भारतमा केन्द्रीय संसद लोकसभाको निर्वाचन नजिकिँदै गइरहेको बेलामा देशको सबैभन्दा पुरानो पार्टी कांग्रेस आइले सो पार्टीका अध्यक्ष राहुल गान्धीकी बहिनी प्रियंका गान्धीलाई राजनीतिमा ल्याएको छ । राहुलले प्रियंकालाई बुधबार सो पार्टीको पूर्वी उत्तर प्रदेशको महासचिवमा नियुक्त गरेका छन् । प्रियंकाले आउँदो फेब्रुअरीको पहिलो साताबाट कार्यभार सम्हाल्ने बताइएको छ ।

वंशवादको शृंखला
नेहरु–गान्धी परिवारबाट कांग्रेस आइमा राजनीतिमा प्रवेश गर्ने उनी पछिल्लो पुस्ताकी व्यक्ति हुन् । सो परिवारको कांग्रेस आइमा झण्डै ६० वर्षसम्म सक्रिय सहभागिता रहेको छ । पारिवारिक वर्चश्वका कारणपनि कांग्रेस आइविरुद्ध सत्तारुढ भारतीय जनता पार्टीले वंशवादको आरोप लगाउँदै आएको हो ।
प्रियंकाको राजनीतिमा प्रवेशसँगै कांग्रेस आइविरुद्धको यो आरोप पुनः लाग्ने निश्चित छ । यद्यपि प्रियंका स्वयंको कुरा गर्दा उनको प्रभाव पार्टी कार्यकर्ताहरु माझ निकै लामो समयदेखि रहँदै आएको छ । कार्यकर्ताले उत्तर प्रदेशमा पार्टीको बर्चश्व बढाउनकालागि प्रियंकालाई राजनीतिमा सक्रिय बनाउनुपर्ने माग समेत गर्दै आएका थिए ।राहुलले आफ्नी बहिनीलाई पूर्वी उत्तर प्रदेशको महासचिवमा नियुक्त गरेपछि कार्यकर्तामा उत्साह देखिएको छ । उनलाई ‘गेम चेन्जर’ कै रुपमा कार्यकर्ताले लिएका छन् ।सन् १९६० को दशकमा नेहरु र इन्दिरा गान्धी पिता तथा पुत्रीको रुपमा र फेरि १९७० को दशकमा इन्दिरा र सञ्जय (आमा– छोरा) अनि त्यसपछि १९८० को दशकमा इन्दिरा र राजीव (आमा –छोरा) मा कांग्रेसको राजनीति केन्द्रित रह्यो । गान्धी परिवार भन्दा बाहिरबाट पहिलो पटक कांग्रेसको प्रतिनिधित्व गर्दै पीभी नरसिंह राव प्रधानमन्त्री भएका थिए । उनले पारिवारिक बाहेक १९९६ सम्म कांग्रेस पार्टी र यसको सरकार चलाएका थिए ।
१९९८ मा कांग्रेसको विभाजनपछि पार्टीको खस्कँदो अवस्थाका कारण सोनीया गान्धी राजनीतिमा प्रवेश गरिन् । सन् १९९६ देखि १९९८ सम्म कांग्रेसको प्रमुख रहेका गान्धी परिवारका बफादार सीताराम केसरीले पार्टीलाई एकीकृत गर्न सकेनन् । अवस्था यस्तो आयो कि कांग्रेसमा गान्धी परिवारबिना केही हुन नसक्ने देखियो । गान्धी परिवारलाई पनि छायामा पर्ने डर थियो ।यही अवस्थामा सोनियाले सन् २००४ को लोकसभा निर्वाचनसम्म पार्टीलाई एकीकृत ढंगले अघि बढाइन् । त्यतिबेला अटलबिहारी बाजपेयी नेतृत्वको भाजपा गठबन्धनले सरकार गुमाएको थियो । त्यसपछिका १० वर्ष सोनिया र राहुल आमा छोराले राजनीतिमा बलियो उपस्थिति देखाएका थिए । प्रधानमन्त्री पदमा भने डा. मनमोहन सिंहलाई राखिएको थियो ।
तर, २०१४ मा कांग्रेस भाजपासँग नराम्रोसँग पराजित भयो । त्यतिबेला अहिलेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रचार अभियानमा कांग्रेस आइ निकै नै पुड्के देखिएको थियो । सोनीया र राहुल स्वयंले पनि कमजोरी महसुस गरे । तर, पछिल्लो समय मोदी सरकार बदनाम हुँदै गएपछि तीन वटा मुख्य राज्य मध्यप्रदेश, छत्तीसगढ र राजस्थानमा भाजपा पराजित भयो र कांग्रेस आइ उत्साहित रहँदै आएको छ । यही सफलतालाई दृष्टिगत गर्दै सन् २०१९ मा हुने निर्वाचनमा सोनीया, राहुल र प्रियंकाको तीन सदस्यीय पारिवारिक प्रतिनिधिमण्डलले चुनाव हाँक्ने संकेत देखिएको छ । यसो हुनु भनेको वंशवादतर्फ पुनः भारतको पुरानो पार्टी अघि बढेको अवस्था पनि हो ।
मोदीको निसाना
यसअघि प्रधानमन्त्री मोदीले कांग्रेसभित्रको वंशवादको कटु आलोचना गर्दै आएका थिए । बुधबार प्रियंकाको नियुक्तिले गर्दा उनलाई यही मामिलामा नयाँ मसला मिलेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । यो महिनाको शुरुमा समाजवादी पार्टी (सपा) र बहुजन समाज पार्टी (बसपा) को गठबन्धनले चुनावी तालमेलको घोषणा गरेका थिए । उत्तर प्रदेशमा ती पार्टीहरुले सबैभन्दा पुरानो पार्टी कांग्रेस आइलाई बेवास्ता गर्दै यो गठबन्धन गरेका हुन् ।सपा र बसपाबाट मिलेको सबकले कांग्रेसले शुरुमा उत्तर प्रदेशका सबै ८० सिटमा उमेदवार उठाउने घोषणा गरेको थियो । पछि उसले समान विचारधारा भएका पार्टीहरुसँग कार्यगत चुनावी एकताको लागि तयार रहेको जनाएको थियो ।
गान्धी परिवारको चर्चाका कारण पनि त्यहाँ प्रियंकालाई लैजाँदा माहौल तात्ने अपेक्षा कांग्रेसले गरेको हो । भारतमा प्रभावशाली मानिने पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीसँग प्रियंकाको भेषभूषादेखि बोल्ने शैलीसम्म मिल्ने भनेर धेरै भारतीयले मन पराउने गरेका छन् । त्यसले गर्दा पनि उनलाई स्टार व्यक्तित्वका रुपमा पार्टीका कार्यकर्ता र सर्वसाधारण जनताले पनि लिने गरेका छन् । उनको यो ख्यातीलाई कांग्रेसले चुनावको बेलामा प्रयोग गर्न खोजेको सहजै बुझ्न सकिन्छ ।आधिकारिक रुपमा प्रियंकालाई पार्टीमा यसपाली काम दिइएको हो । उनी आवधिक रुपमा भने यस अघि पनि खटिँदै आएकी हुन् । यसअघि उनी आफ्नी आमा सोनीया र दाजु राहुलको निर्वाचन क्षेत्र क्रमशः रायबरेली र अमेठीमा चुनावी व्यवस्थापनको काममा सक्रिय रहेकी थिइन् ।
के हो चुनौती ?
प्रियंका गान्धीलाई दिइएको यो नयाँ जिम्मेवारीले सो क्षेत्रका कार्यकर्तामा जबर्जस्त उत्साह पैदा भएको छ । यद्यपि पारिवारिक पृष्ठभूमिका कारण उनी राजनीतिमा छिर्नु त्यति ठूलो कुरा चाहिँ होइन । तर जुन क्षेत्रमा कांग्रेसले अप्ठेरो महसुस गरिरहेको अवस्था थियो त्यो क्षेत्रमा उनले काम गर्न रोज्नुलाई भने ठूलो कुरा मानिएको छ ।पूर्वी उत्तर प्रदेशमा उनको प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग आमनेसामने सीधै टक्कर पर्नेछ । प्रधानमन्त्री मोदी सोही क्षेत्रको वाराणसीबाट पछिल्लो पटक लोकसभा निर्वाचनमा चुनाव जितेका हुन् । प्रियंका त्यो क्षेत्रमा आक्रामक रुपमा प्रस्तुत भएमा मुसलमान र दलितको भोट कांग्रेसतर्फ झर्ने माहौल बन्न सक्छ । स्थानीय स्तरमा चुनावी तालमेल गर्ने दलहरुलाई पनि कांग्रेस चुनौतिको रुपमा खडा हुन सक्ने अवस्था रहेको छ ।प्रियंका आएपछि विभिन्न स्तरमा पार्टीको संगठनमा बदलाव आउन सक्ने अपेक्षा कांग्रेसका स्थानीय नेताहरुको रहेको छ ।
प्रियंकाको राजनीतिमा प्रवेश यस्तो बेलामा हुन लागेको छ कि उनका पति रोबर्टको मनि लाउण्डरिङ तथा जग्गाको घोटालाको मामिलामा प्रवर्तन निर्देशनालयका तर्फबाट नोटिस जारी गरिएको अवस्था छ । एक नोटिस रोबर्टकी आमा मौरिनलाई पनि पठाइएको छ । त्यसैले समग्र राजनीतिमा प्रियंकाको सक्रिय सहभागिताले चुनौती र अवसर दुवै ल्याउने अवस्था छ ।
‘कांग्रेस बचाओ’ अभियान
केही अघि उत्तर प्रदेशमा एउटा ब्यानर नै प्रचारमा आएको थियो । स्थानीय कार्यकताले सो ब्यानरमा ‘दिल्लीकी हार पर शोक जताओः प्रियंका ल्याओ, कांग्रेस बचाओ’ भन्ने नारा लेखेर प्रचार गरेका थिए । उत्तर प्रदेशका कांग्रेस विधानमण्डलका नेता अजयकुमार लल्लू भन्छन्,‘‘अब युपीमा कांग्रेसले चमत्कार गर्नेछ ।’’गएको तीन दशकमा कांग्रेसको हालत उत्तर प्रदेशमा चौथो नम्बरमा रहेको छ । कांग्रेसको मुख्य आधार स्थानीय दलित, मुसलमान र ब्राम्हण रहेपनि पछिल्ला समयमा ती मतदाता कोही स्थानीय पार्टी तर्फ र कोही भाजपातिर लहसिएका थिए । क्षेत्रीय दल बहुजनतिर दलित, समाजवादी तर्फ मुसलमान र भाजपा तिर ब्राम्हण गएका थिए । तर, अहिले प्रियंकाका कारण ती जातीय समूहहरु पुनः कांग्रेस आइतर्फ आकर्षित हुने अपेक्षा कांग्रेसी नेताहरुको छ ।बहुजन र समाजवादी दलको गठबन्धनले कांग्रेस नेताहरु उठ्ने गरेको रायबरेली र अमेठीमा सन् २०१९को चुनावमा उम्मेदवार नउठाउने घोषणा गरिसकेको छ ।
उता राहुलले पनि क्षेत्रीय दलहरुसँग आफ्नो पार्टीको कुनै समश्या नरहेको बताइसकेका छन् । प्रियंकाको राजनीतिमा प्रवेशले कांग्रेसलाई पार्न सक्ने सकारात्मक प्रभाव बारेमा उत्तर प्रदेशको राजनीतिमा नजर राख्ने बरिष्ठ पत्रकार अम्बिकानन्द सहाय भन्छन्,‘‘अहिलेपनि नेहरु गान्धी परिवारमा आम मानिसको लगाव रहेको छ । प्रियंका इन्दिरा गान्धी जस्तो लाग्ने भएकोले यसको असर त पक्कै पर्छ ।”उनले वंशवाद र बदनाम पतिका बारेमा भने तत्काल प्रश्नहरु झेल्नुपर्ने अवस्था रहेको छ । त्यसैगरी, दाजु राहुल असक्षम भएकाले बहिनीलाई राजनीतिमा ल्याउन लागिएको भनेर विपक्षीले लगाएको आरोपलाई पनि त्यसो होइन भनेर प्रमाणित गर्नुपर्ने अवस्था रहेको छ ।
प्रियंकाबारे के भन्छन् राहुल ?
बुधबार उत्तर प्रदेशको एक इलाकाको सचिवमा बहिनीलाई नियुक्त गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै राहुलले भनेका थिए,“प्रियंका र ज्योतिरादित्यलाई उत्तर प्रदेशमा दुई महिनाको लागि पठाइएको होइन । दुवै जनाले सबैको विकासको लागि काम गरुन् भनेर पठाइएको हो । ताकि उत्तर प्रदेशका युवालाई जो चाहिएको छ त्यो दिन सकियोस् । मलाई धेरै नै खुसी छ किनकि मेरी बहिनी निकै कर्मठ र सक्षम छन् । हामी युपीका जनतालाई भन्न चाहन्छौं कि यहाँहरुले धेरै लामो समय बिताइसक्नुभएको छ । अब यहाँहरुले भाजपालाई हटाउनुस् । हामी युपीको नम्बर १ प्रदेश बनाउनेछौं ।”राहुलले प्रियंकालाई पूर्वी उत्तर प्रदेशको महासचिव बनाएजस्तै अर्का युवा नेता ज्योतिरादित्य सिंधियालाई पश्चिमी उत्तर प्रदेशको महासचिव नियुक्त गरेका छन् ।भारतमा आउँदो अप्रिल र मे महिनामा संसदीय निर्वाचन हुनेछ । संसदका ५४३ सिट मध्ये उत्तर प्रदेशमा सबैभन्दा बढी ८० सिट छन् । त्यही भएर पनि भारतीय राजनीतिमा उत्तर प्रदेशको निकै नै महत्व रहेको छ । त्यसै कारणले सत्तारुढ भाजपा र विपक्षी कांग्रेसले चुनाव लक्षित रणनीति बनाउन थालेका हुन् ।
उत्तर प्रदेश यस्तो राज्य हो जहाँबाट जवाहरलाल नेहरुदेखि अहिलेका प्रधानमन्त्री नरेन्द्र मोदी सम्म ७ जना व्यक्ति प्रधानमन्त्री भएका छन् । राहुल गान्धी सन् २००४ देखि उत्तर प्रदेशको अमेठीबाट निर्वाचन लड्दै आएका छन् । सन् २०१४ मा भएको संसदीय निर्वाचनमा भने उत्तर प्रदेशबाट भारतीय जनता पार्टी ८० मध्ये ७५ स्थानमा विजयी भएको थियो । कांग्रेसीहरुको आँकलन के छ भने प्रियंकाको राजनीति प्रवेशले कांग्रेसमा देशैभरी सकारात्मक माहौल बन्न सक्नेछ । केही हद सम्म यो कुरा सही पनि हो । तर, शतप्रतिशत यसै हुन्छ भन्न सकिँदैन ।
के भन्छ भाजपा ?
भाजपाका प्रवक्ता सम्बित पात्राले बुधबार कांग्रेसद्वारा प्रियंकालाई गरिएको नियुक्तिलाई राज्याभिषेकको संज्ञा दिएका थिए । सबैतिरबाट अस्वीकृत भएपछि कांग्रेसले गान्धी परिवारबाटै सहयोग खोजेको उनको भनाइ थियो । भाजपा र कांग्रेसमा एउटा आधारभूत भिन्नता रहेको बताउँदै उनले भाजपाका लागि पार्टी परिवार भएपनि कांग्रेसका लागि भने परिवार नै पार्टी भएको भनेर उनले व्यङय गरेका छन् ।
प्रियंका सन् २०१४ को लोकसभा निर्वाचनमा अहिलेका प्रधानमन्त्री मोदीकै विरुद्धमा उठ्न चाहेको भएपनि अन्तिममा रोकिएकी थिइन् । उनी पहिलादेखि नै पारिवारिक चुनाव प्रचारको क्रममा भने देखिदै आएकी हुन् । पछिल्लो समयमा उनी निस्कृय जस्तै थिइन् ।तर उनलाई सक्रिय राजनीतिमा ल्याउनका लागि पार्टीभित्रैबाट पहल हुँदै आएको थियो । आमा सोनीया भने छोरीलाई राजनीतिमा ल्याउँदा राहुलको कद होचो देखिने हो कि भन्ने चिन्तामा रहेको बताइने गरेको थियो । पार्टीले उनलाई सन् २००४ मा पनि आमा सोनीयाको निर्वाचन अभियानमा प्रयोग गरेको थियो । सन् १९७२ को फेब्रुअरी १२ मा जन्मेकी प्रियंकाले दिल्ली विश्वविद्यालयबाट मनोविज्ञानकोे अध्ययन पूरा गरेकी छन् । उनको विवाह व्यापारी रोबर्ट बाड्रासँग सन् १९९७ मा भएको थियो । उनका एक छोरा र एक छोरी छन् । पति रोबर्ट भने पटक पटक विवादमा आइरहन्छन् ।दुई वर्षअघि उत्तर प्रदेशको विधान सभा निर्वाचनका लागि भएको तालमेलमा पार्टीहरुलाई तयार पार्नपनि प्रियंकाको भूमिका रहेको बताइने गरेको छ । ४०३ सदस्यीय विधानसभा चुनावका लागि दुई पार्टीहरुबीच कांग्रेसले १०५ सिट र बाँकी २९८ सिटमा समाजवादीले उमेदवार उठाउने गरि गठबन्धन गर्ने त्यतिबेला सहमति भएको थियो ।दुई पार्टीहरुबीच सिटको विवादका कारण असम्भव जस्तै देखिएको गठबन्धनको प्रयास अन्तिम अवस्थामा प्रियंकाको हस्तक्षेपपछि मात्र सम्भव भएको भारतीय सञ्चार माध्यमहरुले त्यतिबेला जनाएका थिए ।
उनी औपचारिक रुपमा राजनीतिमा प्रवेशको समाचार आएपछि भारतमा मात्रै होइन संसारभरी नै प्रियंकाको बारेमा चर्चा हुन थालेको छ । आक्रामक शैलीकी प्रियंकाको नेतृत्वमा मात्र कांग्रेस पार्टीको भविस्य देख्नेहरु उनको पार्टीमा थुप्रै छन् । त्यसैले उनीमाथि पारिवारिक कारणले लाग्न सक्ने विविध आरोपका वावजुद भारतको विपक्षी पार्टीको चुनावी माहौल भने तात्ने निश्चित प्राय देखिएको छ ।
प्रियंकालाई सन् २०१९ मा हुने लोकसभा चुनावमा आफ्नी आमा सोनीया गान्धीले चुनाव लड्ने रायबरेलीबाट उठाइने चर्चा समेत भइरहेको छ । सोनीया अहिले अस्वस्थ रहेकाले उनी चुनाव लड्ने कम सम्भावना रहेको बताइँदै आएको छ । त्यसैले प्रियंकाको राजनीतिमा प्रवेशले कांग्रेस आइमा केही न केही सकारात्मक अवस्था ल्याउने भएपनि सत्तामै जाने गरी उपलब्धी हुन्छ कि हुन्न भन्ने बारेमा भने अहिले नै आँकलन गर्न हतार हुनेछ ।
-एजेन्सी

