देव शमशेरका छोरा जंग शमशेर, जंग शमशेरका छोरा लक्ष्मण शमशेर, लक्ष्मण शमशेरका छोरा जन्मिए हिमालय शमशेर राणा। सुधारवादी राणा मध्येमा पर्छन् देवशमशेर। जनताका सेवा सुविधामा बढी चासो दिएको र छोटो समयमा नै धेरै विद्यालय खोलेको भनेर चन्द्र शमशेरलगायतका भाइहरू मिलेर उनलाई शासनबाट हटाए।
१ सय २० दिन प्रधानमन्त्री बनेका उनी धनकुटामा निर्वासित भएका थिए। पछि देवशमशेर धनकुटामा बस्न नसकेर मसुरीमा गए। उनका छोराहरू जंग शमशेर र भुवन शमशेरलाई नेपालमा बोलाइयो। उनीहरू थापाथलीमा बस्न थाले। पछि हिमालय शमशेर थापाथलीमै जन्मिए।
हिमालय शमशेरले बिए र एमए बम्बइ (मुम्बई)मा पढे। त्यतिबेला धेरैजसो नेपालीहरू पढ्नका लागि बनारस अथवा पटना जान्थे। बम्बइको रहनसहन बनारस र इलाहवादजस्तो थिएन। बनारस र इलाहवादमा ‘जी हजुर आइए, खाइए’ भन्नुपर्ने। सामन्ती थियो त्यहाँको संस्कार, चलन र भाषा पनि। बम्बइमा भने सामान्य थियो रहनसहन। त्यहाँ काम गर्ने मान्छेले ‘साहेब तुम क्या माग्ता हे’ भन्थे।
एमए पास भएर आएपछि क्रान्तिकारी बन्नुपर्यो भन्ने भावना आयो हिमालयलाई। कलकत्तामा पुगे राजनीतिक भेटघाटका लागि। सुवर्णशमशेरसँग भेट भयो उनको। नेपाल र नेपाली जनताका लागि केही प्रगति गर्नुपर्यो भन्ने कुराकानी भयो।
नेपालमा पारिवारिक राणाशासन कायमै थियो। यसको अन्त्य गर्नुपर्छ भन्ने सुवर्णसँगको लामो छलफलपछि हिमालय शमशेर पनि सहमत भए। उनले २००५ सालमा नेपाल प्रजातन्त्र कांग्रेसको सदस्यता लिए।
राणाकै छोरा भएर पनि हिमालय आफ्नै पारिवारिक शासनको लडाइ विरुद्ध काम गर्न थाले उनले। सुवर्णसँगको सम्बन्ध उनको निकै गाढा थियो। सुवर्ण निकै विद्वान् र निष्पक्ष काम गर्ने व्यक्तिका रूपमा लिन्छन् हिमालय।

विसं. २००७ सालदेखि ०१२ सालसम्म अर्थसचिव भएका हिमालय शमशेर अर्थसचिवका रुपमा पाँच वर्ष जिम्मेवारी सम्हालेका थिए। सो कार्यकाल सकिएपछि नेपाल राष्ट्र बैंकको पहिलो गर्भनर बन्न सफल भए उनी।
राष्ट्र बैंकको छापमा ‘असतोमा सद्गमय’ निर्देशक वचन राख्न हिमालय शमशेरले नै प्रस्ताव गरेका थिए। ‘असतोमा सद्गमय’ को अर्थ हुन्छ, ‘असत्य कामबाट सत्य कामतर्फ लैजाऊ’।
झापादेखि कञ्चनपुरसम्म भारतीय मुद्रा नै चलनचल्तीमा थियो। भारतीय मुद्रालाई कानूनी रुपमा ग्राह्य पनि थियो। सरकारले पनि मालपोत भारूमै उठाउने, खर्च पनि भारुमै गर्थ्यो। राजा महेन्द्रले एउटै राज्यमा दुई वटा मुद्रा नचलाउने भन्दै तराईमा पनि नेपाली मुद्रा चलाउने सोच बनाए।
नेरु र भारुको सटही दर काठमाडौंमा ३-४ जना घुमन्तेहरूले आफ्नो स्वार्थमा प्रयोग गरेको हिमालय सम्झन्छन्। पेन्सन पाएर मानिसहरू आउँदा भारतीय नोट सस्तो गरिदिने र दशैंमा मालसामान पैठारी गर्नुपर्ने हुँदा त्यही भारुलाई बढी भाउ राखेर बेच्ने गरिन्थ्यो। यी दुवै विषय सम्बोधन गर्ने राजा महेन्द्रको सोच भएको उनी बताउँछन्।
नीजि क्षेत्रको पनि लगानी भएकाले नेपाल बैंकले त्यो काम गर्न मिल्दैन थियो। सरकारी अड्डाले पनि त्यो काम गर्न नमिल्ने हुनाले राजा महेन्द्रले नेपाल राष्ट्र बैंक खडा गरेर हिमालयलाई नै असाइनमेन्ट दिए। आफूले जिम्मेवारी पूरा गरेको उनको दाबी छ।
राष्ट्र बैंकको स्थापनापछि नेपाली अर्थतन्त्रको एकीकरण प्रक्रिया सुरु भएको थियो। नेपाल भनेको त्यतिबेला पनि उपत्यका मात्रै होला मानिथ्यो। तर, पछि तराई पनि नेपाल नै रहेछ भन्ने तराईवासीहरूले अनुभूति गर्न पाएछन्, हिमालय स्मरण गर्छन्।
नेपाललाइभबाट

