‘एलो भेस्ट मुभमेन्ट’ वा ‘एलो ज्याकेट मुभमेन्ट’ नामले चर्चामा रहेको फ्रान्समा गत वर्षको नोभेम्बरदेखि जारी प्रदर्शन हरेक साता चलिरहेको छ । यो आन्दोलन फ्रान्समा आर्थिक न्यायका लागि सर्वसाधारणको स्तरबाट उठेको एउटा चर्चित राजनीतिक आन्दोलन पनि हो ।

गत वर्षको १७ नोभेम्बरमा त्यहाँ गरिएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि, महँगो जीवनशैली र सरकारले ल्याएको कर सुधारको योजनाविरुद्ध सुरु भएको फ्रान्सको यो ‘एलो भेस्ट मुभमेन्ट’ अर्थात् पहेंलो टिसर्टधारीहरूको आन्दोलन अझै रोकिने छाटकाट देखिएको छैन । फ्रान्समा यी निर्णयले सबैभन्दा बढी मजदुर, ग्रामीण र अर्धसहरी इलाकामा बसोबास गर्ने निम्नमध्यम वर्गका जनताहरू प्रभावित भएका छन् ।यो आन्दोलन रोक्नका लागि राष्ट्रपति इमानुएल म्याक्रोंले पेट्रोलियम पदार्थको मूल्य घटनाउनेसहित केही निर्णय गरेपनि आन्दोलन रोकिएको छैन । आन्दोलनकारीहरूले इन्धनको मूल्य कम गर्न, न्यूनतम तलबमानमा वृद्धि राष्ट्रपति इमानुएल म्याक्रों र उनको सरकारको राजीनामासहितका विभिन्न मागहरू राखेर प्रदर्शनलाई निरन्तरता दिएका हुन् । आन्दोलन एक राजनीतिक विद्रोहका रूपमा फैलिरहेको छ । यसरी प्रदर्शनमा उत्रिनेमध्ये धेरैजसो सन् २०१७ मा इमानुएल म्याक्रोंलाई भोट दिएका, नदिएका र दक्षिणपन्थी र बामपन्थी उम्मेदवारलाई भोट दिएका जनता पनि यो आन्दोलनमा सहभागी भएका छन् । यो आन्दोलनलाई सन् १९६८ मा फ्रान्समा भएको यस्तै प्रकारको भीषण संघर्षपछिकै सबैभन्दा हिंसात्मक प्रदर्शनका रूपमा लिइएको छ ।सरकारविरोधी प्रदर्शन निरन्तर जारी रहेपछि फ्रान्सका प्रधानमन्त्री एडबार फिलिपले यसरी प्रदर्शनमा सहभागी हुनेलाई दण्डित गर्ने योजना अघि ल्याएका छन् । प्रदर्शनकारीले निरन्तर प्रदर्शनसहित कतिपय सरकारी सम्पत्तिमा समेत क्षति पु¥याउन थालेपछि प्रधानमन्त्रीले कारबाहीको योजना अघि सारेका हुन् ।अनधिकृत प्रदर्शनहरू रोक्न र प्रदर्शनमा अनुहार छोपेर सहभागी हुन प्रतिबन्ध लगाउन सरकारले कानुन बनाउन लागेको प्रधानमन्त्री फिलिपले बताएका छन् । फ्रान्सको राजधानी पेरिससहित देशभर निरन्तर जारी प्रदर्शनमा ठूलो संख्यामा सर्वसाधारणले सहभागिता जनाउने गरेका छन् भने प्रदर्शन रोक्न हजारौंको संख्यामा सुरक्षाकर्मी परिचालित हुँदै आएका छन् । प्रदर्शनकारीले प्रदर्शनमा सहभागी हुनेहरूको संख्या निरन्तर बढिरहेको दाबी गर्ने गरेका छन् भने सरकारले यसरी आन्दोलनमा सहभागी हुनेको संख्या निरन्तर घट्दो क्रममा रहेको दाबी गर्दै आएको छ । जे भए पनि एउटै कुरा सत्य हो, फ्रान्स गत नोभेम्बरदेखि अशान्त छ, आन्दोलन चलिरहेको छ ।
एलो भेस्ट मुभमेन्ट
फ्रान्समा केही वर्षयताकै सबैभन्दा ठूलो आन्दोलन हो, एलो भेस्ट मुभमेन्ट । यो आन्दोलनमा सहभागी हुनेहरूले पहेंलो भेस्ट लगाउने गरेका छन् । यसले सबैको ध्यान खिच्ने भएकाले साधारणतया सुरक्षाका लागि लगाउने गरिन्छ । फ्रान्समा सन् २००८ मा बनेको कानुनअनुसार सवारीमा यस प्रकारको ज्याकेट राख्न अनिवार्य छ, ताकि गाडी खराब भयो भने यसलाई लगाएर निस्कन सकियोस् । यतिबेला फ्रान्समा भइरहेको विरोध प्रदर्शनमा पनि प्रदर्शनकारीले आफ्ना माग र समस्यामा सरकारको ध्यान जाओस् भन्नाका लागि यस प्रकारको ज्याकेट लगाएका हुन् । पहेंलो भेस्ट आन्दोलन फ्रान्सहित इटाली, बेल्जियम र नेदरल्यान्डमा पनि फैलिएको थियो । ती देशमा यसले गति लिन सकेन, फ्रान्समा भने अझै रोकिएको छैन । तर, यो आन्दोलन पहेंलो रंगको नयाँ प्रतीक बनेको छ । यसलाई सजिलै देख्न सकिन्छ र यसको चर्चा पहेंलोे भेस्ट आन्दोलनका रूपमा संसारभरि प्रख्यात भएको छ ।आर्थिक संकटमा रहेकाको आवाज यो आन्दोलनमा सामाजिक सञ्जाल निकै शक्तिशाली माध्यम बनेको छ । सामाजिक सञ्जालबाट नै यो आन्दोलन सुरु भयो र आर्थिक रूपमा पछि परेका र मध्यमवर्गीय जनताको आवाज बनेर बाहिर आयो । एक महिलाले सामाजिक सञ्जालमा पोस्ट गर्दै नयाँ करका कारण आफूले हैरानी खेप्नुपरेको र यसका विरुद्ध प्रदर्शन गर्नुपर्ने उल्लेख गरिन् । उनको यो आग्रहपछि पहिले केही सयले सुरु गरेको यो आन्दोलनमा हजारौं हुँदै लाखौं फ्रान्सेलीहरू सहभागी भए । यो प्रदर्शन बढ्दै जाँदा त्यहाँ सरकारसँगको असन्तुष्टि बढ्दै गएको पाइएको छ । केही समयअघि गरिएको एउटा सर्वेक्षणमा त ६६ प्रतिशत फ्रान्सेलीले यो सरकारप्रति वितृष्णा व्यक्त गरेको पाइएको छ । फ्रान्सका जनता सबैभन्दा बढी डिजेलबाट चल्ने गाडीको प्रयोग गर्छन् र डिजेलको मूल्यमा २३ प्रतिशतभन्दा बढी वृद्धि भइसकेको छ । इन्धनको मूल्यवृद्धिप्रति सर्वसाधारणमा देखिएको आक्रोशलाई ध्यानमा राख्दै सरकारले ६ महिनाका लागि इन्धनमाथि लगाएको कर स्थगित गरे पनि आन्दोलन स्थगित हुने छाँट देखिएकै छैन ।फ्रान्समा भइरहेको विरोधको कारण इन्धन मात्रै भने होइन । यो असन्तुष्टिको अर्को प्रमुख कारण भनेका जीवन जिउने लागतमा भएको बढोत्तरी हो । युरोपेली राज्यमा धनीको जीवनस्तरमा सुधार भए पनि निम्ममध्यम वर्गीय जनतालाई बाँच्न कठिन बन्दै गएको छ । यसैका कारण प्रदर्शनकारीहरूले ‘हामीलाई बाँच्न देऊ’ भन्ने नारा लगाइरहेका छन् । विरोधको अर्को कारण भनेको त्यहाँको वर्तमान शिक्षा नीतिको विरोध पनि हो ।
माग, पृष्ठभूमि र प्रदर्शन
फ्रान्समा करिब चार महिनादेखि हरेक सप्ताहान्तमा हुँदै आएको पहेंलोे टिसर्टधारीले गर्दै आएको आन्दोलन दुईवटा विषयमा बढी केन्द्रित पाइन्छ । पहिलो क्रयशक्तिमा सुधार र दोस्रो राज्य कोषमा पारदर्शिता ।फ्रान्सेली जनता न्यून ज्यालादर, सरकारले लगाएको अत्यधिक कर र धनीहरूलाई दिइएको कर सुविधाका कारण निम्न र निम्नमध्यम वर्गका जनता पीडित छन् भने राज्यकोषमा पारदर्शिता नभएको र शासनमा नागरिकहरूको प्रत्यक्ष सहभागिता नभएको उनीहरूको बुझाइ छ । वर्तमान राष्ट्रपति इमानुएल म्याक्रों फ्रान्समा पछिल्लो चार दशकमा मुख्य दुई ठूला पार्टीभन्दा तेस्रो दलका तर्फबाट निर्वाचित भएका पहिलो नेता हुन् । सन् २०१७ मा राष्ट्रपति निर्वाचन भएको समयमा त्यहाँ लामो समयदेखि सत्तामा आलोपालो रहँदै आएका सोसलिस्ट र रिपब्लिकन पार्टीको अवस्था कमजोर बनेको थियो । सोसलिस्ट पार्टी त अघिल्लोपटक आफ्नै नेतृत्वमा रहेको सरकारले कमाएको अलोकप्रियताको भुमरीमा परिरहेको थियो भने रिपब्लिकन पार्टीबाट उम्मेदवार बनेकाहरूको भ्रष्टाचार काण्डले सनसनी फैलाएको अवस्था थियो ।त्यसैकारण निर्वाचनमा दक्षिणपन्थी पार्टीकी उम्मेदवार मारिन ले पेन र वर्तमान राष्ट्रपति इमानुएल म्याक्रोंबीच मुख्य प्रतिस्पर्धा हुँदा म्याक्रोंले बाजी मारे । म्याक्रो राष्ट्रपतिमा विजयी भए पनि यो निर्वाचनमा ठूलो संख्यामा फ्रान्सेलीहरू सहभागी थिएनन् र उनको जित फ्रान्सेली जनताको चयनभन्दा मतदानमा भाग लिएका दक्षिणपन्थी ले पेन र म्याक्रोंका समर्थकबीचको बहुमतजस्तो बन्न पुग्यो । म्याक्रोंलाई भोट दिनेमध्ये करिब २० प्रतिशतले फ्रन्ट नेसनलको बाटोमा तगारो बन्न र केहीले आर्थिक सुदृढीकरणको आशामा मतदान गरेका थिए ।यद्यपि, म्याक्रों सत्तामा आएपछि उनले गरेका एक पछि अर्को अलोकप्रिय निर्णयले उनको लोकप्रियताको ग्राफ ह्वात्तै घटायो ।तीमध्ये सम्पत्ति कर उन्मूलन, सहायक सडकमा साबिकबाट घटाएर कायम गरिएको प्रतिघण्टा ८० किलोमिटरको गति, पेन्सनमा लगाइएको अतिरिक्त करलगायतका विषयले उनलाई अलोकप्रिय बनायो । निर्वाचनको एक वर्षपछि राष्ट्रपति कार्यालयमा कार्यरत एक सुरक्षा अधिकारीलाई ‘बेनेला अफेयर’ नामांकन गरिएको विषयले फ्रान्सेली जनता रुष्ट बने भने एक दार्शनिकमाथि राष्ट्रपति म्याक्रोंले आफूप्रतिको सद्भावनाको फाइदा उठाएको भन्दै निन्दा गरेपछि प्रतिबन्ध लगाइयो ।
यो घटनाले त जनता उनीसँग झनै चिढिए । त्यसलगत्तै प्रधानमन्त्री जेरार्ड कोलम्ब, पर्यावरण मामिलाका लोकप्रिय मन्त्री निकोलस हुलोटले राजीनामा गरे ।यतिबेला फ्रान्समा बेरोजगारीको दर र मुद्रास्फीति दुवै बढेको छ । सरकारी कर्मचारीको तलब र आंशिक रूपमा पेन्सन रोकिएपछि जनताको क्रयशक्तिमा ह्रास आएको थियो । यसै बेला डिजेलमा मूल्यवृद्धि गरिनु आगोमा घिउ थप्नुजस्तै भयो र आन्दोलन सुरु भयो । सरकारको विरोधमा १७ नोभेम्बरबाट सुरु भएको सडक, चोक र नाका अवरुद्ध गर्ने काम सामाजिक सञ्जाल फेसबुकका विभिन्न समूहमा फैलियो । जुन विरोध प्रदर्शन कार्यक्रम पहेंलो भेस्ट आन्दोलनको पहिलो दृश्य बन्न पुग्यो ।१७ नोभेम्बरको शनिबारदेखि सुरु भएको विरोध प्रदर्शन त्यसपछिका हरेक शनिबार हुँदै आएको छ । प्रदर्शनका क्रममा केही हिंसात्मक घटनासमेत भएपछि त्यसले सरकारलाई हल्लायो । आन्दोलन रोक्नका लागि बख्तरबन्द गाडी नै उतार्नुपरेको थियो । फ्रान्समा जनताको प्रदर्शन नियन्त्रणमा लिन बख्तरबन्द गाडी नै प्रयोग गर्नुपरेको पछिल्लो एक दशकभन्दा लामो समयमा यो पहिलो घटना थियो ।लगातार भएको चौथो प्रदर्शनको क्रममा सरकारले सयौं प्रदर्शनकारीलाई पक्राउ ग¥यो, कयौं घाइते भए । तर, फ्रान्सेली जनताले प्रदर्शनलाई निरन्तरता दिए र आन्दोलन रोक्ने कुनै छाँट नदेखेपछि राष्ट्रपतिले राष्ट्रका नाममा संबोधन गर्दै आन्दोलन मत्थर पार्न खोजे । सम्बोधनका क्रममा उनले प्रदर्शनमा भएको हिंसाप्रति दुःख व्यक्त गरे र फ्रान्सेली जनताले उठाउँदै आएका समस्या समाधानका लागि केही योजना अघि सारे । जसमा सबैभन्दा थोरै निवृत्तिभरण बुझ्नेहरूलाई करमा छुट दिने, गरिबहरूका लागि क्रिसमस बोनसमा कर छुट दिने र अवसर नपाएकाहरूलाई राहत बढाउने योजना थिए । राष्ट्रपतिले आफ्नो सम्बोधनमा गरेको प्रस्तावमा नागरिकहरूको सक्रियतामा जनमत संग्रहको प्रस्ताव गरिएको छ, जसले प्रदर्शनकारीको मागअनुसार सहभागितामूलक प्रजातन्त्र स्थापनामा महŒवपूर्ण कडी बन्न सक्छ । राष्ट्रपतिको यही घोषणापछि प्रदर्शनकारीको संख्यामा कमी आउन थालेको हो ।
राज्यक्रान्तिको स्मरण
फ्रान्समा पछिल्लो समयमा जारी आन्दोलनलाई कतिपयले फ्रान्सेली राज्यक्रान्तिसँग जोडेर हेर्नेगरेको पनि पाइएको छ । एलो भेस्टको फेसबुकमा १७८९–२०१९ लेखिएको छ । जसको अर्थ यो आन्दोलन फ्रान्सेली राज्यक्रान्ति जस्तै र त्यसकै निरन्तरता भन्ने हुन्छ । फ्रान्समा त्यसबेला निरंकुश राजतन्त्र थियो । राजा लुई पन्ध्रौं अयोग्य, विलासी र अदूरदर्शी खालका थिए । राजाहरू निरंकुश भएकाले जनताहरू राजनीतिक, सामाजिक, आर्थिक आदि रूपमा शोषित थिए । यही निरंकुश शासन व्यवस्थालाई ध्वस्त पार्न सन् १७८९ मा फ्रान्समा ठूलो क्रान्ति भएको थियो । फ्रान्सेली क्रान्तिले फ्रान्समा राजतन्त्रको अन्त्य गरेको थियो । सो क्रान्तिजस्तै अहिले फ्रान्समा चलिरहेको पहेंलो टिसर्टधारीहरूको आन्दोलनले नयाँ किसिमको अभिजात वर्ग, विश्वमा रहेको असमान आर्थिक प्रणाली र राजनीतिक रूपमा कुलीन वर्गको विरोध गर्दछ ।फ्रान्सेली राज्यक्रान्तिको समयमा पनि समाज सुबिधप्राप्त वर्ग र सुबिधाविहीन वर्गमा विभाजित थियो । कुलीन वर्ग, पादरीहरू सुविधाभोगी थिए भने मध्यम वर्ग, बौद्धिक वर्ग, व्यापारी, किसान र मजदुरहरूलाई सुविधा थिएन । पादरी र कुलीनहरू सबै सुविधा लिएर बसेका थिए भने सुविधाविहीन वर्ग राज्यबाट उपेक्षित थियो । त्यतिबेला राजा लुई सोह्रांैले राज्यको ढुकुटीको दुरुपयोग गरी ढुकुटी नै सिध्याएर आम जनतालाई आधारभूत सेवा दिन समेत नसक्ने अवस्था भएपछि आक्रोश पैदा भयो र क्रान्तिको लागि वस्तुगत परिस्थिति अनुकूल बन्न पुग्यो । सन् १७८९ को सुरुवातसँगै फ्रान्सेली स्टेट जनरलका तीन प्रतिनिधि तप्कामा कुलीन वर्ग, पुरोहित वर्ग र सामान्य जनताबीचमा अन्तर्विरोधहरू देखा परेका थिए । राजाले यी तिनै वर्गलाई बेवास्ता गरी राज्य चलाएका थिए ।अहिले फ्रान्समा त्यसबेलाको जस्तो अवस्था आएको होइन । तर, राष्ट्रपतिले गरेका कतिपय निर्णय फ्रान्सेली जनतालाई आक्रोशित बनाउन पर्याप्त भए । अहिलेको यो संघर्षमा पेरिस कम्युन या कुनै ठूलो क्रान्तिमा जस्तो कुनै विचारधाराले नेतृत्व गरेको छैन । माक्र्सवादी क्रान्तिजस्तै श्रमिक वर्ग, पार्टी या मजदुर संगठनको नेतृत्वमा यो संघर्ष भएको पनि होइन । तर, यो आन्दोलनको कारक तवका रूपमा आर्थिक र राजनीतिक सभ्रान्त वर्ग रहेको छ । जसविरुद्ध भएको यो संघर्षले यही मध्यकालीन सामन्ती अवशेषको विरोध गरेकाले पनि यसले फ्रान्सेली क्रान्तिको स्मरण गराएको छ ।
-राजधानी डेली

