गरिरहेका छन्, कसैले समालोचनाप्रति सामान्य चासोसम्म देखाउँदैनन्। समस्या देखाउनु ठुलो कुरो होइन तर समस्या देखाएपछि समाधानको मार्ग पनि बताउनु एउटा दायित्व बन्छ। जसले जीवनमा राम्ररी समालोचना पढेका छैनन्, समालोचना के हो बुझेका छैनन्, पढ्ने र बुझ्ने कोसिस गर्दैनन् तर मैले यसको विरोध गर्नैपर्छ भन्ने सोचकाहरूले नेपाली समालोचनालाई खस्कँदो स्थितिमा देखाउन कुनै कसर बाँकी छोड्दैनन्। यस्ता टिप्पणीकारहरूसित जुझ्नु पनि समालोचकका निम्ति एउटा ठूलो चुनौती भएको छ।
यस विधामा देखा परेका समस्या र चुनौतीको पहिलो समाधान भनेको नै नेपाली साहित्य विकासमा समालोचनाको भूमिका र महत्त्व बुझेर यसको अध्ययन गर्न आफू गम्भीर पाठक हुनैपर्छ। समालोचना लेख्नु लरतरो काम होइन, एउटा समालोचना तयार गर्न सम्बन्धित विषयक दर्जनौँ किताबहरू पढ्नुपर्छ, विषयलाई पचाउनुपर्छ, महिनौँ समय दिनुपर्छ, हतारमा पकाएर छाक टार्ने खाना होइन समालोचना भनेको।समालोचकको अपार दायित्व छ समाजप्रति, साहित्यप्रति, वर्तमान र आउँदो पुस्ताप्रति। ‘समालोचना’ भनेको नेपाली साहित्य सिर्जनाको दिशा निर्देश र भविष्य निर्धारण गर्ने एउटा सशक्त विधा हो। अब समालोचनालाई तल राखेर हेर्न मिल्दैन। किताबहरू पढिदिनुहोस्, सही मूल्याङ्कन गरिदिनुहोस्, समयोचित र समीचीन मन्तव्य दिएर यस विधालाई एकपल्ट माया पनि गरेर हेर्नुहोस्। भोलिको दिन सबै कुरो समाधान भएर जाने छ। नेपाली समालोचनाको भविष्य उज्ज्वल हुनेछ।
-नेपाली पब्लिक

