पूर्वमिस नेपाल माल्भिका सुब्बालाई धेरै युवाले आफ्नो ‘रोल मोडल’ मान्छन् । स्पष्ट विचार, स्मार्ट स्टाइल र तीक्ष्णताको कारण माल्भिकाले आफ्नो स्पेस बनाइसकेकी छिन् । प्रस्तुत छ, टेलिभिजन कार्यक्रम र स्टेज कार्यक्रमहरूमा व्यस्त माल्भिकासँग नेपालआजका सुुमन कोइरालाले गरेका अन्तरंग कुराकानीको मुख्यमुख्य अंशः
मिस नेपाल हुनुभएको १६ वर्ष भयो, त्यसपछि धेरै मिस नेपाल आउनु भयो । हराउनु भयो, तर तपाईं नेपाली जनमनमा छाइरहनु भएको छ । अरु मिस नेपालसँग आफूलाई कसरी तुलना गर्नुहुन्छ ?
मिस नेपालको ताजपछि मैले मिडिया रोजें । मिडिया रोजेको कारण मैले गरेका काम देखिन्छ । सबैले केही न केही गरिरहनुुभएको छ । अरु मिडियामा हुनुुहुन्न भन्दैमा काम गर्नुभएको छैन भन्ने होइन । कोही व्यापार व्यवसाय, कोही फिल्म लाइनमा हुुनुुहुुन्छ, कसैले आफ्नै कम्पनी खोल्नुभएको छ । सबकै आफ्नो तरिकाले व्यस्त हुनुुहुन्छ ।
तपाईंलाई धेरैले रोल मोडल मान्छन् । समाजिक ‘इस्यू’ मा बोलिरहनुहुन्छ । पछिल्लो समय ‘अल्ट्रा फेमिनिस्ट’हरु बढ्दो छन् । यस्ता व्यक्तिले महिला अधिकारका बारेमा धेरै बोल्ने र सचेत व्यक्तिले कम बोल्दा यसले केही नकारात्मक असर परेका छन् ?
फेसबुक र सामाजिक सञ्जालमा मात्र बोल्दैमा कोही महिलावादी हो या होइन भनेर भन्न मिल्दैन । तर यो भन्दैमा उहाँहरूले आफ्नो स्थानबाट केही गर्नुभएको छैन भनेर भन्न पनि मिल्दैन । चाहेको बेलामा बोल्नु पर्छ । चाहेको कुरामा बोल्दा अरु कसैले मन नपराए पनि म लेखिरहेको हुन्छु । सबैको आफ्नो आफ्नो इच्छा हो ।
अहिले मोफसलमा धेरै सुन्दरी प्रतियोगिता हुन्छन् । यस्तो प्रतियोगिता जसरी हुनुपर्ने त्यसरी भइरहेका छैनन्् । यो क्षेत्रलाई बुुझेका व्यक्तिले यसलाई व्यवस्थित गर्नु कत्तिको अवश्यक छ ?
एकदमै आवश्यक देखेको छु । मैले पनि लोकल प्याजेन्टमा कोरियोग्राफर, जज, ट्रेनरको रूपमा काम गरेकी छु । धेरै कुरा चित्त बुझ्दैन । कति कार्यक्रममा कुनै मापदण्ड र नियम नै छैनन् । उहाँहरुले ठीक वा बेठीक गर्नुभएको भन्नेबारे मूल्यांकन गर्ने पनि कोही छैन । मिस नेपाल ठूलो प्लेटफर्म भएकाले यसबारे चासो राख्ने धेरै छन् ।

सानो पेजेन्ट त भएको या नभएको पनि थाहा हुँदैन । अहिलेको परिवेशमा यदि कुनै पेजेन्ट हुुँदा, प्रतिस्पर्धीलाई पनि केही कुरा चित्त बुझेका छैन भने बाहिर निकाल्नुपर्छ । एकाध त्यस्ता प्रतियोगितामा मलाई बोलाउनुहुन्छ । कति कुरा चित्त बुझ्दैन र जान पनि मन लाग्दैन । निरन्तर लागि परेर गर्ने प्रतिस्पर्धी नै कोही देख्दिनँ । त्यहाँ जाने व्यक्तिलाई पनि पूर्ण रुपको योजना के छ , पछि गएर के गर्ने भन्ने कुरा बुझेर मात्र जान सुभाउँछु ।
नेपालमा महिलाप्रति हेर्ने दृष्टिकोण अझै राम्रो छैन । शारीरिक सम्बन्ध बनाएका महिलाहरु नैतिकवान होइनन् भन्ने सोच राख्नेहरु पनि छन् । के शारीरिक सम्बन्ध र चरित्र स्थायी रुपमा जोडिने विषयहरु हुन् ?
मेरो विचारमा शारीरिक सम्बन्ध र चरित्र फरक विषयहरु हुन् । शारीरिक सम्बन्ध चाहनेहरु चरित्रहीन हुन्छन् भन्ने हुँदैन । कोही ब्रम्हचारी नै छ भने पनि त्यो व्यक्ति उच्च नैतिकवान भएको ठोकुवा गर्न सकिदैन । कोही दुईले शारीरिक सम्बन्ध राख्छन् अनि अरुले उनीहरुलाई ‘क्यारेक्टरलेस’ भन्छन् भने पनि त्यो बेकार हो ।
सौन्दर्य प्रतियोगितामा सहभागी हुनेहरूले सामाजिक विषयमा चासो राख्नु र आवाज उठाउनु कत्तिको आवश्यक छ ?
सौन्दर्य प्रत्रियोगितामा आउने धेरैजसो महिला जवान हुन्छन् । कतिपय २० या २२ वर्षको हाराहारीमा हुनुहुन्छ । यो उमेरमा आफ्नो पढाई र क्यारियरलाई पूर्ण रुपले ध्यान दिइरहनुभएको हुनाले उहाँहरुबाट हामीले धेरै आशा गर्नु पनि मिल्दैन । त्यो उमेरमा म परिपक्व थिएँ होला तर आफ्नो हक अधिकारबारे बोल्न सक्दिनथें होला । तर अहिले १६ वर्ष पछि आउँदा ममा धेरै परिवर्तन आइसकेका छन् । म बलियो भएको छु, कसैले मेरो बारेमा नराम्रो कुरा गर्छ भने म त्यो विषयलाई प्रतिवाद गर्न सक्छु । २०–२२ वर्षका युवतीहरुमा त्यो सबै सुझबुझ नहुन सक्छ ।
तपाई क्रान्तिकारी स्वभावको हुनुहुन्छ । परिवारमा क्रान्तिकारी बन्दा आउने बाधा र आलोचनालाई कसरी सामाधान गर्नुहुन्छ ?
म आधुनिक परिवारबाट आएकी हुँ । जसमा चेलिबेटीलाई निकै प्राथमिकता दिइन्छ । मेरो पालनपोषणमा कुनै सम्झौता गरिएन । आधुनिक मूल्यमान्यता सिकाएर हुर्काइयो । ३० वर्ष पछि ‘तिमी महिला हो, तिम्रो ठाउँ यो मात्र हो’ भन्ने कुरा सुन्न पर्दा झस्केँ । त्यही भएर पनि म अहिले धेरै अधिकारको कुरा गर्ने भएँ । आफू आफ्नो ठाउँमा राम्रो हुँदा यसबारे बोल्न सहज पनि भयो ।
आफ्नै परिवारमा अन्य महिलालाई कसरी आफ्नो लागि लड्न सुझाउनुहुन्छ ?
हरेक दिन यसको बारेमा कुरा गर्ने । जबसम्म आफ्नो मान्छेको दिमागमा त्यो कुरा घुस्दैन तबसम्म । सकेसम्म कुरा राखिराख्ने ।
तपाईंले आफूले आफूलाई मूल्यांकन गर्दा आफूलाई कस्तो पाउनुहुन्छ ?
म बुझक्की, परिश्रमी र आपूmले गरेको काम एकदम राम्रोसँग गर्ने मान्छे हुँ ।
अहिलेको समयमा तपाईंलाई प्रिय लाग्ने मान्छे ?
मेरो छोरा नै हो । त्यसमा त कुनै शंकै छैन ।
समाजको कुुन कुरालाई शत प्रतिशत प्रतिकार गर्नुहुन्छ ?
समाजका धेरै कुरामा शतप्रतिशत प्रतिकार गर्छु । विशेषगरि महिला हक अधिकारका कुरा र सिमित वातावरणमा महिला बस्नुपर्ने अवधारणाविरुद्ध प्रतिकार गर्छु ।
के कुराले धेरै खुसी मिल्छ ?
मैले गर्न चाहेका सबै काम राम्रो तरिकाले समयमा हुँदा धेरै खुसी हुन्छु ।
जीवनमा सबैभन्दा अर्थपूर्ण काम के गरें जस्तो लाग्छ ?
मेरो आफ्नो क्यारियर नै हो । मैले अहिले आएर जति पनि काम पाइरहेको छु । यो सबै पहिला गरेको मिहेनतको प्रतिफल हो ।
तपाईं ‘जीवनसाथी’ कार्यक्रमकी प्रस्तोता पनि हुनुहुुन्छ । उक्त कार्यक्रममा सबैभन्दा आदर्श लागेको जोडी कसको हो ?
त्यस्तो त धेरै जोडी हुनुुहन्छ । रुबी राणा, वर्षा राउत, स्वस्तिमा, शिवानी मोक्तान, मायाजी, अभायालगायत धेरैजना हुनुुहुन्छ । प्रायः आफूले एकदम मन परेर बोलाएका व्यक्ति नै हुनुहुन्छ ।
सम्बन्ध टिकाउन के कुरामा ख्याल गर्नुपर्ने रहेछ ?
हामी धेरै आशा लिएर कुनै पनि सम्बन्धमा बाधिन्छौं, त्यो पूरा नहुँदा मनमुटाव शुरु हुन्छ । धेरैजना समाजको डरले पनि सँगै बस्नुभएको छ । सँगै बस्दैमा खुसी मिल्छ भन्ने होइन । राम्रो अन्तरक्रिया र समयसँगै परिवर्तन हुने सोच र इच्छा भयो भने मिल्दो रहेछ । समयअनुसार परिवर्तन हुन नसक्दा पनि मनोमुटाव हुन्छ ।
मान्छे सफल कलाले भन्दा व्यवहारले हुन्छ भनिन्छ ? जुनसुकै क्षेत्रमा आफूूले आफूूलाई बनाउनु कत्तिको आवश्यक ?
व्यक्तित्वको हिसाबले पनि मान्छे परिवर्तित हुनुपर्छ । प्र्रतिभा भएर मात्र हुँदैन । किनभने हामीले व्यक्तिसँग काम गर्ने हो । काम गर्दा व्यवहार राम्रो भएन भने उसँग कोही काम गर्न मान्दैन । पारिवारिक हिसाबमा काम गर्दा त्यो सम्बन्ध लामो समयसम्म जान सक्छ ।
तपाईंको लागि वास्तविक सुन्दरता के हो ?
मान्छेको बोली, आँखाको र मुखको बोली । कति मान्छे राम्रो भएर पनि रुखो बोल्दा नराम्रो लाग्छ । रूप अनुसारको बोली नै वास्ताविक सुन्दरता हो ।

