–

शब्द/तस्बिर: सुरेन्द्र राना
हिउँद लागेसँगै चिसो पनि बढेको थियो। मुस्ताङ तिर हिउँ पर्न थालेको समाचार सुनिदै थियो। दुई वर्षअघि अन्नपूर्ण सर्किट पदयात्राबाट फर्किँदा मुक्तिनाथदेखि सिधै जोमसोमको बाटोहुँदै बेनी-पोखरा बस यात्रामा फर्कियौं।

यस क्षेत्रमा पर्ने सुन्दर गाउँ, भुगोल र थकाली जीवनशैलीलाई नियाल्न छुटेकाले मनमा थकथकि बोकेर फर्किएका थियौं।
अन्ततः यसपटक मित्रहरू ज्ञानेन्द्र शेरचन र साहसिक पर्यटन विज्ञ मित्र ईन्द्र राईसहितको एउटा टोली यही ठाउँको यात्रामा निस्कियौं। तल्लो मुस्ताङको लार्जुङमा यसपटक हामीले ३ दिन बितायौं। यसक्रममा थाकखोला सेरोफेरो घुम्ने अवसर जुर्यो।
मुस्ताङको लागि निस्किएका हामीलाई बेनी पुग्दा-नपुग्दै साँझ परिसकेको थियो। तर हाम्रो गन्तब्य लार्जुङ थियो। हाम्रो यात्रा जारी रह्यो।

ख्याल राख्नु होला, म्याग्दीको बैसेरिदेखि काभ्रे भीरसम्म दिनहुँ ८ घण्टा निर्माण कार्यको लागि भन्दै बाटो बन्द हुने रहेछ (बिहान ७-११ बजे र दिउँसो २:३०-६:३० बजे सम्म)। हामी राति पुगेको भएर सडक जाममा बस्नु परेन। बिना रोक टोक अँध्यारोमा कच्ची सडक हुँदै भीर, पाखापखेरा, विश्वको गहिरो खोँच अन्ध गल्छीहुँदै हामीले काभ्रे भीरको सडक छिचोलेर कालिगण्डकी तिरैतिर अगाडि बढ्यौ। लार्जुङ पुग्दा रातिको ११ बजिसकेको थियो। कालिगण्डकी किनारमा करिब २५०० मिटरको उचाईमा थुप्रै रमणीय प्राकृतिक सुन्दरतासँगै थकाली गाँउहरू छन्। पश्चिमतिर विश्वको सातौं अग्लो धौलागिरि हिमाल (८१६७मि), टुकुचे र पूर्वमा निलगिरी हिमाल र अन्नपूर्ण हिमालको काखमा बिशाल थासाङ उपत्यका। थासाङ गाउँपालिका वडा-२ मा ६ वटा गाउँ छन्-खन्ती, कोबाङ, लार्जुङ, नाकुङ, भुर्जुङकोट र नाबुर्कोट।

यस क्षेत्रलाई मुख्यगरी थकाली समुदायका चार चन- शेरचन, तुलाचन, भट्टचन र गौचनको थातथलो मानिन्छ।यीनै सुन्दर गाउँहरुको मध्य भागमा शान्त र लजालु स्वभावमा बसेको छ-लार्जुङ गाँउ। यसपटक हाम्रो ४ दिने लार्जुङ बसाईमा थासाङ सेरोफेरो घुमेका र खिचेका केही तस्बिरहरु प्रस्तुत गर्दैछु। हामीलाई गाउँ घुमाउन र हाइकिङमा सघाउन अति नै मिलनसार कोबाङका गौतम शेरचन दाई, इन्जिनियर अमित थकाली, कुमार दाईलगायतले साथ दिए। यस गाँउमा करिब २०-२२ घर छन्, छेवैमा कोबाङ गाउँ, नेपालमै ओखरको पकेट ठाँउ, कवि भूपि शेरचनको पुस्तकालय पनि। पश्चिम धौलागिरीकै काखमै नर्बुकोट गाउँ। आहा! मनै रमाउँछ। लाग्छ स्वर्ग यही हो।
अन्य गाउँहरू – खन्ति, नाकुङ, भुरजुङकोट र नाबुर्कोट केही कोषको दुरीमा उत्तर, पूर्व र दक्षिण भेगतिर पर्छ। यो क्षेत्रलाई स्याउ र ओखरको राजधानी नै मानिन्छ। पशुपालनमा चौंरी, कृषि उत्पादनमा गहुँ, जौं, फापर, साग, सब्जी, सिमी, आलु, फर्सी आदि उब्जन्छ। यहाँ जडीबुटी पनि प्रशस्तै पाइन्छ। यहाँको मुख्य पेशा होटल व्यवसाय, पशुपालन र कृषि नै हो।
नुन ब्यापार छाडेर पर्यटन : माथिल्लो कालीगण्डकी वा तल्लो मुस्ताङको थाक खोला क्षेत्रमा १३ गाँउमा सात सय घरहरू थिए। यस क्षेत्रलाई थाकसातसय र थासाङ पनि भनिन्छ। यो क्षेत्र थकाली जातिको थाकथलो र उद्गम थलो मानिन्छ। इतिहास फर्केर हेर्दा, यो क्षेत्र नेपालको सामाजिक महत्व बोकेको ठाँउ पनि हो। तत्कालिन प्रधानमन्त्री जंगबहादुर राणाले टुकुचेमा भन्सार अड्डा स्थापना गरेपछि भोटबाट आउने नुनको मुख्य ब्यापारिक केन्द्र बन्यो-थाकसातसय क्षेत्र।
त्यस समय यो क्षेत्रका स्थानीय सुब्बा नियुक्ति, नेपाल-तिव्बतको मुख्य ब्यापारिक केन्द्रको साथ साथै राजनीतिक हिसावमा पनि महत्व मानिन्थ्यो। इतिहास अनुसार उत्तर तिव्बतको गतिविधि रोक्न र जंगबहादुरले आफ्नो बर्चश्व कायम राख्नलाई पनि यो क्षेत्र महत्वपूर्ण मानिन्छ। सन् १९४९ को तिब्बतमा राजनीतिक परिवर्तन र सन् १९५१ मा राणा शासनको पतनपछि, यस क्षेत्रका मानिसहरू अन्यत्र सामुहिक बसाई सराईले थाकसातसय क्षेत्रको गौरवमय ईतिहासमा केही धक्का लाग्यो।तर सन् १९७५ देखि विदेशी पर्यटकहरूबाट अन्नपूर्ण सेरोफेरो र अपर मुस्ताङको भ्रमणले यहाँको आर्थिक गतिविधि भोटको नुन ब्यवसायबाट पर्यटनतिर रुपान्तरण भयो। हाल कोरला नाका जोड्ने सडक खुलेसँगै पर्यटक पदमार्गमा असर परेको स्थानीय बताउँछन्।आन्तरिक पर्यटकको आगमन ह्वात्तै बढे पनि मोटर यात्रामा सिधै जोमसोम, मुक्तिनाथ र कोरला जाने गर्छन् र यो क्षेत्र ओझेलमा परेको छ। अब नयाँ ढंगले यस क्षेत्रमा पर्यटनको विकास र प्रचार प्रसारमा जोड दिनुपर्ने युवा उधमी ज्ञानेन्द्र शेरचन बताउँछन्।
फिल्म छायाँकन गन्तब्य : चर्चित फिल्म ‘कवड्डी कवड्डी’ को छायाँकन यही क्षेत्रको नार्बुकोट सेरोफेरोमा गरिएको थियो।हामी करिब डेढ घण्टा हाइकिङ गरेर पूर्व नुपसाङखर्क (३००० मिटर) पुग्दा ‘वीर विक्रम २’ फिल्मको सुटिङ भइरहेको रहेछ।अब यो फिल्मले पनि यस ठाउँको प्रचार प्रसारमा थप सहयोग पुर्याउने भन्दै स्थानीय गौतम शेरचन खुसी भए। अन्य थुप्रै फिल्म र म्युजिक भिडियोबाट यहाँका भौगोलिक दृश्यहरूले हजारौं दर्शकको मन लोभ्याइसकेको छ।पछिल्लो समय मुस्ताङ प्राकृतिक सुन्दरतासँगै फिल्म सुटिङका लागि पनि उत्कृष्ट गन्तब्य बन्दैछ।यहाँबाट पश्चिममा धौलागिरी हिमाल, टुकुचे हिमाल, पूर्वमा निलगिरि हिमाल र अन्नपूर्ण हिमालको मनमोहक दृश्यको लामो लर्कन आँखै अगाडि देख्न सकिन्छ। बिहानी कलिलो घामको किरणले धौलागिरी हिमालको दृश्य र बेलुकी निलगिरी र अन्नपूर्ण हिमालको पहेँलो रोमाञ्चक दृश्यले मन फुरूङ्ग बनाउँछ।
थकाली जातिको इतिहास, संस्कृति, जीवनशैलीको अवलोकन तथा अध्ययन गर्ने उत्कृष्ट थलो हो-लार्जुङ सेरोफेरो।ठूला-ठूला याक खर्क, भुतर्छो र सेकोङ ताल, छंङ्ग छङ्ग गर्ने छहरा, प्राचीन नार्साङ गोम्पा, कालिगण्डकीको विशाल बगर, गुरूसाङ्बो गुफाका साथै हिमाली जिवनशैली यहाँका मुख्य आकर्षण हुन्।हामी कोरला नाका, मुक्तिनाथ र जोमसोम यात्रामा निस्कदा गाडीमा कयौं पटक ओहोर दोहोर गरेका हुन्छौ तर, यस्ता रमणीय ठाउँहरू ख्यालै हुँदैन।मुस्ताङ घुम्दा थप १-२ दिन समय निकालेर यस क्षेत्रमा टहल्दा यात्राको रौनक अवस्य पनि थपिनेछ। तपाईँ पनि अबको यात्रामा थाकसातसय घुम्नु होला है? पक्कै पनि थाकखोला क्षेत्र घुम्दा पछुताउनु पर्दैन।कसरि पुग्नेः काठमाडौंबाट बेनी २८२ किमि, बसमा १० घण्टा। बेनीबाट ५७ किमिमा मुस्ताङको लार्जुङ गाउँ, बसमा ४ घण्टा।होटल सुविधाःराम्रो लज, होटल सुविधा छ जहाँ थकाली खानादेखि कन्टिनेन्टल परिकार पाइन्छ।
-सेतो पाटी

