चिकित्सा शिक्षाका नाममा मेडिकल कलेजहरुको ब्रम्हालुट चलेको छ । विद्यार्थीलाई धम्क्याउँदै, अविभावकहरुलाई तर्साउँदै तोकेभन्दा बढी रकम असुलेको कुरा एकपछि अर्को सार्वजनिक भैरहेका छन् । यतिसम्म कि बढी शुल्क नतिर्ने विद्यार्थीलाई आन्तरिक परीक्षामा फेल गराउने, आइडी कार्ड नदिने जस्ता काम भैरहेका छन् ।
विद्यार्थी र अविभावकका लागि यो आतंक भन्दा फरक छैन । पढ्नु पर्ने विद्यार्थीका लागि यो सब झमेला एकदमै अनावश्यक छ । तर सञ्चालकहरु माथि कुनै ठोस कारवाहीको कदम चालिएको देखिदैन । रजिष्टे«शन, बीमा, फिल्ड भिजिट जस्ता विविध आन्तरीक शुल्क अन्तर्गत लाखाँै लिइदा समेत सरोकारवालाहरु बोलेका छैनन् ।
विद्यार्थीहरु डराई डराई आँफूले भोगेको पीडाबारे मुख खोलिरहेका छन् । निर्धक्क सबैले गुनासो गर्न पाए अझ कति गुनासो गर्दा हुन् । यो ब्रम्हालुटबारे मुलुकको शिक्षा मन्त्रालय अनविज्ञ पक्कै पनि छैन होला । तर पढ्नु पर्ने बिद्यार्थीलाई आन्दोलन, अनसन, हड्ताल, तालाबन्दीमा फसाएर विजोगमा पारिएको छ । नबोलाँै लाखाँैको खर्च अतिरिक्त दिनु परेको छ बोलाँै सञ्चालकहरु तर्साउँछन्, हप्काउँछन्, डर त्रास देखाउँछन् । पैसा हुने अभिभावकहरु यो लफडामा फस्न चाँहदैनन् ।
२–४ लाख एक्ष्ट्रा दिएर पन्छिन पाए उनलाई केही चाहिन्न । पैसा खर्च गर्न नसक्नेहरु ठूलो दुविधामा छन् । कुनै न कुनै राजनीतिक दलको आड पाएका मेडिकल कलेज सञ्चालकहरु कुनै डन, भन्दा कम छैनन् । कयौँ मेडिकल कलेजमा त चर्चित राजनीतिज्ञहरुको समेत प्रत्यक्ष, अप्रत्यक्ष लगानी समेत छ ।
अनि परेन फसाद् ! राजनीतिलाई सेवा बनाउनु पर्नेहरु पेशा बनाइरहेका छन् । हो, हुन पनि हो यत्रो परिवर्तन ल्याउन त्यत्रो योगदान दिएकाहरुले व्यापार गर्न नपाउने भन्ने छ र ? विभिन्न आन्दोलनमा लडेको, घाइते भएको, जेल परेको, हात मर्केको, घुँडा कोतारिएको, टाउको फुटेको, कुइनो दर्फारीएको मान्छेलाई पद र पैसा नकमाए कसले कमाउँछन् त ?
चिकित्सा शिक्षाका नाममा मापदण्डलाई गोली मारो भन्दै पहुँचका आधारमा सम्बन्धन लिएका मेडिकल कलेजहरुको लुट गहिरिएर हेरीदिने र प्र्राप्त प्रमाण मै टेकेर कडा कदम चालिदिने कस्ले ? चिन्ता सबलाई छ, तर सायद सबै जना डा. गोविन्द केसीको अनसन आउला र आइएम विथ गोविन्द केसी भनौला भनेर कुरिरहेका छन् ।
चिकित्सा शिक्षा सुधारका लागि आवाज उठाउने, उठाए जस्तो गर्ने, उठाउ कि नउठाँउ भन्ने सबका सबलाई एउटा अनुरोध गरौँ । यी सारा वेतिथिका लागि अब त गोविन्द केसीलाई पालो दिएर अरु कसैले अनसन बसिदिए पनि त हुन्छ नी । हुन त अनसन नै जरुरत नहुने कार्यक्रम पहिला ल्याउनु प¥यो ।
हैन कुनै खबरदारीले काम नै गरेन भने र अनसन नै बस्नु प¥यो भने अब चाँही डा केसीलाई पालो दिउ । पटक–पटकको उनको अनसनले उनलाई हल्का बनाइरहेको कुरा जो रिसाएपनि भन्न जरुरी छ ।
उहाँका मागहरुमा मेडिकल शिक्षा मात्र रहेनन् । समग्र वेतिथि, विसंगती समेत उहाँका मागमा जोडिएपछि धेरैले डा. केसीको आलोचना समेत गरेको कुरा ठीक साँचो हो, परेको सहुला बुझाउँला । तर यसो भनिरहँदा मेडिकल शिक्षा बाहेकका उहाँ मागहरुको मुल्याङकन, समिक्षा गरीएको चाही होइन । तिनको चर्चा मात्र गरिएको हो ।
मेडिकल कलेजहरुले विद्यार्थी र अभिभावकलाई दिइरहेको टर्चरका विरुद्ध सरोकारवालाहरु जाग्न जरुरी भैसक्यो । आन्तरीक शुल्क नतिरे फेल गराउने, हाजिर नगराउने, लाइब्रेरी कार्ड नदिने, आइडी नबनाइदिने भनेको ज्यादती हो, लुट हो, ब्रम्हालुट हो । एक्स्ट्रा पैसा सञ्चालकको खातामा हाल्न लगाएको थाहा पाएको २४ घण्टा भित्र सारा सञ्चालकको बैंक खाता रोक्का गरी चेक जाँच गर्नुपर्छ ।
मानिसलाई अप्ठेरामा पारेर पैसा असुल्नु गुण्डागर्दी हो, अराजकता हो । विद्याथीको काम पढ्ने हो । यो वेकारका आन्दोलन, धर्नामा अल्मल्याउने काम नगराँै । गण्डकी मेडिकल कलेजका बिद्यार्थीहरु त्यत्ती लामो समय देखि आन्दोलन गरिरहेका छन् । अर्को किष्ट मेडिकल कलेजका बिद्यार्थीहरुको गुनासो उस्तै छ ।
राजनीतिक पहँचमा भएकाहरुले गलत काम गर्दा गर्दै पनि आँफू निकट नेतालाई के भनेर फोन गर्लान । ए हजुर, मेरो त बर्बाद हुने भो, विद्यार्थीसँग सरकराले तोकेको भन्दा बढी मागेको कुरा कहाँबाट बाहिर आयो । त्यसैले तनाब भैरहेको छ ।
जसरी पनि मिलाइदिनु प¥यो । म फटाहालाई कारवाहीबाट जोगाइदिनु प¥यो । यति त भन्ने होला नि । अनि यति सुनिसकेपछि पहँुचवाला नेताजीले भन्नु पर्ने त यो हो । तपाईलाई यस्तो नचाहिने कुरा गर्न लाज लाग्दैन, सरकारको नियम र कानूनलाई हातमा लिने ?
यस्तो वाहियत कुरामा फोन गर्ने ? तर अफसोस् जवाफ यस्तो हुँदैन जवाफ हुन्छ । ठीक छ, म बुझ्छु, अहिले आत्तिनु पर्दैन, फलानोलाई भेट्नु म भन्दिउला, त्यति अप्ठ्यारो नै त नहोला, मिलाउला ।
हो, यो मिलाउला भनेर मिलाउँदा मिलाउँदै हाम्रो हालत यस्तै भैसक्यो की अब कसैले कहीबाट मिलाउँदा पनि मिल्दै नमिल्ने भैसक्यो । जसो गरेपनि न मिल्ने !
कार्यक्रमको आजको एपिसोडमा निम्न विषयमा रिपोर्ट प्रस्तुत गरिएको छः
१. शक्तिशाली मेनपावर व्यवसायी, लाचार वैदेशिक रोजगार विभाग !
काठमाडौं । नेपाली युवाहरु रोजगारीको खोजीमा बाहिरिनु जत्ति दुखःदायी छ, त्यो भन्दा बढी पीडा नेपालका मेनपवार र वैदेशिक रोजगार विभागको लापरवाहीको कारण भोग्नुपर्छ । धनुषाका सुरेन्द्र दास र पर्वतका सन्तोष विकको भिषा प्रोसेसिङ गरिदिने बसुन्धरा स्थित क्यापिटल रिकुरमेन्ट सर्भिस प्रा.लि.सँगको ठूलो संर्घषपछि सोमबार ग्रिसका लागि उडेका छन् । सरकारले ग्रिसका लागि ८० हजार मात्रै लागत शुल्क तोकेको छ । तर मेनपवारले प्रति व्यक्ति ७ लाख रुपैयाँ मागेपछि पीडितले हामीलाई गुनासो गरेका थिए । यसपछि हामीले प्रहरीको सहयोगमा मेनपवारका कर्मचारीले उनीहरुसँग पैसा लिदै गर्दा स्टिङ गरेका थियौँ । र पैसा लिने कर्मचारीलाई प्रहरीले वैदेशिक रोजगार विभागमा बुझाएको थियो । हामीले स्टिङ गरेर सप्रमाण विभागमा बुझाएपछि पनि विभागको कमजोरी कारण पीडितहरुको भिषा नै क्यान्सिले हुने सक्ने अवस्थामा पुगेको थियो ।
२. ठगिएको सबै प्रमाण देखाउदा पनि निवेदन लिदैन विभाग र प्रहरी !
काठमाडौं । झापा गौरादह २ सुकुमबासी टोलका सभालाल ताजपुरियालाई चन्द्रगढीका सकन सरकार भनेर चिनिने व्यक्तिले रोजगारीका लागि माल्दिब्स पठाइदिने भन्दै २ लाख ७८ हाजर रुपैयाँ लिए । सुकुमबासी बस्तीको झुपडीमा बस्ने ताजपुरियाले पनि विदेश गएर पैसा कमाउने सपता देख्न थाले । तर गरिबी मेटाउने उनको सपना पूरा नहुदै उनी अझै गरीब भए । पैसा लिने एजेन्ट पैसा लिएर फरार छन् । केही दिन मात्र भयो सभालालके छोरी जन्मिएको । गरिबीका कारण श्रीमती र छोरीको स्याहार गर्न छाडेर पैसा कमाउन विदेश जानु उनको बाध्यता थियो ।
३. प्रतिभा पहिचानका नाममा चरम ठगी, छोरीको प्रतिभा हेर्नका लागि ७ ओटा टिकट बेच्नै पर्ने !
काठमाडौं । प्रतिभा पहिचान गर्ने भन्दै हरेक दिन जसो भैरहने ट्यालेन्ट शो, प्रतियोगी र अभिवावकसँग मनपरी असुली गर्ने बाटो बनेको खुलेको छ । विभिन्न लालच देखाएर ट्यालेन्ट शोको अडिशनमा सहभागी गराउने, ट्रेर्निङका नाममा चर्को शुल्क असुल्ने र फाइनल प्रत्योगिताका लागि महंगा टिकट आयोजकले दिएको लक्ष्य अनुसार बेच्नु पर्ने बाध्यता प्रतियोगी र अभिवावकको छ । कतिसम्म भने प्रतियोगीतामा आफ्नै सन्तानको प्रस्तुती हेर्न पनि अभिवावकले महंगो टिकट काट्नु पर्छ । शुक्रबार काठमाडौ प्रज्ञा प्रतिष्ठानमा प्यारा माउन्ट इन्टरटेन्मेन्टको आयोजनामा दशौँ नेपाली लिटिल स्टार २०१९ को ग्राण्ड फाइनल हुँदै थियो । जहाँ सांसद महेश बस्नेत पनि थिए ।

