४ अर्ब भन्दा बढी घोटाला भएको भन्दै लेखासमिति अन्तर्गतको उपसमितिले हालका पर्यटनमन्त्री रविन्द्र अधिकारीलाई कारवाहीको सिफारिस गरेको छ । तर प्रधानमन्त्री केपी शर्मा ओली र स्वयम् अधिकारीले आफूलाई निर्दोष रहेको बताउन छाडेका छैनन् । यसैविषयमा लोकान्तरले मन्त्री अधिकारीसँग अन्तर्वार्ता गरेको थियो, प्रस्तुत छ अधिकारीसँग गरिएको अन्तर्वार्ताको सम्पादित अंश –
पहिलेभन्दा फेरिनुभएछ नि, मन्त्रीज्यू ?
हैन होला, मलाई त उस्तै छु जस्तो लाग्छ । अलिक कामको चापले गर्दा आफ्नो शरीरमा ध्यान दिन सकिरहेको छैन ।
भनेपछि कामको चापले नुहाउने फुर्सद पनि छैन ?
त्यस्तो हैन, यो कपाल काट्ने समय नपाएको चाहिँ सत्य हो ।
देशको हितमा काम गर्दा कपाल काट्ने फुर्सद पाउनुभएन ?
हो, त्यस्तै भनौं ।
वाइडबडी खरिदमा निगमका कार्यकारी प्रमुखले अनियमितता गरेकै हुन् ?
हैन, हैन त्यसरी पनि भन्न मिल्दैन । हेर्नुहोस्, मैले अस्तिको पत्रकार सम्मेलनमा सबै कुरा भनिसकेको छु । दोहो¥याएर त्यही कुरा फेरि किन गर्नु ? अहिले म तपार्इंलाई एउटा कागज दिन्छु । त्यहाँ सबै कुरा छ, त्यो पढ्नुहोला । सबैकुरा प्रस्ट हुनेछ । यो एकजना व्यक्तिको कुरा हैन, संस्था जोडिएको कुरा हो । कसले के खायो, के खाएन, त्यो छानबिन होला ।

संसदीय समितिको प्रतिवेदनले त तपाईंलाई पनि दोष दियो त !
मलाई यस्तो हावादारी प्रश्न नसोध्नुहोस् । यो वाइडबडी विमान खरिद प्रक्रिया लामो छ । म आएर मेरो एक्लो प्रयासमा विमान किनेको हैन । कसको कार्यकालमा के भयो भन्ने कुरा तपाईंहरूले खोज्नुहोला । म यति मात्र भन्न चाहन्छु, यो प्रक्रियामा जहाँ कमजोरी भएको छ, त्यसमा छानबिन गर्न न्यायिक समिति बनेको छ । न्यायिक समितिको कुरा सुन्नुभएकै होला ।
सुनियो नि, तपाईंलाई पनि दोषी देखाएका छन् !
त्यो प्रतिवेदन पूर्ण हैन । अख्तियार, अदालत हैन नि त्यो समिति । हो, निर्णय मान्नुपर्छ तर स्वीकार गर्न सकिने हदसम्म । नैतिक जिम्मेवारी लिने बहानामा म अर्बौं रुपैयाँको जिम्मा लिन त सक्दिनँ । समाचार पढ्नुभएको होला, यो विमान खरिद प्रकरणमा कांग्रेस सभापति शेरबहादुर देउवा पनि जोडिनुभएको छ ।
छातीमा हात राखेर भनिदिनुहोस्, वाइडबडी घोटालामा तपाईंको संलग्नता छ कि छैन ?
अब मेरो कुरा गर्नुहुन्छ भने मैले मन्त्री भएपश्चात् मन्त्रालयको कफीबाहेक एक रुपैयाँ पनि खाएको छैन । मन्त्रीका हैसियतमा पाउने सेवासुविधा बाहेक मैले अरू नाजायज सेवा लिएको पनि छैन । म केही गरौं भनेर आएको हुँ राजनीतिमा । पर्यटनहरूलाई धमाधम ल्याउने, पोखरा र गौतम बुद्ध विमानस्थल चाँडोभन्दा चाँडो पूरा गर्ने मेरो सपना छ । देशलाई समृद्धिको बाटोमा अगाडि बढाउनेबाहेक अर्को कुनै मेरो लक्ष्य छैन ।
तर सामाजिक सञ्जाल तपाईंकै विरोधमा उत्रिएको छ नि ?
त्यो झूट कुरा हो, वाहियात कुरा हो । सामाजिक सञ्जालमा त जसले जे लेखेपनि भएको छ । रोकतोक छैन ।
वाइडबडी घोटलाका बारेमा तपाईंको धारणा के त ?
मैले पत्रकार सम्मेलन गरेर भनिसकेको कुरा हो यो । आर्थिक वर्ष २०७१—७२ को बजेटको वक्तव्यमा नै नेपाल वायुसेवाका निम्ति विमानहरू ल्याउने कुरा घोषणा गरिएको हो । संसदमा घोषणा भएको हो । यो मैले मेरो घरबाट घोषणा गरेको हैन । अन्तर्राष्ट्रिय उडानतर्फ ७ वटा नयाँ जहाजहरू कम्तीमा ५ वर्षभित्र किनेर ल्याउने कुरा भएको हो । र म मन्त्री हुँ, विमान कम्पनीको ठेकेदार हैन । म प्रत्यक्ष संलग्न भएर विमान किनेको पनि हैन । यसबीचमा कैयौं सरकारहरू फेरिए । अन्तिममा नयाँ विमान आइपुग्ने बेला म मन्त्री हुन पुगें । तर विभागको कमजोरीबाट हुन गएको क्षति सल्टाउने जिम्मेवारीबाट म हट्दिनँ ।
हेर्नुहोस्, नयाँ विमानस्थलहरू बन्दैछन् । यही त्रिभुवन विमानस्थलको धावनमार्गको मर्मत तथा विस्तार गर्दैछौं । हामीले आन्तरिक तथा बाह्य टर्मिलनहरूको योजनाबद्ध सुधार गरेर राम्रो छवि निर्माण गरेका छौं । म स्वयं त्यहाँ विमानस्थलमा पुगेर महिनाका दर्जनौंपटक अनुगमन गरेको छु, निर्देशन दिएको छु । रनवेको कालोपत्रे, टर्मिनल भवन निर्माण, कार्गो भवनको निर्माण, मुआब्जा वितरण जस्ता ६० प्रतिशत काम हामीले पूरा गरेका छौं ।
विमान खरिदमा तपाईंको भूमिका के थियो ?
म फेरि पनि दोहोर्याएर भन्छु, २०७२ सालमा निगमद्वारा तयार गरिएको ३ वर्षे सुधार कार्ययोजना अन्तर्गत २०७३ मंसिरमा पहिलोपटक र माघमा दोस्रोपटक वाइडबडी खरिद गरी सञ्चालन गर्ने उल्लेख्य भएको देखिन्छ । त्यसैले यो यतिखेर मैले खरिद गराएको विमान हैन ।
प्राविधिक रूपले म विमान खरिदका सम्बन्धमा जानकार हैन । अब विमान त आइसक्यो, पैसा रोकेर के गर्ने, बरू उल्टै अर्बौं रकम स्वाहा हुनबाट जोगाएकोमा मलाई त धन्यवाद पो दिनुपर्छ । मैले रकम निकासामा सहयोग नगरेको भए विमान पनि आउँदैनथ्यो, पैसा पनि डुब्थ्यो ।

