भारतमा आसन्न आमनिर्वाचनका लागि माहोल तात्दै गएको छ । यसै क्रममा प्रियंका गान्धी वाड्राले सक्रिय राजनीतिमा आधिकारिक रूपमा प्रवेश गरेकी छन् र उनलाई लोकसभा निर्वाचनमा भारतीय कांग्रेस पार्टीको महासचिव बनाएर उत्तर प्रदेशको पूर्वाञ्चलको व्यवस्थापन सुम्पिइएको छ ।
कांग्रेस पार्टी यससँगै निकै उत्साहित देखिएको छ र चुनावमा होमिन लालायित पनि ।
पार्टीका कार्यकर्ताहरूले प्रियंकालाई सक्रिय राजनीतिमा आउनका लागि माग गरिरहेको भए पनि पार्टीले मानिरहेको थिएन । तर हालैका राजनीतिक विकासले पार्टीलाई पुनर्विचारका लागि बाध्य बनायो ।
पार्टीले प्रियंकालाई उत्तर प्रदेशको पूर्वाञ्चल प्रभारी बनाएको छ भने पश्चिमी उत्तर प्रदेशको महासचिव ज्योतिरादित्य सिन्धियालाई बनाइएको छ । प्रियंकालाई उत्तर प्रदेशको प्रभारी बनाइनुको महत्त्व छ किनकि प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१९ को निर्वाचन बनारसबाट लड्ने सम्भावना छ ।
हिन्दीभाषी क्षेत्रमा हालै हासिल गरेको विजयपछि उत्साहित कंग्रेसलाई दुईवटा राजनीतिक विकासक्रमले अप्ठ्यारोमा पारेको थियो । नरेन्द्र मोदी सरकारले आर्थिक रूपमा पिछडिएको समूहलाई १० प्रतिशत आरक्षण दिने निर्णय लिनु अनि उत्तर प्रदेशमा समाजवादी पार्टी र बहुजन समाजवादी पार्टीले चुनावी गठबन्धन बनाएर कंग्रेसलाई छोड्नु ती विकासक्रम हुन् ।
कांग्रेस अध्यक्ष राहुल गान्धीकी दिदी प्रियंकाले सन् २००४ देखि आफूलाई अमेठी र रायबरेली निर्वाचन क्षेत्रमा मात्र सीमित राखेकी थिइन् । अमेठी राहुलको अनि रायबरेली आमा सोनिया गान्धीको निर्वाचन क्षेत्र हो । तर उनले अहिलेसम्म निर्वाचनै लड्न चाहिँ अस्वीकार गरिरहेकी थिइन् ।
उनलाई पार्टीमा औपचारिक पद दिएर अगाडि सारिएपछि उनले रायबरेलीबाट प्रतिस्पर्धा गर्ने कुराकानी हुन थालेका छन् ।
अनि महिला राजनीतिकर्मीहरू बसपाकी अध्यक्ष मायावती र तृणमूल कांग्रेसकी प्रमुख ममता बनर्जीले प्रधानमन्त्री पदका लागि प्रतिस्पर्धा गरिरहेको अवस्थामा भारतीय जनता पार्टी सम्मिलित एनडीए गठबनधन र कांग्रेस पार्टी सम्मिलित यूपीए गठबन्धनमध्ये कसैले बहुमत नल्याएमा प्रियंकाको राजनीति प्रवेशले क्षेत्रीय दलहरूका रणनीतिमा गहन प्रभाव पार्न सक्छ ।
राहुल गान्धीले प्रधानमन्त्री मोदीलाई चुनौती दिन सफल भए पनि क्षेत्रीय पार्टीहरूको समर्थन हासिल गर्न चाहिँ सकिरहेका थिएनन् । मायावती र ममता बनर्जी दुवै तीव्र गतिमा विपक्षी दलको नेता बन्ने क्रममा छन् ।
प्रियंका आधिकारिक रूपमा कंग्रेसमा आएपछि पार्टीले थप साझेदारलाई आकर्षित गर्ने आशा लिएको छ । उसले उत्तर प्रदेशमा अहिलेको भन्दा निकै राम्रो गर्ने अपेक्षा गरेको छ ।
राम्रो भाषणकलाका लागि परिचित प्रियंकाले विभिन्न लैंगिक र उमेर समूहमाझ अपील राखेको देखिन्छ । उनको अनुहार हजुरआमा पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीसँग निकै मिल्छ । उनले राजनीतिक रूपमा महत्त्वपूर्ण उत्तर प्रदेशमा कांग्रेस पार्टीको पक्षमा सन्तुलन बनाउनका लागि योगदान गर्न सक्छिन् ।
उत्तर प्रदेशले लोकसभामा ८० सांसद पठाउने भएकाले केन्द्रमा सरकार बनाउनका लागि यो प्रवेशद्वार नै हो र सबै राजनीतिक दलले यसको महत्त्व बुझेका छन् ।
सत्तारूढ भाजपाले सन् २०१४ को लोकसभा निर्वाचनमा ७१ सीट जितेको भए पनि यही प्रदर्शन नदोहोरिने कुरा उसले बुझिसकेको छ । त्यसमाथि सपा र बसपाले गठबन्धन गरेर उसलाई अप्ठ्यारोमा पारिसकेका छन् ।
अब प्रियंका पनि मैदानमा उत्रिएपछि भाजपाका लागि मात्र नभई सपा–बसपा गठबन्धनलाई नै अप्ठ्यारोमा पार्न सक्छ ।
उत्तर प्रदेशमा लामो समयसम्म किनारामा मिल्काइएको कांग्रेस पार्टीका लागि दह्रो अनुहारको कमी थियो । प्रियंकाका रूपमा कांग्रेस पार्टीले त्यो कमी पूरा गर्ने आशा राखेको छ ।
भाजपाले प्रियंकाको पार्टी प्रवेशको प्रभावलाई भाउ दिएको छैन र यो कांग्रेस पार्टीको वंशीय राजनीतिको एक उदाहरण भएको बताएको छ । तर प्रियंकाको आगमनले पार्टी क्याडरहरूको उत्साहमा निकै ठूलो प्रभाव पार्न सक्छ ।
सपा–बसपाले गठबन्धन बनाएपछि किनारामा पारिएको अनुभव गरेका कांग्रेस कार्यकर्ताहरू प्रियंकाको आगमनबाट उत्साहित छन् र पार्टीका लागि यो शुभ संकेत हो ।
सन् २०१७ मा उत्तर प्रदेश विधानसभा चुनावमा अखिलेश यादवको सपासँग कांग्रेसको गठबन्धन गराउन महत्त्वपूर्ण भूमिका खेलेकी प्रियंकाले लोकसभा निर्वाचनपछि सपा र बसपासँग पर्दापछाडिका सहमतिमा प्रमुख भूमिका निर्वाह गर्ने सम्भावना छ । यसो गर्दा राहुल गान्धीलाई अन्य राज्यमा ध्यान दिन सहज हुन्छ ।
कांग्रेसले उत्तर प्रदेशका सबै सीटमा एक्लै लड्ने घोषणा गरिसकेको छ । अब उसले अनिर्णित मतदाताहरूलाई आकर्षित गर्ने मात्र नभई अन्य पार्टीलाई भोट दिएका मतदातालाई पनि आफूतर्फ खिच्ने आशा गरेको छ ।
तर यस योजनामा एउटा समस्या छ । त्यो भनेको प्रियंकाका पति रोबर्ट वाड्राविरुद्धको ठगी आरोप हो । भाजपाले कांग्रेसविरुद्ध त्यही आरोपको निरन्तर प्रयोग सन् २०१४ देखि गर्दै आइरहेको छ ।
राहुल गान्धीले लगातार मोदी सरकारविरुद्ध भ्रष्टाचारको आरोप लगाइरहेको अवस्थामा वाड्रामाथिको आरोप भाजपाका लागि चुनावी भाष्यहरूको युद्धमा थप हतियारका रूपमा हात परेको छ ।
मोदीको अपील अझै पनि एक तप्काका मतदाताहरूमाझ दह्रो गरी रहेको कांग्रेस पार्टीले बुझेको छ अनि गठबन्धन बनाएर वा सत्ताविरुद्धको माहोल छ भनेर मात्र उनलाई सत्ताच्युत गराउन सकिँदैन भन्ने पनि बुझेको छ ।
प्रियंका सक्रिय राजनीतिमा प्रवेश गरेपछि आरोप प्रत्यारोपको सिलसिला झनै चर्किने भएको छ ।
तर कांग्रेसले अन्ततोगत्वा प्रियंकाका रूपमा दाउ खेल्ने नै निर्णय लियो ।
उसका लागि प्रियंकालाई पार्टीमा ल्याउँदाको फाइदा वाड्रा विवादले गर्ने सम्भाव्य क्षतिभन्दा निकै बढी छ ।
डेलीओडट्इनमा प्रकाशित सैफुल्लाह खानको विश्लेषण

