-इन्द्रकुमार श्रेष्ठ सरित्
“अरुण तरेर नाना तमोर तरेर ,आयौं हामी बीरताको गाथा कोरेर “
“यो देशका लागि राजा महेन्द्रले केही न केही योगदान दिएकै हुन् ।महेन्द्रको तुलनामा राजा बीरेन्द्रले गर्न सकेनन भन्नु भन्दा पनि उनका आसेपासेहरुले उनलाई गर्न दिएनन् ।”
२०५० देखि २०६० सम्म देशमा भएको १० बर्षे जनयुद्धले चाहेर पनि नचाहेर पनि पूरै देश र सम्पूर्ण नेपालीलाई कुनै न कुनै रुपमा प्रभावित पार्यो । त्यो युद्धमा कोही प्रत्यक्ष संलग्न भए भने कोही अप्रत्यक्ष रुपमा संलग्न रहे । बैचारिक समर्थन र भावनात्मक समर्थनका छुट्टै पाटाहरु पनि रहेभने कोही स्वेच्छाले संलग्न भए भने कोही कर र बलले पनि संलग्न भए ।

तर तत्कालीन नेकपा माओबादीले अँगालेको विचारधाराबाट प्रभावित भएर स्वत:स्फूर्त रुपमा माओबादी पार्टीमा समाबेश भएका थिए गायक एवम् संगीतकर्मी प्रदीप देवान । उदयपुरका स्थायी बासिन्दा देवानको जन्म कालिम्पोंग, भारतमा भएको थियो भने स्कुले शिक्षा पनि उनले कालिम्पोंगमै पूरा गरेर उच्च शिक्षाका लागि उनी राजधानी काठमाडौँ छिरेका थिए । मिठो स्वरका धनी यिनले संगीतको तीन बर्षे औपचारिक शिक्षा संगीतकार अम्बर गुरुङसँग लिएका थिए । स्वदेशनेपालका प्रधान सम्पादक इन्द्रकुमार श्रेष्ठ सरितसँगको कुराकानीमा –
उनी भन्छन -“संगीतप्रतिको रुचि मेरो बालापनदेखिकै हो । दीप श्रेष्ठ, नारायण गोपालका गीतहरु गुनगुनाउदै म हुर्किएको हुँ।” देवान २०४७ सालमा रेडियो नेपालमा पहिलो गीत -‘सल्किएको सलाई झैँ’ बोलको गीत रेकर्ड गरेर विधिवत रुपमा नेपाली सांगीतिक क्षेत्रमा पदार्पण गरेका थिए ।उनी अगाडि भन्छन- २०४६ सालको आन्दोलनपछी प्राप्त उपलब्धिले आम जनताको अपेक्षा पूर गर्न सकेन । जब देशमा माओबादी आन्दोलन सुरु भयो, त्यो आन्दोलनले मलाई झस्कायो, माओबादीले अंगीकार गरेको सादा जीवन, उच्च विचार, आत्मनिर्भर र परिवर्तनका स्वरहरुले मलाई प्रभावित पार्यो । २०५६ सालमा म माओबादी आन्दोलनमा सहभागी भएँ । शसस्त्र आन्दोलनमा मैले बन्दूक बोक्नु परेन बरु आन्दोलनमा लागेका सांस्कृतिक फाँटका भाई बैनीहरुलाई मैले संगीत सिकाउँथें ।
यो देशमा कम्युनिस्ट भने पनि, कांग्रेस भने पनि , पन्च भने पनि तात्त्विक भिन्नता केही छैन । जनयुद्धकै बेलामा र युद्धकै क्रममा मैले गिटारमा एउटा धून सिर्जना गरें र त्यही धूनमा मणि थापाले शब्द भर्नु भयो जसबाट एउटा कालजयी गीत बन्यो- “अरुण तरेर नाना , तमर तरेर आयौं हामी बीरताको गाथा कोरेर” । तत्कालीन समयमा मसँग, एउटा छुट्टै जोश थियो, जाँगर थियो, ऊर्जा थियो । म अहिले कल्पना पनि गर्न सक्दिन म मा त्यो जोश अनि जाँगर कहाँबाट आएको थियो होला भनेर । तत्कालीन समयमा म पूर्णत: विश्वस्त थिएँ, परिवर्तन अवश्यम्भावी छ, तराई, मधेश, पहाड कहीं भेदभाव हुने छैन, सबैतिर न्याय र समानता हुनेछ भनेर । युद्धकालमा त यो गीत बज्यो बज्यो, शान्ति सम्झौतापछी पनि यो गीत राष्ट्रिय गीतझैँ सबैले बजाए अनि रुचाए पनि । द्वन्द्वकालमा प्रचण्ड र बाबुराम भट्टराई को अघिल्तिर मैले यो गीत धेरै पटक सुनाएको थिएँ। गीतप्रति प्रचण्डको प्रतिक्रिया कस्तो रहेको थियो त भनेर सोद्धा देवान भन्छन- प्रचन्डले जल्लाई पनि राम्रो भन्छन त्यसैगरी यो गीतलाई पनि राम्रै भने । नेताहरु यस्तै हुँदा रहेछन ।
पछिल्लो समयमा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीको नजिक रहेका देवान माओबादी पार्टी परित्याग बारे भन्छन- पहिलो त म कलाकार हुँ र म एउटा जनजातिको छोरो हुँ त्यसैले म लप्पनछप्पन जान्दिन, मनमा जे छ त्यही भन्छु । म अन्य प्रकारको नाटक गर्न पनि जान्दिन ।अर्को कुरा, कलाकारले कसैको दवाबले गाउन सक्दैन, उसले मनबाट गाउने हो । म ब्यबसायिक गायक हैन म एउटा सौखिन कलाकार हुँ । जुन पार्टीले न्याय, समानता र परिवर्तन हुन्छ भन्यो त्यो त मैले देखिन ।
यो देशका लागि राजा महेन्द्रले केही न केही योगदान दिएकै हुन् । महेन्द्रको तुलनामा राजा बीरेन्द्रले गर्न सकेनन भन्नु भन्दा पनि उनका आसेपासेहरुले उनलाई गर्न दिएनन् । अहिलेको सरकार भनेको राजा महेन्द्र पछिको सरकारको निरन्तरता मात्रै हो । यो देशमा कम्युनिस्ट भने पनि, कांग्रेस भने पनि , पन्च भने पनि तात्त्विक भिन्नता केही छैन ।
आमूल परिवर्तन, न्याय, समानता, विकास , आत्मनिर्भर, सामाजिक परिवर्तन, सांस्कृतिक रुपान्तरणको नारामा डोरिएर जनयुद्धमा सहभागीहुँदै क्रान्तिकारी गीत गाएर हिंड्ने गायक प्रदीप देवान हिजो आज “जय गणेश जय गणेश देवा” भजन गाउँदै हिंडेका छन् । उनको जीवनमा आएको यो उतारचडाव र बैचारिक परिवर्तनका बारेमा जान्नका लागि उनीसँग भएको यो रोचक कुराकानी हेरौं ।

